सायद अस्थायी भएर होला उतिबेला जागिरमा कमैको आँखा लादग्थ्यो । २०४४ सालदेखि २०५० सालसम्म कास्कीको शिक्षा कार्यालयमा मा.वि.नि. को रुपमा निरन्तर काम गर्न पाइयो । पश्चिमाञ्चलमा कार्यरत उतिबेलाका क्षेत्रीय शिक्षा निर्देशक अर्जुन भण्डारी (अवकाश प्राप्त सचिव) लाई प्रायः सीमित मान्छेसँग रमाउँछन् भन्ने आरोप लगाउँथे । उनलाई सीमित मान्छेको कुरा बढी सुन्थे भन्ने आरोप पनि लाग्थ्यो ।

कसले के लगाइदिएछन् कुन्नि उनैको पाला २०५० सालमा मेरो सरुवा कास्कीबाट कपिलवस्तु भयो । त्यहाँ विजयकुुमार गुुप्त का.मु. शिक्षा अधिकारी थिए । परि पुुगेका शिक्षा अधिकारीहरु काठमाडौं, कास्की, चितवनजस्ता जिल्लामा समेत हुँदैन्थे । मा.वि.नि.लाई का.मु. दिएर शिक्षा अधिकारी बनाउने चलन त्यतिबेला थियो । गूप्त आफूलाई सांसद दीपकुमार उपाध्यायले बनाएको जिशिअ भनेर चिनाउँथे ।

शिक्षा अफिसर म एक्लो थिएँ । गुप्त कामविशेषले काठमाडौ गए, मलाई निमित्त दिएर । त्यतिबेला जिल्लामा प्राथमिक शिक्षा एकाइ भन्ने परियोजना थियो । त्यहाँ केही स्रोतव्यक्ति र एकजना कार्यक्रम संयोजक रहन्थे । गंगाराम यादव उक्त परियोजनाका कार्यक्रम संयोजक थिए । म निमित्त भएको बेला तालिम लगायत्का सबै परिपत्र आफैले तयार गरी निज यादवले सही गरेर पत्राचार गरेछन् । मैले थाहा पाएँ । मैले ‘म निमित्त हुँदाहुँदै किन मलाई नसोधी पत्रमा सही गरेको’ भनेर सोंधे । उनले‘ निमित्त म पनि हो’ भने । मैले उत्तिबेला नै यी सब कागजातको ओसी खोजेर, फोटोकपी गरी आवश्यक निर्देशनका लागि भनेर प्रमुख जिल्ला अधिकारीसमक्ष पत्राचार गरें ।

उनले तत्काल हाजिर छड्के, टेबुल छड्के र कागज छड्के गर्न कर्मचारी पठाए । त्यतिबेला ३ थरीका छड्के हुन्थे । आवश्यकताअनुसार जुनसुकै छड्के पनि गर्ने चलन थियो । यो थाहा पाएपछि संयोजक यादवले शिक्षा अधिकारीलाई सम्पर्क गरेछन् ।

अघिल्लो मितिमा निमित्तको पत्र मगाएर आफू निमित्तको पत्र लिएर आफूले सही गरेको पत्रलाई वैधता दिएछन् । भोलिपल्ट निमित्तको पत्रसहित आफूले गरेको सही वैध भएको स्पष्टीकरण दिए । यो सानो दृष्टान्त हो, जसले उतिबेलाका हाकिमको सक्षमताको प्रतिनिधित्व गर्दछ । एकै पटक दुुई दुुई जनालाई निमित्त दिने बहादुर त्यतिबेला हाम्रो शिक्षा प्रशासनमा थिए ।

स्पष्टीकरणको शुरुआत
मैले पनि मलाई दिएको निमित्तको पत्रसहित प्रजिअलाई स्पष्टीकरण दिएँ । प्रजिअको नाम भुलें, सहायक प्रजिअ भने मोहनकृष्ण सापकोटा (हाल सचिव) थिए । निकै कडा, सक्षम पनि । मैले शिक्षा सेवाभन्दा प्रशासन सेवा नीति, नियममा धेरै सक्षम हुँदो रहेछ भन्ने कुराको पत्तो यिनै सापकोटाको कार्यशैलीबाट पहिलोपटक अनुुभूत गर्न पाएँ ।

प्रजिअले मलाई ‘बोलाएर यति सानो कुरामा पनि किन बबाल मच्चाएको’ भन्दै कार्यालय प्रमुख (जिशिअ) को बचाऊ गर्न खोज्दा सापकोटाले ‘कुरा ठूलै रहेछ सर, मैले कागजात सब हेरें, जिशिअको अपरिपक्वता देखिन्छ’ भनी मलाई समर्थन गरे । केही दिनपछि जिशिअ आए ।

निर्देशक उनै अर्जुुन भण्डारी थिए । पहिला उनैसँग सम्पर्क गरेछन् । मलाई भण्डारीले सातै लिए । त्यसपछि प्रजिअले शिक्षा अधिकारी र मलाई बोलाएर केरकार गरे । वर्गीय नाताले उनको झुकाव जिशिअप्रति नै थियो । तर सहायक प्रजिअ सापकोटाले ‘किन २ जनालाई निमित्त दिनुभयो’? भनेर उनलाई पेलिरहे । उनीसँग उत्तर थिएन । आइन्दा शिक्षाको कुरा मसँग नआउन भन्दै बिदा दिए ।

यतिबेलासम्म मेरो बसाइ कपिलवस्तुमा ५ महिना बितेको थियो । शिक्षा अधिकारीले निर्देशकलाई रातोदिन कुरा लगाएछन् । जिल्ला भ्रमणमा आउँदा निर्देशक भण्डारी र उनको टोली कपिलवस्तुपनि आयो । उनले मेरो दोस्रोपटक सातो लिए । त्यसपछि मेरो सरुवा ५ महिना पनि नबित्दै निर्देशककै गृहनगर गोरखा भयो ।

कहाँको शिक्षा, कहाँको क्याम्पस ?
गोरखामा द्रव्यशाह बहुमुखी क्याम्पस थियो । म बिहान त्यहाँ पढाउने जागिर पाएँ । दिनमा अफिसको काम । क्याम्पस प्रमुख मोहननारायण श्रेष्ठ, आँखामा राखे पनि नबिझाउने थिए । निकै सरल, भद्र । ३ दिने अनौपचारिक शिक्षासम्बन्धी तालिम पोखरामा पर्यो । ३ दिन भए पनि घर बस्न पाइने, तालिम भत्ता पनि पाइने, टिएडिए भन्नै परेन । यो सुविधा छोड्न मन लागेन ।

तर बिहान क्याम्पस पढाउन पर्ने हुँदा ३–३ दिन गएल हुँदा पढाइ बिग्रने भएकोले बिदा पाइने हो, होइन मलाई डर थियो । तालिमको अघिल्लो दिन, पढाइ सकेर डेरामा फर्कने बेलामा क्याम्पस प्रमुखको नजिक गएर कपाल कन्याएँ । ‘के छ, जाने बेला भयो’ ? भने । ‘हो सर’ मैले भने । ‘जानुस’ भने उनले । मैले ‘सर भोलिदेखि ३ दिन पोखरामा एउटा कार्यक्रम पर्यो । अफिसबाट मलाई जानुपर्ने भयो’ भने । उनले भने ‘के भयो त’ ? । मैले भने ‘३ दिन विद्यार्थीको पढाइ नहुने भो’ ।

उनले भने, ‘नगेन्द्रजी, मलाई थाहा छ, तपाईं पोखरा गएपछि तपाईंले पढाउने कक्षा हुँदैन भन्ने कुरा, हुन्छ जानुस्’ । म करहात जोडी नमस्कार भन्दै फर्कें । २०५१ को मध्यावधि चुनावपछि भने मेरो सरुवा पुनः कास्कीको शिक्षा कार्यालयमा नै भयो ।

निजामती हाकिमभन्दा कलेजका हाकिमहरु धेरै विज्ञ, प्राज्ञ र विवेकी हुन्छन् भन्ने कुरा मलाई अर्को घटनाले पनि शिक्षा दिएको छ । म कास्की आएपछि पृथ्वीनारायण क्याम्पस पोखरामा बिहानी सत्रमा पढाउँथे । त्यो क्याम्पसमा प्रायः परीक्षाको कार्यक्रम परिरहन्थ्यो । परीक्षामा म क्याम्पसले राखेसम्म निरीक्षकका रुपमा बस्थें । एकदिन शिक्षा संकायको एउटाकोठामा म र तत्कालीन उप–प्राध्यापक खड्क ब. केसी(प्रस्तावित जापानी राजदूत )निरीक्षक थियौं ।

क्याम्पसको परीक्षामा प्रश्नपत्र वितरण गरेपछि जुनियरले हाजिर उठाउने चलन हुन्छ । म दिनमा अधिकृत भए पनि बिहानमा क्याम्पसका लागि आंशिक प्राध्यापक मात्र थिएँ । स्थायी, अस्थायीभन्दा पदेन जुनियर । मैले हाजिर उठाएँ । एकछिन हामी अगाडि राखेको बेन्चमा बसेको बेला केन्दाध्यक्षका रुपमा क्याम्पस प्रमुख बिरेन्द्र सिंह गुरुङ हाम्रो काठाभित्र पसे ।

एकपटक केन्द्राध्यक्ष र एक पटक स्ववियुका सभापति प्रायः परीक्षा हलभित्र आउने चलन त्यहाँ अद्यापि छ । म झस्कें । जुरुकक उठें । दुुबै हात जोडेर नमस्कार गरें । बोल्ने कुरा थिएन, परीक्षार्थीलाई डिष्टर्व हुन्थ्यो । जोर्ज जोनका पाला स्थापित गजबको मर्यादा थियो पृथ्वीनारायण क्याम्पसमा । उनी गएपछि केसीले मलाई, ‘हत्तेरी कति डराएको तपाईं, तपाईसँग निजामतीको ठूलै ह्याङ् रहेछ’ भनेर खिल्लाए । वास्तवमा दोषी चश्माका पाठक हामी निजामतीहरु हाकिम आएपछि उठ्ने, नउठ्दा अनिष्ट नै हुने मनोवृत्तिमा हुन्थेऊँ, अझै छौं ।

२०६७ सालमाम सल्यानमा जिल्ला शिक्षा अधिकारी हुँदा प्र.जि.अ. नारायणप्रसाद आचार्य मेरो कार्यकक्षमा आए । म उठेर कुर्ची छाड्दै सोफामा उनैसँग सँगै बसेर उनको सम्मान गरेको छु । यो कुरा विश्वविद्यालयतिर अनौठो लाग्छ र अस्वाभाविक पनि । तर निजामतीमा स्वाभाविक र सहज ।

अर्को घटना
२०६० सालसम्म म शिक्षा महाविद्यालय फुलबारी पोखरामा बिहानी सत्रमा पढाउँथे । शुरुमा प्रेमबहादुर राई र पछि घनश्याम मर्सानी ( हाल स्वर्गीय) क्याम्पस प्रमुख थिए । मलाइ एक साताका लागि पाकिस्तानको सरकारी भ्रमण जुट्यो । त्यतिबेला भारत पाकिस्तान मनमुटावका कारण पाकिस्तानी जहाज भारतको भूमिमाथिबाट उडाउन भारतले दिदैन्थ्यो । यसैले हाम्रो उडान कतार एयरमार्फत् दोहा हुँदै इस्लामावादको थियो । घुुमाउरो यात्रा भएकोले १–२ दिन आतेजातेमा बढ्ने भयो ।

लगभग १० दिनजति बिदा लिनुपर्ने भयो मलाई उक्त क्याम्पसबाट । पासर्पोट, भिसा र टिकट हातमा परेपछि म उडानभन्दा १ दिन अघि डराई–डराई क्याम्पस प्रमुख मर्सानीका अगाडि कपाल कन्याएँ । उनी बढी चिया र चुरोटका पारखी थिए । म चुरोट लिँदैन थिएँ । उनले ‘के भो चिया खाने’ भने । मैले ‘हुन्छ, खाने सर‘ भने । उनले चिया मगाए । मैले मेरो गुनासो भने । अनि उसरी नै उत्तर दिए, जसरी गोरखाका मोहननारायणले दिएका थिए ।

‘नगेन्जी, बधाइ छ । फर्कदा पिस्ता लिएर आउनुहोला । तपाईं पाकिस्तान हुँदा यहाँ तपाईंको कक्षा पढाइ हुँदैन मलाइ थाहा छ’ । सहजै भनिदिए । अनि प्रशासनलाई बोलाएर ‘भोलिदेखि १० दिन उहाँको विषय पढाइ नहुने सूचना गरिदिनुस’ भने । उक्त क्याम्पसमा भोलि कक्षा नहुने हो भने आजै सूचना टाँस गरेर विद्यार्थीलाई जानकारी दिनुपर्ने चलन थियो ।

निजामतीका कार्यालय प्रमुख र विश्वविद्यालयका क्याम्पस प्रमुख दुुबै कार्यालय प्रमुख । तर यी दुुबैमा कति समानता, कति असमानता छ । एउटासँग शासकीय दम्भ छ अर्कोसँग व्यवस्थापकीय कुशाग्रता । हामी निजामतीहरु कहिले हौंला यति सरल ?

प्रतिकृया दिनुहोस्