काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले शिक्षाको नीति तथा कानुन निर्माण गर्दा शिक्षक लगायत सरोकारवालाको सहभागिता बनाउने प्रतिबद्धता जनाएका छन् । विश्व शिक्षक दिवसको अवसरमा महिला शिक्षक समाजले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा बोल्दै शिक्षा सचिव मैनालीले कार्यान्वयनको सहजताका लागि पनि सरोकारवालाकै उपस्थितिमा कानुन निर्माण गरिने स्पष्ट पारेका हुन् ।

शिक्षकलाई आफनो अधिकारका साथै कर्तव्यप्रति पनि सचेत हुन सचिव मैनालीले आग्रह गरे । शिक्षा सम्बन्धी धेरै ऐन नियम बन्न बाँकी रहेको उनको भनाइ थियो । विद्यार्थीको शैक्षिक सत्र सदुपयोग गर्दै प्रतिबद्धता सचिव मैनालीले जनाए । विद्यालय तहको स्थगित परीक्षालाई छिट्टै गर्ने हिसाबले तयारी भइरहेको उनले जानकारी दिए ।

पूर्व शिक्षा सचिव दिपेन्द्र विक्रम थापाले शिक्षक भनेका गुणस्तरीय शिक्षाको प्रमुख आधार भएको र अन्य पक्ष सहायक पक्ष मात्रै भएको बताए । समय अनुसार शिक्षकको पेशागत वृत्तिविकास र प्रविधिमैत्री बनाउने दिशामा तिनै तहका सरकार जुट्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका थापाले शिक्षकको आत्मसम्मान, आत्मविश्वास र हौसला बढाउने काममा सरकारले काम गर्नुपर्ने धारणा व्यक्त गरे ।

युनेस्को काठमाडौंका शिक्षा प्रमुख बलराम तिमल्सिनाले शिक्षककै नेतृत्व र सहभागितामा महामारीबाट निकास पाउने विश्वास व्यक्त गरे । शिक्षकको सहभागितामा नीति निर्माण गर्न सकिए त्यसको कार्यान्वयनमा सहज हुने उनको भनाइ थियो । शिक्षक सक्षम, तालिम प्राप्त हुनुका साथै पेशाप्रति प्रतिबद्ध हुनुपर्ने उनले बताए ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले कोभिडले शिक्षकवर्गमा समस्या सिर्जना गरेको बताए । निजी विद्यालयमा कार्यरत र सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकले लामोसमयसम्म तलवसुविधा नपाएका, यही संकटमा सरकारले दरबन्दी मिलानका नाममा त्रास फैलाएको भन्दै अधिकारीले शिक्षकहरु संकटमा रहेका बताए ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माले शिक्षकहरु संकटमा रहेका र संविधानमा ट्रेड युनियन अधिकार ग्यारेन्टी गरिएको भएपनि त्यसको कार्यान्वयनका लागि एकीकृत संघर्षको खाँचो रहेको बताए । महिला शिक्षक समाजले दीर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो ।

नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेलले हालसम्म वास्तवमा शिक्षकमा समस्या के छ उनीहरुको आवाज के हो भनेर सुन्ने सरकार र कर्मचारीतन्त्र नभएको गुनासो गरे । सरकारको प्राथमिकतामा कहिल्यै शिक्षा र शिक्षकका मुद्दा नपरेको, दिगो विकासका लक्ष्यमा २० प्रतिशत शिक्षा बजेट पुर्याउने भनेर राष्ट्रले हस्ताक्षर गरेपनि कार्यान्वयनमा नआएको उनको भनाइ थियो । शिक्षकलाई गुणस्तरीय बनाउनेमा लाग्नुपर्ने सरकार दलका झण्डा समाउने कार्यकर्तालाई स्वयंसेवक शिक्षक बनाउन लागिपरेको उनले आरोप लगाए ।

आयोजक संस्था महिला शिक्षक समाजका अध्यक्ष डा. जानुका पौडेल तथा उपाध्यक्ष रीता तिवारी लगायतले दक्ष नागरिक उत्पादन गर्ने कार्यमा आफनो जिम्मेवारी वहन गर्न शिक्षकहरुलाई आग्रह गरे ।

सोमबार संकटमा नेतृत्व, भविष्यमा पुनःविचार भन्ने नाराका साथ २७ औँ विश्व शिक्षक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । अक्टोवरको ५ गते विश्व शिक्षक दिवस परम्परा सन् १९९४ देखि सुरु गरिएको हो । सन् १९६६ मा शिक्षकको सुविधा, जिम्मेवारी, सेवा सुरक्षा, सेवा अवस्था लगायतलाई राष्ट्रसंघले आत्मसाथ गरेको दिनलाई आधार मानेर सन् १९९४ देखि अक्टोबर ५ तारिखका दिन विश्व शिक्षक दिवस मनाउने गरिएको हो । यो २७ औं दिवस हो ।

प्रतिकृया दिनुहोस्