काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बुढानीलकण्ठ, सेन्ट जेभियरस् र सेन्ट म्यारिज स्कुलका प्रधानाध्यापकहरुँंग भर्ना प्रक्रियाबारे चासो राखेकी छन् । मन्त्री श्रेष्ठले पहुँच र भनसुनका आधारमा भर्ना गर्ने गरेको गुनासो आएपछि बुधवार ती विद्यालयका प्रतिनिधिहरूलाई मन्त्रालयमा बोलाएर भर्ना प्रक्रिया पारदर्शी बनाउन निर्देशन दिएकी हुन् ।

भर्नाको समयमा मन्त्रीको, सचिवको, महानिर्देशकको, सिडिओ र मेयरको कोटामा भर्ना हुने गरेको गुनासो मन्त्रालयमा आएको थियो । ‘मलाई अत्यधिक फोन कल आउन थाले, राति पनि जेभियर्समा भर्ना गरिदिनु, तपाईँको कोटा हुन्छ ? भनेर कल आएपछि यस्तो पनि हुन्छ र भनेर अचम्म लागे पछि सचिवज्यूलाई सोधेँ।’ – मन्त्री श्रेष्ठले भनिन् ।

‘यो त हुनै नहुने कुरा हो। शक्ति र पहुँच भएकाले मात्र पढ्न पाउने जस्तो समाज हामीलाई बनाउनु छैन। यसकारण भर्ना प्रकृयामा पारदार्शीता र समता कसरी ल्याउने भन्ने बारे छलफल गरौँ।’ – मन्त्री श्रेष्ठको आग्रह थियो। अनुत्तीर्ण भएकै कारण विद्यार्थीलाई तनावग्रस्त बनाउने प्रवृत्तिबाट पनि मुक्ति दिनुपर्ने उनको भनाइ थियो ।

राज्य प्रणाली र संस्थाहरूप्रति नागरिकको विश्वास बढाउने गरी काम गर्न आग्रह गर्दै मन्त्री श्रेष्ठले विद्यार्थी भर्नामा ठुलाबडाको कोटा हुन्छ भन्ने जनमानसमा परेकोले सो सोचलाई चिरेर समाजको विश्वास जित्नु आवश्यक छ रहेको बताइन् । ‘हामी जस्तो अवस्थामा छौँ, समाजको विश्वास जित्नको लागि हामीले धेरै नै मिहिनेत गर्नु छ’– उनले भनिन् ।

यस्तै बैठकमा मन्त्रालयका सचिव सुरेश अधिकारीले विद्यालय शिक्षाका लागि स्थानीय सरकारले बनाएका नीति नियमको कडाइका साथ पालना गर्न सहभागी विद्यालयहरूलाई निर्देशन दिएका थिए । बैठकमा सेन्ट जेभियर स्कुलका प्रतिनिधिले आफ्नो विद्यालयमा त्यस्तो प्रथा नरहेको र भर्ना प्रक्रिया पारदर्शी रहेको बताएका थिए । उनले स्थानीय सरकारबाट गोला प्रथाबाट भर्ना गर्न अनुरोध भएको र नयाँ भर्नामा पारदर्शितामा उल्लेख्य सुधार गर्ने प्रतिबद्धता जनाए । यस्तै गरी सेन्ट मेरिजका प्रतिनिधिले भर्नाको समयमा ट्राफिक प्रहरीदेखि सिडिओसम्मको दबाब आउने गरेको बताउनुभयो। विगत ४ वर्षदेखि गोला प्रथाबाट विद्यार्थी छनोट गरिरहेको दाबी गरे ।

बैठकमा बुढानीलकण्ठ स्कुलका प्रतिनिधिले आफ्नो विद्यालय मन्त्रालयकै मातहतमा सञ्चालन रहेकोले छात्रवृत्ति र कोटा निर्धारण मन्त्रालयबाटै हुने र भर्ना प्रक्रिया पारदर्शी रहेको बताए । प्रधानमन्त्रीकै तहबाट पनि विगतमा भर्नाका लागि दबाब आउनेगरेको तर बुढानीलकण्ठ स्कुलमा गरिब तथा जेहेन्दारले छात्रवृत्ति पाइरहेको र उत्कृष्टताका आधारमा भर्ना भइरहेको भए पनि कुनै गुनासो आए सम्बोधन गरिने स्पष्ट पारे ।

बैठकको समापन गर्दै मन्त्री श्रेष्ठले विद्यालय भर्नामा कसैको पनि दबाब वा भनसुन आए मन्त्रालयमा उजुरी गर्न र मन्त्रालयको तर्फबाट पनि कसैको दबाब आए आफूलाई जानकारी दिएमा कानुन बमोजिम कारबाही गरिने बताएकी थिइन् । बैठकमा विद्यालयका प्रतिनिधिहरुले आफ्नो विद्यालयमा ‘ठूलाबडाका लागि कुनै पनि कोटा नरहेको’ बताएका थिए ।

प्रतिकृया दिनुहोस्