कठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका कार्यालय अब दिनको दुई सिफ्टमा सञ्चालन हुने भएका छन् । मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै आफू अन्तर्गतका कार्यालयहरु दिनमा दुई सिफ्टमा सञ्चालन हुन भनेको हो ।

अब शिक्षा तथा मानवस्रोत विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, पाठ्यक्रम विकास केन्द्र, शिक्षक सेवा आयोग लगायतका शैक्षिक संस्थाहरु र उनीहरु मातहतका निकायहरु बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने भएका छन् ।

मन्त्रिपरिषदको जेठ २८ को बैठकले सरकारी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदको निर्णयानुसार असार १ गते देखि सबै सरकारी कार्यालयहरू विहान ८ः०० बजे देखि साँझ ६ः०० बजेसम्म २ सिफ्टमा सञ्चालन गर्न भन्दै शिक्षा मन्त्रालयमा जेठ ३२ गते पत्र लेखेको थियो । सोही पत्र सहित सूचना जारी गर्दै शिक्षा मनत्रालयले मातहतका निकायलाई पनि निर्देशन जारी गरेको हो ।

हेर्नुहोस् शिक्षा मन्त्रालयको सूचना

श्री शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी (तहाँ र मातहत निकायहरूमा समेत जानकारी दिनुहुन ।
श्री राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी(तहाँ र मातहत निकायहरूमा समेत जानकारी दिनुहुन) ।
श्री पाठ्यक्रम विकास केन्द्र, सानोठिमी ।
श्री शिक्षक सेवा आयोग, सानोठिमी ।
श्री व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना, बुद्धनगर ।
श्री शैक्षिक गुणस्तर परीक्षण केन्द्र, सानोठिमी ।
श्री शिक्षाको लागि खाद्य कार्यक्रम परियोजना, सानोठिमी (तहाँ र मातहत निकायहरूमा समेत जानकारी दिनुहुन)।
श्री राष्ट्रिय कितावखाना –शिक्षक), ताहाचल, काठमाडौ ।
श्री चिकित्सा शिक्षा आयोग, सानोठिमी।
श्री विश्वविद्यालय अनुदान आयोग, सानोठिमी(तहाँ र मातहत निकायहरूमा समेत जानकारी दिनुहुन) ।
श्री प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटि), सानोठिमी(तहाँ र मातहत निकायहरूमा समेत जानकारी दिनुहुन)।
श्री जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमी ।
श्री राष्ट्रिय विधी विज्ञान प्रयोगशाला, खुमल्टार ।
श्री नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, खुमल्टार ।

प्रस्तुत विषयमा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७।०२।२८ को निर्णयानुसार मिति २०७७।०३।०१ गते देखि सबै सरकारी कार्यालयहरू विहान ८ः०० बजे देखि साँझ ६ः०० बजेसम्म २ सिफ्टमा सञ्चालन गर्ने निर्णय भएकोले तहाँ कार्यरत कर्मचारीहरूलाई दुई सिफ्टमा विभाजन गरी कार्यालयको कामलाई सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउन हुन भनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प.सं. ०७६।०७७ च.नं. १५५५ मिति २०७७।०२।३२ को पत्रबाट लेखी आएकोले सोही अनुसार गर्नु गराउनु हुन यस मन्त्रालयको मिति २०७७।०३।०१ को निर्णयानुसार अनुरोध छ । साथै सरकारी कार्यालयहरू २ (दुई) सिफ्टमा सञ्चालन गर्ने सम्बन्धी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त निर्णयको प्रतिलिपी पाना २ (दुई) यसैसाथ संलग्न छ ।

नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७७–२–२८ को निर्णय अनुसार मिति २०७७ असार १ गतेवाट सरकारी कार्यालयहरु दई सिफ्टमा सञ्चालन गर्ने व्यवस्था

१. मिति २०७७ असार १ गतेदेखि सवै सरकारी कार्यालयहरु बिहान ८ बजेदेखि साझ ६ बजेसम्म दुई सिफ्टमा सञ्चालन गर्दा जनस्वास्थ्य र सरक्षा मापदण्डका आधारमा आवश्यक प्रोटोकल बनाई लागु गर्ने व्यवस्था सम्वन्धित कार्यालयले मिलाउने ।

२. सवारी साधनको उपलब्धता र प्रयोग समेतका आधारमा तथा कार्यालय आगमनको दुरी समेतलाई विश्लेषण गरी कार्यालय प्रमुखले कार्यालयबाट प्रवाह हुने सेवा दुई सिफ्टमा संचालन गर्ने व्यवस्था मिलाउने ।

३. कार्यालय प्रमुखले कर्मचारी कार्यकक्षमा रहँदा पालना गर्नुपर्ने भौतिक तथा सामाजिक दुरीका साथै जनस्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्ड तथा प्रोटोकल पालना गर्ने गराउने ।

४. कार्यालय प्रमुखले कार्यालयमा आउने सेवाग्राहीले पालना गर्नुपर्ने स्वास्थ्य सम्वन्धी प्रोटोकल कार्यालयको प्रवेश विन्दुमा सबैले स्पष्ट देख्ने र बुझ्ने भाषामा राख्ने व्यवस्था मिलाउने ।

५. कर्मचारीकालागि कार्यालयमा रहँदा आवश्यक पर्ने न्यूनतम स्वास्थ्य सामग्री (मास्क, सेनिटाईजर, थर्मल गन आदि) कार्यालयले व्यवस्था मिलाउने ।

६. कार्यालय हाता भित्र हात धुने व्यवस्था मिलाई कार्यालयको नियमित सरसफाई, शौचालयको पूर्ण सरसफाई लगायतका व्यवस्था गर्ने ।

७. कार्यालयबाट प्रवाह गरिने सेवामा सूचना प्रविधिको प्रयोगलाई अधिकतम उपयोग गर्ने, कार्यालयको वेभ साईट अध्यावधिक गर्ने र एसएमएस, ईमेल आदिको माध्यमवाट कार्यालयवाट प्रवाह गरिने सेवाको जानकारी संप्रेषण गर्ने ।

८. कार्यालयको सोधपुछ कक्षलाई व्यवस्थित गर्ने एवं फोन, इमेल र एसएमएसबाट उपलब्ध गराउन सकिने, जिज्ञासा वा सेवाका लागि सेवाग्राही कार्यालयमै आउनु पर्ने बाध्यतालाई कम गर्ने व्यवस्था मिलाउने ।

९. कार्यालयबाट प्रवाह गरिने सेवालाई सामाजिक दुरी कायम राख्ने गरी प्रवाह गर्ने व्यवस्था मिलाउने, आवश्यकता अनुसार टोकन प्रणाली समेतको उपयोग गर्ने ।

१०. नगदमा गरिने कारोबार जस्तै राजश्व बैंक मार्फत गर्ने व्यवस्था मिलाउने ।

११. अधिक चाप हुने कार्यालयमा सेवाग्राहीको भिडभाडलाई व्यवस्थापन गरी कार्यालय सञ्चालन गर्ने । सेवा प्रवाह गर्दा कार्यालय प्रमुखले आवश्यकता अनुसार सेवाग्राहीको कोटा निर्धारण गर्न सक्ने ।

१२. उल्लेखित व्यवस्था कार्यान्वयन गर्न आवश्यक समन्वय, सहजीकरण, सहयोग एवं अनुगमन स्थानीय स्तरमा प्रमुख जिल्ला अधिकारीले र केन्द्रिय स्तरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने साथै सम्बन्धित मन्त्रालयहरुले यस सम्बन्धी व्यवस्था कार्यान्वयन सम्बन्धमा मातहतका निकायहरुलाई आवश्यक निर्देशन गर्ने ।

१३. माथि उल्लेखित व्यवस्था कार्यान्वयनका सम्वन्धमा कार्यालय प्रमुखले स्थानीय आवश्यकता समेतको आधारमा आफ्नो तालुक निकायसँग समन्वय गरी आवश्यक प्रबन्ध गर्न सक्नेछ ।

प्रतिकृया दिनुहोस्