काठमाडौं। लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको छ ।
कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकतामा राखेर आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबारको प्रदेश सभा वैठकमा उक्त वजेट सार्वजनिक गरेका हुन् ।

बजेटमा रहेको २१६ बुँदामध्ये शिक्षाका लागि १७ बुँदा छुट्याइएको छ । बजेटमा गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न प्रदेश सरकारको स्वामित्वमा लुम्बिनी प्राविधिक विश्वविद्यालयको स्थापना गरी पठनपाठन शुरु गरिने जनाइएको छ ।

यस्तै, बादी, मुसहर, अति सीमान्तकृत, सोनाहा, दलित, मुस्लिम, अल्पसंख्यक समुदायका छात्रछात्राहरूलाई छात्रवृत्ति उपलब्ध गराउने, एक विद्यार्थी एक सीप कार्यक्रम कार्यक्रम सञ्चालन गर्ने साथै, सामुदायिक विद्यालयमा कक्षा ११ र १२ तथा स्नातक तहमा विज्ञान संकायमा अध्ययनरत सबै छात्राहरूलाई छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रम बजेटमा समेटिएको छ ।

प्रदेशमा एउटा विज्ञान प्रविधि तथा बहुप्राविधिक प्रतिष्ठान स्थापना गर्ने, रुपन्देहीको मर्चवारमा अवध बहु प्राविधिक शिक्षालय, बर्दियाको गेरुवामा थारुवान बहु प्राविधिक शिक्षालय र प्युठानमा मगरात बहु प्राविधिक शिक्षालय स्थापना गरिने कार्यक्रम बजेटमा समेटिएको छ ।

प्रदेश भित्रका शिक्षणसंस्थाहरू अन्तर्गत रहने गरी इनोभेशन सेन्टर स्थापना तथा सञ्चालन गर्ने र वैज्ञानिक सम्मेलन र अनुसन्धान तथा आविष्कार सहयोग कार्यक्रम सञ्चालन गरिने पनि बजेटमा समेटिएको छ ।

बजेटमा समेटिएका शिक्षा सम्बन्धि कार्यक्रमका पूर्णपाठ

शिक्षा, युवा तथा खेलकुद
१०६. सबै स्थानीय तहहरूमा शैक्षिक गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विशेष अनुदानमार्फत कार्यान्वयनमा ल्याइएको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम“ लाई निरन्तरता दिएको छु। यसका लागि रू. ७० करोड विनियोजन गरेको छु।

१०७. गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न प्रदेश सरकारको स्वामित्वमा लुम्बिनी प्राविधिक विश्वविद्यालयको स्थापना गरी पठनपाठन शुरु गरिनेछ। प्रदेशमा सञ्चालित सामुदायिक क्याम्पसहरूको पूर्वाधार निर्माण र नयाँ विषयमा अध्यापन शुरु गरेका विश्वविद्यालय र क्याम्पसलाई दिइदै आएको सहायतालाई निरन्तरता दिएको छु। यसका लागि रू २० करोड विनियोजन गरेको छु।

१०८. उच्च शिक्षामा दिदै आएको विपन्न लक्षित छात्रवृत्तिलाई निरन्तरता दिदै यसमा विस्तार गरी वादी, मुसहर, अति सीमान्तकृत, सोनाहा, दलित, मुस्लिम, अल्पसंख्यक समुदायका छात्रछात्राहरूलाई समेत छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरेको छु। यसका लागि रू ३ करोड ८० लाख विनियोजन गरेको छु ।

१०९. सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधार कार्यक्रमलाई निरन्तरता दिनुका साथै विद्यालय शिक्षालाई गुणस्तरीय बनाउन आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि रू ५५ करोड विनियोजन गरेको छु।

११०. परीक्षणको रुपमा एस.ई.ई र कक्षा १२ को परीक्षा दिई फुर्सदमा रहेका विद्यार्थीहरूका लागि “एक विद्यार्थी एक सीप कार्यक्रम“ सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरेको छु।

१११. सबै तहका शिक्षकहरूको पेशागत क्षमता विकास र शिक्षण सिकाईमा सूचना प्रविधिको उपयोग सम्बन्धी तालिम कार्यक्रमलाई निरन्तरता दिदै ई–लर्निङलाई शिक्षण सिकाईको वैकल्पिक विधिको रुपमा उपयोगमा ल्याउन आवश्यक बजेट व्यवस्था गरेको छु।

११२. बुटवलको कान्ति माध्यमिक विद्यालयलाई प्रदेशको विज्ञान विषय अध्ययन गर्ने हबको रूपमा विकास गर्न सुविधा सम्पन्न शैक्षिक तथा आवासीय भवन निर्माणलाई पूर्णता दिइनेछ। रुपन्देही जिल्लाको छपियामा विज्ञान सङ्ग्राहलयको स्थापना गरिनेछ। कक्षा ११ र १२ मा विज्ञान विषय पठनपाठन गर्ने सामुदायिक विद्यालयहरूलाई आकर्षक शैक्षिक संस्थाको रुपमा विकास गर्नुका साथै जनसंख्याको चाप भएका स्थान र सीमावर्ती क्षेत्रका विद्यालयहरूको निर्माण कार्य शुरु गरिनेछ। प्रस्तावित कार्यक्रमका लागि रू २४ करोड विनियोजन गरेको छु।

११३. द्वन्द तथा आन्दोलनका शहिद, घाइते, बेपत्ता एवम् विपन्न परिवारका बालबालिकाहरूको आवासीय पठन पाठनका लागि स्थापित शहिद स्मृति आवासीय विद्यालय, वनकट्टी, तुल्सीपुर १७ र कालिका मानव ज्ञान माध्यमिक विद्यालय, बुटवललाई पूर्वाधार एवम् व्यवस्थापनका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।

११४. “छोरीहरूको पहुँचमा विज्ञान शिक्षा कार्यक्रम“ कार्यान्वयनका लागि प्रदेशका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ तथा स्नातक तहमा विज्ञान संकायमा अध्ययनरत सबै छात्राहरूलाई छात्रवृत्ति उपलब्ध गराइनेछ। यसका लागि रू ३ करोड १५ लाख विनियोजन गरेको छु।

११५. मदरसा शिक्षालाई आधुनिक शिक्षा प्रणालीसँग आबद्ध गराउन आवश्यक कानुनी तथा संरचनागत व्यवस्था मिलाइनेछ। मुस्लिम समुदायको भाषालाई प्रवर्द्धन गर्न उच्च शिक्षामा छुट्टै सङ्कायको व्यवस्था गरिनेछ।

११६. छोरीको शिक्षाः प्रदेश सरकारको प्राथमिकता“ नीति अनुरुप मुस्लिम, दलित र पिछडा वर्गका कक्षा ११ र १२ अध्ययनरत छात्राहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ। मुस्लिम छात्रा लक्षित छात्रावासको सुदृढीकरण गरिनेछ। यसका लागि रू ३ करोड ३० लाख विनियोजन गरेको छु।
११७. अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक विशेष शिक्षामा गरिने सहयोग कार्यक्रम र अटिजम विद्यालयहरू निर्माणका लागि बजेट व्यवस्था गरेको छु।

११८. रूकुम पूर्वको भुमे र दाङको तुल्सीपुरमा रहेको बहुप्राविधिक शिक्षालयको भौतिक संरचना निर्माण कार्यलाई निरन्तरताका दिएको छु। विज्ञान र प्रविधिको अनुसन्धान तथा विकास र सो सम्बन्धी सीप विकासका लागि प्रदेशमा एउटा विज्ञान प्रविधि तथा बहुप्राविधिक प्रतिष्ठान स्थापना गरिनेछ। रुपन्देहीको मर्चवारमा अवध बहु प्राविधिक शिक्षालय, बर्दियाको गेरुवामा थारुवान बहु प्राविधिक शिक्षालय र प्युठानमा मगरात बहु प्राविधिक शिक्षालय स्थापना गरिनेछ। उल्लिखित कार्यक्रम कार्यन्वयनका लागि रू ६ करोड ८० लाख छुट्याएको छु।

११९. प्रदेश भित्रका शिक्षणसंस्थाहरू अन्तर्गत रहने गरी इनोभेशन सेन्टर स्थापना तथा सञ्चालन गरिनेछ। वैज्ञानिक सम्मेलन र अनुसन्धान तथा आविष्कार सहयोग कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि आवश्यक बजेट व्यवस्था गरेको छु।

१२०. मुख्यमन्त्री रनिङ शिल्ड लगायतका खेलकूद कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिने खेलाडीहरूका लागि तदनुरुपको अवसर र वातावरण सिर्जना गरी क्षमता विकास गरिनेछ। पदक प्राप्त गर्ने खेलाडीलाई सम्मान गरिनेछ। निर्माणाधीन नेत्रलाल अभागी रंगशाला र उजिरसिंह रंगशालाको लागि बजेट व्यवस्था गरेको छु। “एक स्थानीय तहः एक खेलकूद संरचना“को नीति अनुरुप संघीय सरकार तथा स्थानीय तहको सहकार्यमा पालिकास्तरीय खेलकुद पूर्वाधारको निर्माण गरिनेछ। प्रस्तावित कार्यक्रमका लागि रू २८ करोड विनियोजन गरेको छु।

१२१. निजीक्षेत्रको समेत सहभागितामा नमुनाको रुपमा खुला व्यायामशालाको निर्माण तथा सञ्चालन गर्न बजेटको व्यवस्था गरेको छु।

१२२. विपद्, महामारी एवम् सामाजिक संकटको समयमा युवा परिचालन गर्न युवा परिषद्लाई सुदृढीकरण गर्नुका साथै विद्यालयमा स्काउट तालिम सञ्चालनको लागि समेत आवश्यक बजेट विनियोजन गरेको छु ।

प्रतिकृया दिनुहोस्