लोकेन्द्र घटाल

शिक्षामन्त्रीज्यू, नमस्कार । विश्वभरी नै अहिले महामारीको रूपमा फैलिएको कोरोनाको कारणले मानिसहरू आक्रान्त छन । झन अहिले त कोरोना हावाबाट पनि फैलिने भनेर विश्व स्वास्थ्य संगठनले नै पुष्टि गरिसकेको छ । अरू क्षेत्रजस्तै लामो समयदेखि शैक्षिक संस्थाहरू पनि ठप्प छन् । तर सरकारले साउन १ गतेदेखि विद्यालयहरू खोलेर पठनपाठन पुन: सञ्चालन गर्ने हतारमा निर्णय गरी शिक्षकहरूलाई जसरी पनि साउन १ गतेदेखि विद्यालयमा हाजिर हुन उर्दी जारी गरेको छ ।

अझैपनि धेरैजसो सामुदायिक विद्यालयहरू अहिलेसम्म क्वारेन्टाइनमा परिणत भएका छन् । यो बिषम परिस्थितिमा सरकारले स्वास्थ सुरक्षामा ध्यान दिनु जरूरी छ । विद्यालयहरु पुनः सुचारू गर्नुपूर्व WHO ले तय गरेका मापदण्डहरु पूरा गर्न बाँकी नै छ । अरूबेला सबैको उत्तिकै महत्त्व भएपनि अहिलेको विषम परिस्थितिमा शिक्षाभन्दा पनि स्वास्थ्य बढी महत्वपूर्ण देखिन्छ ।

ज्यान र स्वास्थ्य रहे पो पठनपाठन पनि गरौंला । यो अवस्थामा धेरैजसो शिक्षक र विद्यार्थीहरू विद्यालयभन्दा टाढा हुनुहुन्छ । लामो दूरीका सार्वजनिक सवारी साधनहरू दोब्बर भाडामा चलाउनुपर्ने निर्णय सरकारले गरेपनि यातायात व्यवसायीहरू यसमा सहमत नभएकाले अझै चल्न सकेका छैनन् । यो विषम परिस्थितिमा घरभन्दा धेरै टाढा, गाडीमा ५-६ दिन लाग्ने, अहिले बुकिङ गरेर ४०-५० हजार भाडा तिरेर पनि ज्यानको समेत जोखिम मोल्नुपर्ने स्थिति छ ।

बरू घरभन्दा धेरै टाढा रहेका शिक्षकहरू स्थिति सामान्य नहुन्जेलसम्म स्वास्थ्य सावधानी अपनाएर घरनजिकैका विद्यालयमा त्यहींका विद्यार्थीहरूलाई पढाउन लगाउनु उचित होला कि ? नेपालको भूगोल र वर्तमान अवस्थाबारे शिक्षामन्त्रीज्यू जानकार नै हुनुहुन्छ होला । शिक्षकहरूले घरमै बसीबसी तलब खाए भनेर ईर्ष्या गर्नुभन्दा अहिलेको परिस्थितिलाई सहजीकरण गर्नु उचित होला ।

किनकि शिक्षकहरू रहरले नभई बाध्यताले घरमा बसेका हुन । फेरि सबै शिक्षकहरू त्यत्तिकैपनि घरमा बसेका छैनन् । कोही क्वारेन्टाइन व्यवस्थापनमा लागिपरेका छन् भने कोही वैकल्पिक माध्यमबाट सिकाइरहेका छन् । भोलि यसरी हतारमा विद्यालय खोलेर टाढाटाढाका शिक्षक, विद्यार्थीहरूलाई बोलाएर विद्यालयजस्तो संवेदनशील र भीडभाड ठाउँमा संक्रमण फैलियो भने यसको जिम्मेवार को हुने ? सुविधासम्पन्न देशहरू द. कोरिया, चीन, हङकङमा एकचोटी स्वास्थ्य सुरक्षा अपनाएर भएपनि हतारमा यसरी नै विद्यालय खोलेर संक्रमण फैलिएपछि पुनः विद्यालयहरू बन्द गरिएको कुरा थाहै होला ।

झन नेपालजस्तो स्वास्थ्य, सुविधा, सुरक्षा र चेतनामा पछि परेको देशमा हतारमा यस्तो निर्णय गर्दा यसबाट आउने परिस्थितिको जिम्मेवारी लिन तयार हुनुहुन्छ शिक्षामन्त्रीज्यू ? हामी शिक्षकहरू अहिले नै विद्यालय गएर पढाउन तयार छौं । तर त्यसअघि स्वास्थ्यसम्बन्धि विश्व स्वास्थ्य संगठनले तोकेकम सम्पूर्ण मापदण्डहरू पूरा गर्नुपर्यो । हाम्रो स्वास्थ्य र सुरक्षाको जिम्मेवारी लिनुपर्यो, नि:शुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्नुपर्यो । यस्तो परिस्थितिमा अभिभावकहरू पनि आफ्ना छोराछोरीलाई निर्धक्क भएर विद्यालय पठाउन सक्ने स्थितिमा छैनन् । यो बिषयमा सरकारले गम्भीर रुपमा सोच्नु जरूरी छ । अहिले शिक्षकहरु रहरले नभई बाध्यताले घर बसेका हुन । उनीहरूलाई कसैले दया, मायाले दिएको जागिर होईन । उनीहरूको योग्यता र क्षमताले जागिर खाएका हुन् । त्यसैले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम नगरियोस् ।

-बैतडी ।

कार्यरत- काभ्रेपलान्चोक । (घरभन्दा धेरै टाढा शिक्षण गर्ने अधिकांस शिक्षकहरूलाई प्रतिनिधित्व गर्ने एकजना शिक्षकको समस्या) ।

प्रतिकृया दिनुहोस्