कोभिड–१९ को विद्यालय शिक्षामा प्रभाव

एजुकेशन पाटी

Byएजुकेशन पाटी

१ असार २०७७, सोमबार

विश्वका कतिपय विकसित मुलुकमा चीनबाट उत्पत्ति भएको कोभिड–१९ को संक्रमण अनियन्त्रित भई तीव्र रूपमा फैलिएको र छिमेकी मुलुक भारतसँगै नेपालमा पनि प्रवेश गर्न सक्ने भन्दै ०७६ चैत ११ गते बेलुका नेपाल सरकारले लकडाउनको घोषणा गर्यो । सुरुमा सात दिनका लागि लगाइएको लकडाउन युरोप र अमेरिकामा कोभिडको अनियन्त्रित अवस्थासँगै बिस्तारै थपिँदै अहिले ८० दिन बितिसक्दासम्म पनि कायमै छ । २१औँ शताब्दीमा अहिलेसम्मकै ठूलो मानिएको यस महामारीसँगै समग्र मानव समुदायमा चुनौती र अवसर सँगसँगै आएको छ । कोभिडबाट गुज्रिरहेको मानव समुदायमा ‘हुलमुलमा जिउ जोगाउनु’ भन्ने नेपाली उखानजस्तै संकटको अवस्था आइपरेको छ । यस संत्रासबाट अझै पनि धेरै मानिस मुक्त हुन सकेका छैनन् । यसै सन्दर्भमा कोभिड–१९ ले नेपालको विद्यालयको शिक्षा क्षेत्रमा पारेको प्रभावलाई केलाउने प्रयत्न गरिएको छ ।

अपरिपक्व निर्णयको सिकार
कोरोनाको संक्रमण विश्वभर तीव्र रूपमा फैलिएका वेला डब्लुएचओ सुझाबसँगै नेपाल सरकारले विद्यालयहरूमा चैत ५ गतेसम्ममा विद्यालयस्तरीय वार्षिक परीक्षा सक्न निर्देशन जारी गरेको थियो । सुरुवाती दिनमा त लकडाउन छिटै खुल्छ भन्ने मानसिकता सबैमा थियो । तसर्थ कतिपय स्थानीय तहले सरकारी निर्देशन पालना नगरी स्वनिर्णय गरी परीक्षा सञ्चालनमा ढिलाइ गरे । शैक्षिक वर्षको अन्त्यसँगै पढाइ सकेर परीक्षा सञ्चालन हुँदै गर्दा लकडाउन सुरु भयो । फलस्वरूप कतिपय स्थानीय तहका विद्यालयमा कक्षा १ देखि ९ सम्मका वार्षिक परीक्षा बीचैमा स्थगित गर्नुको अर्को विकल्प रहेन । अन्ततः त्यस्ता स्थानीय तहमा प्रथम त्रैमासिक, अर्धवार्षिक परीक्षा र निरन्तर मूल्यांकनका आधारमा बाँकी रहेका विषयको मूल्यांकन गरी विद्यार्थीलाई कक्षोन्नति गर्ने निर्णय गरियो । सोहीबमोजिमको नतिजा विद्यालयहरूले लकडाउनका बीचमा सामाजिक सञ्जाल र फोनमार्फत सार्वजनिक गर्नुले पनि अपरिपक्व निर्णयको सिकार नै भएको देखाउँछ ।

परीक्षाको अघिल्लो दिन एसइई परीक्षा स्थगित गरेको सरकारले पुनः परीक्षाविना नै प्रमाणपत्र र ग्रेडसिट दिने एकपछि अर्को अपरिपक्व निर्णय गर्यो । जसले चार लाख ७७ हजारभन्दा बढी बालबालिका प्रत्यक्ष प्रभावित भए । यसले गर्दा उनीहरूले भविष्यमा पनि निकै चुनौती झेल्नुपर्छ ।

लोकबन्धु थापा

चैत्र ६ गते सुरु हुन लागेको एसइई परीक्षा स्थगित भयो । घन्टौँ हिँडेर परीक्षा केन्द्रमा पुगेका विद्यार्थीले समेत वर्षभरिको मिहिनेत र परिश्रम खेर भएको भनी सामाजिक सञ्जालमा समेत आक्रोश पोखे । कतिपयले यसलाई अवसर मानी थप तयारीमा जुटे । परीक्षा सकिएपछि विद्यार्थीलाई घरपरिवारसँग रमाउने दसैँजस्तै अवसर बन्यो– लकडाउन । वर्षभरिको पढाइको भारी उत्तरपुस्तिकामा बिसाएर घुम्ने योजना बनाएका बालबालिका घरमै बन्धक भए । टिभी, गेम, भिडियोमा भुलिन थाले । कोरोनाको त्रास र छिटै लकडाउन खुल्ने आसमा अभिभावकहरू छोराछोरीको भविष्यभन्दा वर्तमानका लागि चिन्तित भए । व्यस्त जीवनपद्धतिमा विश्राम गर्दै आफू बाँच्न र छोराछोरी बचाउन संघर्ष गरिरहेका आमाबाबु लकडाउनले छोराछोरी बिग्रिएको गुनासो गर्न थाले । पाठ्यपुस्तकमा अभ्यस्त बालबालिका बिस्तारै गुगल सर्च गर्न थाले । विभिन्न वेबसाइटमा भएका कथा, कविता, जीवनी, भिडियो हेर्न थाले । भान्सा नै पाठशाला बन्यो । समग्रमा भन्दा जीवन जिउने कला सिकायो कोरोना कहरले ।

शिक्षण पेसा र शिक्षकसँग सम्बद्ध विभिन्न संघसंस्थाले आइसिटी कक्षा र वेबिनार सञ्चालन गरे । फुर्सदमा रहेका ज्ञानका भोका शिक्षकले सीप तथा क्षमता अभिवृद्धि गर्ने अवसर पाए । शिक्षक विनानिर्देशन राहत वितरण तथा जनचेतना फैलाउन खटिए । विद्यालय सुधारका योजना निर्माणमा जुटे । अधुरा कामले पूर्णता पाए । डिजिटल शैक्षिक सामग्रीको खोजी र निर्माणले तीव्रता पायो । अध्यापनमा व्यस्त हुने शिक्षक स्वाध्यायनमा लागे । सीप र दक्षता निखारे । सिकेर सिकाउने सुनौलो अवसर बन्यो लकडाउन ।

नेपालजस्तो अल्पविकसित मुलुकमा आधारभूत स्वास्थ्य सेवा तथा सुविधासमेत पुर्याउन धौधौ परिरहेको अवस्थामा महामारी प्रकोप रोक्नलाई स्वास्थ्य संस्था, जनशक्ति र क्षमता अपुग छ । विकल्पमा नेपालका अधिकांश सार्वजनिक विद्यालय अहिले कोरोनाका शंकास्पद व्यक्ति राख्ने क्वारेन्टाइन बनेका छन् । हाम्रा गाउँ, सहरमा प्रायः समुदायका बीचमा विद्यालय छन् । विद्यालयमा संक्रमित राखिएकाले संक्रमण फैलिन सक्ने भन्दै विरोध भएका समाचार देख्न र सुन्न पाइन्छ । तत्काल ती खाली हुनेभन्दा संख्या थप गर्नुपर्ने अवस्था छ । यसले गर्दा विद्यालयप्रति विद्यार्थी तथा अभिभावक सशंकित र त्रसित बनिरहेका छन् । विद्यालय खुले पनि विद्यार्थी विद्यालय जान सक्ने मानसिकतामा देखिँदैनन् । यता अभिभावक पनि आफ्ना छोराछोरीलाई तत्कालै विद्यालय पठाइहाल्ने मनस्थितिमा छैनन् । यस्तोवेलामा वैकल्पिक सिकाइका उपाय आवश्यक पर्छ ।

शैक्षिक सत्र र पठनपाठन
नव वर्षसँगै नेपालमा नयाँ शैक्षिक सत्र सुरु हुने, विद्यार्थी भर्ना अभियान सञ्चालन तथा स्वागत गर्ने प्रचलन लकडाउनका कारण हुन सकेन । यति मात्र होइन, वार्षिक नतिजाको समीक्षा र भावी लक्ष्य प्रक्षेपणमा समेत यसले असर पुर्यायो । लकडाउन उच्चस्तरीय समिति तथा स्वास्थ्यकर्मी एवं विज्ञहरूको सल्लाहअनुसार मोडालिटी परिवर्तन हुँदै गइरहेको छ । केही विद्यालयमा सामाजिक दूरी कायम गरी पाठ्यपुस्तक वितरण भइरहेको पाइन्छ । तर, यो पर्याप्त भने छैन । विद्यालयमा वैकल्पिक शिक्षण सिकाइका विभिन्न मोडालिटीका बारेमा थुप्रै चर्चा परिचर्चा हुने गरेका छन् । केही–केही निजी विद्यालय र सहरका केही सार्वजनिक विद्यालयमा जुम एपबाट भर्चुअल कक्षा सञ्चालनमा ल्याइए तापनि प्रभावकारी देखिएनन् ।

विद्यालय सञ्चालनका लागि शिक्षा मन्त्रालय र त्यसअन्तर्गतका निकाय एवं शिक्षाविद् तथा बुद्धिजीविबीच छलफल र अन्तक्र्रिया भइरहेको छ । सरकारले कहिलेसम्म र कस्तोखालको नीति अवलम्बन गर्ला भनेर किटान गर्न नसकिने अवस्था छ । आफ्नो सेवा क्षेत्रका बालबालिकाको पहुँच र अवस्था पहिचान, संकलन र वर्गीकरणका लागि शिक्षक नै उपयुक्त व्यक्ति हो । जसले भावी वैकल्पिक सिकाइका योजना निर्माण र कार्यान्वयनमा विशेष महत्व राख्दछ ।

बजेट र योजना
कोभिड–१९ को महामारीले विश्वमै दोस्रो विश्वयुद्धपछिकै यो वर्ष आर्थिक मन्दी न्यून बिन्दुमा पुग्ने अनुमान गरिएको छ । तसर्थ यसले समग्र जनजीवनका पक्षहरूमा नै नकारात्मक असर पुर्याउने देखिन्छ । यसका साथसाथै यसको प्रत्यक्ष असर शिक्षा क्षेत्रमा पनि पर्ने निश्चित छ । नेपालजस्तो अल्पविकसित मुलुकमा त यसको चुनौती झन् धेरै जटिल हुन सक्छ । ०७७/७८ को बजेटमा ११.४६ प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्याइको छ । शिक्षा नीति तथा कार्यक्रममा पनि पुरानै कार्यक्रमले स्थान पाएका छन् । दिवा खाजा, स्वयंसेवक शिक्षकजस्ता झिनामसिना कुरामै बजेट अलमलिएको छ । यो बजेटमा पनि शिक्षा क्षेत्र सधैँझैँ उपेक्षित देखिन्छ । तसर्थ यस्तो विषम परिस्थितिमा शिक्षा क्षेत्रमा नयाँ योजना तथा कार्यक्रम नआउनु दुखद छ । दिगो रूपमा भर्चुअल लर्निङ र इलर्निङका लागि भौतिक पूर्वाधार निर्माणमा शिक्षाको लगानी विस्तार गर्नुपर्ने थियो त्यो हुन सकेन ।

अबको बाटो
युनेस्कोका अनुसार कोरोना प्रभावित विश्वका एक सय ८६ मध्ये ९० प्रतिशत मुलुकमा विद्यालय बन्द छन् । जापान, डेनमार्कजस्ता विकसित मुलुकमा पनि चार सयजति विद्यालय मात्रै सञ्चालनमा आएका छन् । हाम्रोजस्तो विकासोन्मुख मुलुकमा विद्युत्, इन्टरनेट आदिको पर्याप्त सुविधा छैन । धरातलीय विकटताका कारण बालबालिकामा विद्यालय पुग्नै समस्या छ । यस्तो समयमा शिक्षा मन्त्रालय, उच्चस्तरीय समिति, शिक्षाविद्, शिक्षक महासंघलगायतले छलफल गरी तत्कालीन र दीर्घकालीन नीति तथा कार्यक्रम तर्जुमा गर्नुपर्छ । यसरी बनाइएका योजना कार्यान्वयनमा स्थानीय तहलाई निर्देशिका बनाई जिम्मा दिनुपर्छ । समयक्रम र आइपर्ने अवस्थाअनुरूप मोडिलिटी परिवर्तन गर्दै जानुपर्छ ।

सर्वप्रथम विद्यार्थी तथा अभिभावकमा रहेको मनोवैज्ञानिक सन्त्रास कम गर्नुपर्छ । विद्यालयबाट क्वारेन्टाइन हटाई अविलम्ब स्यानिटाइजेसन गर्नुपर्छ । विद्यालयमा हेल्थ डेस्क र हेल्प डेस्क राख्नुपर्छ । निश्चित अवधिका लागि बालबालिकाको नियमित चेकजाँचको व्यवस्था गर्नुपर्छ । सबैलाई मास्क, पन्जा अनिवार्य गर्नुपर्छ । शिक्षकलाई इन्सेन्टिभ दिई विद्यार्थीको पहुँच (वैकल्पिक शिक्षाका लागि) पहिचान, संकलन, विश्लेषण र वर्गीकरणका लागि अतिरिक्त समयमा खटाउनुपर्छ । स्थानीय सरकारले निर्देशिका जारी गरी वैकल्पिक सिकाइका उपाय अवलम्बन गर्नुपर्छ । अनलाइन तथा अफलाइन सिकाइ वातावरण तयार गर्नुपर्छ । शैक्षिक पोर्टलहरूमा सहजै प्रयोग गर्न सकिने गरी शैक्षिक सामग्री विकास गर्नुपर्छ । आमने–सामने पद्धतिबाट सिकाइसँगसँगै विद्यार्थीका समस्या समाधानका उपाय खोज्नुपर्छ । डिजिटल शैक्षिक सामग्रीको उत्पादन, पहुँच र प्रयोगमा व्यापक विस्तार गर्नुपर्छ । रेडियो, टिभीबाट भर्चुअल शिक्षणको पहुँच र प्रयोग बढाउनुपर्छ । ठाउँठाउँमा निःशुल्क वाइफाई जोन, टिभी जोन बनाउनुपर्छ । सामाजिक दूरी कायम राख्दै सिकाइका लागि खेल र खेलबाट सिकाइको अवसर प्रदान गर्नुपर्छ ।

लचिलो सिकाइ पद्धतिबाट सिकाउनुपर्छ । फोन, ह्वाट्सएप, सोसियल मिडिया, गुगल कक्षा, जुममिटिङ, भिडियो, भ्वाइस म्यासेज आदिबाट वैकल्पिक सिकाइ वातावरण बनाउनुपर्छ । गाउँका दूरदराजमा भएका विद्यालय र विद्यार्थीका लागि गाइड सेट, वर्कबुक आदि तयार गरेर वैकल्पिक शिक्षणबाट सिकाउनुपर्छ । यो वर्ष पढाइमा भन्दा सिकाइमा जोड दिनुपर्छ । कलसेन्टरबाट अभिभावक र विद्यार्थीका समस्या समाधान गर्नुपर्छ । शिक्षकलाई प्रविधिसम्बन्धी तालिम वेबिनार, कलसेन्टरबाट कार्यस्थलमै प्रदान गर्नुपर्छ । निरन्तर सिकाइ र दिगो सिकाइमा जोड दिँदै महामारीबाट बाहिर निस्कने प्रयत्न गर्नुपर्छ । शैक्षिक सत्रलाई कार्यदिनमा गणना गर्नुको सट्टा सिकाइ उपलब्धिसँग जोडेर हेर्नु सान्दर्भिक हुन्छ । कक्षा १ देखि १२ सम्मको शिक्षालाई एउटै दिनबाट सुरु गर्ने यो सुनौलो अवसरको सदुपयोग गर्नैपर्छ ।

(थापा लक्ष्मी मावि, बेलबारी मोरङका माध्यमिक तहका शिक्षक हुन्)

प्रतिकृया दिनुहोस्