यसरी शुरु गरौं नयाँ शैक्षिक सत्र

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२९ श्रावण २०७७, बिहीबार ,
युवराज बस्ताकोटी

दार्शनिक माइल्स डेभिसले भनेका छन्, ‘समय संसारको सवभन्दा महत्त्वपूर्ण कुरा होईन, यो त एक मात्र महत्त्वपूर्ण कुरा हो’ । समयको महत्त्वलाई बुझ्ने मानिसले मात्र मात्र जीवनमा सफलता प्राप्त गरेका छन् । समयमा काम गर्ने, सुत्ने, उठ्ने, खाने, अध्ययन गर्ने मानिस सफल हुन्छ । उ धनी हुन्छ । उ सम्पन्न हुन्छ । बुद्दिमानी हुन्छ र स्वस्थ हुन्छ । उसले आफ्नो, समाजको र राष्ट्रको लागि केही न केही गरिरहेको हुन्छ ।

हामी अहिले कोभिड–१९ को महामारीमा छौं । विश्वभर २ करोड माथि मानिसहरु संक्रमित भएका छन् । दैनिक लाखौं थपिएका छन् । झण्डै ७ लाख भन्दा धेरै मानिसले ज्यान गुमाएका छन् विश्वभर । त्यस्तै हाम्रो देशले पनि ९७ जना गुमाएको छ भने २३ हजार संक्रमित भएका छन् । तीस लाख मानिसले प्रत्येक्ष रोजगारी हाललाई गुमाएको अवस्था छ । यो भन्दा दुखको कुरा हाम्रा बालबालिका विद्यालय जान पाएका छैनन् ।

उनीहरूको पठन–पाठन एक किसिमले रोकिएको छ यद्यपि ३० प्रतिशत बालबालिकाले भर्चुअल कक्षा लिँदै छन् । भर्चुअल कक्षा पढ्नेहरु पनि त्यति राम्रो मोटिभेटेड भएका छैनन् । यिनका अभिभावकलाई अनलाइन कक्षाले केहि फाइदा पुर्याउछ भन्ने लागेको छैन । सामुदायिक विद्यालयले अपवाद बाहेक पुस्तक मात्र बाँडेका छन् । त्यहाँका शिक्षक कर्मचारी घरमा छन् । उनीहरूको खातामा तलव सुविधा जम्मा भईरहेको छ । सामाजिक सञ्जालमा स्वर पनि ठूलो छ । उनीहरु स्वस्थ्थ खाना पेटभरि खाएका छन् बलिया पनि छन् ।

निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरुले आफ्ना विद्यार्थीको भविष्यको चिन्ता गरेका छन् । सके सम्म विद्यार्थीलाई भर्चुअल कक्षा मार्फत पढाइ पनि रहेका छन् । एकाध विद्यालय सञ्चालकले आफ्नो गहना डिपोजिट गरेर वा सहकारीबाट ऋण लिएर केही शिक्षकलाई सामान्य खर्च चल्ने गरि तलव दिने प्रयास गरेका त छन् अब गहना पनि छैन, ऋण लिने ठाउँ पनि छैन । अभिभावकहरु शुल्क तिर्न विद्यालय गएका छैनन् । कर्पोरेट विद्यालयहरुलाई छाड्ने हो भने झण्डै ८० प्रतिशत विद्यालय स्वरोजगारमुखी स्वतन्त्र विद्यालय हुन् जुन शिक्षकहरुद्वारा सञ्चालित विद्यालय हुन् । ती अध्ययन गरेका राष्ट्रले हैसियत क्षमता र योग्यता अनुसार रोजगारी दिनु पर्ने जनशक्ति हुन् ।

उनीहरु आफ्नो लगानीमा स्वरोजगार भई रहेका छन् त कसरी गलत गरेका छन् ? यो प्रश्नको उत्तर मानिसहरुसँग छैन जसले निजी क्षेत्रबाट सञ्चालित विद्यालय विरुद्ध तितो पोख्छन् । ती कर्मचारी र मन्त्रीलाई थाहा हुनु पर्ने हो राज्यको जिम्मेवारी के हो ? १२–१५ प्रतिशतमा रहेका महँगा विद्यालयलाई हेरेर सम्पूर्ण निजी विद्यालय कर्पोरेट नै हुन् भनेर बुझ्नु जस्तो मुर्खता के हुन्छ यो संसारमा ।

अर्को पक्ष विद्यार्थी हुन् । उनीहरु अहिले सामाजिक सञ्जालमा रमाएका छन् । पव जी, फ्रि फाएरलगायत मानसिक सन्तुलन गुमाउन सकिने मोवाइल गेमहरु खेलेर विद्यार्थीहरुले आफ्नो बानी बिगारि रहेका छन् । एउटा खराब लत बसि सके पछि त्यो लतबाट छुटाउन बडो मुस्किल हुन्छ । मानिसले यो बुझेका छैनन् । कि समय महत्त्वपूर्ण छ । जीवनको तालिका बिग्रए पछि तीन पुस्ता बिग्रन्छ । सधैं दमित र कमजोर भएर बाँच्नु पर्नेछ । हाम्रा वालवालिकाको जीवन तालिका नबिगार्ने हो भने सरकार, अभिभावक र समाजले केही न केही त्याग त गर्नै पर्छ । निजी विद्यालयले गरेका राम्रो शुरुवातलाई सहयोग गर्नै पर्छ ।

शुल्क नतिरी निजी विद्यालयले पढाउन सक्छ भनेर बुझ्नु पुर्णतया गलत र भ्रम मात्र हुन्छ । समय यति महत्त्वपूर्ण छ जुन हामीले व्याख्या गर्न सक्दैनौं महसुस मात्र गर्न सक्छौं । स्वास्थ बचाएर पनि विद्यार्थीको समय बचाउन सकिन्छ । त्याग त हुन पर्छ–पर्छः विना त्याग मानिसको अपेक्षा दिवा सपना मात्र हो । विलियम पेनले भनेका छन्, ‘हामीले सबैभन्दा धेरै चाहने चिज समय हो, त्यसैगरि सबैभन्दा दुरुपयोग गर्ने पनि समय नै हो’, अनि बन्ने हो जीवन असफल । जसले समय बुझ्दैन र बुझेर पनि सदुपयोग गर्दैन उ असफल हुन्छ, हुन्छ । अतः अझै बिग्रि सकेको छैन । राज्यले एउटा घोषणा गर्नै पर्छ ।

राज्यले सबैलाई बिगार्नु भन्दा धेरैलाई बचाउनु बुद्दिमानी हुन्छ । सामुदायिक वा निजी सबैलाई भर्चुअल कक्षाका लागि आब्हान गर्नु पर्छ । विश्वमा भ्याक्सिनको जुन प्रयास भई रहेको छ यसले एकातिर शुभ संकेत गरेको छ अवको ३ वा ४ महिनामा हामीले भ्याक्सिन पाउन सक्छौं । त्यसो हो भने त्यति समयका लागि एउटा र अर्को बाँकि समयका लागि अर्को योजना बनाएर राज्यले घोषणा गरोस् । आज भाद्र शुरु हुँदैछ । भदौ १ देखि ७ कडा निगरानीमा राखौं । भदौ ७–२० भर्ना गर्ने र नाम दर्ता गर्ने गर्न भनौं । साथसाथै, भदौ १५ बाट शैक्षिकसत्र गणना गरौं, अनिवार्य भर्चुअल कक्षा भनौं ।

छुट्न सक्ने २० प्रतिशत विद्यार्थीलाई दोस्रो चरणमा डवल कक्षा लिएर परिपुर्ति गर्ने योजना बनाऔं । भर्चुअल कक्षा शैक्षिकसत्रको गणनामा जोडौं । यद्यपि मानिसको समस्या बुझेर भर्ना, नविकरण मंसिर सम्म जारि राखौं । दोस्रो चरणको कार्यक्रम संसारमा भ्याक्सिनको अवस्था हेरेर नोभेम्वर १५ वा डिसेम्बर १५ कायम गरेर, प्रत्यक्ष कक्षा व्यवस्थापन शुरु गरौं । विश्व स्वास्थ्य संगठन र बैज्ञानिक समेतले भनेका छन् कि, अझै केही वर्ष हुनसक्छ २–३ वर्ष, यो भाइरसको सामान्य प्रभाव रहने नै छ ।

अतः यसबाट जोगिने एक मात्र उपाय भौतिक दुरी, मास्कको सहि प्रयोग, सरसफाइ, हातखुट्टा धोईराख्ने र सचेत जीवन पद्धति नै हो । त्यसो भई सकेपछि बालबालिकाको मात्र होईन राष्ट्रको गुणस्तरीय जनशक्ति प्राप्त गर्ने सम्भावनालाई किन मार्ने ?

अब मानव जातीले कोभिड जस्तो महामारीलाई चुनौति दिएर दैनिक जीवन पद्धति त अगाडि बढाउनु नै छ । र अति आबश्यक पनि भई सक्यो । यहि आधारमा कलेज र विश्वविद्यालयहरु पनि निरन्तरताको आवश्यकता भई नै सक्यो । सरकारले कानको ढकनी र आँखाको पर्दा खोलेर सहि नेतृत्व दिन ढिला गर्नु गलत हुनेछ । सचेतनापुर्ण निर्णय आजै गरौं । विद्यालयमा जोडौं, आव्हान गरि हालौं ।

(लेखक नेपाली काँग्रेसको संघिय मामिला तथा प्रदेश समन्वय केन्द्रीय विभागको सदस्य तथा शिक्षाविद् हुन् ।)

प्रतिकृया दिनुहोस्