काठमाडौं । कोभिड–१९ को महामारी र लकडाउनका बेला पनि विद्यार्थीको सिकाइलाई निरन्तरता विद्यालयहरुले विभिन्न अनुकरणीय प्रयासहरु अपनाएका छन् । विद्यालयहरुले सूचनाप्रविधिको प्रयोग गरी सिकाउने, सिकाइ सामग्री विद्यार्थीको घरमै पुर्याउने देखि टोलटोलमा शिक्षक खटाएर सिकाइ निरन्तरताको प्रयास गरेको पाइएको छ ।

त्यतिमात्रै होइन देशका केही उम्दा र शृजनशील विद्यालयहरुले शैक्षिक सत्र खेर जान नदिन पाठ्यक्रमलाई घटाएर छोटो समयमा पठनपाठन पूरा गर्ने गरी नयाँ पाठयोजनाको तयारीमा जुटेको पाइएको छ ।

शिक्षा पत्रकार समूहको साप्ताहिक भर्चुअल संवाद शृंखला शिक्षाबारको ‘सामुदायिक विद्यालयहरूमा वैकल्पिक शिक्षणको अवस्था र योजना: सातै प्रदेशको अनुभव’ मा प्रधानाध्यापकहरुले सिकाइ निरन्तरताका लागि गरेका अभ्यासहरु जानकारी गराएका हुन् । त्यसो त कोरोना महामारीको प्रभाव कहिलेसम्म रहने टुङ्गो नलाग्दा समेत सरकारले वैकल्पिक शिक्षाबाहेक अरु उपायबारे निर्णय नलिएपछि शिक्षक, विद्यार्थी र अभिभावक अन्योल छाएको उनीहरुको गुनासो थियो ।

सामुदायिक विद्यालयका शिक्षकहरुले विद्यार्थीको अध्ययन निरन्तरता दिन भर्चुअल कक्षादेखि टेलिभिजन, रेडियो तथा एफएममार्फत कार्यक्रम गर्ने र टोल टोलमा पुगेर भौतिक दुरी कायम गर्दै अध्यापन गर्दै आएको सुनाएका थिए ।

प्रदेश १
झापाको २ हजार ५ सय विद्यार्थी रहेको महेन्द्रा धुलाबारी माविका प्रधानाध्यापक महेन्द्र विलासी लूइटेलले वैकल्पिक शिक्षाका लागि रेडियो कक्षा लिन विद्यार्थीसँग रेडियो नभएको पाएपछि नगरपालिकालाई अनुरोध गरेर विद्यार्थीलाई टोलटोलमा रेडियो वितरण गरेको बताए । ‘प्रत्यक्ष विद्यालयमा बोलाउन नसक्ने भएकाले वरिपरिका ७ वटा टोलमा भएका आमा समूहलाई प्रतिनिधिको रुपमा विद्यालय बोलाई रेडियो सुन्ने बालबालिकाको बारे बुझ्यौं ।’ उनले भने, ‘अहिले घरमा रेडियोभन्दा मोबाइल मात्र प्रयोग गर्ने गरेको विद्यालयको पहलमा प्रत्येक वडामा २९ ओटा रेडियो वितरण गर्यौं ।’

रेडियो वितरण गरेपछि रेडियोमार्फत दैनिक १ घण्टा कार्यक्रम प्रसारण र ईन्टरनेट सुविधा भएका ६ देखि १० कक्षाका विद्यार्थीलाई गणित, अंग्रेजी, विज्ञान, ऐच्छिक गणित जस्ता मुख्य विषय पढाउदै आएको लुइटेलले बताए ।

सुदुरपश्चिम प्रदेश
धनगढीका पञ्चोदय माविका प्रअ हरिशकुमार ओझाले विद्यालयमा क्वारेन्टाइन समेत राखिएकाले अझै ३५ प्रतिशतभन्दा बढि विद्यार्थी पाठ्यपुस्तक लिन समेत नआएको गुनासो गरे । विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी बझाङ, दार्जुला लगायतका पहाडी भेगका भएको र उनीहरु गाउँ गएकाले पुस्तक लिन नआएको र अनलाइन कक्षा पनि सबैका लागि सम्भव नभएको उल्लेख गर्दैै उनले भने, ‘शिक्षा महाशाखामा अनुरोध गरेर भिडियो, अडियो माध्यमबाट भए पनि गणित विषय पढाइरहेका छौं । तर धेरैको पहुँच छैन ।’

कर्णाली प्रदेश
दैलेख जनता प्रधानध्यापक पार्वती पोखरेलले विद्यार्थीलाई गत वर्षको विवरणका आधारमा भर्ना गरेको र फोन गर्दै पाठ्यपुस्तक वितरण गरेको सुनाइन् । उनका अनुसार, सरकारले असार १ देखि टिभि, रेडियोबाट वैकल्पिक शिक्षा दिने भनेपछि सबैलाई यसैअनुसार गर्न खबर गरेको तर इन्टरनेटको पहुँच नभएकाले अनलाइन कार्यक्रम गर्न भने भएन । ‘सरकारको नीतिले भर्ना गर्ने नगर्ने समेत बोलेको छैन’ उनले भने ।

बाग्मती प्रदेश
मकवानपुरको अमर माविका प्रधानध्यापक मालती उप्रेती ३० प्रतिशत विद्यार्थीको मात्र अनलाइनको पहुँच भएको बताइन् । आफ्नो विद्यालयमा सुकुम्बासी वर्गका बालबालिका बढि भएकाले उनीहरुका लागि वैकल्पिक सिकाइ लागू गर्न नसकेको उल्लेख गर्दै भनिन्, ‘अनलाइन कक्षामा एउटा कक्षाका ७०–८० मध्ये १०–१२ जना मात्र सहभागी हुने स्थिति छ ।’

मकवानपुरको उक्त विद्यालयले समूह बनाएर समुदायमा पायक पर्ने अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन गर्दै आएकोमा कोरोना संक्रमित बढेपछि दुई सातादेखि बन्द छ ।

प्रदेश ५
श्री मावि मौरीघाट दाङकी प्रधानध्यापक सीता रिजाल राप्ती गाउँपालिकाले संस्थागत/सामुदायिक सबै अभिभावकलाई बोलाएर विषयगत विज्ञ शिक्षकबाट कार्यक्रम बनाएर टिभी /रेडियोबाट प्रसारण गर्दैआएको बताइन् ।तर, प्रत्यक्ष जस्तो प्रभावकारी नभएको अभिभावकको गुनासोपछि समूह बनाएर साउनभर समुदायमा गएर पढाइएको थियो । त्यहाँ पनि कोरोना संक्रमित बढेपछि सिकाइ बन्द छ ।

गण्डकी प्रदेश
पोखरा कालिका माविकी प्रधानाध्यापक निर्मला मानन्धरले अनलाइन कक्षा प्रभावकारी नभएपछि सेल्फ लर्निङ पुस्तक सबै कक्षाका विद्यार्थीलाई वितरण गरेको बताइन् । भौतिक दुरी कायम गरेर विद्यार्थीलाई हप्तामा १ पटक पालैपालो बोलाउने र होमवर्क दिने गरेको तथा अभिभावकलाई समेत गाइड गर्न अनुरोध गरेको उनले जनाइन् ।

प्रदेश २
श्री मावि पाली धनुषाका प्रअ दिपेन्द्र सिंहले विद्यालयले सिकाइ निरन्तरताका लागि जेठ २९ गते नै पाठ्यपुस्तक वितरणगरेको, दुर शिक्षाका लागि केन्द्रिय र स्थानीय सरकारले सञ्चालन गरेको रेडियो, टेलिभिजन कक्षाहरुमा विद्यार्थीहरुलाई सहभागी हुन अनुरोध गरेको बताए ।

काठमाडौँ उपत्यका
नीलबाराही माविकी प्रधानाध्यापक जानुका पौडेलले कोभिडका कारण विद्यार्थीहरुलाई खानबस्न समस्या भएर तीन महिनाका लागि राहातसमेत दिएको बताइन् । असारदेखि स्थानीय एफएमबाट कक्षा सञ्चालन र नेपाल टेलिभिजनबाट संचालित भर्चुअल कक्षाको उपयोग गर्न विद्यालयले अनुरोध गरेको थियो । विद्यालयले बैकल्पिक शिक्षाबारे सर्भेक्षण पनि गरेकोमा भर्चुअल सिकाई ३५ प्रतिशतको मात्र पहुँचमा रहेको पाइएको उनले बताइन् ।

शिक्षा पत्रकार समूहले हरेक सोमवारलाई शिक्षाबारका रुपमा समसामयिक शैक्षिक मुद्दामा भर्चुअल संवाद गर्दैआएको छ ।

प्रतिकृया दिनुहोस्