हिजोआज अनलाइनअर्थात् भर्चुअल शिक्षण सिकाइ प्रसंगले सामाजिक सञ्जाल, पत्र पत्रिका, टिभी र रेडियोहरुमा निकै बजार पाएको छ । जताततै यसको चियो चर्चा भैरहेको छ । विभिन्न सेवा प्रदायक कार्यालय वा संघ संस्थाहरु आफना सरोकारवाला सेवाग्राहीहरु सित जुम क्लाउडमार्फत् अनलाइन मिटिङ गर्ने कुरा त सामान्य भएको छ ।

इन्टरनेट व्यवसाहीको व्यापार पनि बढेको छ । लकडाउनको समयले अनलाइन सेवाग्राहीको संख्या पनि बढाएको छ । लकडाउनका कारण बाह््य कामकाज बन्द भएकोले फेसबुक, युट्युब र अनलाइन क्रियाक्लापहरु समय कटाउने साथी भएका छन् ।

विकसित मुलुकहरुमा व्यापार–व्यवसाय, अध्ययन–अध्यापन अनलाइनमार्फत् हुन्छन् भन्ने कुरा सुनेर अनौठौं महसुस गर्ने हाम्रो समाज आज आफै यसको उपयोग गर्न उन्मुख भएको छ । यो सबैका लागि खुशीको कुरा पनि हो । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वका अधिकांश मुलुकहरु लकडाउनको स्थितिमा छन् । नेपाल पनि यस पिडाबाट अछुतो रहन सकेन ।

यस्तो विषम परिस्थितिमा विद्यालयदेखि विश्वविद्यालय सम्म सबै बन्द छन् । विद्यालय तथा क्याम्पसहरु क्वारेन्टाइन बनाइएका छन् । स्वदेशमा बस्नेहरुभन्दा विदेशबाट स्वदेश फर्किनेहरुमा कोरोना भाइरसको जोखिम अधिक छ । निश्चित दिनको क्वारेन्टाइन बसाइ पछि घर फर्के तापनि मानिसमा कोरोनाको त्रास छ ।

चैत महिनामा स्थगित भएको एसईई परीक्षा नहुने निश्चित भइसकेको छ । विद्यालयले प्रकाशित गरेको विभिन्न कक्षाकोे नतिजा फोन र फेसबुकबाट आफूले जानकारी पाएका बालबालिका विद्यालय कहिले खुल्छ भन्ने कुरामा अन्यौल छन् । यो कुरा शिक्षा मन्त्रालयलाई नै यकिन छैन । यस्ता बालबालिकाहरुलाई कसरी शिक्षण सिकाइ कार्यमा सहभागी बनाउने भन्ने कुरा सबैको चासो र चुनौती बनेको छ ।

कतिपय विद्यालयले जुम क्लाउड एप्लिकेशनमार्फत् अनलाइन कक्षा सञ्चालन गरेका पनि छन् । कतिपयले स्थानीय एफ एम रेडियोमार्फत् पनि कक्षा संचालन गरेका छन् । त्यसको लाभ कति विद्यार्थीहरुले लिएका छन् भन्ने कुराको लेखाजोखा कसैले गरेका छैनन् । तथापि सिमित संख्यामा भएपनि विद्यार्थीले अनलाइन पढाइको लाभ लिइरहेका भने भेटिन्छन् ।

विद्यार्थीले अनलाइन कक्षा शिक्षण सिकाइ कार्यक्रममा किन सहभागिता देखाउन सकेनन् ? अर्थात अनलाइन शिक्षण सिकाइ कार्यक्रम किन सबैको पहुँचको विषय बनेन ? हाम्रो जस्तो विकासोन्मुख मुलुकमा अनलाइन शिक्षण सिकाइ कार्यको सम्भावना कति छ त ? भन्ने सन्दर्भमा यहाँ केही चर्चा गर्ने प्रयास गरेको छु ।

नेपाल विश्वका इन्टरनेट प्रयोग गर्ने देशहरुको सुचिमा १४४ औं स्थानमा पर्दो रहेछ । हाम्रो देशको विद्यमान अवस्थालाई नियालेर हेर्दा इन्टरनेटको पहुँच शहरी इलाकामा सिमित छ । नगण्य मात्रामा ग्रामीण क्षेत्रमा पनि छ । झण्डै ८३ प्रतिशत जनसंख्या गाउँमा बसोबास गर्छन् । उनीहरुका बालबालिकाहरु ग्रामीण भेगका विद्यालयमा अध्ययन गर्दछन् । गाउँका विद्यालयमा इन्टरनेटको व्यवस्था छैन । करिब १३ प्रतिशत विद्यालयमा मात्र इन्टरनेटको पहुँच पुगेको कुरा तथ्याङ्कबाट बुझ्न सकिन्छ । यस्तो परिवेशमा अनलाइन कक्षा प्रभावकारी भएपनि हाम्रा बालबालिकाहरुका लागि कति सम्भव होला ?

नेपालको भूगोल अध्ययन गर्ने हो भने धेरै भाग जनसंख्या ग्रामीण इलाकामा बसोबास गर्छन् । सबैको घरमा बिजुली पुगेको छैन । गाउँलेहरुले सामान्य टेलिफोन सेट प्रयोग गरी सञ्चार सम्पर्क गर्न थालेका छन् । सिमित मानिसहरु सित स्मार्ट फोन छन् तापनि त्यसमा भएका सबै फन्क्शन चलाउन जान्ने सीप छैन । डिसहोम टेलिभिजन केही व्यक्तिका घरमा जोडिएका छन् । घरायसी काममा व्यस्त रहने अभिभावकका बालबालिकालाई समय व्यवस्थापन गर्न पनि चुनौती नै देखिन्छ ।

विद्यालयमा सरकारले क्वारेन्टाइनको व्यवस्था गरेको छ । विद्यालय गएर त्यहाँ जडित इन्टरनेट प्रयोग गर्न सक्ने अवस्था छैन । लकडाउनको समयमा घरमा बस्नुपर्ने बाध्यात्मक अवस्थामा शिक्षकहरु छन् । नगण्य शिक्षकहरुमा आइसिटीको सामान्य ज्ञान छ । शिक्षकशरुलाई आइसिटी सम्बन्धि तालिम छैन । आवश्यक सामग्रीको ब्यवस्था गर्नका लागि शिक्षकले अरुको सहयोग लिनु पर्दछ ।

सबै शिक्षक सित कम्प्युटर छैन । भएकाहरुको घरमा इन्टरनेटको व्यवस्था छैन । शहर केन्द्रित कार्यनीतिले त्यति प्रभावकारी काम गर्ला जस्तो देखिदैन । शैक्षिक विकासका लागि कोही पनि उत्तरदायी बन्न तयार छैनन् । ग्रामीण भेगका अभिभावकहरु विद्यालयमुखी छन् । बालबालिकालाई कति बेला बिद्यालय पठाउने भन्ने कुराले आतुर छन् । घर र समुदायमा पढ्ने र पढाउने वातावरण छैन ।

माथि उल्लेखित सबै कुरालाई संस्लेषण गरी मैले हाम्रो देशमा चार थरीका बालबालिकाहरु भएको कुरा महसुस गरेको छु ।

१. इन्टरनेटको सुविधा भएका बालबालिकाहरुः सम्पन्न अभिभावकका बालबालिकाहरु पहिलो श्रेणीमा पर्दछन् । यस्ता अभिभावक स्वदेश तथा विदेशका महँगा विद्यालयमा आफना बालबालिका पढाउन सक्छन् । कतिपयले पढाइ रहेका पनि छन् । यस्ता बालबालिकाहरुका लागि अनलाइन कक्षा शिक्षण सिकाइ उपयुक्त हुन्छ जस्तो लाग्दछ ।

यस्ता अभिभावकको घरमा टिभी, फोन, इन्टरनेट सबै जडान गरिएको छ । बालबालिाहरु इन्टरनेटको पहुचमा हुनाले यिनीहरुको लागि अनलाइन शिक्षण सिकाई कार्यक्रम उपयुक्त छ ।

२. टेलिभिजनको सुविधा भएका बालबालिकाहरु : गाउँमा बसोबास गरेतापनि सामान्य पारिवबरिक अवस्था भएका अभिभावकको घरमा टेलिभिजन पनि छ । यस्ता अभिभावकका बालबालिकहरु बिभिन्न टेलिभिजन च्यानेलहरुले सञ्चालन गरेका अनलाइन कक्षाबाट लाभ लिइरहेका छन् । त्यस्ता बालबालिकाहरुलाई अनलाइन कक्षाको त्यति महत्व पनि छैन । इन्टरनेटको माध्यमबाट संचालित कक्षा भन्दा यस्ता कक्षा प्रभावकारी मानिन्छन् ।

३. रेडियो र फोन भएका बालबालिकाहरु : ग्रामीण भेगमा बसोबास गर्ने अधिकांश बालबालिकाहरुको घरमा रेडियो छ । त्यहाको मनोरञ्जनको साधन रेडियो हो । रेडियो नेपाल र बिभिन्न एफ एमहरुबाट कार्यक्रम सुन्ने, सुचना र जानकारी लिने गरिन्छ । त्यहाँका बालबालिकाहरुले एफ एमबाट सञ्चालित कक्षाबाट लाभ लिन सक्ने सम्भावना अधिक छ । कतिपयले लिइरहेका पनि छन् ।

४. कुनै पनि संचारका साधन नभएका बालबालिकाहरु : जुन अभिभावकहरुको पारिवारिक पृष्ठभुमी कमजोर छ । अर्काको काम गरेर आफनो जिविका चलाउनु पर्ने बाध्यता छ । यस्ता अभिभावकका बालबालिकाहरु सामुदायिक विद्यालयमा पढ्छन् । उनीहरुको जनजीवन अस्तव्यस्त हुन्छ । उनीहरुलाई किताबको व्यवस्था सरकारले गरेको हुन्छ । घरको काम सकेर मात्र पढ्न तिर लाग्नु उनीहरुको पारिवारिक विवशता हुन्छ ।

संचारका साधन वीहिन बालबालिकाहरु कसरी अनलाइन शिक्षण सिकाइमा सहभागी हुन सक्छन् ? अरुले पढेका कुरा सुनेर आफू सहभागी हुन नसकेको निउँमा आत्महत्या सम्मको अवस्थामा यस्तै बालबालिका पर्दछन् । संख्यात्मक रुपमा यस्ता बालबालिका धेरै छन् ।

केही विद्यालयले शिक्षकको गुगल बैठक बसी विद्यार्थी समूह बनाएर अनलाइन कक्षा चलाउने योेजना गरेका पनि छन् । त्यस्ता विद्यालयले शिक्षकहरुलाई अभिभावक तथा विद्यार्थी सित सम्पर्क गरी कक्षा चलाउन उर्दी गरेका छन् । शिक्षकहरुले पनि विद्यार्थीलाई फोन गरी उनीहरु सित मोबाइल वा कम्प्युटर के छ ? छैन भने किन्नुहोस् । छ भने इन्टरनेट जडान गरी अनलाइन कक्षामा सहभागी भई पढ्नुहोस् ।

जस्ता सल्लाह दिने गरेको देखिन्छ । कतिपयले अभिभावकलाई फोनमार्फत् आफना बच्चालाई मोबाइल वा कम्प्युटर किनी इन्टरनेट जडान गरिदिन सल्लाह दिएका छन् । यी र यस्तै कुराले केही अभिभावक र विद्यार्थीहरु तनावमा देखिन्छन् । जबसम्म प्रत्येक अभिभावकको घरमा इन्टरनेटको व्यवस्था हुँदैन तबसम्म अनलाइन कक्षा शिक्षण सिकाइ योजना अर्थ न पर्थ गोविन्द गाई भन्ने कहावत जस्तो हुने देखिन्छ ।

अनलाइन शिक्षण सिकाइको सल्लाह दिनेहरु भन्छन् । एनटिसी र एन सेल फोन सेवाबाट डाटा लिएर पनि मोबाइलबाट अनलाइन कक्षा चलाउन सकिन्छ । हो, केही हदसम्म चलाउन सकिन्छ तर विश्व बजारमा दक्षिण एशियाली राष्ट्रहरुमा मोबाइल डाटा धेरै महँगो छ । एकजिवी डाटाको लागि औषत खर्च २६० रुपैया पर्दछ । यसरी महँगो डाटा तानेर अनलाइन कक्षामा सहभागी बन्न विद्यार्थी सबै तयार हुन्छन् होला त ? शहर केन्द्रित विद्यालयमा अनलाइन कक्षा सम्भव छ किनभने अधिकांश बालबालिकाहरको घरमा इन्टरनेट सेवा उपलब्ध छ । तर ग«ामीण भेगमा बस्ने बालबालिकाहरुका लागि भने सम्भावना कम देखिन्छ ।

आजका बालबालिका भोलिका देश विकासका कर्णधार हुन् । कोरोना (कोभिड–१९) संकटले देश लकडाउनको अवस्था छ भनेर हात बाँधेर बस्नु किमार्थ उचित होइन । अनलाइन शिक्षण सिकाइ कार्यक्रमलाई मात्र प्रसय दिनुभन्दा आफनो नगरपालिका वा गाउँपालिकामा उपलब्ध साधन श्रोत र जनशक्तिलाई ख्याल गरी विद्यालय शिक्षण कार्य सुचारु गर्नको अर्को बिकल्प संघ, प्रदेश र स्थानीय सरकार सित छैन ।

हैन भने विद्यालय, शिक्षक र विद्यार्थीको दुरी अझ बढ्ने सम्भावना अधिक देखिन्छ । जसले गर्दा विद्यार्थीहरुको भोलिको अवस्था नै लकडाउन नहोला भन्न सकिदैन ।

(खड्का शारदा माध्यमिक विद्यालय छिन्चु, भेरीगंगा १२, सुर्खेतका शिक्षक हुन् ।)

प्रतिकृया दिनुहोस्