कुकुर मेरा गुरु !

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२१ असार २०७७, आईतवार

खोजहरूको इतिहासले भन्छ –‘मानिसले सबैभन्दा पहिले आफूसँग पालेको जनावर कुकुर हो । त्यसपछि क्रमशः आउँछन् –घोडा, गाई, भैँसी, भेडाबाख्रा आदिआदि ।’ समान्य ज्ञानको पोथी (ग्रन्थ) पल्टाउँदै जाने हो भने निकै लामो फेहरिस्त बन्न सक्छ जनावरसँग मानिसका प्रेम प्रसङ्गका सवालमा ।

तर आज मैले यहाँ इतिहासका सन्दर्भ लेराउ’न खोज्या है’न ।

अर्कै प्रसङ्गमा शिक्षाविद्हरूले भनेका रहेछन् –‘एउटा मानिसले आफ्नो बाल्यकालको २ देखि ७ वर्षसम्मको जीवनमा जे देख्छ, भोग्छ, सिक्छ र जान्दछ त्यही उसको दिमागमा अमिट रूपमा छाप पर्छ । जीवनपर्यन्त ऊ त्यही बन्न चाहन्छ । भनाइको मतलब, मानिसका बाल्यकालले नै भविष्यमा ऊ के बन्ने हो भन्ने कुराको तय गर्छ । त्यसै कहाँ भनिएको हो –मर्निङ् सो द डेज ।

नेपाली साहित्यका गम्भीर अध्येता औ नेपाली साहित्यका गुगल भनेर चिनिने शिव रेग्मीले गतसाल मसँगको भेटमा सूक्ष्म लवजका साथ भन्नुभयो –‘यहाँले अब संस्मरण लेख्नु भए हुने रै’छ । पचास नाघेका मानिसले संस्मरण लेख्दा ती लेखोट विभिन्न कोणबाट पठनीय हुन्छन् ।’ त्यतिखेर मैले स्वीकृतिसूचक टाउको मात्र हल्लाएँ । केही जवाफ दिन सकिनँ । सत्तरी प्लसका आफ्नो पिजाजी समानका साहित्यिक अन्वेषकका अघिल्तिर प्याच्च ओठेजवाफ फर्काउन मलाई धक लाग्यो ।

चुपचाप फर्किएँ –म । घरमा आएपछि अनलाइन र पत्रिकाका सम्पादकहरूका डेटलाइन पक्रन मैले हप्ताका तीनवटा आर्टिकल लेख्नै पथ्र्यो । लेखिरहेँ । लेखनलाई मैजस्ताले सायद् दालरोटी निखन्न प्रयोग गर्छन् क्यार ! संस्मरण भनेर संस्मरण त लेखिनँ तर बीचमा दुई तीनवटा संस्मरण जस्ता आर्टिकल लेखिएछन् । ती सबै राजधानी केन्द्रित पत्रिकामा प्रकाशित पनि भए । शारदाले मज्जाले छाप्यो –‘तराईका ती दसैँहरू’ । मिर्मिरेले सगौरव आफ्नो संस्मरण अङ्कमा सजायो । त्यो थियो –‘मैले यसरी लेख्न सिकेँ’ र तेस्रोचाहिँ शब्दाङ्कुरले प्रकाशित ग¥यो, जसको शीर्षक मैले रोजेको थिएँ –‘सिद्धि हजुर बा’ ।

माथि नामोल्लिखित संस्मरणमध्ये मलाई ‘सिद्धि हजुर बा’ नामक संस्मरणले लेख्दाताका हर्षातिरेक अनुभूति दिलाएथ्यो औ प्रकाशित हुँदा समेत पुलकित बनायो ।

खासमा मानिसले जीवनमा लेखेका कुराभन्दा लेख्न बाँकी कुरा धेर हुँदा रहेछन् । जीवनमा लेखेर कहिल्यै नसकिने रहेछ । अग्रज साहित्यकारहरूका संर्वार्तामा ‘मैले के लेखेको छु र ? मैले लेखेका कुराभन्दा नलेखेका कुराहरू धेरै छन् ।’ पढ्दा एकप्रकारले व्यक्तिको ‘इगो’ बोलेको हो कि भन्ने लाग्थ्यो । तर कुरा साँचा रहेछन् । लेखनलाई पेसा बनाउने मानिसका लागि लेखिएका कुराभन्दा लेखिन बाँकी कुरा अथाह हुँदा रहेछन् ।
***
गुरु नं. १ – चन्दने
आजभन्दा ४० वर्ष अघिको कुरा जुुन म ‘नोष्टाल्जिाया’ का साथ लेख्दै छु । २०३४÷०३५ सालतिरको कुरा हुनुपर्छ । सुनसरी, इनरुवाको बलाहा गाउँमा नारन खरदार नामले कहलिएका एकजना काका थिए । उनका घरमा बेलायती कुकुरका बथानै हुन्थे । कुनै हिउँद्का याम माउ कुकुर ब्याएछ । ४÷५ वटा छाउराछाउरीहरू घरमा लडन्बड्न भएको थाहा थियो तर उनी आफ्ना नजिकका नातेदारहरूलाई मात्र कुकुरका छाउरा दिन्थे । हाम्रो घरमा पाँच जनाको जहान । तीनभाइ छोरा र बाबा अनि आमा । निकै दिनदेखि बाबाले नारान खरदारसँग कुकुरको एउटा छाउरो माग्नुभएको रहेछ । काका दिन्छु नभन्ने । बाबा माग्न नछाड्ने । चोरपुलिस लुकाछुपी जस्तो ।

एकदिन बिहानै बाबाले कुकुरको छाउरो बोकेर घरमा ल्याउनु भयो । हामी तीनै भाइ छोराहरू दलानमा झल्ला छोच्छ्याएर पढिरहेका थियौं । ल ! नारनजीले आज आफैँले बोलाएर मलाई यो छाउरो दिनुभयो । खुसीको भावमिश्रित बाबाको लवज भुइँमा झर्न पाएको थिएन । भित्र भान्साबाट आमा कराउँदै निस्कनु भयो । ‘छि ! छि !! छि !!! के ल्याएको यो ? आनन्द थियो घरमा कुकुर नहुँदा । अब उपियाँ, कुकुर झिँगा अनि सुलसुलेको घर हुने भो, यो घर ।’

सबैभन्दा पहिला माहिलो भाइ हाँस्यो । त्यसपछि कान्छो । अन्तिममा म ।

माहिलो भाइ कुकुरका छाउरा भनेपछि हुरूक्क गथ्र्यो । उसको कुकुर पाल्ने इच्छा बाबाले पूरा गरिदिनु भएकोमा ऊ सायद् भित्रैदेखि खुसी भयो । कान्छोको प्रतिक्रिया मध्यम थियो । मैले बोलिरहन आवश्यक ठानिनँ ।

दुई दिनसम्म बाबाआमा ठाकठुक गरिरहनु भयो । त्यसबेला माहिलो भाइको हातको बूढी औंला चुस्ने बानी थियो । ऊ खुसी हुँदा पनि र रिसाउँदा पनि औंला चुस्दै ‘चुँच्च–चुँच्च’ गरी आवाज निकाल्थ्यो ।

एवम् रितले कुकुरको छाउरो हाम्रा घरमा रत्तियो । हामीले कुकुरको स्याहारमा कुनै कसर बाँकी रहन दिएनौं । घरको सामान्य रखबारी त कुकुरले गर्छ नै तर त्यो पर्यो बेलाइती र सोखेन्दार कुकुर ! हामीसँगै ओच्छ्यानमा सुत्थ्यो । भित्रै ढलीमली गथ्र्यो । हामी सबै खुसी भएका थियौं, सिवाय आमा । आमा अलि कुकुरदेखि झर्कोफर्को गर्ने ।

शनिबारका दिन हामी कुकुरलाई नहरमा नुहाइदिने बहानामा भात खाएपछि तीनैजना छोराहरू सिक्रीले कुकुरलाई बाँधेर लैजान्थ्यौं । नहरका डिलमा कुकुरलाई किलो ठोकेर अल्झाइदिएपछि हामी नाङ्गैभुतुङ्गै पानीमा पौरी खेल्न पस्थ्यौं ।

घाम हामीले पौरी खेलेको नहरका पानीमा आफ्नो प्रतिछायाँ टल्काउँदै सुलुलुलु टाउका माथिबाट क्रमशः पूर्वबाट पश्चिमतिर बढ्दै जाँदा एक बज्थ्यो, दुई, तीन र चार पनि बज्थ्यो । तर हामी पानीमा खेलिने पानी ढोल, लुकी डुम, बाँकटे, डाइफ अनेकओलीका पानी खेल र तरक्कीमा अल्झँदा साँझ परेको पत्तै हुँदैनथ्यो । कुकुर मानिसजस्तै बाठो प्राणी । ऊ बोल्न मात्र नसक्ने । चन्दने हाम्रा नानाथरीका बाल उपध्राहरूलाई मुक भाषामा हेरिरहन्थ्यो । प्रतिक्रिया दिन उससँग बोली थिएन । काइँ–कुइँ, काइँ–कुइँ गरिरहन्थ्यो । सिक्री खोल्ने निरर्थक प्रयास गथ्र्यो तर उसको केही जोर चल्दैनथ्यो ।

अन्त्यमा उसलाई हामीले हँसियाले काटेर ल्याएको ‘हमाम’ साबुन दल्दै नहरको पानीमा चोपल्थ्यौं । काइँकाइँ र कुइँकुइँ गरी ऊ कराउँथ्यो । हाम्रो उद्देश्य कुकुर नुहाउनु भन्दा पनि आफू बालरौशमा रमाउनु मात्र हुन्थ्यो । विचरो चन्दने थुरथुरी काँपिरहन्थ्यो । काम सकेर हामी जिउमा बोक्रारूपि लुगा भिरेर जब घर फर्कन्थ्यौं । कुनै दिन गाली । कुनै दिन पिटाइ । हाम्रा भागमा भाग लाग्ने दुई कुरा मात्र हुन्थे । प्रतिउत्तरमा हामी बिझ्याँई पनि नगर्ने र कुकुरका नाममा पौरी खेल्न पनि नछाड्ने ।

एवम् रितले दिनरात आफ्नै गतिमा दाइँका गोरुझैँ घुम्दै जान्थे ।

समयलाई रोक्ने पामर कस्को हुन्छ ? बाबा आमाका थाप्लामा गोरखधन्दाका बोझ छँदै थिए । हामी विन्दास रमाएका थियौं । त्यो घरमा हामी अब चार दाजुभाइजस्तै भएका थियौं । सन्जोगले कुकुरको छाउरो पनि ‘डाँगो’ थियो । तराईमा तिनताक निकै चोरी लाग्थ्यो । खासगरी मवेसी (गाईभैँसी) चोरले दुःख दिन्थे । कुकुर पनि छिप्पिँदै आएकाले त्यसलाई अब घरबाहिर राखिन्थ्यो ।

भनेको सबै मान्थ्यो –चन्दने । दूधभात मात्र खाने, दिसा नखाने । अघिल्ला दुवै गोडा उठाएर सलाम गर्ने । स्कुल जाने बेला हामीलाई मूल बाटासम्म पुर्याउन आउने । त्यसका तालिमे बानीलाई हेर्दा लाग्थ्यो ऊ मानिसझैँ बोल्न मात्र सक्दैनथ्यो । सबै नक्कल गथ्र्यो ।

मेरो माहिलो भाइको नाम बिमल । ऊ कुकुरलाई सबै प्रकारका तालिम दिन्थ्यो । कान्छो ईश्वर पनि उसको तालिममा सहयोग गर्दथ्यो । म भनेँ आमा गोता गएकाले होला कि अलि घिन मान्थेँ –कुकुरसँग ।

बेलाबेलामा नारान काका कुकुरको खुटखबर लिन कैल्यैकाहीँ उनी हाम्रा घरसम्म आउँथे र जान्थे ।

एकदिन गाउँमा चोर आएछ । राति गाउँभरिका कुकुरहरू बेस्सरी भुके । अरूका सारमा सार मिलाउन चन्दने पनि भुक्यो । हामी पढिओरी सुत्यौं । बाबाआमा पनि निदाउनुभयो । भोलिपल्ट बिहान सबै जहान उठ्दा चन्दने हाम्रै गुहालीमा सिन्दुरी गाईको बाछी डुसीका काखमा घुस्रिएर मरिरहेको रहेछ । बाबाले लख काट्नुभयो । भएछ के –त्यसदिन कुकुरहरूले साँच्चै चोर आएको थाहा पाएछन् । छिमेकीका कुकुरसँगै चन्दने पनि भुक्दै जाँदा चोर हाम्रै गुहालीमा पसेछ । मानिसले थाहा पाउँछन् र पक्रन्छन् भन्ठानेर चोरले आफूँसँग ल्याएको बेतको लौराले चन्दनेलाई नाके डाँडीमा घुमाएर हिर्काउँदा च्याँ पनि भन्न नपाउँदै त्यो मरेछ ।

निकै रात चन्दने हाम्रा सपनामा आयो । कुइँकुइँ करायो । फ¥याकफुरक् गर्यो र एक्कासी हरायो । चन्दनेको असामयिक मृत्युपछि केही वर्ष हामीले कुकुर पालेनौं । तर माइलो भाइ चन्दनेको तिर्सनामा निकै न्यास्रियो ।
***
गुरु नं. २ – हाप्सी
घटना झाँपाको । २०३६ साल फागुनमा हामी झाँपाको चन्द्रगढी बसाइँ स¥यौं । चन्द्रगढी गाविसको पुछारनेर ९ नम्बर वडामा हाम्रो घरखेत थियो । त्यस समय झाँपामा जग्गा सस्ता थिए । पाँच बिगाहा जग्गामा बाटातिर ठूलो काठको घर बनाएका थियौं । म भर्खर कक्षा ८ मा पढ्थेँ । भाइहरू क्रमशः ६ र ४ कक्षामा । हामीले त्यहाँ केही समय बाख्रा पालेका थियौं । धेरै थिए बाख्राहरू । माउ र पाठापाठी गरी ४०÷५० वटा जति । जङ्गल नजिक भएकाले स्यालको बिग्विगी । त्यसैबीच फेरि हाम्रा घ’रा आमाको विरोध बाबजुद् पनि हाप्सी कुकुरको आगमन भयो ।
कुकुर पाल्ने रहर बाबा र माइलो बिमलको मेटिएको थिएन क्यार ! बेलाबेलामा घरमा कुकुरकै बारेमा गफ झिकिन्थ्यो । बाबा ज्यास्या खिच्चा र सुली कुकुर मन नपराउने । उहाँलाई कुकुर पालेपछि जातकै पाल्नुपर्छ भन्ने मनमा थियो । माहिलोलाई जस्तोसुकै भए नि हुने । तर कुकुर मिलिरहेको थिएन ।

गाउँ निकै पातलो । घरदेखि केही दख्खिन कार्कीको घर थियो । उनका घरमा भोटे कुकुरका भालेपोथी र २/३ वटा छाउरा थिए । हामी मुख फोरेर ‘कार्की दाइ कुकुर दिनोस्’ भन्न नसक्ने । उनी नमागी दिन नचाहने । बाबाले उनको केही जग्गाको झैझमेला मिलाइदिए बापत बाबासँग खुसी भएका रहेछन् । सो पत्तो पाएर बाबाले कुकुरको छाउरो माग्नुभयो । अनि दिए उनले ठूलो र राम्रोचाहिँ छाउरो ।

कुकुर ल्याइयो । हामी फेरि कुकुरका नोकर भयौं । नुहाइदिने । मिठामिठा खानेकुरा दिने । सामान्य तालिम भाइले दिन थाल्यो । कुकुरलाई त्यसपटक रहर भन्दा पनि स्याल विरुद्धको रखबारी गर्ने जिम्मा दिइएको थियो । त्यसलाई बाख्राका खोर नजिकै बाँधिन्थ्यो । रातिराति फुक्का छाडिने हुनाले साँझ परेपछि अचिनारू मानिस हाम्रो घर हम्मेसी आउने आँट गर्दैनथे ।

त्यो कुकुर हुर्कनै लागेको डाँगो थियो । पछि एक वर्षजति भएपछि त्यसलाई पेटको बिमारीले सतायो । पशु अस्पताल लगियो । डाक्टरले दिएका ओखतीले त्यसको रोग बीसमा उन्नाइस भएन । अचम्म के थियो भने त्यो बुधबारबुधबार अन्नजल केही खाँदैनथ्यो ।

झाँपामा गाईगोरु औधी चोरी हुन्थे । हाम्रो घर एकलासमा भएकाले हामीलाई आफ्ना चौपाया रातभरिमा सिनित्तै पारेर चोरले लैजान्छन् भन्ने डर भैरहन्थ्यो । त्यसैले हामीले गोरुका घाँटीमा घन्टी बाँध्ने जुक्ति पनि निकालेका थियौं । घाँसपराल खाँदा रातभरि घन्टीको आवाज आइरहन्थ्यो । हामी गोठमा चौपाया सकुसल छन् भनेर सुत्थ्यौं ।

हाप्सी कुकुरचाहिँ स्यालको लागि पालिएको थियो । औधी कडा त्यो कुकुर पनि । भोटे कुकुर र अन्य ठूलो कुकुरको ठिमाहा त्यो । मुखभरी रौं भएको गुत्लुक्क परेको छाउरो थियो, सानामा । पछि छिप्पिँदै जाँदा केही खिनौटे भएर निस्कियो । मुखभरि बाक्ला रौं थिए, त्यसका । त्यसैले माहिलो भाइले नै ‘हाप्सी’ नामकरण गरेको थियो ।

एक रात जोडले खोलापारि स्याल कराए । हाप्सी जोडले भुक्यो । रातभरि गोठबाट गोरुका घाँटीका घन्टी बजिरहे । तर बिहान उजेलो भएपछि हेर्दा सँधै बाँधिने ठाउँमा हाप्सी थिएन ।

सिक्री सारसौंदो थियो । कुकुरको पत्तो थिएन । कहाँ गयो होला हाम्रो हाप्सी ? कस्ले चोर्यो होला ? कि कसैले मार्यो कि ? मारे पनि सिक्री त छाड्नु नपर्ने । यी र यस्ता प्रश्नहरू त्यसबेलादेखि अहिलेसम्म मेरा मनमा घुमिरहेकै छन् । नजाने मेरा परदेशिएका एकजोडी भाइद्वयका मनका मझेरीमा पनि चक्कर काटिरहेका होलान् । दूरदेशका धपेडीमय जीवनमा चन्दने र हाप्सीलाई सम्झने फुर्सद् पाउँछन् कि पाउँदैनन् ?
यदाकदा म्यासेन्जरमा कुरा हुँदा म यी कुरा सोध्न भुसुक्कै बिर्सन्छु ।
(क्रमशः बाँकी अर्को अङ्कमा….)

प्रतिकृया दिनुहोस्