बुटवल।बुटवलकी जमुना श्रेष्ठ पढाइमा सानैदेखि अब्बल थिइन् । सानैदेखि प्रथम हुने उनले पोखराको मणिपाल क्याम्पसमा छात्रवृत्ति कोटाबाट एमबीबीएसमा नाम निकालिन् । अति विपन्न परिवारकी उनलाई छात्रवृत्ति रकमले मात्रै खान र शैक्षिक सामाग्री किन्‍न अपुग भयो ।

उनको अवस्था देखेर बुटवलको खेमओमी पुन कल्याणकारी प्रतिष्ठानले शैक्षिक सामाग्रीसहित मासिक १० हजार रुपैयाँ उपलब्ध गराइदियो । जमुनामाले अध्ययन पूरा गरिन् । २ वर्ष लुम्बिनी प्रादेशिक अस्पतालमा काम गरिन् । अहिले एमडी पढ्ने तयारीमा छन् । ‘छात्रवृत्तिमा पढ्न पाएपनि धेरै कुरा आफैंले जुटाउनु पर्दो रहेछ । घरबाट एक रुपैयाँ लैजाने अवस्था थिएन । पढ्न नसकेर छोड्ने अवस्थामा थिएँ,’ जमुनाले भनिन्, ‘प्रतिष्ठानको सहयोगले पढाइ पूरा गर्न पाएँ ।’

गुल्मीको भार्सेमा जन्मेर बुटवलमा औषधि व्यवसाय गर्ने खेमराज पुन र उनकी पत्‍नी ओमीकलाले आत्मशान्ति र पुण्यका लागि भन्दै आफ्नो कमाइको एक चौथाइ रकम जम्मा गरेर खेमओमी पुन कल्याणकारी प्रतिष्ठान स्थापना गरेका छन् । खेमको ५१ औं जन्मदिनको अवसरमा २०७० मा स्थापना गरिएको प्रतिष्ठानले जमुनासहित विपन्न परिवारका ९ जना विद्यार्थीलाई एमबीबीएस पढ्न मासिक १० हजार रुपैयाँसम्म रकम र शैक्षिक सामाग्री उपलब्ध गराएको छ ।

प्रतिष्ठानको कोषमा जम्मा भएको एक करोड रुपैयाँको ब्याजले जमुनासहितका विद्यार्थीहरुलाई छात्रवृत्ति दिन सम्भव भएको हो ।

४ जनाले एमबीबीस उत्तिर्ण गरे भने एक जनाले एमडी गर्दैछन् । २ जना इन्जिनियर, २ जना कानुन, एक जना बीडीए, बी फार्मेसी हुँदै २५ जनाले छात्रवृत्ति पाएका छन् । कोषबाट उनीहरुको पढाइमा मात्रै ४५ लाख रुपैयाँ खर्च भएको छ । पढाइमा तेज भएपनि आर्थिक अभावले समस्या भएका विद्यार्थीहरु छात्रवृत्तिका कारण पढ्न पाउँदा लक्ष्यमा पुग्न सकेका छन् । त्यसमध्येका हुन् काशीराम विक । गुल्मीको नेटाका लुम्बिनी मेडिकल कलेज पाल्पामा छात्रवृत्तिमा नाम निकाले । तर, शैक्षिक सामाग्री किन्ने र खाने खर्चसमेत घरबाट जुटाउन सकेनन् । प्रतिष्ठानले मासिक छात्रवृत्ति दिएपछि पढाइलाई निरन्तरता दिए । अहिले शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत डा. विक एमडी अध्ययन गरिरहेका छन् । ‘छात्रवृत्तिमा नाम निकालेर पनि पढ्ने अवस्था थिएन । प्रतिष्ठानले मासिक खर्च दिएकाले मात्रै पढ्न पाएँ,’ विकले सुनाए ।

मनकारी दम्पती खेमओमीले छोराको बिहेमा हुने खर्च जोगाएर १० लाखको राजु सरिता पुन भोजन सहयोग कोष खोलेर विपन्नलाई खाद्यान्न सहयोग पनि गर्न थालेका छन् । छोराबुहारीमा पनि समाजसेवा र सहयोगी भावना जगाउन भन्दै उनीहरुकै नामबाट सहयोग कोष खोलेका हुन् । खेम नाबालक छँदै बाबु बितेका थिए । जन्मस्थान भार्सेमा तिनै बाबु मनबहादुर र आमा गौरीका नामबाट ७ लाखको मनगौरी पुन शैक्षिक अक्षय कोष खोलेका छन् । त्यसबाट वर्षेनी विपन्न विद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री दिइन्छ ।

हजुरआमा कला पुनको स्मृतिमा २ लाख रुपैयाँ दिएर कलापुन महिला समूह बनाएका छन् । समूहमार्फत बीउ पुँजी दिएर महिलाहरुलाई आयआर्जनमा लगाएका छन् । रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्र, शवदाहगृह, ध्यान योगकेन्द्र बनाउनेदेखि सामाजिक भवन बनाउन रकम खर्चेका छन् । पाल्पा कारागारमा आमाबाबुसँगै रहेका बालबालिकादेखि युवाको पढाइमा सघाएका छन् । ‘अहिलेसम्म प्रतिष्ठान र अक्षयकोषबाट बाहेक ५५ लाख रुपैयाँ समाज सेवामा लगाएछु,’ खेमले भने, ‘कसैको दु:ख देख्यो कि सघाउन मन लाग्छ । अरुको उपकार हुने र कृति रहने सामाजिक काममा रकम खर्चदा खुशी लाग्छ ।’ उनीहरुको सहयोगबाट विपन्न र अशक्तले शिक्षादिक्षा देखि खानानाना र उपचारको सुविधा पाएका छन् ।

खेम बौद्ध धर्म अनुसार ध्यान र हिन्दु धर्मको गीता पाठको प्रभावले समाज सेवामा लागेका हुन् । ‘विपश्यनाले जीवनको अर्थ बुझायो । गीताले सही समयमा सही व्यक्तिलाई दिने दानको महत्व सिकायो,’ उनले भने, ‘त्यसपछि कमाइको एकचौथाइ रकम सर्लक्क समाज सेवामा लगाउन थालें ।’ सधैं सामान्य अवस्थामा देखिने खेमओमी आफ्नो काममा दत्तचित्त भएर लाग्छन् । त्यसबाट कमाउँछन् ।

‘मानवता भनेकै हुनेले नहुनेलाई सहयोग गर्नु हो,’ खेमले भने, ‘देखावटी सहनसहन, र चाडपर्वमा गरिने भड्किलो खर्च कटाएर विपन्नको सहयोगमा जुटेका हौं ।’ खेमओमीलाई लाग्छ, शिक्षाले ज्ञान मात्र होइन जीवनकै ढोका खोल्छ । त्यसैले खर्च अभावमा पढाइ रोकिने अवस्थामा पुगेका जो कोहीलाई सहयोग गर्ने उनीहरुको उद्घोष छ ।

अमृता अनमोलले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्