पाठशालाः बाल शृजनशीलताको मुहान

एजुकेशन पाटी

Byएजुकेशन पाटी

११ असार २०७७, बिहीबार

हाम्रो घर र विद्यालय दुई यस्ता महत्वपूर्ण स्थान हुन् जहाँबाट बालबालिकाको शृजनशीलताको स्वभाविकरुपमा विकास हुनुका साथै अज्ञानरुपी अन्धकारको अन्त्य भई ज्ञानरुपी लालित्यको उदय हुन्छ । घर पहिलो पाठशाला र विद्यालयलाई दोस्रो पाठशालाको रूपमा लिइन्छ । यसरी हेर्दा घर र विद्यालयलाई एउटै शब्द प्रयोग गरेर पाठशाला भन्न सकिन्छ ।

अब हाम्रा पाठशाला बालबालिकाको शृजनशीलतालाई र बालसुलभ व्यवहारलाई उर्जाशील बनाउन मलजल गर्ने खालका छन् वा बाल शृजनाको हत्या गर्ने बधशाला भइरहेका छन् भनेर न्याय गर्ने जिम्मेवारी तमाम गुरु गुरुआमा हरुलाई सुम्पदै हाम्रा पाठशालाहरुमा हुँदै आएका र भइरहेका यस्ता कैयन बिम्बहरुको म यहाँ चित्रण गर्ने प्रयत्न गर्दैछु ।

१. बालबालिका भूईको धुलो हिलो माटो खेल्न असाध्यै मन पराउँछन् । माटोको खेलौना, घर माटोबाट खानेकुरा, अनेकन सामग्री हिलो माटोमा कृषि खेती बाली लगाएको भन्दै खुब मनपराउँछन् तर हाम्रा पाठशालामा माटोसँग रमाउने वातावरण भने हुँदैन । बालबालिकाले माटो छोएर खेलेको अथवा रमाएको अझ हिलाम्मे भएको देखियो भने त गाली गलौज सुरु भइहाल्छ । जर्मनी शिक्षाशास्त्री फ्रोबेलले खेलहरू मध्ये सबैभन्दा उत्तम काम माटोको खेल हो भनेका छन् । माटोको कामबाट व्यक्तिको व्यक्तिगत प्रतिभा प्रस्फुटन गराउने पर्याप्त सम्भावना रहन्छ भनेका छन् ।

२. अहिलेको कोभिड–१९ को महामारीले गर्दा लामो समयदेखि हाम्रो दोस्रो पाठशाला बन्दाबन्दीको अवस्थामा रहेका छन् । यो बेलामा बालबालिकाले माटोसँग कतिको खेल्ने मौका पाइरहेका छन् ? ठाउँ र परिवेश अनुसार गमला, बगैँचामा फूल, फलफूलका बिरुवा रोपिरहेका छन् कि छैनन् ? करेसाबारीमा वा बोरामा तरकारी, जडिबुटी, मसलाजन्य बिरुवा रोपेका छन् कि छैनन् ?

माटोका खेलौना घर, माटोबाट हस्तकला हिलो माटोमा विभिन्न रेखाहरु, अस्पष्ट चित्रहरू कोरिरहेका छन् कि छैनन् ? अनि हाम्रो जस्तो कृषिप्रधान देशमा वर्षायाममा बाली बिरुवा लगाउने समय भएको छ । यो समयमा उमेरअनुसार बालबालिकाहरू खेत बारीको काममा कतिको सहभागी हुने गरेका छन् ? यदि उल्लेखित काममा हाम्रा बालबालिकाहरू सक्रिय छन् भने भविष्यमा यिनै कामहरुमा आधुनिक, वैज्ञानिक प्रविधि जोड्न सकियो भने खेलौनाको घरको पछाडि वास्तुकलाको र शिल्पकलाको आत्मा विरासत लुकेको हुनेछ, अस्पष्ट हिलो माटोमा कोरिने रेखाहरु भित्र चित्रकार उभिएको हुन्छ ।

यही माटोको खेल र कृषि कर्म भित्र कृषि उद्यमी, कृषि वैज्ञानिक, माटो शोधकर्ता तथा अन्य धेरै कलात्मक र शृजनशीलता सलबलाइरहेका हुन्छन् । त्यसैले अहिलेको शताब्दीको अवस्थामा हाम्रो पहिलो पाठशालामा माटो सँग जोडिएको शृजनशीलतालाई उर्जाशील बनाउन गुरु गुरुआमाहरुले कतिको मलजल गरिरहेका छौं ? आफूले आफैँलाई सोध्नुपर्छ जस्तो लाग्छ ।

३. बालबालिकालाई अरुको आवाज, काम, बानी व्यवहार अझ भनौं चराचुरुङ्गी र पशुपंक्षीको आवाजको नक्कल गर्न असाध्यै मनपर्छ । जब बालबालिकाले हाउभाउ सहित आवाजको नक्कल गर्न थाल्छन् तब, तँ बडा नौटंकीवाला बन्दैछस्, तेरो पढ्ने लेख्ने समय हो, याद राखेस्, फेरि यसरी तेरो कर्कश स्वरमा आवाजको नक्कल गरिस् भने तेरो ढाडले दुःख पाउँछ भनेर दुवै पाठशालाका गुरुबाट हप्कि पाएपछि भर्खर–भर्खर आफूभित्रको नाट्य प्रतिभालाई प्रस्फुटित गर्दै गरेका बालबालिका उक्त शृजनशीलताबाट त्रशित भई सुस्ताउन थाल्छन् । अब हामी गुरु गुरुआमाहरुले बालप्रतिभा र शृजनशीलतालाई प्रोत्साहन गरिरहेका छौं कि हप्किमा टुंग्याइरहेका छौं ? एकपटक आफैंलाई नियालौं ।

४. बालबालिकालाई उमेरअनुसार विभिन्न वस्तुहरु संकलन गर्न मनपर्छ । जस्तो पुराना रंगीन, रंगहीन चित्र, स–साना चिल्ला ढुंगाहरु, काठका टुक्राहरु, रंगीन पातहरु, फूलहरू जम्मा गरेर, मिलाएर आफु बस्ने ठाउँमा सजाउन खुब मनपर्छ । बालबालिकाले गरेका यस्ता कार्यहरु शिक्षकलाई अर्थहीन जस्तो लाग्छ । हाम्रो पहिलो र दोस्रो दुवै पाठशालामा प्रायजसोमा सफा, चिटिक्क र आकर्षक संग्रहालय हुँदैन तब ती बालबालिकाले बनाइरहेको संग्रहालयलाई हामी बुझ्न सक्तैनौ जसले गर्दा बालसंग्रहालय प्रतिको आकर्षण बालबालिकामा मर्छ । अब हामी आफै हेरौं, हाम्रो पाठशालामा संग्रहालय छ कि छैन र छैन भने हाम्रै वरपरका बालबालिकासँग परिचित वस्तुहरु संकलन गरेर मौलिकता झल्कने खालको संग्रहालय बनाउन सक्छौं कि सक्दैनौ एकपटक विचार गरौं ।

५. बालबालिकाहरू सानैदेखि गीत गुन्गुनाउँदै हिँड्ने, टेवल, दराज ढ्याक–ढ्याक हान्दै, खुट्टा हल्लाउँदै, संगीतको सुर ताल भरिरहेका हुन्छन् । रंगीन पेपर काटेर विभिन्न आकार दिने, फूलका गुच्छाहरु थुपार्ने, पत्रपत्रिकामा रंगीन चित्र भर्ने, मनपर्ने कथा कविता तथा तस्वीरहरु जम्मा गरेर आफू बस्ने वरिपरि राख्ने गर्दछन् । साथै यस्ता कार्यमा बालबालिकाहरू खुब तल्लिन र सौखिन भएर लागेको देखिन्छ । यी र यस्ता साना र निरर्थक कामहरु पनि बालबालिकाका लागि अर्थपूर्ण हुने गर्दछ ।

बालबालिकाले गर्ने तमाम यस्तै खाले कार्यहरु भित्र कला, साहित्य, संगीत तथा खोज अनुसन्धान लुकेको हुन्छ। कतै बालबालिकाका स–साना र अर्थपूर्ण कार्यलाई नबुझेर हुनेहरूको शृजनशीलतालाई कुँजो त बनाइरहेका छैनौं ? हामीहरु एकपटक दुवै पाठशालाका गुरुहरूले आफैंलाई दृष्टिगत गरौं ।

६. बालबालिकालाई उनीहरूको बानी व्यवहारलाई लिएर अनावश्यक प्रशंसा र अनावश्यक आलोचना गरेको पटक्कै मन पर्दैन । तर अक्सर गुरु–गुरुआमाहरुले जिद्दी, घमण्डी, उदण्ड, उट्पट्याङ, उच्छृंखल, अटेरी, बुद्दु, गोबरगणेश जस्ता अनेक उपनाम दिँदै बालबालिकाको स–सानो प्रगतिलाई पनि आफ्नो शान बनाएर अरूको अगाडि बेअर्थको शब्दहरु थुपारेर प्रशंसा गर्दा उनीहरु खुसी हुनुको सट्टा खिन्नता महसूस गर्दछन् । जसले गर्दा आलोचना र अनावश्यक प्रशंसा दुवै बालबालिकाका शृजनशीलता र मौलिकता विकासका बाधक बन्न पुग्छन् । हामीले के गर्ने गरेका छौं ? आफैलाई हेरौं ।

७. बालबालिका नाचगान, बजान तथा सफा र शान्त वातावरणमा खेल्ने, रमाउने, उफ्रने बगैंचा, करेसाबारी, आँगन मन पराउँछन् । यस्ता क्रियाकलापले बालबालिकाहरुलाई कलाको आस्वादन दिन्छन् । त्यसैले हाम्रा बालबालिकाहरुलाई मौलिक परम्परा अनुसार विभिन्न भजन, कृतन, बालन, नृत्य, पाठ पुजा,आराधना आदिमा सग्लंग्न गराउनु उत्तम हुन्छ ।

यस्तै बालबालिकासँग बसेर उनीहरूको कुराकानी गर्ने, उनीहरुका कुराकानी सुनिदिने, आवश्यकताअनुसार सल्लाह सुझाव दिने गर्दा पाठशाला बालबालिकाका लागि बस्न र रमाउन योग्य हुनेछन् । यस्ता कार्य हाम्रा पाठशालामा भइरहेका छन् छैनन् एकपटक नियालौं ।

८. जसले आफ्नो दृष्टिकोण दिएर अरूको आँखा बन्द गर्छ वा भनौ आफ्नो बुद्दि लादेर अर्काको बुद्दिमा बिर्को लगाइदिन्छ, त्यो वास्तवमै अर्काको उन्नतिको बाधक बन्छ । बालबालिकालाई निगरानीको नाममा हायल–कायल बनाउने र स्वतन्त्रताको नाममा बेवास्ता गर्ने यी दुवै कार्य घातक हुन सक्छन् ।

त्यसैले हाम्रा पाठशालामा सकारात्मक भावनाको प्रवाह गर्ने, बालबालिकाले पढ्ने बेला, खेल्ने बेलामा अन्य कामहरु गर्ने बेलामा उनीहरूको रुचि अनुरुप गुरुहरु वा अभिभावक शान्त भएर उनीहरूको साथमा बसिदिने, सन्तुलित खाना बनाएर दिने र उमेर अनुसार उनीहरुलाई पकाउन लगाउने र आमाबाबाले सहयोग गर्ने, घरायसी कामकाज तथा विद्यालयका विभिन्न कामकाजमा उनीहरुलाई सहभागी गराउँदा बालबालिकामा व्यवहारिक ज्ञानको विकास भई उनीहरु खुसी र आनन्दित हुन्छन् । तब खुशी र आनन्दीत मनले बालबालिका निरन्तर कर्मशील र श्रमशील भई आफ्ना शृजनशीलतालाई सधै प्रस्फुटन गर्न सक्षम हुनेछन् । अब एकपटक विचार गरौं त हामी र हाम्रा पाठशाला कडा नियमले निर्देशित निगरानीमा चलिरहेका छन् कि स्वतन्त्रता दिने बेवास्ताबादी भईरहेका छन् अथवा बाल शृजनशीलतालाई उर्जा दिने उर्जाशील मध्यमार्गी भएर अगाडि बढिरहेका छन् ?

अतः हाम्रा बालबालिका भनेका आज का कोपिला अनि भोलिका फक्रीरहेका सुनौला फूलहरू हुन् । यिनै बालबालिका यस देशका भविष्य र नक्षत्रहरू हुन् । त्यसैले उनीहरुभित्र अंकुराउने भावना, विचार र बालसुलभ व्यवहारलाई बुझेर उनीहरुलाई उपेक्षा नगरि कदर गरौं, उनीहरूको स्वतन्त्रतालाई सम्मान गरौं, उनीहरुका शृजनशीलतालाई मलजल गरौं जसले गर्दा पाठशाला ज्ञान, विज्ञान, अध्यात्म, दर्शन, मानवता, नैतिकता, इमान्दारिता, सच्चरित्रता सिकाउने एक आदर्श थलो बन्न सकोस् ।

(केसी श्री कालीदेवी मावि फूलासी पोखरी, मन्थली–१४, रामेछापकी शिक्षक हुन् ।)

[email protected]

प्रतिकृया दिनुहोस्