खुलेका विद्यालय र अनुत्तरित प्रश्नहरु

Avatar photo

Byएजुकेशन पाटी

१६ मंसिर २०७७, मंगलवार
करुणाकर पण्डित

कोरोना ख्यालठट्टा होइन साँच्चिकै खतरापूर्ण छ । नत्र विश्वनै किन बन्द हुन्थ्यो ! कोरोना आफैंलाई नलागेसम्म प्राय मान्छे डराउँदैनन् तर जब लाग्छ तब संसार र शरीरप्रति मोह जागेर आउँछ, मर्नु नपरे हुन्थ्यो भन्ने लाग्छ । मान्छे भगवानप्रति पुकारा गर्छ, “हे प्रभु मलाई छिट्टै निको होस्” । मान्छे प्रायः विरामी अवधिमा आस्तिक बन्छ ।

हुम्लामा विद्यालयहरु खुले, कैयौं विद्यार्थीहरुमा एकसाथ कोरोना पुष्टि भयो।जिल्ला नै बन्द गरियो ।दक्षिण कोरियामा पनि केही महिना अघि विद्यालयको सन्दर्भमा ठीक यस्तै भएको थियो । र पुनः विद्यालय बन्द गरिएको थियो । आज पनि कोरोनाको जोखिम घटेको छैन र त संसारका धेरै देशले अनलाइन शिक्षण नै अवलम्बन गरेका छन् । तर हामी यसमा असफल भयौं । दोषी समुहमा धेरै पक्ष सामेल छन् ।

शिक्षा मन्त्रालयबाट, शिक्षा विकास तथा समन्वय इकाईबाट, पालिकाबाट, वडाबाट बन्दाबन्दीको अवधिमा र बन्दाबन्दी पछि अन्धाधुन्धको अवधिमा विद्यालयले सबैभन्दा धेरै पाएको सल्लाह हो, आदेश हो, निर्देश हो । यो अवधिमा विद्यालयहरुलाई साथ चाहिएको थियोे, सल्लाह पाए। सिकाईको आधार चाहिएको थियोे। आदेश पाए। निकास चाहिएको थियो, निर्देशन पाए।यी कुनै कामको उत्साहजनक प्रतिफल आएन । यद्यपि पछिल्लो सल्लाह आयो, विद्यालय सञ्चालनको कार्यढाँचा बनेर ।

जब शैक्षिक सत्र २०७७ शुरु भयो, विद्यालयहरुलाई विश्वास गरिएन । आफ्नै विद्यालयमा शिक्षण रणनीति तर्जुमा गर्न विद्यालयलाई नै जिम्मा दिइएन । शिक्षकहरुलाई आफ्नो विद्यालय, आफ्नो समुदाय,आफ्ना विद्यार्थीहरु आफ्नो विषय, तपाईहरु आफै भूमिका छनौट गर्नुहोस्, के कसरी कहाँ कतिबेला कुन विधि र शिक्षण प्रकृया अपनाउने रोज्नुहोस् र अघि बढ्नुहोस्, काम गर्नुहोस्, अभिलेख राख्नुहोस् भनिएन । स्वास्थ्य सावधानी अपनाएर अघि बढ्ने क्षमता विद्यालयहरुमा थियो, तर त्यसो गरिएन । आफ्नो भौगोलिक, सामाजिक पक्षलाई विश्लेषण गरेर समस्या सल्टाउने सीप विद्यालयमा थियोे तर त्यो जिम्मा विद्यालयले पाएनन् । विद्यालयमा गएर अन्तरक्रिया गर्ने अवसरसम्म दिईएन । नतिजा प्रकाशनका खातिर विद्यालय जाँदा समेत शिक्षकहरु प्रशाशनको आदेश अवज्ञा गरेको अभियोगी बन्नुपरेका उदाहरण छन् । सायद पालिका र जिल्ला प्रशासन विच समन्वयको अभाव थियो । त्यसैले जुन रफ्तारमा विद्यालय सक्रिय हुनुपर्ने थियो त्यो भएन, सकिएन ।

बन्दाबन्दीको अवधिमा विद्यालयका भित्ताहरु माकुराका जालले छोपिए, चउरहरु झाडिए, पर्खालहरुमा लेउ लागे तर शिक्षकहरु सुतेर बसेनन् । शिक्षकहरु निदाएनन्, शिक्षकहरु विचलित भएनन् । नेपालका शिक्षकहरु सित आशा थियो, जोस जाँगर र उर्जा थियो । शिक्षकहरुले विद्यार्थीहरुलाई त सिकाउन पाएनन् बरु त्यो जाँगर र उर्जा आफैलाई सिकाउन खर्चिए । कम्प्युटर सिके, अनलाइन शिक्षणका विधिर प्रविधि सिके, २१ अौँ शताब्दीको सञ्चार प्रविधिसँग धेरै हदसम्म परिचित भए । प्रविधिलाई शिक्षणमा प्रयोग गर्ने व्यवहारिक सक्षमता हासिल गरे । शिक्षकका पेशागत संगठनहरुले, विषयगत संगठनहरुले सञ्चालन गरेका यी तालिमहरु कुनै अन्य व्यवसायिक तालिम भन्दा कमजोर थिएनन्, नामि वैतनिक प्रशिक्षकका कक्षाहरु भन्दा कमजोर थिएनन् । यी तालिमहरु कुनै भत्ता वा पारिश्रमिकका आशामा सञ्चालित थिएनन, थिए त बरु विशुद्ध सीप विकासका लागि, आन्तरिक सक्षमता अभिवृद्धिका लागि । यी तालिमहरु स्वनिर्देशित र स्व उत्प्रेरित थिए ।त्यसैले त धेरै उपलब्धिमुलक भए ।वास्तवमा शिक्षकहरु निदाएनन् निष्कृय भएनन् निस्तेज भएनन् । तर शिक्षकहरुको यो सकृयता र सक्षमतालाई विद्यार्थीको सिकाईमा लगेर जोड्ने कुनै तात्कालिक कदम भएन ।

कोभिड महामारीको यस अवधिमा हामीले धेरै गर्न सक्थ्यौं । सबैभन्दा सुरक्षित अनलाइन शिक्षण नै थियो । सय वर्ष अघि विदेशमा पत्राचार शिक्षा बाट त शिक्षण सम्भव भएको थियो भने के आज हामी अनलाइन शिक्षण गर्नै नसक्ने छौं त! तर इन्टरनेटको पहुँच नभएको, डिभाईस नभएको, विपन्न समुदायको पहुँचमा नभएको बहानामा हामी सबै भाग्यौं । इन्टरनेट को पहुँच वृद्धि किन गरिएन, विपन्न वर्गलाई सामूहिक रुपमै सही, डिभाईस व्यवस्था किन गरिएन,यी प्रश्न अनुत्तरित छन् ।

संघिय सरकारले कोभिड कालमा शिक्षा व्यवस्थापनका लागि कुन् कुन् विद्यालयलाई के सहयोग गरेको छ? प्रदेश सरकारले कति विद्यालयमा ल्यापटप र कम्प्युटर अनि इन्टरनेट सुविधा दियो? पालिकाहरुले विद्यालयहरुलाई यो अवधिको सिकाईका लागि केके ठोस सुविधा उपलब्ध गराए? वडाहरुले के के दिए? सायद शिक्षालाई अलि महत्त्व दिने नेतृत्व भएका केही वडा र पालिकाहरुमा साच्चिकै उपलब्धि भएको छ, तर अधिकांशमा शून्य ।

पालिकाहरुले आफ्नो पालिका भित्र,वडा कार्यालयहरुले वडा भित्र निश्चित स्थानहरुमा निशुल्क वाईफाई व्यवस्था गर्ने,वडा भित्रका बैंक वित्तीय संस्था सहकारी उद्योगी व्यापारी शिक्षक कर्मचारि इन्टरनेट सेवा प्रदायक संस्था सबैसँगको सहकार्य र सहयोगमा मोबाइल ल्यापटप नभएका विपन्न समूदायका विद्यार्थीहरुका लागि बरु आठ दस जनालाई एउटाका दरले पर्नेगरि कम्प्युटर व्यवस्था गर्ने, शिक्षकहरुले निश्चित समयतालिका अनुसार शिक्षण गर्ने काम गर्न सकिन्थ्यो। यसो गरेको खण्डमा कुन शिक्षकको शिक्षण कस्तो छ त्यो सुपरिवेक्षण गरि सुझाव र पृष्ठपोषण प्रदान गर्न प्रधानाध्यापक लगायत अरु सबैलाई समेत सहज हुने थियो । जब एउटा शिक्षकले यसरी अनलाइन शिक्षण गर्छ, तब त्यो शिक्षण विद्यालयको बन्द कोठामा सुटुक्क पसेर गरेको जस्तो हुँदैन । अनलाइन शिक्षण वास्तवमा विश्वव्यापी हुन्छ, जोसुकैले पनि हेर्न सक्छ सुन्न सक्छ र मुल्यांकन गर्न सक्छ । खुल्लमखुल्ला अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षा सम्वध्द निकायका प्रतिनिधिहरुले पनि हरेक विद्यालयका हरेक शिक्षकका खुवी, क्षमता, ज्ञान, सकृयता आदिलाई नजिकबाट नियाल्ने मौका समेत प्राप्त हुन्छ। यसले शिक्षकहरुलाई थप जिम्मेवार, प्राविधिक उत्तरदायी बनाउछ । तर हामी यस्तो गर्न चुकेका छौं, कोभिडको चुनौतिले दिएको अवसर अपनाउन सकेका छैनौं।

डर र त्रासको भूमरीमा मास्क र भाइजरको मुकुण्डोमा लपेटिएर सिकाइ कार्यमा लाग्दै गरेका हामी तमाम विद्यार्थी शिक्षक र अभिभावकको मनस्थिति कस्तो होला? उपलब्धि कति होला? यी प्रश्नहरू पनि अनुत्तरित नै छन् ।

-शिक्षक, अमर मा. वि. भरतपुर-२२, चितवन

प्रतिकृया दिनुहोस्