कोरोनाले अलमलिएको शिक्षा प्रणाली

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२७ भाद्र २०७७, शनिबार

विश्वभरी कोरोना भाइरस (कोभिड–१९) महामारीको रुपमा फैलिरहेको र नेपाल पनि अछुतो रहेन । यसको प्रत्यक्ष असर यातायात, कलकारखाना, मजदुर वर्ग, निजी क्षेत्र जस्तै शिक्षण संस्थामा पनि सिधा असर परेको छ । सरकारले बन्दाबन्दी गरे पछि सम्पुर्ण शैक्षिक संस्थाहरुले टोल शिक्षा कार्यक्रम, रेडियो, अनलाइन, अफलाइन र मुद्रीत सामग्री जस्ता कार्यक्रम सञ्चालन गरी विद्यार्थीको हातमा पाठ्यपुस्तक र मुद्रित सामग्री पुर्याउदा हाल सम्म पनि पूर्ण रूपमा विद्यालय सञ्चालन गर्न नसकी बन्दाबन्दिको चपेटामा परेको अवस्था छ ।

विभिन्न विश्व विद्यालयले चैत महिना देखि सञ्चालन गर्नुपर्ने वा हुनुपर्ने विभिन्न परीक्षाहरु हुन सकिरहेका छैनन् । लाग्छ अब परीक्षा नै नहुने हुन कि वा अन्य कुनै विधिद्वारा परीक्षा हुने हो ? कोरोनाले गर्दा जनजीवन सहज हुँदै नगएमा कतै शैक्षिक सत्र नै अफ्ठेरोमा त परेको छैन भन्ने तर्फ सरोकारवालाहरूले दौनिक रूपमा छलफल, बहस हुने गरेका छन् ।

शिक्षा प्रणाली अन्र्तगत विद्यार्थी, शिक्षक, विद्यालय, अभिभावक, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र सम्बन्धित मातहतका अन्य निकायहरू पर्दछन् । शिक्षासँग सम्बन्धित विभिन्न सरोकारवाला निकाय तथा शिक्षा विदहरुले शैक्षिक सत्र खेर नजाने अवस्था कसरी बनाउन सकिन्छ ? पठनपाठन सुचारू कसरी गर्ने ? भनि विभिन्न विकल्पहरू राखी मन्त्रालयले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ तयार पारी असोज १ बाट लागु हुने भएको छ । तर, कोरोनाको संक्रमणदर तत्काल कम नभएकाले शिक्षण संस्था पूर्ण रूपमार अघिल्लो वर्षको जस्तो सञ्चालन हुने सक्ने अवस्था न्युन देखिन्छ । यी विविध कारणले गर्दा शैक्षिक संस्थाहरू अलमली रहेका छन् । कोरोनाका कारणले गर्दा शिक्षासँग सम्बन्धित निकायहरू दोधारे अवस्थामा रहेका पाइन्छन् ।

१. विद्यार्थीको अवस्थाः
कोरोनाले गर्दा सबै भन्दा बढी चपेटामा विद्यालयदेखि विश्वविद्यालयका विद्यार्थीहरू परेका छन् । नेपालमा करिव असी लाख विद्यार्थी रहेको अनुमान गर्न सकिन्छ तर ती विद्यार्थी के गरिरहेका छन् भन्ने अभिभावकलाई, शैक्षिक संस्थालाई, सरोकारवाला र शिक्षक शिक्षिकाहरूलाई चासोको विषय बनेको छ । केही विद्यालय तथा विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गरेता पनि घरमा सचेत अभिभावक भएका विद्यार्थीहरुले पनि अरु समय जस्तो पढाइमा समावेश हुन सकेका छैनन् ।

यसका पछाडि सबै अभिभावहरूका घरमा इन्टरनेट, विद्युत, मोवाइल, कम्प्युटर नहुनु नै मानिन्छ । सीमित विद्यार्थीका घरमा मात्र इन्टरनेट, विद्युत, मोवाइल,कम्प्युटर पँहुचमा छन् भने गाँउघर भन्दा सहरमा बस्ने अभिभावकका घरमा यस्ता वैकल्पिक शिक्षण सामग्रीको प्रभावकारिता बढी देखिएको छ । दुर्गममा क्षेत्रमा यस्ता वैकलपिक शिक्षण सामाग्री त शून्य जस्तै छन् ।

बालबालिका, विद्यालय र किताबको भेटघाट नभएकाले विद्यालय जान नपाएर, पढाइ भन्ने त बिर्सिएर झन्डै आधा वर्ष नै हुन लाग्यो । अनलाइनबाट पढाइ गर्ने विद्यार्र्थीको अवस्था पनि राम्रो इन्टरनेट र अन्य कारणले गर्दा खासै प्रभावकारी नभएको अनुमान गर्न सकिन्छ । विद्यार्थीहरूमा हिजो आज बन्दाबन्दीका कारणले पढाइ भन्दा पनी अनलाइन गेम, सामाजिक सञ्जाल जस्ता कुरामा बढी ध्यान गएको भन्ने अभिभावकहरूले गुनासो गरेका छन् । विद्यालयका विद्यार्थी मात्र नभएर क्याम्पस तथा उच्च तहका विद्यार्थीहरुमा बड्दो सामाजिक सञ्जालको सदुपयोग भन्दा दुरूपयोग त गरीरहेका छैनन् भन्ने प्रश्न उब्जिएको छ।

साउन महिना सम्म बन्दाबन्दीले गर्दा शिक्षणको विकल्पमा जुम तथा अन्य प्रकियाबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन भएता पनि सबै विद्यार्थीहरू समावेश भई लाभ लिन सकेको थिएनन् । प्रायः विद्यार्थीहरु परीक्षा सकिए पछि गाँउमा गएकाले गाँउमा मोवाइलको नेटवर्क कमजोर हुन वा सुचना तथा सञ्चारका साधनका हुने भएकाले विद्यार्थीले कहाँबाट वाईफाईका माध्यम प्रयोग गरी पढाइमा निरन्तरता दिन सक्नु ? गाँउघरमा बसेका बालकहरूले बन्दाबन्दीको समायमा घरयासी काम गर्ने, आफ्नो सरसामान मिलाउने, थोरै भएता पनि कृषिका काम सिकिरहेका छन् ।

हाल सम्ममा पनि विश्वविद्यालयहरूले आफ्ना विद्यार्थीलाई सम्बन्धित विद्यालयमा सम्पर्क गरेर परीक्षा, पढाइका बारेमा खास ठोस निर्णय गर्न सकिरहेका छैनन् । पढाइ, परीक्षा जस्ता विविध कारणले गर्दा विद्यार्थीहरूमा मनोवैज्ञानिक असर परिरहेको त छैन ? विद्यार्थीको पढाइ बिग्रने त होइन भन्ने जस्ता कारणले विद्यार्थीहरू अलमलमा रहेका छन् ।

२. अभिभावकको अवस्थाः
लामो समयदेखि आफ्ना नानी बाबु विद्यालय गएका छैनन् । बालकको अब पढाइ के हुने वा नहुने हो, यसको परोक्ष असर अभिभावकहरूमा पर्नु स्वभाविक हो । आफ्ना छोराछोरीको खाना, लुगा, पढाइ, स्वास्थ्यको ख्याल पनि गर्नु पर्ने र सके सम्म त अभिभावकहरूले छोराछोरीलाई हालको अवस्थामा प्रायःजसो विद्यालयहरु क्वारेन्टाइनको रूपमा प्रयोग भएकाले विद्यालय पठाउदा असुरक्षित हुने हो कि भन्ने ठान्दछन् । विद्यालय खोली हाले पनि सहजै रुपमा अभिभावहरूले पहिलेझै पनि आफ्ना नानी बाबुलाई बिद्यालय पठाउलान त ? कोरोना र यसको संक्रमणदर बढ्ने वा घट्ने यो सहजै अनुमान गर्न नसकिने अवस्थामा कसरी अभिभावहरूले आफ्ना छोराछोरी स्कुल जाउ, पढ भन्लान् र ? यी यस्ता विविध कुराले अभिभावकहरू अलमलमा परेका देखिन्छन् ।

३. शैक्षिक संस्थाको अवस्थाः
नेपालमा सामुदायिक र संस्थागत गरि पैतिस हजार छ सय एक विद्यालाय र बाह्र विश्वविद्यालय तथा तिनका सम्बन्धन प्राप्त क्याम्पस र प्राविधिक तथा व्यावसायिक विद्यालय पनि धेरैको संख्यामा रहेका छन् । यी सम्पुर्ण शिक्षण संस्थाहरुको दैनिक पढाइ नभएका कारणले कक्षाकोठाका मूल ढोका नखुलेकाले विद्यालयका कक्षा कोठा, खेल मैदान, पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर र यातयातका साधनहरु प्रयोग भएका छैनन् ।

ती साधनहरु बिग्रने अवस्था भइसक्यो कि, नियमित सरसफाई नभएकाले कक्षाकोठामा फोहोर थुप्रिएका छन्, खेलमैदानमा झारपात र घाँसले भरिभराउ छन्, कम्प्युटरमा र विद्यालयका सामग्रीहरूमा खिया लागेका छन् कि, विज्ञान प्रयोगशाला सुनसान बनेका छन् । यी विविध साधनहरूमा समस्या आय वा भएमा कति खर्च लाग्ने हो, त्यसको सहजै अनुमान लगाउन सकिने अवस्था छैन ।

४. शिक्षकको अवस्थाः
कोरोना नेपालमा देखापरेसँगै विद्यालयमा अध्यापन गर्ने शिक्षक शिक्षिकाहरु फुर्सदिला मात्र देखिएता पनि कुनै न कुनै रूपमा विद्यालयका काम गरिरहेका छन् । विद्यालय सुचारु भए विद्यालय जानु पर्ने र आफ्नो कर्ममा लागिरहनु पथ्र्यो तर त्यो अवस्था बन्दाबन्दीका कारणले सहज हुन सकेको छैन । केही घरपायक कार्यरत भएका शिक्षकहरू आफ्नो घर, कृषिको काममा पनी ब्यस्त भएका छन् । जिल्ला बाहिर कार्यरत भएका शिक्षकहरु शिक्षा मन्त्रालयले विभिन्न समयमा निकालेको सुचनालाई आधार मानी साउन महिनामा नै कार्यरत विद्यालयमा पुगिसकेका छन् तर ति शिक्षकहरूलाई विद्यालयमा पढाउने सहज वातावरण त छैन सरकारले ल्याएको निर्देशिकाका आधारमा काम गर्न शिक्षकहरू तयार छन् ।

सरकार तथा शिक्षा मन्त्रालयबाट पटक पटक प्रकाशित भएका सूचनाले शिक्षकहरूलाई दोधारे अवस्थामा पुर्याएकै हो विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाले अब यस्तो हुने छैन । शिक्षकहरूलाई विद्यालय नगएर पनि छ महिना सम्म त सरकारले कामै नगरेर तलब खाएको भनी गाली गर्ने गरेका छन् । यस्तो परिस्थति शिक्षकले नै बनाएका पक्कै होइनन् सबैले यो बुझ्न आवश्यक छ । विद्यालय सञ्चालन हुन्छन् कि हुदैनन् ? पढाइ हुने हो कि नहुने हो ? सहज रूपमा कहिले काम गर्न पाइएला भनी शिक्षकहरू अलमलमा परिरहेको अवस्था छ ।

५. परीक्षा सञ्चालनको अवस्थाः
विभिन्न तहका परीक्षाहरू अब कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल भई रहेता पनी ठोस निर्णय हुन सकेको छैन । केहि विश्वविद्यालयहरूले मापदण्ड तयार गरेता पनि कक्षा एघार, बाह्र र माथिल्ला तहका परीक्षा कहिले हुने, कुन कुन प्रकियालाई आधार मान्ने हो भन्ने थाहा नै छैन । प्राविधिक तथा व्यवसायिक शिक्षा र विश्वविद्यालयका परीक्षा पनि कति बेला कुन तरिकाले हुन्छ भन्ने टुंगो लागेको छैन ।

परीक्षा हुने वा नहुने दोधारको अवस्था शृजना भएपछि विभिन्न विश्वविद्यालयमा अध्ययानरत विद्यार्थीहरूले पढाइमा खासै लगाव कम भएको र कोरनाको कारणले मनोवैज्ञानिक असर परेको छ। अब परीक्षा सञ्चालन गर्दा कुन कुन तरिका अपनाएर सञ्चालन गर्ने र विद्यार्थीले सहजै रूपमा परीक्षा दिन सक्छन भनी शैक्षिक संस्थाहरू अलमलमा परेका जस्ता देखिन्छन् ।

६. शैक्षिक सत्रको अवस्थाः
शिक्षा नियमावली २०५९ मा एक शैक्षिक सत्रमा कम्तिमा २२० दिन विद्यालय खोल्नुपर्ने र कम्तिमा १९२ दिन पढाइ हुनुपर्छ भन्ने व्यवस्था छ । खासगरी शैक्षिक सत्र वैशाखदेखि सुरु हुनु पर्ने भएता पनि कोरोनाले गर्दा अहिलेसम्म विद्यालयमा विद्यार्थी भर्ना समेत हुन सकेका छैनन् । अहिले सम्म एक दिन पनि विद्यार्थी विद्यालय गयका छैनन् कसरी हुन्छ शैक्षिक सत्र पूरा ? कसरी सम्पुर्ण पाठ्यसामग्री पढायर सकिन्छ ? कसरी पाठ्यक्रममा समावेश गरेका शैक्षिक उपलब्धी हासिल गराउन सकिन्छ ? यो एक गम्भीर प्रश्नको रुपमा आएको छ । कसरी शैक्षिक सत्र पूरा गर्ने ? पाठ्यक्रम घटाएर ? मुख्य मुख्य पाठ पढाएर ? कि कुनै अरु विकल्पमा ? यसमा शिक्षक, विद्यालय, शिक्षाविद्, शिक्षाका सरोकारवाला निकाय, शिक्षामन्त्री सबै निकायहरू उपयुक्त निकासको बाटो खोजी गर्न लागी परेका छन् ।

७. मन्त्रालय र सम्बन्धित निकायको अवस्थाः
सम्बन्धित निकायले उचित निर्णय उचित समयमा लिन सक्नु पर्दछ । सही निर्णय लिन नसक्दा शिक्षण संस्थामा समस्याका चाँग रहेका छन् विद्यालय खोल्ने कि नखोल्ने ? विद्यालय खोल्ने भए स्वास्थ्यका उचित मापदण्ड पुरा गर्न सकिने कि नसकिने ? घर भन्दा बाहिर कार्यरत शिक्षकलाई के व्यवस्था गर्ने ? कहि कतै विद्यालय नगएका र किताब नपगेका, वैकल्पिक साधन नभएका विद्यार्थीलाई कसरी पढाइमा समावेश गराउने ?

विद्यार्थीहरूको पहिलेको जस्तै मनसिकतामा फर्काउन के गर्ने ? अनलाइन कक्षाबाट नै कक्षा सञ्चालन गर्ने भए सबै विद्यार्थीहरूको पँहुच इन्टरनेट वा अन्य साधन कसरी पुर्याउने ? शैक्षिक सत्र खेर जान नदिन के कस्ता उपाय अपनाउने ? शैक्षिक सत्र छोट्याएर हुन्छ कि ? पाठ्यसामग्री घटाएर हुन्छ कि ? या अन्य उपाय अपनाउन सकिन्छ ? शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा मन्त्रीले उचित निर्णय लिएर शिक्षालाई अघि बढाउन आवश्यक देखिन्छ ।

निचोडः
विद्यार्र्थीहरु विद्यालय नगएर घरैबाट कसरी सिक्न र सिकाउन सकिन्छ भनी विद्यार्थी सिकाइ सहजिकरण निर्देशिकालाई आधार मानी वैकल्पिक माध्यमबाट सिकाइलाइ अघि बढाउन सहज भएको छ । अब कसरी विद्यार्थीहरू अर्को कक्षामा चढाउने भनेर, शिक्षकहरू विद्यालय भन्दा बाहिर रहेर कसरी सिकाइ क्रियाकलाप सञ्चालन गर्ने, कस्ता कस्ता विधि अपनाउने, कुन माध्यम प्रयोग गर्ने र कसरी पाठ्यक्रममा समावेश भएका सिकाइ उपलब्धी पूरा गर्ने भन्ने चुनैति थपिएको छ ।

विद्यालय खुले पनि अभिभावकहरुले आफ्ना छोराछोरीलाई कसरी सुरक्षित मापदण्डका साथ विद्यालयसम्म पुर्याउने, आफ्ना बालबालिकाको सिकाइलाई पहिलेको अवस्थामा कसरी पुर्याउने र पढाइ प्रतिको मोह कसरी उत्प्रेरित गराउने भन्नेमा सोचिरहेका छन् ।

मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उच्च निकाय लगायत शिक्षाविदहरु कोरोनाबाट शैक्षिक क्षति हुन नदिने भनी, कसरी विद्यालय सन्चालन गर्ने, शैक्षिकसत्र खेर जान नदिने उपयाहरू के हुन, शिक्षकहरुलाई सम्बन्धित विद्यालयमा कसरी परिचालन गर्ने, कक्षा १२ देखि माथिका सबै तहका परीक्षा कुन समयमा र कसरी गर्ने भनि काम गरीरहेका छन् । कोरनाबाट शृजित समस्यालाई शिक्षा क्षेत्र रूपान्तरण, सुधार र परिमार्जन गर्ने यो सही समय हो की ? यस्ता विविध पक्षलाई मध्येनजर गर्दै शिक्षा मन्त्री, मन्त्रालय, सरोकारवाला निकाय स्थानिय तह, शिक्षकहरू, अभिभावकहरूको समन्वय गरि शिक्षा प्रणालीलाई हाल देखिएको ढुलमुलबाट माथि उठाएर शिक्षा क्षेत्र अझ शैक्षक हबको रूपमा विकास गरी र उचो बनाउन हामी सबैको साथ आवश्यक छ।

सुझाबका लागिः[email protected]

प्रतिकृया दिनुहोस्