२०७६ असोज ३ गते

गुरुको गरिमा र गन्तव्य

 जीतबहादुर शाह


सरस्वती म्याडमले जीवनका अविष्मरणीय घटनाहरु सुर्खेतको सहारेबाट छिञ्चु हुँदै वीरेन्द्रनगर आउँदासम्मको यात्रामा पस्कँदै जानुभयो । हामीले रमाइलो अनुभूति गर्दै साना नानीहरुले आफ्ना बाजेबज्यैले सुनाउने दन्त्यकथा सुने झैं गरी हामीले ध्यान दिएर सुनिरह्यौं । विवाहको क्रममा भएको एउटा घटनाको रहस्योद्घाटन उहाँले यसरी गर्नुभयो –‘लम्साल सरसँग मेरो विवाहको कुरा चल्दा मेरोे बुवाले लम्साल सरको आनीबानी बुझ्नका लागि उहाँ अध्यापन गर्ने विद्यालयसम्म पनि पुग्नुभयो । बाइस÷तेइस वर्षको भर्खरको तन्नेरी केटोलाई साराका सारा विद्यार्थी र अभिभावकहरुले ‘नमस्ते हेडसर !’ भनेर प्रकट गरेको सम्मान देख्दा बुवाले अरु कुनै कुरै नसोची मलाई दिने निर्णय गर्नुभयो । मैले पनि आज्ञाकारी छोरी भएर बुवाको कुरा शिरोपर गरेँ । अहिले त्यो कुरा सम्झिँदा जे गरियो एकदम ठीक गरेँ जस्तो लागिरहेको छ ।’ मेरो सहकर्मी मित्र भोजप्रसाद लम्सालको धर्मपत्नी सरस्वती म्याडमले धेरै कुरा सुनाएर हामीलाई बाटो काट्न सघाए पनि उहाँले भनेको उल्लिखित घटना भने मेरो मुटुको कुनै कुनामा कतै बसाइ नसर्ने गरी बसै झैं लागिरहेको छ । साँच्ची मानसम्मान र इज्जतको हिसाबले एउटा शिक्षकको गरिमा कति उच्च छ भन्ने कुरा सरस्वती म्याडमको कुरा सुनेपछि यो पङ्तिकारलाई अझै घाम जत्तिकै छर्लङ्ग भयो ।


अहिलेको अवस्थामा शिक्षक हुनु पनि जागीर खानु हो । शिक्षक भएर काम गरेवापत् काम लगाउनेले बेतन दिन्छ । यो काम पहिले–पहिलेका गुरुहरुले गर्ने जस्तो काम भएतापनि अहिलेका शिक्षकहरुले त्यतिबेलाका गुरुहरुले जस्तो प्रतिष्ठा र सम्मानका लागि मात्र काम गर्नु पर्दैन  । अहिले जसरी अरु जागिरेले बेतन पाउँछन्, यो काम गरेवापत् त्यसरी नै शिक्षकहरुले पनि बेतन पाउँछन् । तैपनि, शिक्षण पेशाको गरिमा बुझ्नेहरुलाई बोध हुने गर्छ कि शिक्षकले जागीर गरेवापत् बेतन मात्र पाउदैन, सम्हाल्न धौ–धौ हुनेगरी इज्जत र सम्मान पनि पाउँछ । माथि चर्चा गरिएझैं सरस्वती म्याडमको बुवाले लम्साल सरलाई जुन सम्मान दिनुभयो, सायद त्यो सम्मान शिक्षकबाहेक अरुले पाउन त्यति सहज र त्यति सम्भव छैन । जीवन निर्वाहका लागिभन्दा पनि रुचि र सोखले शिक्षक भएकाहरुले अहिले पनि सरस्वती म्याडमका बुवा जस्ता गुरुको गरिमा बुझेकाहरुबाट जीवनभरि पुग्नेगरी इज्जत र सम्मान पाइरहेका छन् । त्यस्ता शिक्षकहरुको जीवन दुईटै हातमा लड्डु भएसरह मालामाल भइरहेको देखिन्छ । एउटा हातमा बेतन त अर्को हातमा इज्जत र सम्मान ।


यो पङ्तिकार जागीरको क्रममा सुर्खेत प्रवेश गरेको केही दिनमै माध्यमिक विद्यालय इत्राममा प्रवेश गर्ने अवसर मिल्यो । त्यस विद्यालयका प्रअ गेहेन्द्र दाहालले हार्दिक स्वागत गर्नुभयो अनि आफ्नो कार्यकक्षमा बोलाएर मलाई चिया पिउने अवसर प्रदान गर्दै विद्यालयको सम्बन्धमा मेरा केही जिज्ञाशाहरुको समाधानमा समेत सहर्ष किसिमले सरिक हुनुभयो । प्रअकै कार्यकक्षबाट विद्यालयका विभिन्न गतिविधिहरु अवलोकन गर्न मिल्नेगरी सिसी क्यामेरा जडान गरिएको रहेछ । कक्षाकोठामा गरिएको सिसी क्यामेराको यस प्रकारको व्यवस्थापनले शिक्षक र विद्यार्थीहरुलाई स्वनियन्त्रित र स्वनिर्देशित हुनका लागि प्रेरणा प्रदान गरेको रहेछ । आध्यात्मिक चिन्तनका मानिसहरुलाई कुनै  गलत काम नगर्नका लागि आफ्नै आस्थाको ईश्वरले खबरदारी गरेझैं भएको रहेछ त्यो विद्यालयको सिसी क्यामेरा त्यहाँका शिक्षक र विद्यार्थीहरुका लागि । आजभन्दा सात वर्ष अघि माध्यमिक विद्यालय इत्रामले सुरु गरेको यो व्यवस्थापन अहिले पनि उत्तिकै प्रभावकारी रुपमा लागू भइरहेको छ ।

आफू प्रधानाध्यापक भएपछि प्रधानाध्यापक दाहालले विद्यालयलाई माथि उठाउनका लागि थुप्रै काम गरेको देखियो । सर्वप्रथम त समुदायको विश्वास जित्नका लागि उनले राजनीतिक रुपमा तटस्थ हुने प्रयत्न गरे । तटस्थ हुने प्रयत्नकै फलस्वरुप उनले आफू आबद्ध भएको राजनीतिक दलको सदस्यता सार्वजनिक समारोहका बीच परित्याग गर्दै अरु शिक्षकहरुलाई समेत आफू जस्तै हुन प्रेरणा प्रदान गरे । विद्यार्थी सङ्ख्याको हिसाबले सुक्न थालेको विद्यालयलाई भरिभराऊ बनाए । समुदायको भारी माया र सद्भाव पाइरहेकै अवस्थामा आफ्नो व्यक्तिगत कारण देखाई सहज किसिमले जागीरबाट राजीनामा गर्दा  विदाइमा उनलाई हार्दिकतापूर्वक सम्मान गर्ने र भावविह्वल हुने विद्यार्थी, अभिभावक र समुदायका मानिसहरुको ओइरो लाग्यो । जागीरमा रहँदा त उनले मानसम्मान र इज्जत पाए नै, जागीरबाट बाहिरिसकेपछि पनि उनको मान–सम्मान र इज्जतमा कुनै कमी आएको छैन । यो सबै उनले असल गुरु भएर गरेको कामको परिणाम हो भन्ने कुराको ठहर यो पङ्तिकारले गरेको छ ।


सुर्खेतको बड्डीचौरतिर लाग्दा त्यता पनि जनज्योति माध्यमिक विद्यालयका प्रअ नारायण सिग्देलको चर्चा चुलिएको पाएँ । त्यस क्षेत्रका सम्पूर्ण अभिभावक, विद्यार्थी र समुदायका मानिसहरुको माया र विश्वास आर्जन गर्न सफल भएका छन् नारायण सिग्देल । सत्चालीस वर्षको विद्यालयको इतिहासमा अहिलेसम्म विद्यालय व्यवस्थापन समितिको  अध्यक्ष हुनेहरुमा दुईजना मात्रै हुनुले पनि यो कुराको संकेत गर्छ । उनलाई विश्वास त्यहाँका मानिसहरुले मात्र होइन, राजनीतिक दलका नाम चलेका नेता र ठूला–ठूला संस्थाका मानिसहरुले समेत विश्वास गरी विद्यालयलाई सहयोग पनि गरेका छन् । सबैको सहयोग र विश्वासकै कारण विद्यालय साधनस्रोत सम्पन्न छ । विद्यालयको आफ्नै माछापालन व्यवसाय छ । आफ्नैै तरकारी खेती छ । आफ्नैै इट्टाभट्टा छ । विद्यार्थीहरु काम गर्दै सिक्दै मात्र गर्दैनन्, अध्ययनकै क्रममा आय–आर्जनसमेत गरिरहेका छन् । उनकै योगदानका कारण जनज्योतिले राष्ट्रियस्तरकै नमूना सामुदायिक विद्यालय हुने अवसर पाइरहेको छ । जतिबेला पनि विद्यालयकै निम्ति खट्ने र मरिमेट्ने नारायण सरको स्वभावकै कारण जनज्योति माध्यमिक विद्यालय यो अवस्थामा पुगेको कुरामा कसैको पनि दुईमत छैन त्यो क्षेत्रमा ।


गुरुको गरिमाको चर्चा गर्दै गर्दा आफ्नो गरिमालाई अवमूल्यन गर्ने गुरुहरुको पनि सम्झना हुन्छ । कतिपय विद्यालयमा  विद्यालय व्यवस्थापन समिति गठन नहुनुमा कारण के हो त भनेर खोज्दै जाँदा रहस्य पत्ता लाग्छ कि विद्यालयका प्रअ र शिक्षकहरु नै कुनै समूह विशेषलाई जिताउन र वा हराउनका लागि मरिहत्ते गरेर लागिरहेका छन् । त्यो कुरा समुदायलाई स्वीकार्य छैन । त्यसैले सहमति हुन सकिरहेको छैन । यस्ता विद्यालयका प्रअ र शिक्षकहरुले समुदायका सबै मानिसहरुको माया र विश्वास पनि पाउन सकिरहेका छैनन् । कतिपय राजनीतिक दलका कार्यक्रमहरुमा त शिक्षकहरु नै हर्ताकर्ता भएर उपस्थित हुन्छन् र अतिथि एवं प्रमुख अतिथिसमेत भएर कार्यक्रम सञ्चालन गरिरहेका घटना र परिघटनाहरु देख्ने दुर्भाग्य पाउँछन् समुदायका मानिसहरु । यसरी राजनीतिक दल विशेषसँग सक्रिय रुपमा सम्बद्ध शिक्षक र प्रधानाध्यापकहरु नै विद्यालय विशेषको प्रगतिमा सबैलाई समेट्नका लागि बाधक भइरहेका देखिन्छन् । यस्ता प्रधानाध्यापक र शिक्षकहरुले गेहेन्द्र दाहाल र नारायण सिग्देलबाट सिकेर सुध्रिन सकेमा उनीहरुको गरिमा र विद्यालयको प्रगति दुबैले आकाश चुम्ने अवसर पाउथ्यो होला जस्तो लागिरहेको छ ।


गाउँतिर गएर विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापक, शिक्षक र समुदायका मानिसहरुसँग कुरा गर्दा उनीहरुको एउटै आवाज हुन्छ– ‘हाम्रो विद्यालयमा शिक्षक दरबन्दी छैन । भएको दरबन्दीका शिक्षकसमेत सदरमुकाम वरिपरिका विद्यालयहरुमा वर्षौंदेखि काजमा रहेका छन् । त्यस्ता शिक्षकहरु जहाँ काजमा छन्, त्यहाँ पनि विद्यार्थी संख्या कम भएको कारणले उनीहरुको त्यहाँ पनि खासै उल्लेख्य भूमिका छैन । कोही व्यापार गरेर बसेका छन्, कोही राजनीति गरेका बसेका छन् त कोही संघ–संस्था चलाएर बसेका छन् । यसरी जहाँ विद्यार्थी त्यहाँ शिक्षक नहुँदासम्म शिक्षाको गुणस्तर सुधार्ने कुरा कसरी सम्भव हुन्छ र ?’ मेरो पनि घैंटोमा घाम लाग्यो कि हामीले शिक्षण सिकाइमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षकविना पनि शैक्षिक गुणस्तरका सपना देखेछौं । यस्तो सपना कि दुलाहाविना नै वैवाहिक कार्यक्रम सञ्चालन गर्ने सपना । त्यसैले त शिक्षक दरबन्दी नदिएर पनि विद्यालयहरु धमाधम खोल्ने हर्कत गरेछौं । त्यत्ति मात्र नभएर भएका शिक्षकहरुलाई समेत विद्यार्थीहरुलाई होइन कि उनीहरुलाई नै पायक पर्नेगरी व्यवस्थापन गर्ने सुरसार गरेछौं ।


पछिल्लो दशकतिर आएर हामीले तुलनात्मक किसिमले विद्यार्थीहरुका भन्दा शिक्षकहरुको भलाइका कुरा बढी गरेछौं । सम्बन्धित शिक्षकको सहमतिविना उसको सरुवा नहुने कुरालाई ऐन/नियममा किटान गरेछौं । शिक्षक नियुक्तिमा आरक्षणको व्यवस्था गरी शिक्षक हुनका लागि कमजोर देखिएका उम्मेद्वारहरुलाई पनि शिक्षण पेशामा उनीहरुको जागीरलाई सुनिश्चित गरेछौं । सिसेरोले भने झैं हाम्रा यी हर्कतहरुले अध्यापन गर्नेहरुका अधिकारहरु अधिक भएपछि अध्ययन गर्नेहरुका अधिकारहरु कुण्ठित भएछन् । काम सजिलो र मामुली गर्ने तर गरिमा र सम्मान भने उच्च तहको खोज्ने कुरा सम्भव हुँदो रहेनछ । संसारको नियम नै कठिन र असम्भव काम गर्नेहरुलाई उच्च गरिमा र उच्च सम्मान प्रदान गर्ने रहेछ जो पहिलेका शिक्षकहरुले गरिरहेका थिए । मलाई त लाग्छ, शिक्षकहरुले आफूले गुमाएको गरिमा र सम्मानलाई हुबहु फर्काउने हो भने आफ्नो निम्तिभन्दा पनि विद्यार्थी र समुदायको निम्ति होमिनुपर्ने हुन्छ । नारायण सिग्देलले जस्तै वा भनौं गेहेन्द्र दाहालले जस्तै वा विद्यार्थीहरु र विद्यालयको विकासका निम्ति अहोरात्र खटेर पनि मेरो जानकारीमा नभएका हजारौं हजार प्रधानाध्यापक र शिक्षकहरुले जस्तै । त्यसपछि त मानसम्मान र प्रतिष्ठाले पुलकित हुने गुरुको गरिमा र गुरुको गन्तव्य कसरी सुनिश्चित नहोला र ? सबैलाई चेतना भया  !
jbshah072@gmail.com

साभार : आजको शिक्षा साप्ताहिक

Comments: