नीति र थिति सुध्रिए सामुदायिक शिक्षा आफै सुध्रिन्छ

शिक्षकलाई गाली मात्रै गरेर हुँदैन

Avatar photo

Byएजुकेशन पाटी

२५ फाल्गुन २०७९, बिहीबार

जवाहरलाल कुशवाह
सांसद, मधेश प्रदेश

लामो समय शिक्षण पेशामा रहेर अहिले जनप्रतिनिधिका रुपमा काम गर्दा कस्तो अनुभव भएको छ ?
शिक्षक हुँदै गर्दा पनि समाजकै बालबालिकाको उत्थान गर्ने, विकास गर्ने र राष्ट्रको कर्णधार हुन्छन् भनेर हेर्ने हो । त्यो एरिया अलि सीमित थियो । त्यहाँ एउटा गाउँको ग्रामिण क्षेत्रमा पढन आउँदा कपि नहुँने किताब नहुँने । यसो देख्दा गरिबीका कारण शिक्षामा राम्रो गर्न सकिरहेका छैनौं भन्ने लाग्थ्यो । २० वर्ष शिक्षण पेशामा बिताए । ती बच्चालाई सामान्य परिवारबाट छौ । राम्रो पढनुपर्छ भन्ने सीमित थियो । अब जनप्रतिनिधि भएपछि शिक्षा बाहेक स्वास्थ, विकास यावत क्षेत्रमा जोढिडने अवसर जुट्यो । पहिले कहाँ सानो क्षेत्रमा थिए, अहिले यत्रो क्षेत्रमा पुगेँ भन्ने लाग्छ । जनताको अपेक्षा धेरै छन् । कसरी त्यसलाई पुरा गर्ने भनेर लागिरहेको छ । म पहिलो जनप्रतिनिधि होइन, यस अघि पनि धेरै व्यक्ति जनप्रतिनिधि भएका थिए । तर जनताका समस्या ज्यूँ का त्यूँ छन् । यो हेर्दा २१ औं शताव्दी भन्दा पनि लाज लाग्ने छ । अव समस्या समाधान गर्ने कोशिशमा लागेको छु ।

शिक्षण पेशा चटक्कै छाडेर किन राजनीतिमा होमिनु भयो ?
शिक्षक मयौदित पेशा हो, समाजले मानेको बौद्धिक क्षेत्र हो । उसलाई जनजीविका देखि सामान्य सामान्य कुरा र समस्या शिक्षकसँग जोडिएको हुन्छ । थाहा हुन्छ । त्यो समस्या समाधान गर्न र केही गर्न सकिन्छ कि भन्ने प्रेरणा प्राप्त हुन्छ । जनजीविकासँग जोडिएका कुरा वास्तविक रुपमा शिक्षक जोडिएका हुन्छन् । म आफू पनि यही कारण राजनीतिमा लागेको हो र अरु पनि लागेका हुन सक्छन् । जनजीविकासँग जोडिएको वास्तविक कुरा शिक्षकले बुझेका कारण पनि पछि राजनीतिमा प्रवेश गर्ने परिपाटी बनेको र राजनीतिमा लाग्ने गरेको हो जस्तो लाग्छ ।

सरकारले शिक्षकलाई राजनीति गर्न रोक लगाएको छ । तपाईं भने शिक्षण पेशा नै छाडेर राजनीतिमा होमिनु भयो होइन ?
म शिक्षककै रुपमा कहिल्यै राजनीति गरिनँ, पढाएँ मात्रै । जब राजनीतिमा होमिए शिक्षण पेशा छाडेँ । शिक्षक मात्रै होइन नेपालमा निजामति कर्मचारीदेखि लिएर अन्य सरकारी सेवामा कार्यरत कर्मचारीलाई सरकारले राजनीति गर्न रोक लगाएको छ । तर, कार्यान्वयन फितलो छ । तर पनि शिक्षक कर्मचारीलाई संगठन बनाउन र आफ्नो हक अधिकार संरक्षणका लागि काम गर्न कानूनले नै छुट दिएको छ । जतिवटा राजनीकि दल छन्, हरेकका शिक्षक र कर्मचारीका संगठन छन् । जसले गर्दा नचाहँदा नचाहँदै पनि पेशागत संगठनहरु राजनीतिमा जोडिएको छ। राजनीतिक स्तरबाटै संरक्षित भएका कारण राजनीति नगर्ने भन्ने भएन । यसले गर्दा जतिसुकै गर्नु हुँदैन भनेपनि यो अछुतो रहँदैन । मुख्य कुरा पेशागत कर्तव्य र जिम्मेवारी इमान्दारीताका साथ पूरा गरिन्छ कि गरिदैन भन्ने हो । राजनीति हुनुपर्छ तर सुधारका लागि । दलको झण्डा बोक्न कसैको दलाली गर्न होइन ।

जनप्रतिनिधिका रुपमा शिक्षासँग सम्वन्धि कानून बनाउन र शिक्षा क्षेत्रको सुधारका लागि तपाईंको भूमिका कस्तो रहन्छ ?
मैले जनताँंग संकल्प गरेको छु । मैले सकेको काम गर्छु । नीति निर्माण तहमा लाग्ने छु । शिक्षा तथा अन्य ऐन ल्याएर मात्र हुँदैन । लागू गर्ने काममा फितलो छ । त्यता ध्यान दिनेछु । तर त्यस्ता ऐन कार्यान्वयन गर्न जनता नै सचेत हुन भने आवश्यक छ । जस्तो उदाहरणको लागि एउटा निजी विद्यालयमा बच्चा पढाउने अभिभावक आफै उत्तरदायी हुन्छन् । बच्चालाई खुवाउने, पढाउने, लेखाउने, कपडा लगाइदिने, सुग्घरसफा गराउने, विद्यालय पुर्याउने, दिउँसो खाजा पुर्याउने, बेलुका लिन जाने सवै काम हुन्छ । तर सामुदायिक विद्यालयमा यस्तो देखिदैन । ए बाबु लुगा लगाएर स्कूल जाउ । भन्ने मात्रै अवस्था छ । सुधार यहीं बाट शुरु गर्नुपर्छ । अभिभावकको चासो बढाउनतिर लाग्नुपर्छ । सरकारले सामुदायिक विद्यालयमा हरेक विद्यार्थीका लागि झण्डै वार्षिक २० हजार खर्च गरिरहेको छ । यो खर्च निजी विद्यालयको भन्दा कम होइन । अभिभावकले सिधै नदिएपनि सरकारमार्फत् अभिभावककै पैसा सामुदायिक विद्यालयमा खर्च भइरहेको छ । त्यसैले सामुदायिक स्कूललाई अभिभावकले चासो दिनुपर्यो । जोगाउनुपर्यो । सुधार गर्नुपर्यो । त्यो हाम्रै पैसाले चलिरहेको छ भनेर बुझ्नुपर्यो ।

मैले मेरै कुरा गर्दा विद्यालयमा अभिभावकको चासो नदेखेपछि मैले कुरा बुझाएर हजारौं अभिभावकको विद्यालयप्रति चासो बढाएको थिएँ । अहिले पनि स्कूलमा गएर बुझ्दा हुन्छ । अभिभावकको चासो बढ्न साथ पछि त्यो स्कुलको मोडल नै परिवर्तन भयो । जबसम्म सरकारी स्कूलमा जनचासो वृद्धि हुँदैन । तबसम्म शिक्षा अघि बढ्दैन । सुधार हुँदैन । यसैले शिक्षाका नीतिहरुमा पनि जनचासो बढे राम्रा नीति बन्नेछन्, त्यसको प्रभावकारिता बढ्नेछ । अनि हामीले चाहेका खोजेको विद्यालय निर्माण गर्न सक्नेछौं । कुराले चिउरा भिज्दैन । काम गर्नुपर्छ । गरे, अवस्य सामुदायिक विद्यालय भनेजस्तै बनाउन सक्छौं । मिलेर हामी सक्छौं ।

सामुदायिक विद्यालयलाई सुधार गर्न के गर्नुपर्छ ?
मैले भने नि । जनचासो । विद्यालय मेरो हो, हाम्रो हो । भन्ने चेतना फैलनुपर्यो । हाम्रो भएपछि बनाइदिन अरु आउदैन । बनाउने पनि हामी मिलेर नै हो । भन्ने भावना जाग्छ । हाम्रै करको पैसाले सुन्दर भवन बनेका छन्, शिक्षकले तलव खाएका छन् । अब शिक्षकलाई शिक्षा सुधारमा साथ दिने काम अभिभावकले गर्नुपर्यो । विद्यालयको संरक्षण र सम्वद्र्धनमा अभिभावक नै जुट्नुपर्यो । समुदाय पनि स्कूलप्रति जवाफदेही बन्नुपर्यो ।

हुन त स्कुलमा व्यवस्थापन समिति गठन हुन्छ । त्यो राजनीतिक गर्ने थलो बन्यो । प्रभावकारी बनेन । जानुपर्ने मान्छे जानै पाएनन् । मावि वा प्लस टु सम्म चल्ने स्कुलमा विद्यालय व्यवस्थापन समितिमा कम्तिमा पनि अलि पढेको व्यक्ति ल्याउनुपर्यो नि । त्यो अभिभावकले त्यो व्यवस्थापन बुझ्ने हुनुपर्छ । सकेसम्म पढेको व्यक्ति आउने, अभिभावकमा पनि यस्तो भए हुने भन्ने कुरा ऐनले नै जोड्नुपर्छ । नभए कहीं पढेका अभिभावक नै छैनन् भने पनि यसको विकल्प दिएर समाजमा जानेका व्यक्तिहरु जोडिने वातावरण बनाइनुपर्छ । ऐन नियम बनाउँदा पनि कोठामा होइन स्थानीय समस्या बुझेर मात्रै बनाउनुपर्छ । ऐन कानूनले जनजीविकालाई जोड्न नसक्दा समस्या भयो । कार्यान्वयनमा गएन । अब बदलाव आउनुपर्यो ।

मधेश शिक्षामा निकै पछाडि परेको देखिन्छ । कसरी अगाडि ल्याउन सकिएला ? के–के सुधार गर्नुपर्ला ?
सवैभन्दा ठूलो कुरा तराईमा पठनपाठन र शिक्षा दिने कुरामा विभेद छ । छोरीलाई स्कुलमा पढाउने, छोरालाई बोर्डिङ पढाउने । छोरालाई अर्को राम्रो ठाउँमा लगेर पढाउने जस्ता विभेद पनि रहेको छ । छोरीलाई जबर्जस्ती १० कक्षासम्म पास गर्दिनुस, बिहे गरेर अर्काको घर गइहाल्छ भन्ने यस्तो धारणा रही आयो । अहिले केही मात्रामा परिवर्तन भएको छ । सुधार हुँदै छ । तर अझैपनि धेरै कुरामा बाँकी छ । अर्को कुरा त्यहाँको अवस्थालाई हेर्ने हो भने गाउँघरमा आमा बुवालाई काममा सघाएर पढ्ने गरेको पाइन्छ । जसले पनि पूर्ण मात्रामा पढ्न पाईरहेको हुँदैन । तेस्रो कुरा, अलि अघिको पुस्तालाई हेर्ने हो भने यहि खेतीपाती नै त गर्ने हो । किन पढ्न पर्यो भन्ने जस्ता विचार रहँदा पनि शिक्षामा मधेश पछि परेको देखिन्छ । मान्छेहरु गुजाराका लागि काम गर्न जानुपर्छ, साना बच्चा हेर्न ठूला बालबालिका घरमै बस्नुपर्छ । नबसे अभिभावक काम गर्न जान पाउँदैनन् । अभिभावकले काम नगरे गुजारा चल्दैन । स्कूलमा बोलाएर मात्रै भएन । भर्ना अभियानलाई जनजीविकासँग जोड्नै पर्छ । उत्पादन र रोजगारीसँग जोड्नै पर्छ । मधेशमा मानिसका जनजीविकासंग जोडेर विकास निर्माणको काम अघि बढाउन सके यसले पक्कै पनि मधेशलाई समृद्ध बनाउन सहयोग पुग्छ । मधेशका ठाउँलाई उत्पादनसँग जोड्ने, र यहाँका संस्कृति र स्थानलाई पर्यटनसँग जोड्ने गरी अघि बढे मधेश सवै क्षेत्रमा माथि उठ्न सक्छ ।

प्रस्तुतिः रोजिना थापा कार्की

प्रतिकृया दिनुहोस्