सिमकोट । नाम्खा गाउँपालिकाले होम्लु भोटे–लामा भाषाको व्याकरणका प्रारम्भिक खाका तयार गरेको छ ।

गाउँपालिकाका सबै विद्यालयमा मातृभाषाको रुपमा होम्लु भोटेलामा भाषाको पठन पाठन सुरु गर्न गाउँपालिकाले व्याकरण तयार गरेको हो । स्थानीय कुन्जोक लामाले आठ महिना लगाएर होम्लु भोटेलामा भाषाको व्याकरणको प्रारम्भिक खाका तयार गरेका हुन् । भाषा आयोगको समन्वय र गाउँपालिकाको सहयोगमा आफूले व्याकरणको प्रारम्भिक खाका तयार गरेको लामाले बताए । उनले गत मंसिरदेखि व्याकरण तयारीको काम सुरुवात गरेका थिए ।

भोटबर्मेली भाषिक समुदायमा पर्ने होम्लु भोट–लामा भाषाको व्याकरणका लागि नेपाली व्याकरणको ढाँचा र सम्बोधा लिपीमा तयार पारिएको ब्याकरणले स्थानीय मातृ भाषामा पठन–पाठन गर्न सहज हुनेछ । व्याकरणमा १०३ अक्षरलाई समेटेर तयार गरिएको छ । उनले पाँच अनुच्छेदमा तयार पारिएको व्याकरण सिंगो नाम्खा गाउँपालिकामा बस्ने १७ बस्तीका लामा समुदायले बोल्ने मातृको संरक्षण हुने बताए ।

स्थानीय स्तरका बिज्ञहरुको सुझाब संकलन गरि समेटिएको व्याकरणलाई भाषा आयोगले छानबिन र अध्ययन पश्चात मान्यता दिएपछि मात्र यसले कार्यान्वयन पाउने छ । १६ प्रतिशत लामा समुदायले बोल्ने भाषाको संरक्षण हुनेछ भने १७ वटा विद्यालयका एक हजार विद्यार्थी लाभान्वित हुनेछन् ।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले गाउँपालिकामा रहेका सबै विद्यालयमा एक एक कक्षामा मातृ भाषाको पठन–पाठन कार्य सुरु गर्नका लागि होम्लु भोट–लामा भाषाको व्याकरण तयार गरिएको बताए । अध्यक्ष लामाले व्याकरणले भाषा आयोगबाट मान्यता पाए गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेर सबै विद्यालयमा होम्लु भोटलामा भाषाको पठन–पाठन सुरु गर्ने बताए ।

उक्त भाषा लोपउन्मुख भएप्छि गाउँपालिकाले व्याकरण तयारी गरि पाठ्यक्रम निर्माण गरेर पठन–पाठन सुरु गरेपछि मातृ भाषाको संरक्षण हुने विश्वास लिएको जनाएको छ । हुम्लाका सात वटा गाउँपालिका मध्य मातृभाषाको व्याकरण तयार गर्ने नाम्खा गाउँपालिका पहिलो भएको छ ।

प्रारम्भिक ढाँचा माथि सुझाब संकलन गर्ने क्रममा समन्वय प्रुमख दान बहादुर रावत, प्रमुख जिल्ला अधिकारी चिरन्जीबी गिरी, उपाध्या पेमा लामा र प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले सुझाब दिएका थिए ।

प्रतिकृया दिनुहोस्