काठमाडौं । सरोकारवालाहरुले लकडाउनको अवस्थामा अध्यनअध्यापनका लागि विद्यालयका पाठ्यपुस्तक नै जरुरी नभएको बताएका छन् । यो समयमा स्वास्थ्य सुरक्षा र सिकाइ निरन्तरता आवश्यक रहेकोमा जोड दिँदै उनीहरुले अन्य माध्यमबाट पनि शिक्षण सिकाइलाई निरन्तरता दिन सकिने जनाएका हुन् ।

शिक्षा पत्रकार समूहले शुक्रवार आयोजना गरेको चालु शैक्षिक सत्रमा विद्यालय तहको पाठ्यपुस्तक र पाठ्य सामग्री व्यवस्थापन कसरी ? विषयक भर्चुअल शिक्षा बहसमा बोल्दै उनीहरुले पाठ्यपुस्तक नपाएको भन्दै शिक्षण सिकाइ प्रक्रिया नरोक्न शिक्षक विद्यार्थीहरुसँग अनुरोध गरे ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराइले विद्यालयले सिकाउनका लागि पाठ्यपुस्तक नै कुर्न नपर्ने बताए । पाठ्यक्रम विकास केन्द्रकोे वेवसाइटमा कक्षा १ देखि १२ सम्मकै पाठ्यपुस्तक राखिएको छ र आवश्यक परे डाउनलोड गरेर सिकाउन सकिने उनको भनाइ थियो । यस्तै वेवसाइटमा ९ सय बढी शिक्षण सामग्री रहेकाले विद्यार्थीहरुले डाउनलोड गरेर घरमै बसेर सिक्न सक्ने उनको भनाइ थियो ।

शिक्षकले पाठ्यपुस्तक नभई पाठ्यक्रमको आधारमा सिकाउनुपर्ने भन्दै केन्द्रको वेवसाइटबाट पाठ्यक्रम डाउनलोड गरेर सिकाइ सामग्री तयार पारी विगद्यार्थीसम्म पुर्याउन उनको आग्रह थियो । ‘शिक्षकले पाठ्यपुस्तक नकुरौं, पाठ्यक्रम मोवाइलमा डाउनलोड गरौं र त्यसको आधारमा श्रव्यदृश्य सिकाइ सामग्री निर्माण गरी विद्यार्थीसम्म पुर्याउँ’, भट्टराईले भने ।

जनक शिक्षा सामग्री केन्द्रका प्रवक्ता चित्र आचार्यले जनक शिक्षाले यो बर्ष छाप्ने १ करोड ७५ लाख सेट पुस्तक मध्ये ९० प्रतिशत पुस्तकको छपाई सकिइसकेको र वितरणको काम शुरु भइसकेको जानकारी दिए । अबकोे दुई हप्ताभित्र ति पुस्तक पनि छपाइगरी सकिने उनको भनाइ थियो । शिक्षक महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडीले सम्बन्धित एजेन्ट, सम्बन्धित पुस्तक पसलहरु मार्फत् विद्यालयमा पुर्याउन सकियो भने बालबालिकाको हातमा पुग्नसक्ने बताए ।

अनलाइन, टेलिभिजन, रेडियोजस्ता माध्यमबाट पठन–पाठन हुँदा पनि बच्चालाई सजिलोको लागि पुस्तक आवश्यक रहेको उनको भनाइ थियो । ‘पाठ्यपुस्तक नै नभइ नहुने भन्ने होइन्, तर, हुँदा सिकाइ सहज हुन्छ’, उनले भने, ‘शिक्षकले पाठ्यक्रमकै आधारमा सिकाउने हो, शिक्षक पाठ्यपुस्तकमा सीमित भएर पुग्दैन ।’

नेशनल प्याब्सनका अध्यक्ष रितुराज सापकोटाले नयाँ पाठ्यपुस्तक बालबालिकाको हातमा पर्दा एक महिनासम्म उनीहरुलाई चलायमान बनाउने हुँदा यसको वितरण प्रक्रियालाई जोड दिनुपर्ने बताए । सिकाइका लागि विभिन्न माध्यमको अभ्यास गरिरहेको भएपनि पाठ्यपुस्तकको भूमिका अहिले पनि उत्तिकै महत्वपूर्ण भएको उनको भनाइ थियो । अहिले संघ, विभिन्न प्रदेश र विभिन्न स्थानीय तहले विभिन्न खालको सूचना र निर्देशनहरु दिइरहेका हुँदा त्यसमा एकरुपता ल्याउन जरुरी भएको सापकोटाले बताए ।

प्याब्सनका उपाध्यक्ष गोपाल आचार्यले लकडाउनले बालबालिकालाई घरभित्र थुनिन बाध्य पारेको यो अवस्थामा केही मात्रामा बैकल्पिक माध्यमको प्रयोगबाट बच्चासम्म पुग्ने प्रयास गरेको देखिएको बताए । तर, पाठ्यपुस्तक बालबालिकाको हातमा पुर्याउनुपर्ने बाध्यात्मक स्थिती रहेको भन्दै उनले सरकारले जनक शिक्षासँग जोडेर कुरा उठाएको हुँदा अन्यौलता देखिएको बताए । बालबालिकालाई घरमै बसेर सिक्न पाठ्यपुस्तकले बाधा नगर्ने उनको भनाइ थियो ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका महासचिव दिवाकर घिमिरेले पाठ्यपुस्तक बिक्री वितरणमा आफुहरु सहयोगी रुपमा रहन चाहेको भएपनि राज्यले पुस्तक व्यवसायीहरुलाई उपेक्षा गरेर जान खोजेको आरोप लगाए । उनले राज्यको कानूनमै दर्ता भएर संचालनमा रहेका हजारौं पुस्तक व्यवसायी रहेको अवस्थामा जनकसँग मात्रै सम्बन्धितलाई अनुमतिले पाठ्यपुस्तक सर्वसुलभ हुन नसक्ने तर्क गरे । सामुदायिक विद्यालयका बालबालिकालाई मात्रै पुस्तक दिने सोच राख्नु गलत भएको बताउँदै उनले संस्थागत विद्यालयले पठनपाठन गर्ने पाठ्यपुस्तकतर्फको व्यवस्थापनका बिषयमा पनि स्पष्ट धारणा आउनुपर्ने बताए ।

पाठ्यपुस्तकको ढुवानी, किनबेचलाई औषधी र खाद्यबस्तुको रुपमा स्वाकृती दिने र काम गर्नेहरुलाई परिचयपत्रका आधारमा काम गर्नका लागि छाडिदिने हो भने देशभरमै पाठ्यपुस्तक पुर्याउन सकिने उनको सुझाव थियो ।

भर्चुअल शिक्षा सम्बादमा विभिन्न जिल्ला शिक्षाकर्मी, शिक्षक र पत्रकारहरु गरी झण्डै तीन दर्जनको सहभागीता थियो ।

२०७७ बैशाख २७ गते ११:०८मा प्रकाशित

प्रतिकृया दिनुहोस्