लमजुङ । मंसिर तेस्रो साता हिमाली जिल्ला मनाङको माथिल्लो मनाङ र नार्पाभूमिमा बाक्लो हिमपात भयो । विद्यार्थी, शिक्षक र अभिभावकले चिसोका कारण असहज महसुस गरे ।

गएका वर्षमा यतिबेला मनाङमा अन्तिम परीक्षाको नतीजा प्रकाशित भइसक्थ्यो । आगामी फागुन–चैतबाट भर्ना लिएर पठनपाठन पुनः सञ्चालन गरिन्थ्यो । तर यसपटक कतै त्रैमासिक र कतै अर्धवार्षिक परीक्षा गरिएका छन् । वार्षिक परीक्षाको टुंगो छैन । हिमपात सुरु भएपछि छिटो–छिटो परीक्षा सकाएर शिक्षक, विद्यार्थी र अभिभावक लमजुङ, चितवन, पोखरा, काठमाडौंतर्फ झरेका छन् । विद्यालय बन्द गरिएका छन् ।

माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिका–६, मनाङस्थित अन्नपूर्ण माविका प्रधानाध्यापक आनन्दराज घिमिरेका अनुसार मंसिर २२ मा परीक्षा सकाएर विद्यालय बन्द गरिएको छ । ‘हिउँ पर्‍यो । जाडो बढ्यो । गाउँपालिकामा बैठक बसेर यस वर्ष जाडो अघिको पढाइलाई टुंग्यायौं,’ उनले भने । उनका अनुसार गएका वर्षमा अन्तिम परीक्षा हुन्थ्यो । यसवर्ष अर्धवार्षिक गरिएको उनले बताए । उनले हिउँ नपरे फागुन १५ बाट र हिउँ परेमा चैत १ बाट विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको बताए । ‘कोरोना संक्रमणका कारण यस वर्ष साउनबाट शैक्षिक सत्र सुरु गर्नु पर्‍यो । गएका वर्ष चैतबाट सुरु हुन्थ्यो,’ उनले भने, ‘कोरोनाले गर्दा शैक्षिक सत्र नै परिवर्तन भयो ।’ उनले आधारभूत तहका विद्यालय मंसिर २० बाटै बन्द भएको बताए । शैक्षिक सत्र ४ महिना पछाडि धकेलिएको उनले बताए । कोरोना संक्रमणले गर्दा २०७७ मंसिरमा लिनुपर्ने वार्षिक परीक्षा २०७८ असारमा लिनु परेको घिमिरेले बताए ।

मनाङ ङिस्याङ गाउँपालिका शिक्षा अधिकृत बाबुराम गैह्रेका अनुसार माथिल्लो मनाङका सबै विद्यालय बन्द भएका छन् । पुस १ बाट लागू हुने गरी ४५ दिनको हिउँदे बिदा दिइएको उनले बताए । ‘मंसिर १७–१८ तिर हिउँ झ्याप्प परिहाल्यो । प्रायः गोरखालीका बालबच्चा छन् । हिउँ पर्न थालेपछि गाह्रो भयो, बच्चा लानु पर्‍यो भनेपछि हामीले रोक्न सकेनौं,’ उनले भने । उनका अनुसार मनाङ ङिस्याङ गाउँपालिकामा एउटा मावि, ३ वटा १–७ पढाइ हुने आधारभूत, एउटा १–३ पढाइ हुने आधारभूत र ४ वटा १–५ पढाइ हुने आधारभूत विद्यालय छन् । ‘हिउँदे बिदा माघ १५ सम्मको लागि हो । त्यसपछि विद्यालय खुल्नुपर्छ,’ उनले भने । स्थानीय तहले माघ १५ सम्मको लागि विद्यालय बन्द गरे पनि चिसोका कारण पठनपाठन हुन नसक्ने र विद्यार्थी नआउने भएकाले बिदाबाहेकको अन्य समय स्थानीय शिक्षकले विद्यालय प्रशासन खोलेर बस्ने शिक्षक बताउँछन् ।

नार्पाभूमि गाउँपालिकाको फू गाउँस्थित फू आधारभूत विद्यालय मंसिर १५ देखि नै बन्द भएको शिक्षक कृष्णप्रसाद अधिकारीले बताए । ‘गाउँमा बस्ने अवस्था छैन । चिसोले सबै तल झरेका छन् । विद्यार्थी र अभिभावक सबै झरेपछि विद्यालय बन्द गरियो,’ उनले भने । उनका अनुसार नारमा रहेको आधारभूत विद्यालय पनि बन्द गरिएका छन् । ‘चिसोका कारण माथि कोही बस्न सक्दैनन्,’ उनले भने ।

चामेस्थित लोकप्रिय माविका प्रधानाध्यापक कृष्णदास कोइरालाका अनुसार चामे गाउँपालिकाले हिउँदे बिदा पुस १५ देखि माघ १५ सम्मलाई मात्रै तोकेको छ । अघिल्ला वर्षमा ५० दिन तोकेको थियो । ‘कोभिडका कारण हामीले विद्यालय चलाउन सकेनौं । गत जेठ ३१ पछिको बाढीपहिरोले विद्यालय भवन बगाउँदा लामो समय स्कुल चलाउन सकेनौं । बाढीपहिरोले जलविद्युत बगाउँदा अनलाइन कक्षा पनि चलाउन सकेनौं,’ उनले भने, ‘बल्ल–बल्ल ३ महिनाजति पढायौं ।’ उनका अनुसार कक्षा ८, ९ र १० को परीक्षा शनिबारदेखि सकिँदैछ । आधारभूत तहको परीक्षा यसअघि नै सकिएको छ । ‘तीन महिना जति पढाए पनि परीक्षा भने अर्ध वार्षिक तरिकाले ४० पूर्णांकको लिएका छौं । रिजल्ट गरेर विद्यालय बन्द गर्नुपर्ला,’ उनले भने । उनका अनुसार सडकमा पानी जमेर बरफ बन्न थालेको छ । जनजीवन कष्टकर बनेको छ । ‘केही हुन्छ कि भनेर अलि अलि ढिला गर्‍यौं । साना बच्चाको प्रस्तुतिले कतै हामीले बालबालिकालाई सजाय त दिएनौं ? भन्ने लाग्यो । आवासमा बस्ने बालबालिकालाई पनि समस्या भयो । छिटोछिटो परीक्षा चलायौं,’ उनले भने ।

चामे गाउँपालिका शिक्षा संयोजक इन्द्रजंग गुरुङका अनुसार पुस १५ देखि माघ १५ सम्म हिउँदे बिदा दिइएको छ । पुस १५ मा विद्यालयले अर्धवार्षिक परीक्षा सक्ने उनले बताए । ‘हिमपातले असर गरेन भने माघ १६ बाटै स्कुल खुल्छ । हिमपातले असर गर्न थाल्यो भने फागुन १ बाट जसरी पनि स्कुल खुलाउनुपर्छ,’ उनले भने । नासों गाउँपालिका–५, थोंचेस्थित प्रकाशज्योति माविका प्रधानाध्यापक पद्मराज पन्थीका अनुसार जाडो बिदा पुस १५ बाट हुँदैछ । ‘जाडो बिदा खासगरी ११ गतेबाट हो । स्थानीय बिदा ५ दिन जोडेर १६ गतेबाट लागू हुने गरी जाडो बिदा तोकेका छौं,’ उनले भने । उनका अनुसार फागुन १ बाट पठनपाठन सुरु हुन्छ । उनले अहिले पहिलो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको बताए ।

शिक्षा विकास तथा समन्वय इकाई मनाङका प्रमुख मोतिप्रसाद चापागाइँका अनुसार चिसो बढ्दै गएपछि मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका सबै विद्यालय बन्द भएका छन् । चामे र नासोंमा परीक्षा अन्तिमतिर पुगेको र विद्यालय बन्द हुने क्रममा रहेको उनले बताए । ‘हिमपातसँगै चिसो बढ्न थालेको छ । चिसोले बस्न नसक्ने अवस्था भएपछि परीक्षा सकाएर स्थानीय तहले जाडो बिदा दिएको छ,’ उनले भने ।

शिक्षा नियमावलीमा ४५ दिन विद्यालय बन्द गर्न मिल्छ । यसमा ५ दिन स्थानीय बिदा लिन पाइन्छ । तर, विद्यालय खुल्ने, खुलाउने र बन्द गर्ने निर्णय पछिल्लो समय स्थानीय तह र यसमा रहेको शिक्षा शाखाले प्रधानाध्यापकको बैठकमार्फत निर्णय गर्ने गरेका छन् । मनाङमा ४ मावि, ९ आधारभूत र १३ प्रावि (आधारभूत) गरी कुल २६ वटा सामुदायिक विद्यालय छन् । शिक्षक टाढाटाढाबाट आउनेजाने गर्नुपर्ने भएकाले बिदाको समयबाहेक अन्य समय समेत मनाङको पढाइ प्रभावित हुँदै आएका छन् ।

कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्