तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीको तालबेसी माविमा कक्षा आठमा पढ्छन सक्षम पाठक । घारीतालबेसी घर भएका पाठक कोरोना भाईरस संक्रमणको कारणले गरिएको लकडाउनले झन्डै ६ महिना घरमै बस्नुपर्दा पठनपाठनका लागि विद्यालय आउन पाएनन् । लकडाउनले निकै फुर्सदिलो हुँदा बेलाबखत किताबकपि समाएपनि पठनपाठनमा उनको खासै ध्यान गएन । बल्ल ६ महिनापछि विद्यालयमै पढ्न पाउँदा पाठक खुसी छन् ।

‘६ महिनापछि स्कुलमा पुगेर पढ्न पाइयो । निकै नै रमाईलो भएको छ । साथीभाईसँग पनि भेट त भएको छ,’ तर त्यो भेट देखादेखमा सिमित छ । घुलमिल हुन र खेल्न भने पाइदैन ।’ ६ महिनासम्म घरमै रहँदा पढाईबारे अन्योल भएको उनले बताए । ‘बरु खेल्न नपाएपनि स्कुल नै रमाईलो । साथीहरुसँग देखादेख त हुन्छ, पहिलाजस्तो जमघट हुने, खेल्ने अवसर छैन,’ उनले भने,‘ एउटा बेन्चको छेउछेउमा दुईजना बस्छौ । साथीसँग टाढैबाट कुरा हुन्छ ।’

संक्रमणको डरले विद्यालयले विद्यार्थीलाई एकअर्कासँग नजिक नहुन भनेको छ । त्यस्तै खेल्न, सँगसँगै घर आउजाउ नगर्न पनि विद्यालयले विद्यार्थीलाई निर्देशन दिएको छ । विद्यालयको निर्देशन पनि विद्यार्थीले टेरेका छन् । त्यसैले त खेल्ने, घुलमिल हुने, सँगै आउजाउ गर्ने र शिक्षकको आँखा छलेर भेला हुने काम समेत विद्यार्थीले गरेका छैनन् ।

शुक्लागण्डकीको यो विद्यालयले गरेजस्तो अभ्यास अहिले धैरैतिर छ । सहर भन्दा ग्रामिण क्षेत्रमा पठनपाठनको यो शैली झनै बढि अपनाइएको छ । कोरोना भाइरस संक्रमणको त्रासले सहरका विद्यालयले भौतिक रुपमा पठनपाठन गर्न सकेका छैनन । सहरको पठनपाठन अनलाइन माध्यममार्फत मात्र सिमित छ । तर, गाउँमा भने विद्यालय निर्धक्क संचालन भएका छन् । भौतिक दुरी कायम गर्दै मास्क अनिवार्य गरेर विद्यार्थीलाई विद्यालयमै बोलाएर पठनपाठनको काम गरिरहेको विद्यालयका पदाधिकारीले बताएका छन् । विद्यालय संचालनमा ल्याएपनि विद्यार्थीलाई संक्रमणको जोखिम र सुरक्षित रहने उपाय अवलम्बनमा कडाई गर्न नचुकेको उनीहरुको भनाई छ ।

शुक्लागण्डकीस्थित तालबेसी माविका प्रधानाध्यापक ध्रुव वाग्लेले सिकाई केन्द्रसँगै विद्यार्थीलाई भौतिक रुपमै विद्यालयमा उपस्थित गराएर अध्यापन गराउन थालेपनि सचेतना अपनाउन कमी नगरेको बताए । उनका अनुसार विगत दुईसातादेखि अध्यापन गराइको छ । १ देखि ५ कक्षासम्मका विद्यार्थीका लागि ६ वटा सिकाई केन्द्र बनाएर आफ्नै टोलमा पढाइएको र बाँकी कक्षाका विद्यार्थीलाई विद्यालयमै आलोपालो बोलाएर पढाएको उनले बताए । सिकाई केन्द्रमा पढ्दा जुन टोलमा नजिक पर्छन विद्यार्थीले त्यही पढ्न पाउने उनले बताए ।

उनका अनुसार ६–८ कक्षाका विद्यार्थीलाई दिउँसो १ देखि ४ बजेसम्म विद्यालयमै बोलाएर पढाइएको छ । समय अभावले दिनको तीनवटा पिरियड मात्र पढाई हुने उनले सुनाए । त्यस्तै ९ र १० का विद्यार्थीलाई बिहान ९ः४५ देखि १२ः४५ सम्म पढाउने गरिएको उनले बताए । उनका अनुसार संक्रमण नफैलियोस भनेर सचेत हुँदै बिहान पढाई भएको कोठामा दिउसो हुँदैन । ‘आउजाउ गर्ने गेट पनि फरक छन् । बिहानको सिफ्टको पढाई सकेर विद्यार्थी गएपछि मात्र दोश्रो सिफ्टका विद्यार्थी भित्रिन पाउँछन,’ उनले भने, ‘सचेत पनि पनि हुनैप¥यो ।’ आधा समय पढ्दा विद्यार्थीले सबै विषय पनि पालैपालो पढ्छन । करिब सतप्रतिशत विद्यार्थी विद्यालयमा उपस्थित रहेको उनले सुनाए ।

तनहुँका धेरै विद्यालयले अहिले भौतिक दुरी कायम गरेर विद्यार्थीलाई विद्यालयमै बोलाएर अध्यापन गराउन थालेका छन् । यस्तै वा केही फरक तरिका अपनाएर कास्कीका विद्यालयले पनि विद्यार्थीलाई पढाउन थालेका छन् । कास्कीको रुपा गाउँपालिका गाउँपालिका–१ को कालिका माविले पनि टोल शिक्षाको रुपमा अध्यापन गराईरहेको छ । विद्यालय, आमा समुह, स्वास्थ्य चौकीलाई केन्द्र बनाएर पायक पर्ने विद्यार्थीलाई केन्द्रमा बोलाएर अध्यापन गराइरहेको व्यवस्थापन समितिका अध्यक्ष विकास खनानले बताए ।

‘कुनैपनि कक्षाका विद्यार्थी केन्द्रमा आउन पाउँछन । त्यहाँ शिक्षक पुग्छन र विद्यार्थीलाई अध्यापन गराउने, गृहकार्य दिने गरेका छन,’ खनालले भने, ‘विद्यार्थी कहाँ छन् भनेर पनि खोज्न जरुरी छ । विद्यार्थीलाई पढाइप्रति जागरुक बनाउन पनि टोल शिक्षा सुरु गरेका हौ । पाँचवटा केन्द्र बनाएर विद्यार्थीलाई पढाईरहेका छौ ।’ शिक्षक पनि पालो बाँडेर एक अर्का केन्द्रमा आउजाउ गर्छन । एक अर्का केन्द्रको दुरी १० मिनेटको पैदलयात्रा भएकोले आउजाउ सहज भएको उनले बताए । त्यसबाहेक भीडभाड नहोस भनेर विद्यार्थीलाई जोरविजोर प्रणालि अनुसार बोलाएर पढाई थालिएको उनले बताए । शिक्षकले बढिमा आधा घण्टासम्म पढाउने गर्छन ।

कास्कीकै रुपा गाउँपालिका– २ थुम्किको शिवालय माविमा पनि पठनपाठन चलिरहेको छ । विद्यालयका प्रधानाध्यापक रुपीन्द्र प्रभावी जोशीका अनुसार असोज १ देखि नियमित पठनपाठन भईरहेको छ । सुरुमा सिकाई केन्द्र तोकेर टोलटोलमा पुगेर पठनपाठन थालेपनि अहिले भने विद्यालयमै विद्यार्थीलाई उपस्थित गराएर पढाउन थालेको उनले बताए । ‘एकसातादेखि विद्यार्थीलाई विद्यालयमै बोलाएर पढाएका छौ । तर १० देखि १ र १ देखि ४ बजेसम्म गरि दुईसमुह बनाएर पढाईरहेका छौ,’ जोशीले भने, ‘विद्यार्थीलाई पनि पालो लगाएका छौ । एकजना विद्यार्थीको तीनदिन विद्यालयमा पालो पर्छ । दिन बिराएर विद्यार्थी विद्यालय आउँछन् ।’ उनका अनुसार विद्यार्थीलाई कक्षामा पठाउँदा हात धुने र मास्क अनिवार्य गरिएको छ । मास्क नभए विद्यालयले नै दिन्छ । कक्षामा एउटा बेन्चमा २ जना बस्छन् । एउटा समुह गएपछि अर्काेलाई भित्रिन दिने गरिएको छ । ‘पठनपाठन चलेको छ । तर, विद्यार्थीका अतिरिक्त क्रियाकलाप भएका छैनन,’ उनले भने, ‘बसेको सिट पनि फेर्न नपाइने गरि तोकिदिएका छौ । हेलमेल र खेलकुद तथा जमघटको त अवसरै छैन । बाटोमा पनि एकअर्का नभेटि हिड्न भनेका छौ ।’

पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यका अनुसार सहरी भेगमा अनलाइन र ग्रामिण भेगमा भौतिक रुपमै पठनपाठन सुरु भएको छ । सहरमा भने अझै भौतिक रुपमै पढाउने अवस्था नरहेको उनले बताए । ‘अनलाईनबाट पढाउने र गृहकार्य दिनेजस्ता काम सहरका विद्यालयमा भएका छन । तर गाउँमा भने आलोपालो प्रणालिमा भौतिक रुपमै पढाई सुरु भएको छ,’ आचार्यले भने, ‘स्वास्थ्यको प्रोटोकल अपनाउन सक्ने अवस्थामा समय मिलाएर पढाईरहेका छन् ।’ सरकारले जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका अनुसार वैकल्पिक माध्यमबाट पढाई भईरहेको उनले बताए । ‘संक्रमण डरलाग्दो बन्दै गएमा यसबारे सरकारले निर्णय लिन्छ,’उनले भने, ‘तर स्थानीय तहसँग समन्वय गरेर विद्यालयमा पठनपाठन चलेको छ ।’

शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायाण सुवेदीले पनि स्थानीय तहसँग समन्वय गरेर ग्रामिण भेगमा भौतिक रुपमै पढाई हुन थालेको बताए । ‘सहरमा भने पढाई भएको छैन । अनलाइनमार्फत पढाउने र गृहकार्य दिने काममात्र भएको छ,’ उनले भने, ‘गाउँपालिका क्षेत्रमा अधिक विद्यालयले भौतिक रुपमै पढाउन थालेका छन् ।’

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको शिक्षा महाशाखा प्रमुख तोयानाथ लम्सालले सबै स्थानीय तहले सिकाई केन्द्र बनाएर उपयुक्त वैकल्पिक उपाय अपनाएर पढाउने गरेको बताए । ‘वैकल्पिक सिकाईबारे निर्देशिका आएको छ । सबैतिर इन्टरनेट नभएकोले उपयुक्त विकल्प छान्नुपर्छ,’ लम्सालले भने, ‘स्थानीय तह यसमा बढी जिम्मेवार भएर अध्यापन गराउन दिएका छन् । सबैले फरक विधि अपनाएका छन् ।’ सरकारले पछिल्लो पटक जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका पठाएकोले त्यही अनुसार विकल्प प्रयोग गर्नेगरि स्थानीय तहसँग शिक्षण संस्थाले सहकार्य गर्ने उनले बताए ।

सन्तोष पोखरेलले नागरिकमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्