उदाहरणीय ‘हेडसर’

एजुकेशन पाटी

Byएजुकेशन पाटी

१२ श्रावण २०७९, बिहीबार

चितवन । कोट र पाइन्टमा चिटिक्क सजिएका व्यक्ति विद्यालयको शौचालय सफा गर्दै थिए। शौचालय टल्काइसकेपछि विद्यालयको आँगनमा कुचो लगाउन थाले। उनी कार्यालयको सहयोगी पनि होइनन् । त्यो समयमा विद्यालयमा कोही पुगेका थिएनन्। उनी नै थिए त्यही विद्यालयका ‘हेडमास्टर’ रामकृष्ण प्रजा । विद्यालयमा पढाउनेदेखि हरेक काममा उनी अघि सर्छन्।

राप्ती नगरपालिका–१२ स्थित यौरालीटारमा रहेको गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकृष्णलाई सधैं विद्यालय जानकै हतारो हुन्छ। विद्यार्थी र शिक्षकभन्दा उनी अघि पुग्छन्। आफ्नो कार्यकक्षमा पुगेर झोला विसाएपछि काम थाल्छन्। उनको पहिलो काम हो, सरसफाइ। कार्यकक्षदेखि विद्यालयको आँगनमा आफंै कुचो लगाउँछन्। उनले काम गरेर सकेपछि मात्रै अरु आइपुग्छन्।

उनले काम गरेको देख्दा सबै अचम्मित हुन्छन्। उनकै कामले लज्जित भएर पनि विद्यालयका शिक्षक र कर्मचारी आफ्नो काममा जिम्मेवार बन्छन्। ‘शिक्षण त मेरो पेशा भैहाल्यो। त्यो बाहेक सहयोगी बाबु(पियन) नभएको बेला सरसफाइको काम, कक्षाकोठाको सफाइ, बिजुलीको काम अनि जानेको सबै गर्छु।’ उनले भने, ‘ठूलो मान्छे बन्दैमा सानो काम गर्न नहुने भन्ने छैन। त्यो त मान्छेको दृष्टिकोण मात्रै हो।’

रामकृष्ण चेपाङ समुदायबाट हेडमास्टर बन्ने पहिलो हुन्। उनलाई विद्यालय सुधार्नु छ। झण्डै चार वर्ष हुन लाग्यो प्रधानाध्यापक भएको। त्यसअघि उनी सहायक प्रअ थिए। विद्यालयको काममा मात्रै उनी बाहिर जान्छन्। अरु बेला विद्यालयमै भेटिन्छन्। रामकृष्णले विद्यालयमा आफु हेडमास्टर भएको विर्सिन्छन्।

सरसफाइका लागि एक जना पियन छन्। उनी आउन ढिला भएपछि हेडमास्टर आफैं काम गर्छन्। सबैलाई समान व्यवहार गर्छन्। ‘म श्रमको सम्मान गर्ने श्रमको महत्व बुझेको मान्छे हुँ।’ उनले भने, ‘ठूलो मान्छेलाई सानो काम गरेर देखाउने हो। हामीबाट विद्यार्थी, समाज र राष्ट्रले के सिक्ने भन्ने कुरा पहिलो हो। पढाउन या सरसफाइ गर्ने भन्ने सानो ठूलो भन्ने सोच्दिन। जे भएपनि गर्छु।’

कुनै शिक्षक नआएको बेला आफैं पढाउन जान्छन्। विद्यार्थी पढ्न नआए उनी घरै पुग्छन्। बालबालिकालाई पढाउनु पर्छ भन्दै अभिभावकलाई सम्झाएर विद्यालय आउने वातावरण बनाउँछन्। हरेक विद्यार्थीसँग प्रत्यक्ष भलाकुसारी गरेर उनीहरूलाई अभिप्रेरित गर्छन्। अहिले विद्यार्थी नियमित विद्यालय आउन थालेका छन्। उनको व्यवहारले शिक्षक पनि खुसी छन्। विद्यालयको कामलाई सानोठूलो नभनी सबै काम गर्छन्। ब्यवस्थापन समितिका कुनै सदस्य बैठकमा नआए घरैमा लिन पुग्छन्। विद्यालयका शिक्षक बलराम जोशीले हेडमास्टरका कारण विद्यालयको अवस्था फेरिएको बताए। ‘विद्यालयलाई अरु आएर बनाउदैन आफैं बनाउने भनेर खटिने हेडमास्टर हो। जोशीले भने, ‘कसैलाई यो काम गर्नुपर्छ भन्ने होइन आफंै काम गर्नुहन्छ। शारीरिक र मानसिक रुपले रातदिन नभनी खटिनुहुन्छ।’

अहिले विद्यालयमा होस्टल बनाएका छन्। गाउँलेलाई काम गराउँदा तत्काल भुक्तानी गर्न नसक्ने भएकाले आफैं काम गर्छन्। बिजुली र प्लम्बरको काम पनि आफैं गर्छन्। नरम स्वभावका रामकृष्ण मिठो बोलेर सबैलाई जिम्मेवारीको बोध गराउँछन्। उनले चेपाङ समुदायमा आयआर्जनको सीप पनि सिकाउँछन्। आम्दानी नहुँदा बाआमाले छोराछोरीलाई काममा पठाउँछन्।

रामकृष्णले त्यस्ता अभिभावकलाई आम्दानी गर्न सकिने कृषि कर्म सिकाउँछन्। ‘विद्यालय सुधार्नका लागि आफ्नो तर्फबाट विद्यार्थीलाई प्रोत्साहन गर्ने, अभिभावकलाई जीवनशैली परिवर्तनका गर्न आर्थिक अवस्था सुधार गर्ने सिप सिकाउछु,’ उनले भने, ‘म अरुजस्तै सामान्य हो। हेडसर भएर काम लगाउने होइन देखेको आफैं गर्छु, मेरो सपना बालबालिकाले पढेर जीवन फेरुन् भन्ने छ ।’

गणेश माविमा सबैभन्दा बढी चेपाङ विद्यार्थी छन्। वरिपरी डाँडाबाट घण्टौं हिँडेर पढ्न आँउछन्। शिक्षाकै कारण चेपाङ जाती हरेक कुरामा पिछडिएको उनलाई अनुभव छ। त्यसैले उनी चेपाङलाई विद्यालयको पुहँचमा ल्याउन चाहन्छन्। अधिकांश समय उनी विद्यालयको काममा हुन्छन्। विद्यालयको सरसफाइदेखि विद्यार्थीको आनीबानी सुधारका लागि उनी ध्यान दिन्छन्। आफु सानो बनेर सबैलाई विद्यालयको जिम्मेवारीमा लगाउँछन्।

२०५७ सालदेखि उनी शिक्षण पेशामा लागेका हुन्। २०७६ सालमा प्रधानाध्यापक भए। परिवारमा अन्य दुईजना सरकारी सेवामा छन्। उनकी छोरी सपना नर्स हुन्। बहिनी ज्ञानी प्रजाले विएन् गरेकी छन्। चेपाङलाई पढाउनसके जीवनस्तर सुधार्न सकिने रामकृष्ण बताउँछन्।

अनिल ढकालले अन्नपूर्णपोष्टमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्