कोभिड–१९ युग र पछि यसो गरौँ

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२७ जेष्ठ २०७७, मंगलवार

कोभिड १९ को सन्त्राससँगै नेपालमा दुई विषयहरु जबर्जस्त रुपमा बहसमा आएका छन् । पहिलो एसईई, कक्षा ११ र १२ को परिक्षा नलिउँ भन्ने छ । यिनीहरुको मत परीक्षा नलिइकन नतिजा घोषणा गरौँ भन्ने देखिन्छ ।

दोस्रोे, शिक्षा प्रणालीलाई अनलाइनमा लैजाउ भन्ने छ । यी दुवै कुरा सुन्दा त आकर्षक नै लाग्ने खालका छन् । मुलुकमा परीक्षा नलिदाँ र ल अब अनलाइन प्रणालीमा गयो भन्दैमा कोभिडले ल्याएको समस्या समाधान भई हाल्लान त ? विषय उठान गर्नेसँग उत्तर पनि अवश्य होलान् ।

यी र यस्तै प्रतिनिधिमूलक घट्नाको समाधान गर्दैमा कोभिड १९ युग र यसपछिको अवस्था सम्बोधन भई हाल्ला जस्तो लाग्दैन् । यहाँ टुक्राटुक्रामा पनि समग्रतामा आधारित भइ बहस गर्दा समाधानको नजिक पुग्न सकिन्छ ।

तसर्थ अहिले बहस हुनुपर्ने विषय भनेको कोभिड–१९ को त्रास कायम रहेकै अवस्था र यसको नियन्त्रण पछाडि हाम्रा शैक्षिक क्रियाकलाप के कसरी नियमित हुन सक्छन् वा गर्न सकिन्छ भन्नेमा हो ।

अहिले परीक्षा नलिइकन सबै पास गर्यौं रे, त्यसपछि के त ? यस्ता बहसले समाधानको नजिक पुग्न सकिदैन । त्यसो भनेर परीक्षा नलिइकन हुँदैन भन्ने पनि होइन । यसैगरी शैक्षिक प्रणाली अनलाइनमा लैजाने भनेर निर्णय गर्दैमा पनि तत्काल नतिजा आउने होइन । तसर्थ, कोभिड–१९ र यसपछिको अवस्थामा शैक्षिक क्रियाकलाप के कसरी सञ्चालन हुन सक्छन् भन्नेमा बहस गरेर उपाय तय गर्नु नै अहिलेको पहिलो आवश्यकता हो ।

लकडाउनले हाम्रा सबै शैक्षिक संस्था बन्द छन् । शैक्षिक संस्था लामो समयसम्म बन्द रहदा असमानता अझ बढ्ने सम्भावना हुन्छ । यस क्रममा विविध उपायहरु खोजी शैक्षिक क्रियाकलाप सञ्चालनमा ल्याउन आवश्यक मात्र होइन अनिवार्य पनि भइसक्यो ।

तर हाम्रो पूर्वाधारको अवस्था र संस्थागत क्षमता कमजोर रहेको हुनाले औपचारिक पद्धति भन्दा बाहिर गइ अन्य उपायहरुको अवलम्बन गर्न त्यति सजिलो पनि छैन् । अब के गर्ने भन्ने प्रश्न गर्दैगर्दा यसका बारेमा पनि उत्तिकै मात्रामा ध्यान दिनु पर्ने देखिन्छ । अन्यथा हाम्रै क्रियाकलापले समाजमा अझ विभेद बढाउने सम्भावना हुन्छ ।

मुलुकमा कोभिड–१९ ले ल्याएको लकडाउनसँगै शिक्षा प्रणालीलाई प्रविधिमैत्री बनाउनु पर्छ भन्ने बहसले समग्र शिक्षाक्षेत्र गर्माएको छ । अझ तातेको छ भनौँ । यसलाई कसरी प्रविधिमैत्री बनाउन सकिन्छ भन्नेमा विभिन्न विकल्पहरुको निर्माण पनि भई रहेको छ । अझ कतिपय अर्थमा विकल्प बनाउने काम पनि शुरु भइसकेका छन् ।

हाम्रो अहिलेको अवस्था हेर्दा अनलाइन शिक्षा वा भर्चुअल सिकाइका बारेमा मात्र गरिने बहसले हाम्रा समस्या समाधान गर्न सक्दैनन् । अनलाइन वा भर्चुअल मोड उपयुक्त र सान्दर्भिक नै छ, यसमा थप बहस त चाहिदैन । तर हामी यसलाई के कति मात्रामा प्रयोग गर्न सक्छौ भन्ने मात्र हो । राम्रो हुनु एउटा पक्ष हो तर कति र कसरी गर्ने भन्ने अर्को पक्ष हो । शुरुवात गर्नुलाई अन्यथा मान्न पनि हँुदैन् । तर शुरु गर्दैमा सबैलाई न्याय गर्न सक्छ सक्दैन भन्नेमा पनि ध्यान दिनुपर्छ ।

आशा गरौँ, छिट्टै लकडाउन सकिन्छ । सुखद ढङ्गबाट सोच्नुस, कोभिड–१९ पूर्णत नियन्त्रणमा आयो । जनजीवन सामान्य अवस्थामा फर्कियो । यस अवस्थामा शिक्षण संस्था पुनः सञ्चालन गर्न कठिन छैन । सबै संस्था यथावत् रुपमा क्रमशः सञ्चालनमा ल्याउन सकिन्छ । तरपनि यस प्रणालीलाई पहिले कै अवस्थामा ल्याउन केहि समय लाग्छ भन्नेमा पनि उत्तिकै मात्रामा सचेत रहनुपर्छ ।

अबका केहि समय सुरक्षाका उपायहरु पालना गरिरहनु पर्छ, हाम्रा बानी व्यहोरा र आनीबानी बदल्नै पर्छ । यस अवस्थामा सचेत रहि शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने हो जसका लागि सबैले केहि थप काम गर्नु पर्ने हुन्छ । के कति काम गर्ने भन्ने विषय हाम्रो आफ्नै अवस्थाले निर्धारण गर्छन् ।

कोभिड–१९ रहेकै अवस्थामा के गर्ने त ? अब यत्तिकै बसेर होला जस्तो छैन । यसको असर केहि समय जान सक्ने सम्भावना पनि रहेकोले हाम्रो तयारी पनि सोहि बमोजिम गर्नु पर्ने देखिन्छ । कोभिड–१९ कायमै रहेको वा केहि मात्रामा रहेको अवस्थामापनि केहि न केहि उपाय अवलम्बन गर्नु आवश्यक देखिन्छ । अब सबैले सोच्नु पर्ने भनेको यहि विषयमा हो ।

लकडाउन कायम रहिरहेको अवस्थामा पनि कोभिड–१९ को प्रभाव र सुरक्षाका दृष्टिकोणले मुलुक भित्रका समुदाय, क्षेत्र र जिल्ला आदिलाई विभिन्न समूहकृत गर्न सकिने देखियो, जुन अन्य मुलुकहरुले पनि अपनाई आएका छन् । यीनै भिन्न भिन्न समूह र क्षेत्रमा हाम्रा शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्छ । तर हाम्रा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न खोज्दै गर्दा देहायका ३ ओटा पक्षमा भने ध्यान दिनु आवश्यक हुन्छ :

– भौतिक दुरी (हामी कहाँ सामाजिक दूरी भनिएको छ) के कसरी कायम गर्ने ।

– शिक्षक क्रियाकलाप सञ्चालन गर्न आवश्यक शिक्षण सहयोगी र स्वयम् सेवकको उपलब्धता के कसरी कायम गर्ने ।

–    स्थानीय तह,विद्यालय र व्यवस्थापन पक्षको संस्थागत क्षमता के कसरी बढाउने ।

अन्य मुलुकहरुले अपनाएका अभ्यास र विभिन्न विद्वानहरुका मतसमेतका आधारमा यस अवस्थामा प्रयोगमा ल्याउन सकिने उपायहरु देहाय बमोजिम हुन सक्ने देखिन्छ ।

होम स्कुलिङः शिक्षक र विद्यालयले अभिभावकहरुलाई अनुरोध गरेर निर्देशित ढाँचाबाट बालबालिकाहरुको शैक्षिक क्रियाकलाप सञ्चालनमा ल्याउने ।

स्वयम्सेवक परिचालनः समुदायस्तरमा नै स्वयम्सेवकको व्यवस्था गरी उनीहरुकै सक्रियतामा बालबालिकाको शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने ।

मोबायल शिक्षकः शिक्षकहरु नै घरघर वा समुदायस्तरसम्म पुगेर बालबालिकाहरुको शैक्षिक क्रियाकलापमा सहयोग गर्ने । अभिभावकसँग सहकार्य गर्ने ।

उपयुक्त शैक्षिक सामग्रीको व्यवस्थाः उपयुक्त पाठ्यसामग्री उपलब्ध गराई बालबालिकालाई अध्ययनमा थप सक्रिय बनाउने । विज्ञबाट तयार गरी यस्ता सामग्री शिक्षक, सहयोगी कार्यकर्ता र स्वयम्सेवकका लागि पनि उत्तिकै उपयोगी हुन सक्ने भएकोले विगतमा पत्राचार तथा यस्तै माध्यमबाट सञ्चालन गरिएको दूरशिक्षा प्रणालीमा जस्तै पत्राचार, अध्ययन सामग्री र यस्तै पठनपाठनका उपायहरु विद्यार्थीलाइ उपलब्ध गराउने र शिक्षकबाट सहयोग गर्ने ।

अनलाइन पठनपाठन व्यवस्थाः प्रविधिको प्रयोग गरेर अनलाइन वा भर्चुअल पद्धतिबाट शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने । यसअन्तर्गत प्रविधि, इन्टरनेट, रेडियो, टेलिभिजन र अनलाइनको पहुँचमा रहेका बालबालिकहरुको पहिचान गरी सोहि बमोजिम सहयोग गर्ने पद्धति अवलम्बन गर्ने ।

अन्य विविध उपायहरुको व्यवस्थाः विद्यालय समयलाई छोटो बनाई डबल सिफ्टमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने । शिक्षण क्रियाकलाप परिवर्तन गरेर परियोजना कार्य दिने । सिकाइ अभ्यास सामग्री विकास गरी घर घरमा पुर्याइ क्रियाकलाप गर्न लगाउने । गृहकार्य दिइ पृष्ठपोषण दिने व्यवस्था । आदि ।

हाम्रो सन्दर्भमा यी र यस्तै अन्य उपायहरु उपयुक्त हुनसक्छन् । यसको कार्यान्वयन विद्यालय वा एउटा निकायबाट मात्र सम्भव छैन् । तसर्थ,अबका दिनमा स्थानीय तह, विद्यालय, शिक्षक, अभिभावक र समुदायस्तरको संयुक्त प्रयास आवश्यक पर्छ । यी सबैको साझा प्रयासबाट शैक्षिक क्रियाकलाप सञ्चालनमा सहयोग पुग्ने मात्र नभई समग्र स्वास्थ्य शिक्षा र कोभिड–१९ विरुद्ध लड्ने रणनीतिमा पनि सहयोग पुग्ने भएकोले यी र यस्तै कार्यमा नै सबैको ध्यान चाहिएको छ ।

टोलटोल र समुदायस्तरमा नै स्वयम्सेवक र शिक्षक परिचालन गरेर शिक्षाका क्रियाकलापमा सञ्चालनमा ल्याउने सोच अब चाहिएको छ । यसैगरी अभिभावकलाई नै कसरी पढाइमा सहयोग गर्न सकिन्छ भनेर जानकारी दिने,उनीहरुलाई नै सहयोग गर्न लगाउने र अनुरोध गर्ने सोच चाहिएको छ ।

यसका लागि सरकारले केहि विषयमा तत्काल निर्णय गर्न आवश्यक देखिन्छ । मुलुकभर साझा खाका र सोभित्र विविध खालका मोडालिटी सञ्चालनमा ल्याउने पद्धति अब चाहिएको छ । यी र यस्तै अन्य केहि उपायहरु जसमा सरकारको निर्णय चाहिएको छ जुन देहायमा दिइएको छ :

(१)    अहिले लकडाउन भएकोले यसलाई सबैले पालना गरी सुरक्षित बस्ने । घरमा अभिभावकले नै सिकाइमा सहयोग गर्ने । शिक्षक वा विद्यालयले फोन, मेसेज, इमेल, पत्राचार आदिबाट सहजीकरण गर्न सक्ने अवस्था भएमा सोको अवलम्बन गर्ने । लकडाउनको अवधि गरिने क्रियाकलापलाई मनोसामाजिक परामर्श वा शिक्षण सहयोगका रुपमा गरिएको क्रियाकलापको रुपमा मात्र लिने । यसलाई कुनै क्रेडिट आवर गणना नगर्ने ।

(२)    प्रत्येक विद्यालयलेदेहायका आधारमा आफ्ना विद्यार्थीको अवस्था यकिन गर्ने । विद्यालयले विद्यार्थीको घरमा रेडियो, मोबाइल, टेलिकम, इन्टरनेट भए नभएको विवरण तयार गर्ने । उक्त विवरणका आधारमा कक्षा ५ भन्दा माथिका विद्यार्थीहरुलाई ४ समूहमा वर्गीकरण गर्ने ।

– कुनै पनि साधन नभएका घरपरिवार ।
– रेडियो भएकारमोबाइल भएका घरपरिवार ।
– रेडियो, टेलिभिजन, मोबाइल भएका घरपरिवार ।
– माथिका साधन सहित इन्टरनेट भएका घरपरिवार ।

यी चारओटै समूहमा पर्ने घरपरिवारको सङ्ख्या के कति छ विद्यालयले यकिन गर्ने र तत्पश्चात विद्यार्थीलाई सहयोग उपलब्ध गराउने सामग्रीको उपलब्धता र सङ्कलनको उपाय पनि तय गर्ने । यसमा विद्यालयलाई माथिल्लो निकायले पनि सहयोग गर्ने ।

(३)    माथि बुँदा नं २ मा यकिन गरिएको विद्यार्थीलाई सहयोग गर्नका देहायका सामग्रीहरुको उपलब्धतालाई यकिन गर्ने र सोका लागि आवश्यक तयारी पनि गर्ने ।
– पत्राचार गर्नका लागि ।
– एफएम/रेडियोमा कार्यक्रम सञ्चालन हुने/भएका/भएमा सोको विवरणको सूची तयार गर्ने ।
– यसैगरी रेडियो, टिभी र अनलाइनमा यस्ता कार्यक्रम भएमा सोको सूची तयार गर्ने ।
– प्रकाशित र उत्पादित सामग्री भएमा सो को सूची बनाउने ।

(४)    विद्यार्थीलाई सहयोग गर्नका लागि मोबायल शिक्षक, डबल सिफ्टको शैक्षिक कार्यक्रम, स्वयम् सेवक शिक्षक, अभिभावकबाटै सहयोग पुग्न सक्ने विवरण पनि विद्यालयले तयार गर्ने ।

स्थानीय तहले पनि समुदाय र विद्यालयसँग मिली विभिन्न क्लस्टर बनाउन गृहकार्य गर्नु आवश्यक देखिन्छ । यसैगरी शिक्षा क्षेत्रमा कार्यरत सामाजिक संघ संस्था एवम् निकायहरुलाई माथिका कार्यसँग सम्बन्धित विवरण तयार गर्न स्थानीय तहले आवश्यक समन्वय गर्नुपर्ने हुन्छ ।

संघीय सरकारले माथि दिइएका बुदाँहरुमा आधारित भई कार्यढाँचा स्वीकृत गरी सकेपछि मात्र विद्यालयबाट शैक्षिक क्रियाकलापहरु औपचारिक रुपमा संचालनमा ल्याउने व्यवस्था गर्नुपर्ने हुन्छ । अहिले गरिएका सबै कृयाकलापहरु वार्मअप मात्र हुन ।

तसर्थ, अहिलेको सन्दर्भमा दुई ओटा विषयमा स्पष्ट बनौं । पहिलो, लकडाउनको समयमा के गर्न सकिन्छ भन्ने हो । दोश्रो, लकडाउन खुलेपछि कसरी जाने भन्ने हो ।

त्यसैगरी भर्चुअल सिकाइमा जानु पर्छ भन्नेमा पनि दुईमत छैन । तर यसका लागि रोड म्याप बनाउनु पर्यो  । हामीसँग अहिले पूर्वाधारको अवस्था के कस्तो छ ? जनशक्तिको अवस्था कस्तो छ ? कमजोर तथ्यांकको आधारमा वस्तुगत योजना बन्न सक्दैन् । योजना बनि हालेपनि कार्यान्वयनमा आउन कठिन छ ।

कसैले  अनलाइनमा भर्ना खोल्ने, कसैले पठन पाठन शुरु गर्ने, कसैले अन्य कुनै काम शुरु गरे भन्दा अन्यौलता अझ बढ्न सक्छ । तसर्थ, यसका सम्बन्धमा सरकारले स्पष्ट निर्देशन दिन आवश्यक छ । लकडाउन खुलेपछि हाम्रा क्रियाकलाप सञ्चालन हुन्छन् । अहिले त्यसको नीति र योजना बनिरहेको छ मात्र भन्दा पनि धेरै फरक पर्छ ।

लम्साल सामाजिक विकास मन्त्रालय, सुदुर पश्चिम प्रदेश, धनगढीका सचिव हुन् ।

प्रतिकृया दिनुहोस्