म : प्रधानाध्यापकमा ५ वर्ष

Avatar photo

Byएजुकेशन पाटी

३१ श्रावण २०७७, शनिबार

 

हरि चालिसे एबिसी

जिन्दगीको सोझो यात्रामा हिंडिरहेको एउटा यात्रीले अनायाशै नयाँ घुम्तीबाट यात्रा गर्नको लागि अगाडि बढ्ने मात्र होइन कि उक्त घुम्तीबाटै बाटो पहिल्याइ ट्रयाक मात्र होइन ग्राभेल पछि पिच नै गरेर गन्तव्यलाई सुनिश्चित गर्ने दिशातर्फ उद्धत हुनुपर्दोरहेछ ।

२०७२ असोज २२ गते श्री शिव माध्यमिक विद्यालय गलकोट काँडेबास बागलुङमा प्रधानाध्यापकको भूमिका पाएको दिन हो । न व्यक्तिगत रुपमा पदको लालच थियो न जागिरको खोजीमै । समय सन्दर्भले जुन भूमिका दियो, जुन भूमिकालाई शून्यबाट निर्वाह गर्नुपर्ने ठूलो जिम्मेवारी प्राप्त भएको बोध भयो । जुन बहन हुन्छ कि हुँदैन भन्ने सबैतिरबाट चासो र चर्चाको विषय थियो ।

चासो यसअर्थमा थियो २०४० सालमा स्थापना भएको विद्यालय २०५७ सालमा राजबगरबाट पचुवा शिवालय मन्दिर बराबुटमा स्थानान्तरण भएको थियो २०५७ सालपछि पनि विद्यालयको व्यवस्थापकीय पक्ष र भौतिक संरचना पहिले स्थापित भएका विद्यालयहरु भन्दा कम थिएन कारण धेरै थिए होलान् तर संस्थापक अध्यक्ष तोयनाथ कँडेल एवं सदस्यहरु, वि.व्य.स., शि.अ. संघ, अभिभावकहरु, शिक्षकहरु, विद्यार्थीहरु, शुभचिन्तक तथा संस्थापक प्रधानाध्यापक टंक बहादुर के.सी.को भूमिकालाई आत्मसात् नगर्ने र नसम्झिने हो भने कसैको दिलले शान्ति पाउँदैन तत्कालीन प्र.अ. एउटा शिक्षक संगठनको नेतृत्वकर्ता र विद्यालयप्रतिको अगाध स्नेह र समर्पितभाव र समितिहरुको काँधमा काँध मिलाउने जुन परम्परा थियो त्यो नै शिव मा.वि.को सफलताको मूल सुत्र थियो ।

त्यसकारण पनि अबको अवस्था के हुने हो भन्ने चिन्ता र चासो हुनु अस्वभाविक होइन । मैले यदाकदा सुन्ने गर्थे केही जिम्मेवार व्यक्तिहरुले आपसमा कुरा गर्दा हरि आलोकाँचो केटालाई प्रधानाध्यापक बनाइयो कतै ढलमल भयो भने वा गर्न सकेन भने बर्बाद हुने हो कि भन्ने आशयका कुरा सुन्दा हरेकपल ती शब्दहरु मानसपटलमा आइरहन्थे र मलाई पनि कता कता कतै त्यस्तो भयो भने त मेरो अस्तित्व नै समाप्त हुनेछ भन्ने बोधले सधै सधै झस्काइरहन्थ्यो ।

सुरुको वर्ष मलाई विद्यालयको परिवेश, शिक्षक साथीहरूको आशय, अभिभावकको भावना, विद्यार्थीको अवस्था लगायतका कुरा बुझ्न समय लाग्यो बिस्तारै बिस्तारै केही बोध हुन थालेपछि कसरी काम गर्ने भन्ने खाका तय गर्न सजिलो हुन थाल्यो ।

काम गर्नको लागि हौसला र ऊर्जाका साथ दिशाबोध हुनुपर्दछ म विद्यालयमा आउँदै गर्दा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमलाल कँडेल हुनुहुन्थ्यो । विशेष परिस्थितिले अमेरिकामा भएका कारण कार्यवाहक अध्यक्षका रुपमा मेरै बाबा इन्द्रमणि चालिसे हुनुहुन्थ्यो । बाबा नै कार्यवाहक अध्यक्षका रूपमा हुँदै गर्दा सरसल्लाह गर्नका लागि र काम गर्नको लागि पर्याप्त समय भए तापनि धेरै समय यो परिस्थिति नरहे हुन्थ्यो, अध्यक्षज्यू छिटो आए हुन्थ्यो भन्ने लाग्थ्योबेला बेला यो जिम्मेबारीमा रहेर काम गर्न सक्दिन बाबा भन्दा बाबाले भन्नुहुन्थ्यो तलाइ शुरुशुरुमा भएर गाह्यो भएको हो, कुनै पनि काम गर्दा अत्यन्तै संंयमता अपनाएर मेरो पहिलो काम नै यही हो जसरी पनि गर्न सक्नुपर्छ र मैले गर्नै पर्छ भन्ने सोच राख्ने र हरेकका भावनाको कदर गर्दै अगाडी बढ्नु पर्छ भनेको कुरा भर्खर जस्तो लाग्छ । केही समयपश्चात् अध्यक्ष भिमलाल कँडेल अमेरिकाबाट आउनुुभयो । लगत्तै बार्षिक उत्सवको तयारी गर्नुपर्ने थियो ।

तत्कालीन जिल्ला शिक्षा अधिकारीलाई प्रमुख अतिथि बनाउने सल्लाह भयो । अनि पत्र भोलि पठाउने भनेर निस्कियौँ । त्यसै बिचमा अध्यक्ष भिमलाल कँडेलले तिमी चिठी लगेर कति खेर जान्छौ भन्नु भो । भिमलाल कँडेललाइ म पहिलेदेखि नै कान्छाबा भनेर सम्बोधन गर्थें । होइन कान्छा बा केही साथीको सल्लाह भएको छ पत्र पठाउँ, फोन गरौ त्यती पत्र पु्याउनका लागि किन खर्च गर्ने र भन्ने कुरा भो भनि सुनाए अनि उहाँले भन्नुभयो – हामीले आफ्नो कर्तव्य आफै गर्नुपर्छ, प्रत्यक्ष उपस्थित भएर गर्नुपर्छ र बल्ल त्यसको अर्थ र सान्दर्भिकता कायम हुन्छ हामीले पत्र पठायौं भने र फोन मात्र गर्यौं भने औपचारीकता मात्र निर्वाह गरे जस्तै हुन्छ तसर्थ तिमी र लोकनाथ भएर भोलि बिहान जानु राम्रो हुन्छ ।

उक्त भनाइले मलाई छोयो औपचारिकता मात्र निर्वाह गर्नु भन्दा पनि व्यवहारिक पक्षलाई र अर्थगत तरिकाले प्रस्तुत हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गर्नुपर्छ भन्ने भावनाका साथ फेरी साँझ विद्यालयमा गइ पत्र बनाई अर्को दिन बागलुङ गयौं । जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद मिश्र सरसँग भेट भयो उहाँको शालीन प्रस्तुती र मिठास व्यवहारबाट प्रभावित भयौं । उहाँले हार्दिकताका साथ हाम्रो निमन्त्रणा स्वीकार गर्नु भो र थप बाटो पहिल्याइदिनुभयो । हरि सर भर्खरमात्र प्रमुख जिल्ला अधिकारी नयाँ आउनुभएको छ उहाँलाइ पनि निमन्त्रणा गर्नुहोस् उहाँ कार्यक्रममा उपस्थित हुनुभयो भने कार्यक्रमको गरिमा अझैं उच्च हुन्छ , र म त छँदै छु नि ।

अनि प्रमुख जिल्ला अधिकारीको रुपमा आउनुभएका  भागिरथ पाण्डेयज्यूलाई भेट्यौ उहाँले पनि अत्यन्तै सहज रुपमा हाम्रो निमन्त्रणा स्वीकार गर्नु भो, यदि कुनै विषम परिस्थिति आइपरेन भने म पकका आउँछु । तपाइँको र मेरो फोनमा संवाद हुनेछ, भन्नुभोे । औधी खुशी लाग्यो । जुन कुरा मैले समितिमा जानकारी गराएँ उहाँहरुले सुनमा सुगन्ध भयो भन्नुभो । कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी, विशिष्ट अतिथिमा जिल्ला शिक्षा अधिकारी, संस्थापक अध्यक्ष लगायतको गरिमामय कार्यक्रम भयो । यसले प्रकारको उर्जा थप्यो आउँदै गर्दा प्रमुख जिल्ला अधिकारीज्यूसँग केही व्यक्तिगत कुरा पनि भए । उहाँले भन्नुभएको थियो – तपाई जस्तो युवा मान्छेलाई प्रधानाध्यापकमा देख्दा आशा लाग्यो पक्कै पनि राम्रो गर्नुहुनेछ । त्यस वाक्यले मलाई अहिले पनि केही गर्नु पर्छ भन्ने बोध गराउँछ ।

त्यस्तै २०७३ सालको वार्षिक उत्सवमा प्रमुख अतिथि बागलुङ जिल्ला क्षेत्र नम्बर २ का सांसद प्रकाश शर्मा पौडेल , विशिष्ट अतिथिमा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद मिश्र, संस्थापक अध्यक्ष पूर्व अध्यक्षहरु इ लाइब्रेरी व्यवस्थापनका संयोजक सोम सापकोटा, आर्थिक संयोजक गोबिन्दराम कँडेल लगायतको उपस्थिति रह्यो । २०७४ सालको वार्षिक उत्सवमा प्रमुख अतिथिका रूपमा प्रदेश सभा सांसद चन्द्रबहादुर बुढा, विशिष्ट अतिथिमा नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख रेनुका काउचा मगर प्रमुख कार्यकारी अधिकृत प्रदीपचन्द्र सुवेदी ,लगायतको उपस्थिति रह्यो । २०७५को वार्षिक उत्सवमा प्रमुख अतिथि नगरप्रमुख विशिष्ट अतिथिमा उपप्रमुख, नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्य लगायतको गरिमामय उपस्थिति रह्यो । २०७६ सालमा प्रमुख अतिथि नगर प्रमुख विशिष्ट अतिथिमा उपप्रमुख रेनुका काउचा लगायतको उपस्थिति रह्यो जुन व्यक्तिहरूको उपस्थिति रह्यो विद्यालय परिवारलाई आ–आफ्नो क्षेत्रबाट प्रत्यक्ष अप्रत्यक्ष सद्भाव राख्नु भयो ।

हाम्रो विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गर्नुपर्दछ भनेर कक्षा पाँचसम्म अंग्रेजी माध्यम र ६ कक्षाबाट अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ सञ्चालन भएको थियो । जुन कुरा २०७६ सालसम्म आइपुग्दा कक्षा १० सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन भएको छ । हालको विद्यार्थीबाट विद्यालय परिवारले धेरै आशा गरेको थियो । शिक्षक साथीले पनि अत्यन्त मिहिनेत गरेको र विद्यार्थीहरु पनि लगनशील भएर लागि परेको अबस्था थियो । सन्दर्भवश कोरोना भाइरसका कारण यसबर्ष एसइइ परीक्षामा सहभागी हुन पाएनन् । तथापि उनीहरूको क्षमता हेर्दा लाग्छ भोलि यो देशको प्रतिष्ठित क्षेत्रमा आफ्नो भूमिका निर्वाह गर्न सक्नेछन् ।

कक्षा ११ र १२ मा व्यवस्थापन , मानविकी र शिक्षा संकाय सञ्चालनमा रहेको छ । विद्यालयमा जम्मा १४ जनाको शिक्षक दरबन्दी रहे पनि २६ जना सम्म शिक्षक व्यवस्थापन गर्नु अत्यन्त चुनौतीको विषय रहेको आभाष भएको छ । निजी शिक्षकको तलब व्यवस्थापन गर्नु विद्यालयको सबैभन्दा ठूलो समस्या हो । कहिलेकाँही लाग्छ , साँच्ची भन्ने हो भने सरकारी तलब वर्षको एकपटक राखिदिए निजी स्रोतका शिक्षकलाई पनि तलब व्यवस्थापन गर्नका लागि वर्षको एकपटक मात्रै चिन्ता गरे हुन्थ्यो भने पनि लाग्ने गर्छ ।

हरेक मान्छेसँग विचार हुन्छ , विचारद्वारा उ निर्देशित हुन्छ तर त्यो विचारले कस्तो कुरा निर्देश गर्छ भन्ने कुरा व्यक्तिमा भर पर्छ । उसको दृष्टिकोणमा भर पर्छ । उसको मान्यतामा भर पर्छ । म विचारका हिसाबले प्रजातान्त्रिक समाजवादलाइ आत्मसात् गर्ने मान्छे प्रजातान्त्रिक परिपाटीबाट अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्छु । विद्यालयमा प्रवेश गरिसकेपछि राजनीतिक आग्रह पूर्वाग्रहका विचबाट भन्दापनि कार्यका हिसाबले आग्रह र पूर्व पूर्वाग्रह राख्नुपर्छ भन्ने मान्यता सदैव रह्यो । २०७३ सालको फागुनमा नेपाल शिक्षक सघंको अधिवेशन भयो , जसमा गलकोट नगरपालिकाको नेपाल शिक्षक सघंको संयोजकमा निर्विरोध निर्वाचित हुने अवसर पनि प्राप्त गरें । जब संयोजक पदमा रहें तब थप जिम्मेवारी थपिएको बोध भयो । जिम्मेवारी सँगसँगै यसले पनि विद्यालय परिवारलाई र समग्र नेपाल शिक्षकलाई सकरात्मक प्रभाव पारेका केही सन्र्दभहरु छन् । नेपाल शिक्षक सघंको बारेमा कुनै दिन कुनै प्रसङ्गमा विस्तृतमा लेख्ननैेछु ।

विद्यालयमा काम गर्ने सन्दर्भमा अग्रजहरूको सल्लाह र सुझाव मेरो मार्ग दर्शक थिए, अग्रजको कामबाट प्रभावित हुन्थें , विशेषगरी पूर्व प्र.अ. टंक बहादुर के.सीसँग बेलाबेलामा विद्यालयले गरेका काम तथा गर्ने क्रियाकलापका निम्ति सोधपुध गरिरहन्थे, उहाँका केही भनाइहरुले मलाइ काम गर्ने साहस थप्थ्यो । पहिले अध्ययनका लागि चितवन जाँदै गर्दा पनि र बेलाबेलामा भेट हुँदै गर्दा पनि ल है युवाहरु पलायन हुनुहुँदैन यहाँको हरेक विकासमा युवाको सक्रियता हुनुपर्दछ भन्ने चिन्तनले छुन्थ्यो । संस्थापक अध्यक्ष तोयनाथ कँडेलले ल है ल इज्ज्यत राखेर काम गर्नुपर्छ । यहाँ धेरै रगत र पसिना परेको छ, हामी अहिले थोरै टाढा भएपनि हाम्रो मस्तिष्कमा हरेकपल यही विद्यालयको तस्वीर आइरन्छ भन्दा मस्तिष्कमा एकपटक झड्का लाग्थ्यो र थप जिम्मेवारी प्राप्त भए झैं हुन्थ्यो ।

पूर्वअध्यक्ष एवं वर्तमान वडा अध्यक्ष रामप्रसाद कँडेलले मान्छे सबै कामको लागि सबै मान्छे अग्रसर हुन्छ भन्ने छैन राम्रो काम गर्नको लागि अधिकांशले राम्रो भन्छ र आफ्नो मस्तिष्कले काम राम्रो हो यसलाई गर्न सकिन्छ यसबाट अधिकांशलाइ लाभ पुग्छ भन्ने लाग्छ भने त्यो काम गर्नुपर्छ, त्यो काम गर्नका लागि पछि पर्नु हुँदैन भन्ने अभिव्यक्तिले थप बल पुगेको हो । अपवाद शिक्षक साथीहरू बाहेकको सक्रियताको म धेरै केहि गर्न नसकेपनि इतिहासको पानाभित्र शब्दद्वारा कहिलै नमेटिने गरेर अटाउनेछु, यस्तै विद्यालयसँग जोडिएका थुप्रै व्यक्तिगत सवालहरु छन्, जुन समय आएपछि पक्कै सार्वजनिक गर्नेछु , कतिपय कुराहरु अहिले पदमा बसेर भन्नुभन्दा पछि प्रस्तुत गर्दा सान्दर्भिक हुनेछन् । कति तिता सवालहरु छन् जसले मलाई कहिले हीनताबोध तिर प्रेरित गरि यो संसारबाटै टाढा हुनको लागि आग्रह गरे , कति मीठा पलहरु छन् जसले जीवनलाइ अगाडि बढाउन साथ दिए ।

केही न केही गर्नुपर्छ भन्ने भाव र सम्पर्क समन्वयलाई पहिलो पाटोमा राख्नुपर्छ भन्ने मान्यता सधैभरी भइरह्यो खासगरी विद्यालयको भौतिक संरचनाका लागि आवश्यक पहलकदमी मार्फत सन्तुष्ट हुने अवस्था बनेको छ । विद्यालयका शुभचिन्तक सोम सापकोटा ( पोर्चुगल ) संयोजक र यस विद्यालयका पूर्व विद्यार्थी तथा शिक्षक गोविन्दराम कँडेल आर्थिक संयोजक बनि यस विद्यालयका पूर्वविद्यार्थी, पूर्व शिक्षक, अभिभावक शुभचिन्तकहरूको पहलमा विद्यालयमा इ लाइब्रेरीको व्यवस्थापन गर्न गर्नुभएको भूमिका उच्च छ । जिल्ला शिक्षा कार्यालयबाट पुस्तकालय व्यवस्थापन, आईसिटी ल्याब निर्माण, मर्मत कार्यक्रमहरु, साथै कार्यसम्पादन मूल्यांकनका आधारमा दिइने अनुदान प्राप्त भएको थियो ।

हामीलाई छात्राबासको समस्या थियो जुन समस्या हामीले धेरै ठाउँमा राख्दै पनि आएका थियौं गलकोट नगरपालिकाबाट पहिलो वर्ष जग्गा व्यवस्थापनका लागि भनेर बजेट विनियोजन भयो, दोस्रो वर्ष तीन कोठा को लागि बजेट विनियोजन भयो, तेस्रो वर्ष विज्ञान प्रयोगशाला निर्माणको कार्यक्रम प्यो । गल्कोट नगरपालिकाबाट पनि कार्यसम्पादन मूल्यांकनका आधारमा दिइने अनुदान समेत प्राप्त भएको थियो । यस्तै तेस्रो वर्ष छत ढलानका लागी सहयोग प्राप्त भयो त्यस्तै सोलार जडानका लागि सहयोग भयो । विद्यालयको बलेनी पानी, फूलबारी निर्माण तथा अन्य व्यवस्थापनका लागि सहयोग प्राप्त तथा हालको बर्ष पनि बहुउद्देश्यीय हल निर्माणका लागि बजेट विनियोजन भएको छ ।

यसैगरी राष्ट्रिय पुनर्निर्माण कार्यालय जिल्ला आयोजना बागलुङ (शिक्षा) बाट २०७५ सालमा दुईकोठे भवन, २०७६सालमा छात्रामैत्री शारीरिक अशक्तमैत्री व्यवस्थित शौचालय तथा २०७७ सालमा ४ काठे पक्की भवन प्राप्त भएको छ जुन विद्यालय परिवार लागि खुसीको कुरा हो । यसका अलावा यहाँका शिक्षाप्रेमी, शुभचिन्तक र विद्यालयप्रति सकारात्मक चिन्तन राख्ने व्यक्तिहरूले आफ्नो परिवारजनको नाममा स्मृति कोष तथा आर्थिक सहयोग गर्नुभएको छ । २०७४ सालदेखि निरन्तररुपमा विद्यालयको शैक्षिक कार्यपात्रो निर्माणका लागि विभिन्न व्यक्तिहरुबाट सहयोग लगायतका आर्थिक, नैतिक र भौतिक सहयोगका कारण नै विद्यालयको गरिमा बढेको छ ती विषयमा थोरै मात्र उल्लेख गरे बिस्तृतमा पक्कै लेख्नेछु ।

कहिलेकाहीँ अत्यन्तै पीडा बोध हुँदा आशाको दियो बाली सत्मार्गतर्फ प्रेरित गर्ने र कामलाइ पहिलो प्रथमिकतामा राख्नुपर्छ भन्ने आत्मीय मनको बारेमा पनि कुनैदिन प्रशस्त लेख्नेछु । मेरा साथीहरु प्रायः कामको सिलसिलामा, अध्ययनको सिलसिलामा, व्यवसायको सिलसिलामा विदेशमा छन् । बेलाबेलामा साथीहरुसँग मेरो व्यक्तिगत जीवनका कुरा भन्दा पनि संस्थागत कुरा बढी हुने गर्छ ती साथीहरूबाट प्राप्त विचारहरुले आफ्नो जिम्मेबारी वहन गर्नको लागि यती धेरै शक्ति मिलेको छ । जो विदेशमा रहेर पनि यहाँको चिन्तनमनन गर्ने मेरा अग्रजहरु मेरा साथीहरु तथा शुभचिन्तकहरूको व्यक्तिगत रुपमै उल्लेख गरिन भने मेरो मन रमाउँदैन जुन लेख्नेनै छु । यदि ती आत्मीय साथीहरूको उत्साहित भाव प्राप्त नभएको भए सायद अहिलेसम्म यसरी म यो ठाउँमा रहने थिएन होला ।

२०७३ साल मंसिर २२ गते विद्यालय व्यवस्थापन समितिको पुनर्गठन भयो , त्यस समयमा विद्यालय स्थानान्तरण गर्नका लागि अहम् भूमिका निर्वाह गर्ने अर्जुनदत्त कँडेलको अध्यक्षतामा समिति गठन भयो । विद्यालयको हरेक प्रहर चासो व्यक्त गर्ने व्यक्ति अध्यक्ष हुँदै गर्दा विद्यालय आउने कार्यक्रमहरुको समन्वय गर्नका लागि बलियो आधार बनेको थियो । यसैगरी २०७६ साल फागुन २४ गते विद्यालय समितिको पुनर्गठन भयो जसमा पूर्व विद्यार्थी, पूर्व शिक्षक, चन्दादाता तथा विद्यालयको सदैब उन्नति चाहने नरेन्द्र कँडेलको अध्यक्षतामा समिति गठन भएको छ , आगामी दिनमा अझै सशक्त हुने कुरामा दुइमत छैन ।

वर्तमान समय अत्यन्तै जटिल परिस्थितिमा रहेको छ । विश्वभर कोरोना भाइरस (कोभिड १९)का कारण विश्वनै आक्रान्त बनिरहेको परिवेशमा शिक्षा क्षेत्र पनि अत्यन्तै अस्तव्यस्त रहेको अवस्थामा र स्वास्थ्य क्षेत्रमा पर्ने चिन्ता र चासो सँगै शिक्षा पनि स्वास्थ्य भन्दा कम चासोको बिषय होइन भन्ने बोध गरि हाम्रो विद्यालयले शैक्षिक सत्रको सुरुआतदेखि विभिन्न शैक्षिक गतिविधि र निरन्तर घरआँगनमा शिक्षक भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै ११ वटा शिव मा. वि. अध्ययनस्थल मार्फत् अगाडि बढिरहेका छौं । अगाडि बढ्दाका चुनौती , जवाफका साथै अन्य अनुभूतिहरु पनि कैयौं छन् जुन कुराहरु पनि कुनैदिन विस्तृतमा पढ्न पाउनु हुनेछ ।

खासगरी हामी शिक्षक साथीहरुले “केहि न केही गरौं , राम्रो गरौं ” हामीले गरेका कार्यहरुको केही सिकाइ होस् भन्ने मान्यताअनुसार लागि प्यौं । हाम्रा गतिविधिहरू स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा समावेश गरेर हामीलाई थप क्रियाशील बनाउन अहम भूमिका निर्वाह गर्ने एडुखबर अनलाइन , एभिन्युज टेलिभिजन , नाइस टेलिभिजन, कालिका टेलिभिजन, बुद्व टेलिभिजन, दिव्यदृष्टि, आदर्श सञ्चार, कालकिा न्यूज, सबलपोष्ट अनलाइन, समयहब अनलाइन, कायाकैरन अनलाइन, गलकोट एफ. एम्., रुरु एफ्. एम्., तेस्रो आँखा अनलाइन, कामना डेली अनलाइन, खबर वे अनलाइन, साझाविचार अनलाइन लगायतका थुप्रै सञ्चारमाध्यमहरुले हामीले गरेका क्रियाकलापहरुको सार्वजनिक गर्दिनु भो हामीलाइ र अन्यत्र पनि उत्साह जागृत गरिदिनु भयो हामी अत्यन्तै आभारी छौं ।

म गैरसरकारी संस्था मा काम गर्दैगर्दा त्यतिखेर कार्यक्रम संयोजक बुद्धिप्रसाद पौडेलले सुर्खेत जिल्लाको रामघाटको भेरी पुल पार गर्ने क्रममा प्रसङ्गवस भनेको एउटा कुरा हृदयमा रहिरहेको छ । जुन कुरा थियो हरिजी कुनै पनि एकैठाउँमा एउटै पदमा तीन चार वर्षभन्दा बढी रहनु हुँदैन । मानिस गतिशिलहुनुपर्छ । समय परिवेश अनुसार परिवर्तन हुन सक्नुपर्छ भन्ने भनाइले सबैलाई नछुन सक्छ तर मलाई छोएको हो र म पनि त्यही मान्यता स्थापित गर्नुपर्छ भन्ने दृष्टिकोण राख्छु । कुनै पनि पदमा एउटै व्यक्ति जरा हालुन्जेल बस्नु हुँदैन , एउटा निश्चित विन्दुमा पुगीसकेपछी त्यस ठाउँको लागि अर्को व्यक्तिले भूमिका निर्वाह गर्न पाउनु पर्छ ।

मान्छे पदको लागि किन सर्वस्व गुमाउन पनि पछि पर्दैनन् त्यो त मलाइ थाहा छैन तर मलाइ यो थाहा छ की समयानुसार क्षमतावान् व्यक्तिले स्थान पाउनु पर्दछ । म प्रधानाध्यापकमा बिसौं वर्ष रहेर म यति वर्ष प्रधानाध्यापक भए भन्नु भन्दा केही समय अवधिमा हरेक सक्षम साथी त्यो ठाउँमा पुग्यो र उस्का नयाँ चिन्तन , नयाँ कार्यकौशल प्रस्तुत गर्ने अवसर प्रदान गर्न सकियो भने हरेकले गर्व गर्ने ठाउँ रहन्छ र संस्था सबल हुने कुरामा दुइ मत हुँदैन ।

एउटा व्यक्तिको लागि एउटा पदमा ४/५ वर्ष रहेर सेवा गर्ने भन्ने कुरा ठूलो कुरा हो । जुन अवसर त्यसपछिका साथीहरुले पनि पाउनु पर्दछ भन्ने मान्यता मेरो हो । मलाई एउटा कुरा राम्ररी के बोध भएको छ भने म शिक्षककै रहेर पनि मेरो क्षमताले भ्याएसम्म विद्यालयको हितमा समर्पित हुन्छु भन्ने मेरो दिल देखिकै चाहाना बनेको छ । साथीहरुमा आपसी समभावको विकास गर्नका निम्ति पनि यो अपरिहार्य छ , पद कामका लागि हो भन्ने सोचाइको विकास पनि हुनु जरुरी छ । मेरो एउटा मान्यता छ , “ हामी कोही ठूला छैनौं , हामी कोही सानो छैनौं । ” मैले हरेक पटक काम गर्दा यही मान्यतालाई मन मस्तिष्कमा राखेर अगाडि बढ्नुपर्छ भन्ने धारणा हिजो पनि थियो , आज पनि छ र भोली पनि हुनेछ । मेरो एउटा बानी चाहीं खराब छ – हरेक व्यक्तिसँग उत्तिकै समभाव राख्ने प्रयास गर्दागर्दै पनि त्यसलाइ आफ्नो तरिकाले कसैले भूमिका निर्वाह गर्न खोजेको बुझाइ रह्रयो भने म जति समभाव राख्न खोज्छु त्यसको चौगुणा दुर हुन पनि समय लाग्दैन ।

प्रधानाध्यापक
श्री शिव माध्यमिक विद्यालय
गनपा – ८ , बागलुङ
धन्यवाद

प्रतिकृया दिनुहोस्