२०७६ असोज ३ गते

शिक्षकले किन पढ्नुपर्छ ?

गेहेन्द्रप्रसाद दाहाल


पढ्नु भनेको के हो ?
पढ्नु भनेको ज्ञान लिनुका साथै कुनैपनि विषयवस्तुबारे आफ्नो धारणा बनाउने काम हो । पढ्नु भनेको आफूलाई सरल बनाउनु हो । असल विचारमा उत्प्रेरित गर्नु हो । अरूको भलोमा आफू रमाउनु हो । पढ्नु भनेको हाम्रो प्रकृति, हाम्रो समाज, विश्व ब्रम्हाण्डको नियम थाहा पाउनु हो । यदि नियम थाहा पाउन सकिए त्यसलाई स्वरुप परिवर्तन गरेर मानवीय हितमा लगाउन सकिन्छ । पढेर नै विभिन्न विज्ञानका सिद्धान्तहरु पत्ता लागेका हुन् । पढ्नु भनेको विभिन्न कला सिक्नु पनि हो । जीवनको लक्ष्य खोज्नु पनि पढ्नु नै हो ।

के पढ्ने ?
पढ्नु पर्छ भन्ने सबैलाई थाहा छ । तर, के पढ्नु पर्छ भन्ने कसैलाई थाहा छैन । जे मिल्छ त्यहीँ पढ्नु पर्छ । पढाउने विषय र पाठसँग सम्बन्धित पुस्तक त पढ्नै पर्छ । साथै, शिक्षकले उपलब्ध भएसम्म र पाएसम्मका पुस्तक पढ्नु पर्छ । एक–एकवटा किताब पढ्नु पर्छ । नसके पनि महिनामा एउटा त अवश्य पढ्नै पर्छ । किनेर, खोजेर, मागेर, सापट लिएर, पुस्तकालयमा गएर भएपनि शिक्षकले पढ्नचाहिँ पढ्नै पर्छ । पाएका किताब र पत्रपत्रिका केही छोड्न हुँदैन । किताबबाट ज्ञान मिल्छ भने पत्रिकाबाट सूचना । शिक्षकलाई दुबै चाहिन्छ ।

पढेर के हुन्छ ?
पढाइ भनेको आदर्श व्यक्तित्व जन्माउने प्रक्रिया हो । असल–खराब छुट्याउन सक्ने विवेक दिने, सही निर्णय लिन सक्षम बनाउने, व्यक्तिको व्यवहारलाई अनुकरणीय र आदर्शमा परिणत गर्ने, मानवता र नैतिकताको प्रस्फुटन एवं इच्छानुरुपको प्रतिभा विकास गराउने काम पढाइबाट नै हुने गर्छ । जन्मदेखि मृत्युपर्यन्त आवश्यक पर्ने र त्यस अवधिमा प्रभाव पार्ने सम्पूर्ण ग्राह्य ज्ञान नै पढाइ हो । मानिस पढेरै असल र महान भएका हुन् । मानिसलाई आम मानिसबाट पहिचान दिलाउने भनेकै शिक्षाले, विद्वताले, विचारले, तर्कले, बुद्धिले, प्रज्ञाले, सीपले, अभिव्यक्तिले, लेखन शक्तिले र वाकपटुताले हो । पढाइको विकल्प यो संसारमा मात्रै होइन् पुरा ब्रम्हाण्डमा नै छैन । त्यसैले निरन्तर पढिरहन आवश्यक छ । शिक्षकले त अझ बढी पढ्न आवश्यक छ ।

शिक्षकले किन पढ्ने ?
शिक्षकको काम नयाँ कुरा सिकाउने हो त्यसका लागि पढ्नु पर्छ । नपढ्नेले सिकाउन त सक्दैन नै, आफू पनि सिक्न सक्दैन । त्यसैले पनि शिक्षकहरूले निरन्तर पढिरहनुपर्छ । शिक्षकले आफू पढेर आफ्ना विद्यार्थीहरुलाई पनि पढ्ने प्रेरणा दिनु पर्छ । पढ्ने र नपढ्ने शिक्षक विद्यार्थीले टाढैबाट चिन्छन् । भनिन्छ, संसारले नपढेको कुरा शिक्षकले पढ्नु पर्छ । शिक्षकले प्रत्येक दिन, प्रत्येक साता र प्रत्येक महिना नयाँ कुरा पढ्नु पर्छ । शिक्षक समाज र देशका अगुवा हुन्, त्यसैले पनि भनिन्छ शिक्षकले पढे देश जान्ने हुन्छ ।


तर, हामी सरकारी शिक्षकहरुमा जागिरे मानसिकता बोकेर विद्यालय जान्छौं । विद्यार्थीस“ग भेटघाट गर्ने र सञ्चो–विसञ्चो थाहा पाउने अनि वर्ष दिनको कोर्ष छिट्टो कसरी सक्ने भन्ने हाम्रो ध्याउन्न हुन्छ । हामी शिक्षक ‘शिक्षक’ भएको बीसौं वर्ष अगाडिको पढाइले हो । अब त्यो पढाइले अहिलेको पढाइलाई धान्न सक्छ कि सक्दैन ? किनकी, विकसित सञ्चार–साधनहरूका कारण आजका बालबालिकाका ज्ञानको परिधि पहिलेका तुलनामा स्वतः चौडा हुन पुगेको छ । उनीहरूका आवश्यकता र प्राथमिकता पनि फेरिएका छन् ।

दिनदिनै बदलिएको शिक्षा र खोजिएका ज्ञानसँग हाम्रो शिक्षा मेल खान्छ कि खादैन ? आफैंले आफैंसँग प्रश्न गर्न आवश्यक छ । यदि हामीले लिएको शिक्षाले अहिलेका विद्यार्थीलाई राम्ररी सिकाउन सक्दैनौं भने आफ्नो क्षमता बढाउन हामीले पनि पढ्नुको विकल्प बाँकी रहँदैन । हामी आजको युगलाई चाहिएको बच्चाको चाहना र परिवर्तित युगमा बाँच्न सक्ने ज्ञान दिन सक्षम छौं कि छैनौं भन्ने विश्लेषण गर्दै विगतको समयमा बाँच्नका लागि लिएको शिक्षाले वर्तमानमा बच्चालाई बाँच्न सक्षम बनाउन सक्छ कि सक्दैन ? गम्भीर प्रश्न हामी तमाम शिक्षकहरुमा तेर्सिएको छ । हामीले शिक्षक कसका लागि हौं ? जागिरका लागि, आफ्ना लागि, सरकारका लागि वा बच्चाका लागि सोच्ने बेला आइसकेको छ । यदि जागिर खाएर कमाउनका लागि मात्रै शिक्षण पेशा रोजिएको हो भने अन्य विकल्प रोज्दा वेश हुन्छ । धेरै कमाइ अन्तै छ ।


के पढाउने ?
शिक्षकले विद्यार्थीलाई पाठ्यपुस्तक मात्रै रटाउनु भनेको शिक्षण पेशाप्रतिकै वेइमानी हो । विद्यार्र्र्थीप्रति गरेको अपराध हो । पाठ्यपुस्तक शिक्षकहरुका लागि होइन, विद्यार्थीका निम्ति हो । शिक्षकले विद्यार्थीलाई दुनियाँ पढाउनु पर्छ । भौतिक, आध्यात्मिक, राजनीति, सामाजिक मूल्य–मान्यता, नैतिकता, सीप, संस्कार, भूगोल आदिबारे ज्ञान दिन आवश्यक छ ।

ज्ञान एउटा पुस्तकमा मात्र अटाउने कुरा होइन । त्यसैले धेरै पुस्तक पढेर धेरै थरिकै ज्ञान दिने गर्नु पर्छ । शिक्षक आफूले पढ्दाको र पास हुँदाको ज्ञान धेरै पुरानो र बोधो भइसकेको हुन्छ, पहिल्यै सिकेका कुराहरु भुलिसकिएको र सम्झे पनि खिया लागिसकेको हुन्छ । सोको अध्यावधिक र ज्ञानलाई समयानुकुल नवीकरण गर्न पनि नियमित पढ्न आवश्यक छ । हामी शिक्षक कक्षाकोठामा प्रवेश गर्दा उत्साही, दृढ मत भएका, अनुशासित, आफ्नो विषयका ज्ञाता, विनोदी साथै सहज बन्न आवश्यक छ ।


कसरी पढाउने ?
कक्षाकोठामा पस्नुभन्दा पहिले शिक्षकले तयारी गर्न आवश्यक छ । यो सिकाउछु, यति सिकाउछु, यसरी सिकाउछु यो क्रियाकलाप गर्छु भन्ने पूर्व तयारी गर्न आवश्यक छ । हामी शिक्षकहरू धेरै वर्ष पढाइसकें भनेर विना तयारी कक्षाकोठामा प्रवेश गर्छौैैं । विद्यार्थी भने अहिलेका विभिन्न सूचना सामग्रीका कारणले हामीले दिएका शिक्षाले नअघाउने भइसकेका छन् । आफैं मद्यपान गर्ने विद्यार्थीलाई भने स्वास्थ्य पढाउने, गाउँमा झै–झगडा गर्ने र विद्यार्थीलाई सामाजिक पढाउने, पाँचजना सन्तान जन्माउने अनि जनसंख्याको महत्व पढाउने गरे के हुन्छ ? हामी शिक्षक जीवन्त प्रतिमा हौं जोसँग विद्यार्थीले तादात्म्य स्थापित गर्छन् र साथै हामीसँग आफ्नो तुलना पनि गर्छन् ।

त्यसैले पहिले हामी शिक्षक जस्तै बन्न आवश्यक छ । संसार परिवर्तनशील छ । ज्ञान र सीपको दायरा पनि फराकिलो बन्दै गइरहेकाले समयानुकूल नया“ तथ्यहरुको धारणा दिन तथ्य सूचना विद्यार्थीलाई उपलब्ध गराउन, तथ्याङ्कहरुको अध्यापनको सजिलोको लागि पनि शिक्षकले पढ्नै पर्छ । आवश्यक अध्ययन र तयारी पछि मात्रै शिक्षक विद्यार्थीमाझ प्रस्तुत हुन आवश्यक छ । हामी शिक्षण प्रक्रियालाई नै यस्तो बनाउन सक्नु पर्छ । जसबाट विद्यार्थीले पढ्दा स्वयं आनन्दको अनुभूति गरोस् र त्यसमा तल्लीन हुन पुगोस् । कक्षामा विद्यार्थीहरुले सोध्ने उत्तरहरुको पूर्व तयारी, पाठशीर्षक अनुरुप शिक्षण सिकाइ क्रियाकलाप र शैक्षिक सामग्रीको पूर्व तयारीका लागि विद्यार्थीले भन्दा शिक्षकले धेरै पढ्नु पर्छ । शिक्षक आफैंमा सिङ्गो पाठ्यक्रम हो । त्यसैले, शिक्षकमा सबैखाले ज्ञान र सुचना हुन आवश्यक छ ।

सन्दर्भ–सामग्री, सबैखाले पुस्तकहरु, पत्रपत्रिका, अनुसन्धानहरुसँगै इन्टरनेटमा खोजेर नयाँ कुरा विद्यार्थीसम्म लग्नु आवश्यक छ । हामी बीस वर्ष अगाडि जसरी पढाइरहेका थियौं, त्यसरी नै पढाइरहेका छौं । जस्तो व्यवहार गरिरहेका थियौं, अहिले पनि त्यस्तै गरिरहेका छौं । आफू घरमा केही नपढिकन जाने अनि विद्यालयमा गएर तैंले पढिनस् भन्नु कति जायज होला ?

साभार: आजको शिक्षा साप्ताहिक

 

Comments: