सहरका स्कुलमा विद्यार्थी घटे

Avatar photo

Byएजुकेशन पाटी

११ मंसिर २०७७, बिहीबार

पोखरा ।मासिक एकसय रुपैयाँमा अध्यापन गराउने यहाँस्थित समता शिक्षा निकेतनमा अघिल्लो शैक्षिकसत्रमा झन्डै १२ सयजना (१ देखि १० कक्षासम्म) विद्यार्थी अध्ययनरत थिए। तर, यो शैक्षिकसत्रमा झन्डै ५ सय जना विद्यार्थी समताको सम्पर्कमा छैनन्। प्राथमिकतहमा अध्ययनरत अधिकांश विद्यार्थी अहिले विद्यालयको सम्पर्कमा छैनन। अघिल्लो वर्ष आफैले पढाएका ती विद्यार्थी अहिले कहाँ छन् भन्ने समतालाई नै थाहा छैन।

विद्यालयको माथिल्लो तहमा अनलाइनमार्फत पढाई भएपनि अनलाइनसम्म पहुँच पु¥याउन नसकेका तथा तल्लोतहमा अध्ययनरत विद्यार्थी अहिले सम्पर्कमै नरहेको समताका संयोजक उमेश रेग्मी बताउँछन्। ‘कोरानाका कारण चैतमा लकडाउन भयो। अघिल्लो शैक्षिकसत्रको वार्षिक परीक्षा दिएर छुटेका झन्डै पाँचसय विद्यार्थी योवर्ष सम्पर्कमा आएनन्,’ रेग्मीले भने, ‘अन्यत्र पढन गए वा घरमै बसेका छन् भनेर हामी बताउन सक्दैनौ ।’ सम्पर्कमा नरहेका ती विद्यार्थी खोज्न प्रयास गरेपनि सम्भव नभएको उनले बताए। वार्षिक परीक्षा दिएर छुटेका ती विद्यार्थी पोहोरभन्दा एककक्षा माथि उक्लिएपनि उनीहरु विद्यालयको सम्पर्कमै नरहेको रेग्मीले बताए।

कोरोनाले गर्दा शिक्षा क्षेत्र लामो समय अन्योलमा हुँदा विद्यार्थी पनि अन्योलमै रहेको हुनसक्ने रेग्मीको अनुमान छ। ‘जे जसो होला भनेर घरमै बसेका पनि होलान। अभिभावकले चाँसो नदिएको पनि हुनसक्छ,’ उनले भने, ‘स्कुल खुल्ने र भौतिक रुपमा पढाई हुने अवस्था नहुँदा विद्यार्थी र अभिभावकलाई अन्योल भएको हुनसक्छ। जहिले स्कुल खुल्छ, त्यहि दिन जाउँला भनेर पनि पर्खेका हुनसक्छन् ।’

समता मासिक एकसय रुपैयाँमा पढाउने विद्यालय हो। सस्तो मासिक शुल्कका कारण यहाँ अध्ययन गर्ने अधिकांश विद्यार्थी पनि कमजोर आयश्रोत भएका अभिभावकका छोराछोरी थिए। दैनिक मजदुरी गरेर जिविका चलाएका अधिकांश अभिभावकका छोराछोरी समतामा पढ्न आउने भएकोले लकडाउनले कामविहीन हँुँदा अभिभावकसँगै घरफर्केका विद्यार्थी त्यसपछि सहर फर्किन नसकेको उनले बताए। ‘कतिपय विद्यार्थीका त अभिभावक नै सहर फर्केका छैनन। अभिभावक नफर्केपछि छोराछोरी पनि फर्किने अवस्था रहेन,’ उनले भने, ‘सहर फर्केका सबै अभिभावकले छोराछोरी ल्याएनन् ।’

पोखराको अमरसिंह नमूना मावि सरकारीमध्येमा अब्बल मानिन्छ। अमरसिंहका प्रअ तेजस्बी बरालका अनुसार त्यहाँ अघिल्लो शैक्षिकसत्रमा १० कक्षासम्म १९ सयजना विद्यार्थी थिए। तर यो शैक्षिकसत्रमा चारसय जना विद्यार्थी अनुपस्थित छन्। ती विद्यार्थी कहाँ छन् भन्ने विद्यालयलाई नै थाहा छैन। ‘नयाँ शैक्षिकसत्र सुरु हुने बेला कोरोनाले लकडाउन भयो। अनि विद्यार्थी नै तितरबितर भए। ५ कक्षासम्मका धेरै विद्यार्थी अनुपस्थित छन्,’ बरालले भने, ‘माथिल्लो तहमा अनलाइनले समेट्ने हो। तल्लो तहका विद्यार्थी भेटाउनै गाह्रो भयो ।’ एककक्षा माथिका विद्यार्थीका लागि अनलाइन कक्षा संचालन गरेपनि पोहोर पढेका सबै विद्यार्थी विद्यालयको सम्पर्कमा नआएको उनले बताए। ‘जहिले खुल्ला उहिले स्कुल जाउँला भनेर बसेका पनि होलान। कुनैपनि विद्यालयको सम्पर्कमा नरहेको भए ती विद्यार्थीलाई मर्का पर्ने अवस्था छ,’ बरालले भने।

पोखराका गैहपाटनस्थित नवीन माविका झन्डै १५० जना विद्यार्थी अहिले सम्पर्कमा छैनन। प्रअ शिरोमणि लामिछानेका अनुसार अघिल्लो शैक्षिकसत्रमा झन्डै ५ सय जना विद्यार्थी त्यहाँ पढ्थे। अहिले १५० जना विद्यार्थी बाहिर छन्। बाहिर रहेका मध्ये ६० जना विद्यार्थीले गाउँ फर्केको जानकारी दिएका छन्। बाँकी विद्यार्थीको अवस्था थाहा नभएको लामिछानेल बताए। ‘सरकारी विद्यालयका सबै विद्यार्थीलाई अनलाइनमा समेट्न कठिन छ,’ उनले भने,‘कमजोर आयश्रोत भएका अभिभावकले छोराछोरीका लागि अनलाइन व्यवस्था गर्न सक्दैनन। कमजोर आयश्रोत भएका र पोखरामा डेरा गरि बस्ने कतिपय अभिभावक गाउँ फर्किदा विद्यार्थी पनि गाउँ गएको उनले बताए। ‘हाम्रो विद्यालयमा स्थानीय भन्दा बाहिरबाट आएर डेरा गरि बस्ने अभिभावकका छोराछोरी बढि पढ्थे। तर, लकडाउनले व्यापार व्यवसाय बन्द हुँदा गाउँ फर्केका अभिभावकसँगै छोराछोरी पनि फर्केकाले हामीलाई अभाव भयो,’ उनले भने।

विद्यालयहरुका अनुसार सहरका विद्यालयमा विद्यार्थी घटेका छन् भने गाउँका विद्यालयमा केही नयाँ अनुहार बढेका छन्। कास्कीको रुपा गाउँपालिका–१ को कालिका माविमा यो शैक्षिकसत्रमा पाँचजना नयाँ अनुहार बढेका छन्। यो वर्ष कालिकामा थपिएका ती विद्यार्थी पोहोरसम्म पोखराका विद्यालयमा अध्ययनरत थिए। कालिकाका प्रअ ज्ञानेन्द्र पौडेल भन्छन, ‘संख्यात्मक रुपमा धेरै विद्यार्थी बढेका छैनन। तर, नयाँ अनुहार भने थपिएका छन,’ उनले भने, ‘पोहोरसम्म कालिकामा नदेखिएका अनुहार यो पटक थपिएका छन्। संख्यात्मक रुपमा कम भएपनि ती अनुसार नयाँ छन् ।’ पोखराबाट फर्केको भनेर ती विद्यार्थीले विद्यालयमा जानकारी दिएको पनि पौडेलले बताए।

रुपा गाउँपालिका–२ को शिवालय माविमा पनि यो पटक ३० नयाँ अनुहार थपिएका छन्। प्रअ रुपिन्द्र जोशीका अनुसार विद्यालयमा अहिले १९४ जना विद्यार्थी छन्। ती मध्ये ३० जना नयाँ अनुहार हनु। ‘पोखराका निजी र सरकारी विद्यालयमा अध्ययनरत ती विद्यार्थी लकडाउनसँगै अभिभावकसँग गाउँ फर्केका थिए। तत्काल सहर झर्ने अवस्था नभएपछि गाउँकै विद्यालयमा भर्ना भएका छन,’ जोशीले भने। जोशीका अनुसार पोखरा, चितवन लगायतका सहरमा अध्ययन गर्ने ती विद्यार्थी अहिले गाउँ फर्केर गाउँका स्कुलमा पढिरहेका छन्।

शिक्षा क्षेत्रका जानकारहरु भने सहरका विद्यालयका करिब २५ प्रतिशत विद्यार्थी यो पटक हराउने अनुमान रहेको बताउँछन्। पोखरा महानगरको शिक्षा परीषद्का सदस्य गेहेन्द्रेश्वर कोइराला भन्छन, ‘सहरका अधिकांश निजी विद्यालयका विद्यार्थी हराएका छन्। ती विद्यार्थी कहाँ गए भनेर कसैले भन्न सक्दैन। निजी विद्यालयमा ब्यापक रुपमा संख्या कम भएको छ ।’ लकडाउनले अभिभावकको आम्दानी घट्दा छोराछोरीको विद्यालय पनि फेरिएको उनले बताए। ‘निजी विद्यालय छाडेपनि पोखराकै सरकारी विद्यालयमा त ती विद्यार्थी हुनुपर्ने हो। तर, सहरका विद्यालयमा पनि त्यो अनुपातमा विद्यार्थी थपिएनन,’ पृथ्वीनारायण क्याम्पसमा पूर्व प्रमुख समेत रहेका कोइराला भन्छन, ‘त्यसैले विद्यार्थी गाउँ फर्केको अनुमान छ। गाउँ फर्केका कतिपय विद्यार्थी कतै पनि भर्ना नहुँदा यो वर्षको शैक्षिकसत्र नै खेर जाने जोखिम पनि छ ।’

छोराछोरीलाई सहरमा पढाउनै लागि डेरा गरि बसेका अभिभावक लामो लकडाउनका कारण घर फर्किदा विद्यार्थीको विद्यालय पनि फेरिएको उनले बताए। ‘गाउँका विद्यालयमा विद्यार्थीको नयाँ अनुहार बढ्यो भने मात्र गाउँमा विद्यार्थी बढेको पक्का हुन्छ,’ उनले भने, ‘शैक्षिक क्षेत्र अन्योलग्रस्त हुँदा विद्यार्थी र अभिभावक अलमलमा परेका छन् ।’ सहरमा डेरा गरि बस्ने अभिभावकका छोराछोरी बढी अलमलमा परेको उनले बताए। ‘सहरमा हराएका विद्यार्थी गाउँका विद्यालयमा थपिए वा थपिएनन भन्ने महत्वपूर्ण कुरा हुन्छ,’ उनले भने, ‘केही आकारमा त गाउँका स्कुलमा पक्कै नयाँ अनुहार बढेका छन्। तर, सबै विद्यार्थीले गाउँमा पनि पढेका छैनन। अन्योलै अन्योलमा बिताएका छन् ।’

महानगरको शिक्षा महाशाखाका अधिकृत बसन्त पौडेलका अनुसार संख्यात्मक रुपमा ठुलो अन्तर नपरेपनि विद्यार्थी साटिएको हुनसक्ने बताए। उनले पनि केही संख्यामा विद्यार्थी कतैपनि नपढेको हुनसक्ने सम्भावना रहेको बताए। ‘भर्ना अभियान संचालन गर्न पाइएन। बाहिरबाट आएर सहरमा डेरा गरि बस्ने अभिभावकका बढी विद्यार्थी सम्पर्कमा छैनन,’ उनले भने, ‘सहरबाट गाउँ फर्केका विद्यार्थीलाई गाउँकै विद्यालयमा भर्ना गरिदिनु भनेर हामीले भनिसकेका छैौ। केही संख्यामा तलमाथि भएको हुनसक्छ ।’ विद्यार्थीको अवस्था र तथ्यांक संकलन गर्ने क्रम चलिरहेको उनले बताए।

सन्तोष पोखरेलले नागरिकमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्