काठमाडौँ  । तीव्र रूपमा बढिरहेको कोरोना संक्रमणले बालबालिका बढी प्रभावित भएका छन् । दिनहुँजसो विद्यार्थी संक्रमित हुने क्रम बढे पनि विद्यालयमा भौतिक पढाइ बन्द गरिएको छैन । स्वास्थ्य सुरक्षाबिनै विद्यालय सञ्चालन भइरहेकाले पनि बालबालिका बढी जोखिममा छन् । विद्यालयहरूले स्वास्थ्य मापदण्ड अपनाएको दाबी गरे पनि सहरी क्षेत्रका बालबालिकामा संक्रमण बढ्दो छ ।

पछिल्लो २४ घण्टामा देशभर ८९ बालबालिका संक्रमित भएका छन्, जसमा ९ वर्षसम्मका १७ जना र १०–१९ वर्षका ७२ जना छन् ।

विराटनगरमा विद्यालय गइरहेका ७ देखि १४ वर्ष उमेरका २१ बालबालिकामा सातायता कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगर स्वास्थ्य शाखाले संक्रमितमध्ये आधा ठूलो निजी विद्यालयमा अध्ययनरत रहेको जनाएको छ । पछिल्लो साता विराटनगरमा १ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ, तीमध्ये २१ जना २० वर्षमुनिका छन् ।

बालबालिकामा संक्रमण पुष्टि भए पनि विराटनगर महानगरपालिका तत्काल विद्यालय बन्द गर्ने पक्षमा छैन । मेयर भीम पराजुलीका अनुसार चाँडै परीक्षा सकाएर विद्यालय बन्द गर्ने तयारी गरिएको छ । आगामी सोमबारदेखि सबै विद्यालयलाई स्वास्थ्य मापदण्ड अपनाएर सिफ्टमा परीक्षा लिन निर्देशन दिइएको छ । यहाँका अधिकांश विद्यालयले वैशाख ८ देखि परीक्षाको तालिका बनाएका छन् ।

प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले कोरोनाको उच्च जोखिममा रहेका १४ वटा जिल्लामा स्थानीय पालिकासँग समन्वय गरेर अवस्था हेरी विद्यालय बन्द गर्नुपर्ने स्थिति भए बन्द गर्ने र चालु वर्षको शैक्षिक सत्र वैशाखभित्र सकेर केही दिनका लागि छुट्टी दिने निर्णय गरेको बताए ।

विराटनगरमा शुक्रबार १४ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मोरङमा १८, झापामा ८ सुनसरी र उदयपुरमा २–२ नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश २ मा बालबालिकासहित कम उमेरका मानिसमा संक्रमण देखिइरहे पनि विद्यालय तथा कलेज भने स्वास्थ्य मापदण्डबिनै सञ्चालन भइरहेका छन् । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार शनिबार संक्रमण देखिएका ६९ जनामध्ये २० जना ३० वर्षमुनिका छन् । शनिबार थपिएका संक्रमितमध्ये १२ वर्ष उमेरका बालक पनि छन् । सबै जिल्लामा विद्यालय र क्याम्पस निस्फिक्री सञ्चालन भइरहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार वीरगन्जस्थित नर्सिङ क्याम्पसका २५ जना विद्यार्थीमा कोरोना पुष्टि भएयता प्रदेशका अन्य कुनै विद्यालय वा क्याम्पसका विद्यार्थीमा संक्रमण फैलिइसकेको छैन ।

गण्डकी प्रदेशमा पनि बालबालिकामा संक्रमण बढेको छ । संक्रमित बालबालिकामध्ये अधिकांश कास्कीका छन् । प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार पछिल्लो एक सातामा ८९ बालबालिका संक्रमित भएका छन् । उनीहरू पोखराका विभिन्न १२ वटा विद्यालयमा अध्ययनरत रहेको उनले बताए । ‘११ देखि १६ वर्ष उमेर समूहका बालबालिका बढी प्रभावित छन्,’ उनले भने, ‘विद्यालयमा एक जनामात्रै संक्रमित देखिनु पनि ठूलो जोखिम हो । तत्काल विद्यालय बन्द गरेर संक्रमण रोक्नुपर्छ ।’

सात दिनअघि पोखराको छोरेपाटनस्थित एक बालगृहमा एकैसाथ १६ बालबालिकामा संक्रमण देखिएको थियो । उनीहरू पोखराकै एक दर्जन विद्यालयमा अध्ययनरत हुन् । उनीहरूको कन्ट्र्याक्ट ट्रेसिङमा परेका केही विद्यालयका विद्यार्थीको परीक्षण भइरहेको छ । एक विद्यालयमा दुई र अर्कोमा एक संक्रमित भेटिएका थिए । केहीको नतिजा आउन बाँकी छ । पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले आइतबार नगर शिक्षा समितिले आगामी योजनाबारे छलफल गर्न सरोकारवालाको बैठक बोलाएको बताए । अहिले शैक्षिक सत्र अन्तिम अवस्थामा पुगेको र परीक्षा नजिकिएकाले विद्यालयले बन्द गर्न मानेका छैनन् । बैठकमा कक्षा सञ्चालन र परीक्षालाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल हुने आचार्यले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले बालबालिकामा कोरोना संक्रमण बढे पनि कसरी अघि बढ्ने भन्नेबारे कुनै निर्णय नभएको बताए । बागलुङमा सञ्चालित धौलागिरि प्राविधिक शिक्षालयको छात्रावासमा बस्ने २५ विद्यार्थीमा कोरोना पुष्टि भएपछि उनीहरूलाई आइसोलेसनमा राखिएको छ । त्यसबाहेक एक सातामा बागलुङ नगरभित्रका ५ शिक्षक र १० विद्यार्थीमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । शिक्षक र विद्यार्थीमा संक्रमण बढे पनि विद्यालय नियमित सञ्चालनमा छन् । बागलुङका नगर शिक्षा अधिकारी डन्डपाणि शर्माले तत्काल विद्यालय बन्द गर्ने योजना नभएको सुनाए ।

सदरमुकामका सरकारी र संस्थागत विद्यालयमा विद्यार्थी संख्या अत्यधिक छ । मापदण्ड पूरा गरेको दाबी गरिए पनि कक्षाभित्र कोचाकोच विद्यार्थी राखेर पढाइँदै आएको छ । ‘कक्षामा अटाउनेसम्म राखिएकै छ,’ कालिका कन्या माविका शिक्षक फणीन्द्र आचार्यले भने, ‘माथिल्लो कक्षालाई बिहानमा पढाए पनि १ देखि १० सम्मका दिउँसो आउँछन् ।’

पठनपाठनबारे अन्योल

पछिल्लो समय बालबालिकामा संक्रमणको दर बढ्ने भन्दै सुर्खेतका शिक्षक त्रसित बनेका छन् । सुर्खेतमा संक्रमितको संख्या दिनहुँ बढ्दै गए पनि वीरेन्द्रनगरका विद्यालय सञ्चालन गर्ने कि बन्द गर्ने भन्नेबारे अन्योल कायमै छ । दुई शिक्षक र एक विद्यार्थीमा कोरोना देखिएपछि वीरेन्द्रनगरस्थित अमरज्योति नमुना माध्यमिक विद्यालयले आइतबार ३५ विद्यार्थीको एन्टिजेन विधिबाट परीक्षण गर्न लागेको छ । विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले नगरपालिकाले केही दिनअघि कुनै पनि हालतमा विद्यालय बन्द नगर्ने भनेपछि आफूहरू अलमलमा परेको बताए । ‘स्वास्थ्य मापदण्ड अपनाएर पनि हामीले पहिला थाम्न सकेनौं,’ उनले भने, ‘विद्यालयमा धेरै बच्चा बिरामी भेटिन्छन्, हामीले उनीहरूलाई घर फर्काउने काम मात्रै गरेका छौं ।’

वीरेन्द्रनगरका धेरैजसो विद्यालयमा दिनहुँ २५ सयदेखि ३ हजारसम्म विद्यार्थी पढ्छन् । उनले ती विद्यालयमा जोखिम बढी भएकाले सरकारले चाँडो निर्णय गर्नुपर्ने बताए । प्रशासन र नगरपालिकासँग छलफल गर्दा केन्द्रको निर्णय कुर्न भनिएको प्रधानाध्यापक थापाले बताए । ‘केही निर्णय नभए हामी आफ्नै तरिकाले आलोपालो पठनपाठन सञ्चालन गर्छौं,’ उनले भने, ‘विद्यार्थीलाई मास्क र सेनिटाइजर प्रयोग गर्न तथा अन्य स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय प्रवेश गर्न भनेका छौं ।’ कुनै निर्णय नभए अभिभावकसँग छलफल गरेर निचोडमा पुग्ने उनले बताए । वीरेन्द्रनगरस्थित हस्तवीर सामुदायिक आधारभूत विद्यालयले पनि केन्द्र सरकारले कुनै निर्णय नगरुन्जेल स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पठनपाठनलाई निरन्तरता दिने जनाएको छ । वार्षिक परीक्षा र एसईई नजिकिँदै गर्दा पढाइको रफ्तार बढाउनुपर्ने भएकाले एकजना नर्स नै नियुक्त गरी विद्यार्थीलाई जोखिम कम गर्ने उपाय सिकाएको विद्यालयका सल्लाहकार पूर्ण पौडेलले बताए । उनका अनुसार विद्यालयमा दिनहुँ विद्यार्थीको ज्वरो मापन गरिन्छ । कसैमा ज्वरो देखिए प्राथमिक उपचार गरेर घर पठाउने गरिएको उनले जानकारी दिए । ‘अहिले त सावधानी अपनाएरै पढाइरहेका छौं,’ उनले भने, ‘अवस्था हेरेर अथवा सरकारको निर्णयअनुसार नै अघि बढ्नेछौं ।’

कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्