नेपालगन्ज ।  बाँकेका संस्थागत विद्यालय(बोर्डिङ स्कुल)ले अभिभावकबाट मनपरी शुल्क असुल्न थालेका छन्। कोरोना भाइरस महामारीका कारण २०७७ सालको शैक्षिक शत्र सुरु हुन सकेको छैन। लामो समयदेखि बन्द रहेका संस्थागत विद्यालयले अहिले आएर अभिभावकबाट मनपरी रुपले शुल्क असुल्न थालेका हुन्। अधिकांस स्कुलले पढाई नै नभएको महिनाको शुल्क अभिभावकलाई मागेका छन्, भने कतिपय स्कुलले दैनिक एक घण्टा अनलाईन कक्षा चलाएको निहुँमा मासिक रुपले पुरै शुल्क असुलेको अभिभावकको गुनासो छ।

जिल्लाका बोर्डिङ स्कुलको शुल्क आतंकका कारण अभिभावक तनावमा छन्। नेपालगन्ज फुलटेक्रा निवासी एक अभिभावकले कक्षा ३ मा पढ्ने आफ्नो छोराको एक घण्टे अनलाईन कक्षाका लागि स्कुलले मासिक २ हजार ५ सय रुपैयाँका दरले शुल्क मागेको दुखेसो पोखे। ‘मेरो छोरो अहिलेसम्म अनलाईन कक्षामा सामेल नै भएको छैन, तर स्कुलले मलाई बोलाएर मासिक २५ सयको दरले साउनदेखि असोज महिनासम्मको शुल्क माग्यो,’ उनले भने। कोरोना भाइरस महामारीले अभिभावकको आर्थिक अवस्था कमजोर भइरहेका बेला बोर्डिङ स्कुलले नपढाएको शुल्क मागेर आतंक मच्चाइरहेको बताए। ति अभिभावकले भने, ‘बरु म छोरालाई सरकारी स्कुलमै हाल्छु, तर बोर्डिङ स्कुललाई फोकटमा यत्रो पैसा बुझाउन सकिदैन।’

यहाँका कतिपय स्कुलले दसै अगाडी त्रैमासिक परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेका छन्। परीक्षा सञ्चालनका लागि पुरा गर्नुपर्ने न्यूनतम कोर्स भने पुरा भएको छैन। ती स्कुलले कुनैपनि पठन पाठनमा सामेल नभएका विद्यार्थीलाई एक्कासी त्रैमासिक परीक्षामा सामेल गराउने र सोही परीक्षाको निहुँमा मनपरी शुल्क असुल्ने माध्यम बनाएको देखिन्छ। सरकारले हालै जारी गरेको निर्देशिकालाई आधार बनाएर बैकल्पिक शिक्षाको रुपमा कतिपय स्कुलले अभिभावकसँग छलफल र सहमती नगरेर आफूखुसी शुल्क तोकेर कक्षा चलाइरहेका छन्।

कतिपय स्कुलले दसै अगाडी जसरी भएपनि परीक्षा सञ्चालन गर्ने भन्दै गतवर्षको भन्दा बढाएर असोजको मासिक शुल्क अनिवार्य बुझाउन अभिभावकलाई उर्दी जारी गरेका छन्। बाँकेमा कोरोना भाइरस संक्रमित र मृतकको संख्या दिनहुँ बढिरहेका बेला यि स्कुलले असोज महिनाबाट जसरी भएपनि पठन पाठन र परीक्षा चलाउने बताएका छन्। बोर्डिङ स्कुलको शुल्क आतंकलाई नियन्त्रण तथा नियमन गर्नमा सरोकारवाला निकाय मौन बसेका छन्।

बाँकेमा सञ्चालित अधिकांस बोर्डिङ स्कुलमा राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा ब्यापारी र नागरिक अगुवाको समेत ठूलो लगानी रहेको छ। पहुँचवाला ब्यक्तिकै लगानीमा सञ्चालित बोर्डिङ स्कुलले सरकारी नीति/नियम र अभिभावकको भावनालाई लत्याउँदै मनपरी गरिरहेका छन्।

विभिन्न विकृती, विसंगती विरुद्ध खरो रुपमा प्रस्तुत हुने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङ बोर्डिङ स्कुलको शुल्क आतंकको विषयमा भने मौन बसिरहेको अभिभावकको आरोप छ। ‘सिडिओ साबले जिल्लामा आएपछि धेरै विकृतीलाई सुधार गर्नु भयो, तर बोर्डिङ स्कुलको मनपरी शुल्कको विषयमा खै किन मौन हुनुहुन्छ?’ अर्का अभिभावकले भने।

प्रमुख जिल्ला अधिकारी कुरुङवाङले बोर्डिङ स्कुलको मनपरी शुल्कका विषयमा नियमन गर्न आफूले शिक्षा समन्वय अधिकारीलाई निर्देशन दिइसकेको बताएका छन्। ‘यो महामारीको समयमा कुनैपनि बोर्डिङ स्कुलले अभिभावकबाट मनपरी शुल्क असुल्न पाउँदैन, यदी कसैले शुल्क उठाएको छ भने कारबाही हुन्छ,’ उनले भने। जिल्ला शिक्षा समन्वय अधिकारी रामसुरेश यादवले बोर्डिङ स्कुलले स्थानीय तहसँग समन्वय गरेर मात्र अनलाइन कक्षाका लागि शुल्क लिन सक्ने ब्यवस्था रहेको बताए। ‘बोर्डिङ स्कुलले अभिभावकसँग जथाभावी शुल्क असुल्न पाउँदैन, अभिभावक सचेत हुनुपर्यो, हामीले अभिभावकलाई त शुल्क नदिन भनेका छौं,’ यादवले भने।

नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोरखबहादुर थापाले भने बोर्डिङ स्कुलले मनपरी शुल्क असुलेको जानकारी आफूलाई नआएको बताए। ‘हामीलाई त्यस्तो जानकारी आएको छैन, बरु असोजबाट केही शैक्षिक क्रियाकलाप गर्ने विषयमा अस्ति भर्खर प्याब्सन र एनप्याब्सनको बैठकमा छलफल चाही भएको हो,’ उनले भने। बैकल्पिक शिक्षाका लागि शुल्क लिने विषयमा मापदण्ड नबनेको, बरु अभिभावकसँग छलफल र सहमती गरेर मात्र शुल्क लिन सक्ने थापाले बताए।

‘एक घण्टा अनलाईन कक्षा पढाए वापत नियमित कक्षा बराबरको मासिक शुल्क लिन पाईदैन, यसवर्ष नियमित कक्षाको लागि गतवर्षको भन्दा बढी शुल्क त झन् लिनै पाईन्न,’ उनले भने। बोर्डिङ स्कुलले मनपरी शुल्क असुली गरेको विषयमा नियमन गरिने थापाले बताए।

अर्जुन ओलीले नागरिकमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्