काठमाडौं । नेपाल शिक्षक महासंघले परिवर्तित कक्षा ११ मा भर्नाको मापदण्डप्रति गम्भीर आपत्ति जनाएको छ । कोभिड महामारीको विषम परीस्थितिमा विशेष निर्णय गरी कक्षा १० को नतिजा प्रकाशित गरिएको समयमा अकस्मात् कक्षा ११ को भर्नाको विषयगत योग्यता मापदण्ड परिवर्तन गर्नु न्यायोचित नभएको महासंघको ठहर छ ।

महासंघले विगत वर्षको मापदण्ड अनुसार नै कक्षा ११ मा भर्ना हुने व्यवस्था गर्नसमेत सम्बन्धित पक्षसँत जोडदार माग गरेको छ ।

पाठ्यक्रम विकास केन्द्रले साधारण शिक्षाको कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय अध्ययन गर्न न्युनतम औसत अंक ग्रेड प्वाइन्ट १.६ प्राप्त गरी कक्षा १० मा पढेको अनिवार्य गणित, विज्ञान र अंग्रजीमा विषयमा सी प्लस ग्रेड प्राप्त गरेको हुनु पर्ने व्यवस्था गरेको छ ।

यस्तै, कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित बाहेक अन्य विषय अध्ययन गर्न न्युनतम औसत अंक ग्रेड प्वाइन्ट १.६ प्राप्त गरी कक्षा १० मा पढेको अनिवार्य गणित, विज्ञान र अंग्रजीमा डी प्लस ग्रेड प्राप्त गरेको हुनु पर्ने व्यवस्था गरेको छ । यस प्रावधान राखिएको प्रति महासंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका अध्यक्ष बाबुराम थापाले प्रेस विज्ञप्ति जारी गर्दै माध्यमिक तहको नयाँ पाठ्यक्रम नै यही शैक्षिक सत्र देखि लागु गर्दै आवश्यकता अनुसारका शिक्षक दरबन्दी सृजना गर्न पनि सरकार समक्ष माग गरेका छन् ।

भाद्र १० गते महासंघको राष्ट्रिय समिति, कार्य सम्पादन समितिको छैठौं बैठकले पारित गरेका मुख्य विषयहरू सार्वजनिक गर्न जारी विज्ञप्तिमा सरकारले अझै पनि दरबन्दी मिलान तथा पुनः वितरणको कार्य गर्दा कार्यदलको सिफारिस र महासंघसँग भएको सहमती बमोजिम गर्नुको साटो उल्टै जगेडामा राखिएका शिक्षकहरुको तलब भत्ता रोक्ने कार्य गरेको सुनिन आएको भन्दै यसले महासंघलाई गम्भिर र आक्रोशित बनाएको जनाइएको छ ।

हेर्नुहोस् विज्ञप्ति

विज्ञप्ति
यही मिति २०७७ साल भाद्र १० गते नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समिति, कार्य सम्पादन समितिको छैठौं बैठक अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा अनलाइन मार्फत बसी समसामयिक शैक्षिक, साँङ्गठानिक एवं विविध विषयहरुमा गहन छलफल गर्यो । उक्त बैठकले पारित गरेका मुख्य विषयहरू सम्बन्धित पक्षको जानकारी तथा कार्यान्वयनका लागि प्रकाशित गरिएको छ ।

१. नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समिति, कार्य सम्पादन समितिको मिति २०७७ साल साउन २७ गतेको बैठकको निर्णय अनुसार यही साउन ३२ गतेदेखि भाद्र ७ गतेसम्म देशका सात वटै प्रदेशहरुमा सञ्चालन गरिका भर्चुल भेला तथा प्रशिक्षण कार्यक्रमको समीक्षा र निष्कर्ष निम्नानुसार गरिएको छ

(क) सात वटै प्रदेशमा सहभागिता उत्साहजनक रहेको । प्रदेश स्तर र मातहतका महासङ्घका सबै समितिहरुका पदाधिकारी तथा सदस्यहरु र आबद्धरसम्बध्द संस्थाका पदाधिकारीहरुको सहभागिता अनिवार्य गरिएको सो भेला तथा प्रशिक्षण कार्यक्रममा सात वटै प्रदेशमा गरी जम्मा १८०० शिक्षक÷कर्मचारी नेताहरुको उपस्थिति रही ८८ जना वक्ताहरुले मन्तव्य एवं प्रशिक्षण दिनु भएको ।

(ख) यो प्रशिक्षण कार्यक्रममा विधान संशोधन, कोभिड १९ मा विद्यार्थीहरुको सिकाइ प्रक्रियाको निरन्तरता, महासंघको औचित्य र प्रभावकारीतामा आवध्द र सम्बध्द संस्थाहरुको भूमिका तथा महासंघको गठन, उपलब्धि र चुनौति विषयमा वक्ताहरुले स्पष्ट विचारहरु संप्रेषण गर्नु भएकोले महासङ्घको विभिन्न समसामयिक सवालमा आफ्नो दृष्टिकोण स्पष्ट हुनाका साथै विधान संशोधनका सन्दर्भमा फैलिएका भ्रम पनि चिर्ने काम भएको ।

(ग) कार्यक्रममा सहभागीहरुको मनोभावना बुझ्दा विगतमा नेपाल शिक्षक महासङ्घ र सरकार बीच भएका विद्यालय कर्मचारीका सवाल सहित ३० बुँदे सहमति सहित अन्य सहमति कार्यान्वयनमा सरकारी तर्फबाट ढिलासुस्ति हुनुका साथै संघीय शिक्षा ऐन जारी गर्न सरकारले प्राथमिकतामा नपारेको हुँदा सो बारे दवाव सृजना गरी अध्यादेश मार्फत भए पनि संघीय शिक्षा ऐन–२०७७ जारी गराउन महासङ्घले आन्दोलनका कार्यक्रम ल्याउनु पर्ने निश्कर्ष निकालेको ।

(घ) कोभिड १९ को महामारीको समयमा महासङ्घले आम शिक्षक कर्मचारीका बीचमा भौतिक रुपमा उपस्थित भएर आफ्ना कार्यक्रम चलाउन नसक्ने परिप्रेक्षमा यस्ता भर्चुअल भेला तथा कार्यक्रमहरु प्रदेशस्तरबाट जिल्ला तह र स्थानिय पालिका तहसम्म सञ्चालन गर्न गराउन थप कार्ययोजनाका साथ सञ्चालन गर्नु पर्ने ।

(२) हाल सरकारले गरिरहेको दरबन्दी मिलान तथा पुनःवितरणका सन्दर्भमा नेपाल शिक्षक महासङ्घको मिति २०७७ साल साउन २७ गते कार्य सम्पादन समितिको बैठकबाट निर्णय भई २८ गते विज्ञप्ति मार्फत दृष्टिकोण सार्वजनिक गरिएको सर्ववितिदै छ । तर सरकारले अझै पनि दरबन्दी मिलान तथा पुनः वितरणको कार्य गर्दा कार्यदलको सिफारिस र महासङ्घ सँग भएको सहमती बमोजिम गर्नुको साटो उल्टै जगेडामा राखिएका शिक्षकहरुको तलब भत्ता रोक्ने कार्य गरेको सुनिन आएकोले महासङ्घ गम्भिर र आक्रोशित बनेको छ ।

तसर्थ सामुदायिक तथा निजी विद्यालयहरुमा कार्यरत शिक्षकहरुको रोकिएको तलब भत्ता यथासिघ्र निकाशा गर्न सम्बन्धित निकायसँग माग गर्दै विगतमा भएको सहमति अनुसार नै दरबन्दी मिलान तथा पुनः वितरण गर्न जोडदार माग गरिएको ।

(३) पाठ्यक्रम विकास केन्द्र सानोठिमीको मिति २०७७ भाद्र २ गते प्रकाशित सूचना अनुसार साधारण शिक्षाको कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय अध्ययन गर्न न्युनतम औसत अंक ग्रेड प्वाइन्ट १.६ प्राप्त गरी कक्षा १० मा पढेको अनिवार्य गणित, विज्ञान र अंग्रजीमा विषयमा सी प्लस ग्रेड प्राप्त गरेको हुनु पर्ने तथा कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित बाहेक अन्य विषय अध्ययन गर्न न्युनतम औसत अंक ग्रेड प्वाइन्ट १.६ प्राप्त गरी कक्षा १० मा पढेको अनिवार्य गणित, विज्ञान र अंग्रजीमा डी प्लस ग्रेड प्राप्त गरेको हुनु पर्ने प्रावधान राखिएको प्रति नेपाल शिक्षक महासङ्घको गम्भिर ध्यानाकर्षण भएको छ ।

कोभिड महामारीको विषम परीस्थितिमा विशेष निर्णय गरी कक्षा १० को नतिजा प्रकाशित गरिएको समयमा अनायश कक्षा ११ को भर्नाको विषयगत योग्यता मापदण्ड परिवर्तन गर्नु न्यायोचित नहुने हुँदा विगत वर्षको मापदण्ड अनुसार नै कक्षा ११ मा भर्ना हुने व्यवस्था गर्न सम्बन्धित पक्षसँत जोडदार माग गरिएको साथै माध्यमिक तहको नयाँ पाठ्यक्रम नै यही शैक्षिक सत्र देखि लागु गर्दै आवश्यकता अनुसारका शिक्षक दरबन्दी सृजना गर्न सरकार समक्ष जोडदार माग गरिन्छ।

(४) नेपाल शिक्षक महासङ्घको आन्तरिक संगठनलाई चुस्त दुरुस्त पार्नुका साथै अधिवेशन हुन बाँकी स्थानीय तह, जिल्ला र प्रदेश अधिवेशन यथासिघ्र सम्पन्न गर्न गराउन विधान अनुरुप कार्ययोजना निर्माण गरी लागू गर्ने निर्णय गरिएको ।

(५) नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका महासचिव लगायतका केही पदाधिकारीहरु लामो समयदेखि महासङ्घको कार्यालय, साँगठानिक गतिविधि तथा बैठकमा अनुपस्थित रहनाले महासङ्घका दैनिक कामका साथै महत्वपूर्ण कार्यक्रमका निर्णयहरु कार्यान्वयनमा समेत बाधा पर्न गएकोले सम्बन्धित पदाधिकारीहरुलाई यथासिघ्र महासङ्घका बैठकमा उपस्थित भई महासङ्घीय गतिविधि तथा कार्यक्रम कार्यान्वयनमा सहभागि हुन जानकारी गराउने निर्णय गरियो ।

(६) कोभिड १९ का कारण शैक्षिक सत्र अलपत्र परिरहेको यस असहज अवस्थामा विद्यार्थीहरुको सिकाइ एवम् मूल्याङ्कनकालागि प्रचलित वैकल्पिक उपायहरुको अभ्यास गर्न सरकार समक्ष माग गर्दै सुरक्षित रुपमा सरिक हुन सम्पूर्ण शिक्षकहरुलाई आव्हान गरिन्छ ।

कोभिड १९ र वर्षाका कारण (बाढी, पहिरो, डुवान, कटान, चट्याङ् आदि) जीवन उत्सर्ग गर्नु हुनेहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुलजनमा हार्दिक समवेदना व्यक्त गरिन्छ ।

बाबुराम थापा
अध्यक्ष

प्रतिकृया दिनुहोस्