६ लाख १५ हजारले एसएलसी दिने

Avatar photo

Byएजुकेशन पाटी

२१ जेष्ठ २०७७, बुधबार

काठमाडौँ । यस वर्षको एसएलसी परीक्षामा  ६ लाख १५ हजार ५ सय ५३ विद्यार्थी सहभागी हुने भएका छन् । जस मध्ये ४ लाख ५२ हजार ८ सय ८१ नियमिततर्फ, १ लाख ५९ हजार ४ सय १७ जना एक्जाम्टेडतर्फ र ३ हजार २ सय ५५ विद्यार्थी प्राविधिक एसएलसी(टीएसएलसी)तर्फका रहेका छन् । एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रण कार्यालयले  जनाएको छ ।

पनिकाका अनुसार परीक्षाका लागि आवश्यक गोप्य सामग्री (प्रश्नपत्र), स्टेशनरीलगायत आवश्यक सामान सबै जिल्लामा पुगिसकेको छ । साथै आवश्यक जनशक्ति व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रत्येक जिल्लामा रहेका जिल्ला परीक्षा समन्वय समितिलाई अख्तियारी प्रदान गरिसकिएको छ ।

गतवर्ष भन्दा ४० हजार बढी परीक्षार्थी
यसवर्षको एसएलसी परीक्षामा गतवर्ष भन्दा ४० हजार ८ सय ६८ बढी परीक्षार्थी सहभागी हुने भएका छन् । यस वर्षको एसएलसी परीक्षामा सहभागी हुन कुल ६ लाख १५ हजार ५ सय ५३ जनाले परीक्षा फारम भरेका छन् । गत वर्ष(२०७१)को एसएलसी परीक्षामा देशभर कुल ५ लाख ७४ हजार ६ सय ८५ जनाले आवेदन फारम भरेका थिए ।

१ हजार ९ सय ४३ परीक्षा केन्द्र
पनिकाका अनुसार एसएलसी परीक्षाका लागि देशभर कुल १ हजार ९ सय ४३ परीक्षा केन्द्रको व्यवस्था गरिएको छ । प्रत्येक केन्द्रमा एक केन्दाध्यक्ष, बढीमा दुई सहायक केन्द्राध्यक्ष र आवश्यक संख्यामा निरीक्षकहरु व्यवस्था जिल्ला समन्वय समितिले नै गर्नेछन्। परीक्षामा प्रत्येक केन्द्रमा बढीमा १५ जनाका दरले करिब ३० हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुने छन् । आवश्यक परेको अवस्थामा थप सुरक्षाकर्मी समेत जिल्ला तहबाट परिचालन गर्न सकिने छ । प्रत्येक सुरक्षाकर्मीलाई दैनिक १ सय ५० रुपैयाँका दरले खाजा भत्ताको व्यवस्था गरिएको छ ।

लेटर ग्रेडिङमा नतिजा
पनिकाले यस वर्षको परीक्षाको नतिजा लेटर ग्रेडिङमा सार्वजनिक गर्ने तयारीे गरेको छ । गतवर्ष प्राविधिक एसएलसी तर्फको नतिजा लेटर ग्रेडिङमा सार्वजनिक गरेको पनिकाले यसवर्ष साधारण एसएलसी परीक्षा तर्फ लागुगर्न लागेको हो । लेटर ग्रेडिङमा कुल पूर्णांकको ९० प्रतिशतभन्दा माथि अंक प्राप्त गर्नेले ‘ए प्लस’ (विशिष्ट), ८० देखि ८९ अंक पाउनेले ‘ए’ (उत्कृष्ट), ६० देखि ७९ पाउनेले ‘बी’, पाउने छन् । त्यस्तै, ४० देखि ५९ प्रतिशत अंक पाउनेले ‘सी’ (राम्रो), २५ देखि ३९ प्रतिशत अंक पाउनेले ‘डी’ (कमजोर), २५ प्रतिशतभन्दा कम अंक पाउनेले ‘ई’ (धेरै कमजोर), उल्लेख गरेर वर्गीकरण गरिएको मार्कसिट विद्यार्थीलाई उपलब्ध गराइने छ । मार्कसिट तथा प्रमाणपत्रमा विद्यार्थीलाई ‘पास’ —‘फेल’ उल्लेख गरिने छैन । मार्क लेजरमा भने विद्यार्थीले पाएको अंक नै उल्लेख गरिने कार्यालयले जनाएको छ ।

पनिकाका अनुसार  परीक्षा चैत्र १८ गतेदेखि चैत २९ गते सम्म सञ्चालन हुनेछ । परीक्षा  बिहान ८ बजेदेखि ११ बजेसम्म  सञ्चालन हुने छ ।

परीक्षा तालिका

चैत १८ गते – अनिवार्य अंग्रेजी
चैत १९ गते – अनिवार्य नेपाली
चैत २१ गते – अनिवार्य गणित
चैत २२ गते – अनिवार्य विज्ञान
चैत २३ गते – अनिवार्य सामाजिक
चैत २४ गते – अनिवार्य स्वास्थ्य तथा जनसंख्या
चैत २५ गते – ऐच्छिक प्रथम
चैत २६ गते – ऐच्छिक द्धितीय
चैत २७, २८ र २९ गतेसम्म भने प्राविधिक तर्फका बाँकि विषयको परीक्षा सञ्चालन हुनेछ ।

प्रतिकृया दिनुहोस्