यसरी जोगाउन सकिन्छ शैक्षिक सत्र

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२४ भाद्र २०७७, बुधबार
रमेश प्रसाद लामिछाने

मानव स्वास्थ्य सबैभन्दा शिर्ष विषय हो । मान्छेको जीवन रक्षाको सवालमा ब्यक्ति, समाज तथा राज्यले उच्च प्राथमिकताका साथ जुटेको तथ्य छर्ल¨ छ । विद्यमान कोरोना भाईरसले विश्वमानै मच्चाएको कोलाहल र गरेको मानवीय क्षतिको कुनै क्षतिपूर्ति छैन । दोस्रोमा शैक्षिक क्षति नै पर्दछ । यद्यपि उद्योग, ब्यवसाय, पर्यटन, यातायात, लगायतका क्षेत्रमा कोरोनाको कारणले गम्भिर घाटा पुगेको छ । भोलि कोभिड —१९ को नियन्त्रण पश्चात यी सबै प्रकारका ब्यवसायहरुले निश्चित अवधिमा हालको क्षति कभर गर्न सक्षम हुन्छन् । बिगतका गम्भिर महामारी र बिपतकाल पश्चातका घटनाक्रमले सावित गरिसकेको पाईन्छ । अझ बिपद र पिडाका चुनौति सँगै अनेकन नयाँ अवसरहरुले पराक्रमको मौका पाएको तथ्य स्मरणीय छन् ।

१. यो कोरोना पहिलो त मान्छे मार्नै आएकै हो । लाखौं लाख मान्छेको जीवन यसले निलिसकेको छ । अझै कति जनाको ज्यान लिन्छ भन्नै कठिन छ । विश्वमानै आतङ्क मच्चाईरहेको यस महामारीले दोस्रोमा शिक्षालाई प्रहारको निशाना बनाएको छ । शैक्षिक क्षेत्रको अपुरणीय क्षति मापन गर्नै नसक्ने अवस्थामा पुगेको छ । नेपालको मात्र हैन, दुनियाँमै लगभग एक तिहाई जनसंख्या प्रत्यक्ष संलग्न रहेको शिक्षक र विद्यार्थीको अवस्थाको चित्रण हाल सहज छैन् । विद्यार्थीको परीक्षामा पहिलो प्रहार भयो । नतिजामा स्वभाविक हलचल गरायो । नयाँ शैक्षिक सत्र शुरु हुनै दिएन । वैकल्पिक शिक्षण विधिमा पनि यसको असर देखियो । प्राविधिक विषयका विद्यार्थी र उच्च शिक्षामा अध्ययनरतहरुको समेत एउटा सेमेष्टर कोरोनाले निलिसकेको छ । नेपालमा ७० लाख भन्दा बढि विद्यार्थीको शिक्षा प्राप्त गर्ने अधिकार कुण्ठित भएको छ । शैक्षिक क्षतिको कभर कतैपनि सहज छैन् । यसले तत्काल शैक्षिक सत्रमा निरन्तर प्रहार गरिरहेको छ । शिक्षक विद्यार्थीमा पारेको मानसिक असर त झनै डरलाग्दो बन्दै गएको छ । सरकार तथा शैक्षिक संयन्त्र शिक्षा प्रशासन थप अन्यौल र किंकर्तब्यविमुढ देखिन्छ ।

२. शैक्षिक सत्रको अन्यौलता र अनिश्चितता आजको प्रमुख सवाल हो । यसको निर्णय सरकारले अर्थात शिक्षा मन्त्रालयले गर्ने हो, हामी शिक्षक वा विद्यार्थी वा अभिभावकले हैन । हालको विषम र जटिल स्थितिमा शैक्षिक सत्र खेर जान नदिने भन्दैमा पर्याप्त हुँदैन । कहिले श्रावण बाट भर्ना गर्ने, कहिले भाद्र १५ पछि मात्र भन्ने, अनि कहिले भाद्र मसान्त सम्म बन्दको सूचना गर्ने, यस्ता अस्थिर कुरा सरकारले गर्नै हुँदैन । कोरोनाको महामारी दिन दिनै बढिरहेको वर्तमान अवस्थामा स्थितिको ठोस र वस्तुगत विश्लेषण गरेर समयमै निर्णय दिनकै लागि त सरकारको आवश्यकता परेको हो । शैक्षिक सत्रलाई श्रावणबाट शुरु गरेर असारमा सक्ने गरी किटानी गर्दा उपयुक्त देखिन्छ । यसो गर्दा अझै तिन महिना पछि सामान्य बन्दै शिक्षण संस्था खोल्न सकिएमा यो सत्र कभर गर्न सकिन्छ । यस बिचमा आवश्यक तयारी र सावधानीका उपायहरुमा शैक्षिक जनशक्तिको प्रयोग गर्नेगरी योजना बनाउन सकिन्छ ।

३. कक्षा ११ र १२को परीक्षा संगै प्राविधिक शिक्षा र उच्च शिक्षाका विद्यार्थीहरुको परीक्षाले अधिक चर्चा पाएको छ । स्वभाविक पनि हो । मानसिक तनावले छटपटीमा रहेका विद्यार्थीहरु जाँच हुने मिति तोक्दै, रोक्द,ै स्थगितका र आश्वासनका सूचना हेर्दै समय कटाई रहेका छन् । सकेसम्म परीक्षामा नबसी एसईईको जस्तै नतिजा प्रमाणीकरण हुनुपर्ने माग विद्यार्थीहरु गरिरहेका छन् । उता, कक्षा १२को हकमा जाँच नलिई नतिजा दिन नसकिने र अन्तर्राष्ट्रिय स्तरमा समेत मान्यता पाउन नसक्ने भन्ने अडान सरकारी संयन्त्रको रहेको छ । कक्ष ११को भने परीक्षा बोर्डले विधि बाहिर ल्याई सकेको स्थिति छ ।

कक्षा १२ को जाँचलाई हालको परीक्षा केन्द्रहरुमा बृद्धि गरी सिफ्रट वाईज म्यानेज गर्न सकिन्छ । यसो गर्दा स्वास्थ्य सावधानीका सबै उपायहरु अवलम्बन गर्ने र सो को कडाईका साथ अनुगमन हुनु पर्दछ । सबै ठाउँहरुमा उस्तै अवस्था पनि त हैन । अति प्रभावित स्थानहरुमा विशेष सतर्कता गरे पुग्दछ । प्राविधिक तर्फका जस्को परीक्षा बिचैमा रोकिएको र केहि विषयको मात्र बाँकि रहेकाले त्यस्ता विषयहरुको मात्र मूल्याङ्कन सम्बन्धित विषयका प्रशिक्षकहरु बाट गराउने गरी निर्णय लिनु उपयुक्त देखिन्छ । स्नातक, स्नातकोत्तर तथा एमफिल समेतको परीक्षाहरु अनलाईन बाट सम्भव भै सकेको छ । यो तहका विद्यार्थीहरु अधिकांश प्रविधिको पहुँचमा रहेको तथ्याङ्कले देखाएको छ ।

४. विद्यालयस्तरमा सरकारले जारी गरेको वैकल्पिक शिक्षण सिकाई सहजिकरणको वस्तुगत र यथार्थ विश्लेषण पहिलो विषय बन्नु पर्दछ । यो प्रक्रियामा आउन नसकेका विद्यार्थीहरुको सहि तथ्याङ्कको आधारमा उपाय खोज्न सकिन्छ । स्थान र कोरोना संक्रमणको अवस्था हेरेर निर्णय लिनु जरुरी छ । अर्को तर्फ १०० भन्दा कम विद्यार्थीहरु भएको हजारौं विद्यालयहरुमा सावधानीपूर्वक आलोपालो सम्पर्क कक्षाहरु संचालन गर्न सकिने अवस्थाको उपयोग गर्नु राम्रो हुन्छ । प्रविधिको पर्याप्त पहुँच भएका विद्यार्थीहरु संग हाल अनलाईन कक्षा नै उपयुक्त छ । नेटको उपलब्धता र सहजतामा सरकारी हस्तक्षेप प्रभावकारी देखिनु पर्दछ । टिभिको कक्षालाई थप बिस्तार र प्रभावकारी बनाउन सकिन्छ । शैक्षिक क्रियाकलाप र विषय वस्तुको ई पोर्टल बनाएर डिभाईस विद्यार्थीको हातमा पुर्याउने काम गर्नाले सिकाई निरन्तर बन्न सक्दछ । यी सबै विकल्पहरुको प्रयोग स्थान र अवस्थाको आधारमा सम्बन्धित स्थानीयतहको प्रत्यक्ष निगरानीमा गर्न सकिन्छ ।

५. असहज र विषमतापूर्ण कोरोना महामारीको अवधिमा विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन, पाठ्यपुस्तक वितरण, अनलाईन कक्षा संचालान, भर्चुअल बैठकहरु, शिक्षण सिकाईका वैकल्पिक विधिहरुका प्रयोग बाट यो सत्रको शिक्षा गुज्रदैं आएको छ । सुक्ष्म शिक्षण अभ्यासहरु संगै प्रविधिको सक्दो उपयोगबाट विद्यार्थी संग शिक्षकहरुको उपस्थिति बाक्लै भएको हो । उच्च शिक्षामा अनलाईन कक्षाको प्रभाकारीता र सहभागितामा बृद्धि भएको छ । शिक्षकहरु निदाएका छैनन् भन्ने प्रमाण उनीहरुका शैक्षणिक क्रियाकलापहरु पर्याप्त छन् भन्न सकिन्छ । कम्प्युटर ह्याण्डलिङ्ग तथा सामग्री प्रिजेन्टेशनका तालिमहरु, मेची महाकाली माईक्रो टिचिङ्ग, ननिदाएका शिक्षकहरुको फेसबुक वाच पार्टी श्रृङ्खला जस्ता प्रत्येक दिन प्रसारण भै रहेका कार्यक्रमहरुमा संलग्न शिक्षकहरु साँच्चै निद्रा, भोक, आदि सहेर रातको १० बजे सम्म प्रत्यक्षरुपमा शिक्षण सिकाईका सबालमा चिन्तन र छलफल गरिरहनुलाई उच्च चासो र महत्वका साथ हेरिएको छ ।

तैपनि हालका दिनहरुमा शिक्षक प्राध्यापकहरु आलोचनामुक्त भने हुन सकेका छैनन् । दुई लाख भन्दा बढि दरबन्दिका शिक्षकहरुमध्ये मात्र दश प्रतिशत शिक्षण सिकाई क्रियाकलापमा संलग्न रहेको र अन्य बेखवर रहेको भन्ने आरोप सत्यताको नजिक छ । संख्या थोरै फरक हुन सक्छ तर यथार्थमा यो पाँच महिनाको अवधिमा स्कूलमा पाईला नै नटेक्ने ,वैकल्पिक शिक्षणविधि कुन चराको नाम हो भन्ने पत्तो नभएको, आफ्ना विद्यार्थीहरुको कुनै सरोकार नराख्ने तर तलबभत्ता र बढुवाको भने दैनिक नै चासो भएकाहरुको संख्या अधिक छ । सत्य तितो हुन्छ र कहिलेकाँही पचाउन पनि कठिन बन्ने रहेछ । यो महामारीमा बाहिर ननिस्कन त सरकारले नै भनिरहेको छ । तर घर भित्रैबाट प्रविधि मार्फत शिक्षकले आफ्ना विद्यार्थी तथा अभिभावकहरु संग शैक्षिक क्रियाकलापमा जोडिन जरुरी छ ।

६. अनेक बहाना बनाएर अनावश्यक तर्क गर्न खप्पिस शिक्षा मन्त्रालय र यसका तमाम संयन्त्रहरु यो विषम अवस्थामा कुम्भकर्णको अभिनयमा ब्यस्त रहेको छर्ल¨ छ । यसो भन्दा नगण्य शिक्षा प्रशासकहरु जो ईमान्दार र कर्तब्यनिष्ठ छन् उनीहरुलाई जिम्मेवारीले अनिंदो बनाएकाहरु प्रतिको गुनासो पटक्कै हैन , ती साँच्चैका सम्मान गर्न योग्य छन् । योजना विहिन जागिरे अधिकृत तथा कर्मचारीहरु यो राष्ट्रका बोझ हुन जो आफू र आफ्नाको लाभ संगमात्र जोडिएका छन् । शिक्षकहरुको अनुगमन गर्ने, उनीहरुलाई विजिनेस दिनुपर्ने, बारम्वार फलोअप गनुपर्ने ठूला र उपल्लो पदासिन कहलिएका प्रशाशकहरुको झनै बेखवरले नागरिकहरु दिक्क र निराश भेटिन्छन् । आफ्नो कुनै योजना नभएको र माथीको मुख ताक्ने संस्कारबाट जकडिएको कर्मचारी संयन्त्रलाई अपवादका बाहेक भाषणमा ठूला कुरा गरेर चाकडीको चास्नीमा मात्र रमाउने प्रदेश र स्थानीय तहका सरकार एवम् जनप्रतिनिधिहरुले विजिनेस दिन नसकेको तथ्य छिपेको छैन ।

७. विपदको सामना गर्नु हाम्रो नियति नै बनैको छ । हामीले कोरोनालाई जित्नै पर्ने बाध्यता छ । हामी यो दुष्ट भाईरसको अन्त्य गरिछाड्ने उच्च मनोबलका साथ अहिले कोरोना संग जुधिरहेका छौं र हामीलेै केहि दिनमै विजय प्राप्त गर्ने अभियानमा छौं । शैक्षिक सत्रको सुनिश्चितता सरकारले दिनु पर्दछ । सत्र लम्ब्याएर वा पाठ्यवस्तुको घेरा साँगुरो बनाएर र सबै प्रकारका सम्भाब्य उपायहरु अवलम्बन गरेर हामी पढाउन सिकाउन तयार छौं । विद्यार्थी र अभिभावकको सहयोगमा यो जिम्मा शिक्षकलाई दिए हुन्छ ।

-हेटौंडा

प्रतिकृया दिनुहोस्