काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश दहालले मन्त्रालयले एसईई तथा कक्षा ११–१२ को परीक्षा सञ्चालनका सम्बन्धमा तीनखाले विकल्पको तयारी गरिरहेको बताएका छन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आइतवार आयोजना गरेको एसईई तथा कक्षा ११ र १२ को परीक्षा व्यवस्थापन कसरी ? विषय भर्चुअल अन्तक्र्रियामा बोल्दै सचिव दहालले एसईई र कक्षा ११–१२ को परीक्षा सञ्चालनका सम्बन्धमा मुख्य ३ वटा विकल्पको तयारी भइरहेको बताए ।

पहिलो, तत्कालै स्थिति सामान्य भए पूर्व तयारीकै आधारमा सामान्य ढङ्गले परीक्षा सञ्चालन गर्ने, दोस्रो, तत्काल लकडाउन खुल्न सकेन भने अहिलेका परीक्षा केन्द्रमा थप ३ उपकेन्द्र थपेर दूरी कायम राख्दै परीक्षा सञ्चालन गर्ने र तेस्रो, स्थिति गम्भीर बन्दै गए, महामारी बढ्दै गए परीक्षा सञ्चालन गर्न सम्भव नहुन सक्छ त्यस्तो अवस्थामा विश्वमा अन्य देशले पनि अवलम्बन गर्ने गरेको विद्यमान मूल्याङ्कन, अनलाइनबाट खासखास विषयका पेपेर लिएर मूल्याङ्कन गर्ने जस्ता विभिन्न विकल्पमा जान सकिन्छ । सचिव दहालले भने ।

यदि असारको १५ सम्मपनि यही अवस्था विद्यमान रहिरह्यो वा परीक्षा सञ्चालन गर्ने अवस्था रहेन भने भइसकेका परीक्षालाई आधारमान्ने, विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार मान्ने वा अन्य विकल्पमा पनि अगाडि बढ्न सकिने उनले बताए ।

अहिले नै त्यो अवस्थामा नपुगिएको र भर्खरै नयाँ शैक्षिक सत्र शुरु हुन लागेकाले अहिल्यै आत्तिहाल्ने अवस्था नभएको उनले जिकिर गरे ।

जेठ १५ सम्म परीक्षा लिने वातावरण बन्यो भने सामान्य ढङगले नै अगाडि बढ्ने यदि जेठ १५ उता जाने अवस्था आए विकल्पहरुमा जाने तयारी भइरहेको उनले बताए ।

होमसेन्टर बनाउने र अनलाइनबाटै परीक्षा सञ्चालन गर्ने विषय भने अहिलेलाई सम्भव नभएको उनको भनाइ छ ।

लकडाउन हटेको १५ दिनपछि एसईई परीक्षा सञ्चालन गर्ने मन्त्रालयको तयारी रहेको समेत सचिव दहालले जानकारी दिए । १५ दिनको समयपनि कतिपय विद्यालयमा क्यारेन्टाइन रहेकाले केन्द्र सार्न वा परीक्षाका लागि तयार पार्न समय चाहिने उनले स्पष्ट पारे । कतिपय विद्यार्थीहरु घरघरमा पुगेकाले उनीहरुलाई पनि समय दिनुपर्ने अवस्था रहेको उनले बताए ।

परीक्षाका लागि पहिलो शर्त भनेकै लकडाउनको स्थितिमा सुधार हुनु रहेको उनको भनाइ छ । पहिले कक्षा ११ र १२ लाई पनि एसईईसँगै सञ्चालन गर्ने भनिएपनि सकिन्छ कि सकिदैन टुंगोमा पुगीनसकिएको उनले बताए ।

लकडाउनको निर्णय र परीक्षा सम्बन्धी अध्ययन गर्न बनेको राष्ट्रिय परीक्षाबोर्डका अध्यक्षको नेतृत्वको विज्ञ समितिको सुझाबका आधारमा मन्त्रालयले परीक्षाबारे निर्णय गर्ने सचिव दहालले स्पष्ट पारे ।

‘एसईई परीक्षाको सम्पूर्ण तयारी सकिसकेको अवस्थामा स्थगित भएकाले यसको सञ्चालनमा खासै समस्या नहोला ।’ उनले भने ।

यो सम्पूर्ण शिक्षा र परीक्षा प्रणालीमा सुधार गर्नुपर्ने उपर्युक्त बेला भएको र कोरोना भाइरसको वातावरणबाट सरकारले अवसरपनि पाएको सचिव दहालले बताए ।

सचिव दहालले कक्षा ११ र एसईई परीक्षाको कुनै औचित्य नभएको भन्दै  यसलाई हटाउने विषयमा ५–६ महिना भित्रमा केही निर्णय हुन सक्ने बताए ।

‘१२ कक्षालाई विद्यालय तहको अन्तिम परीक्षा मानिसकेपछि ११ र एसईई परीक्षा गरिरहनु नपर्ने भएपनि विगतको प्रचलन र अभिभावकको लिगेसीका आधारमा यसलाई निरन्तरता दिन सरकार बाध्य रहँदै आएको उनको भनाइ थियो । अहिलेको  संक्रमणकालीन अवस्थालाई अवसरको रुपमा लिन सकिन्छ’– उनले भने ।

मन्त्रालयले यसका लागि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षकै नेतृत्वमा विज्ञ समिति बनाएर काम गरिरहेको पनि सचिव दहालले जानकारी दिए । यस विषम परिस्थितिमा कक्षा १२ को परीक्षालाई विकेन्द्रिकरण मोडलमा लैजाने विषयमासमेत छलफल भइरहेको उनले बताए ।

अब परीक्षाहरुलाई स्थानीय तहमै सकभर घरपायक परीक्षा केन्द्र तोकेर एकअर्का विद्यालयमा कपी परीक्षण गर्न सकिने विकल्प बारे पनि छलफल भइरहेको उनले जानकारी दिए ।

परीक्षा केन्द्र बढाउने, उपकेन्द्र थप्ने, सकभर घरपायक परीक्षा दिने अवस्था सिर्जनागर्ने, परीक्षा केन्द्रमा स्यानिटाइजर, मास्क, सामाजिक दुरी, साबुनपानी, गेटमै तापक्रम मापन गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको सचिव दहालले बताए ।

साउनदेखि नयाँ शैक्षिक सत्र शुरु गर्न सके वर्खे र हिउदे विदा समायोजन गरेर त्यसलाई पूर्णता दिन सकिन्छ भन्ने मन्त्रालयको सोच रहेको उनले बताए ।

२०७७ बैशाख १४ गते १५:२२मा प्रकाशित

प्रतिकृया दिनुहोस्