• 'केही वर्षभित्रै मुलुककै उत्कृष्ट सामुदायिक विद्यालय बनाउनेछौं'
    ()

  •  


    दिवाकर दूरदर्शी
    प्रधानाध्यापक, शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्ज, काठमाडौं

     

    विद्यालय कस्तो अवस्थामा छ ?
    हाम्रो विद्यालय काठमाडौंको मुटु महाराजगञ्जमा रहेको छ । यहाँ स्थानीयसँगै ७५ जिल्लाकै विद्यार्थी पढ्छन् । हामीले निरन्तर अभिभाकसँगको छलफल र सुझावका आधारमा सुधार गरिरहेकाले पनि हाम्रो विद्यालय सामुदायिकहरुतर्फ राम्रो विद्यालयमा गनिन पुगेको छ । हामी निरन्तर शैक्षिक गुणस्तर सुधारमा लागिरहेका छौं ।


    विद्यालयका राम्रा अभ्यासहरु के–के छन् ?
    सबैभन्दा राम्रो विषय भनेको हाम्रो ‘टिमवर्क’ राम्रो छ । जसले व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएको छ । अडियो÷भिडियो ल्यावबाट सिकाउने गर्छौं । कोर्ससँगै अन्य शैक्षिक जानकारी र विषयवस्तु खोजेर सिकाउँछौं । शिक्षक र विद्यार्थीले छलफल गर्दै सिक्ने वातावरण निर्माण गरेका छौं । सायद, सामुदायिक विद्यालयमध्ये सबैभन्दा पहिले कम्प्यूटर शिक्षा दिने विद्यालय यही नै होला । यहाँ २०४८ साल देखि नै कम्प्यूटर शिक्षा दिँदै आएका हौं । यहाँको पुस्तकालयमा दश हजारभन्दा बढी पुस्तक छन् । हामीले पुस्तकालयलाई पनि सिकाइ कक्षाको रुपमा प्रयोग गर्दै आएका छौं । शुद्ध खानेपानीको व्यवस्था छ । विद्यार्थीले यहाँ मात्र नभई घरमै लगेर पनि शुद्ध पानी पिउने सुविधा उपलब्ध गराएका छौं । आधुनिक र व्यवस्थित विज्ञान प्रयोगशाला स्थापित छ । खेलकुद, क्यान्टिन, अतिरिक्त क्रियाकलापमा विशेष ध्यान दिएका छौं ।


    शैक्षिक गुणस्तरको अवस्था कस्तो छ ?
    विगत लामो समयदेखि एसएलसीको नतिजालाई हेर्ने हो भने हामीकहाँ वर्षेनी ९० प्रतिशतमाथि विद्यार्थी उत्तीर्ण हुने गरेका हुन् । वर्षेनी सयभन्दा बढी विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुने गरेका थिए् । हरेक कक्षाको सिकाइ उपलब्धि पनि उत्कृष्ट छ । ११ र १२ कक्षामा पनि यहाँका विद्यार्थी अन्त पढ्न जाँदैनन् । प्रायः यही नै पढ्छन् । यसले पनि हाम्रो सिकाइ राम्रो छ भन्ने प्रमाणित गर्दछ ।


    विद्यालय राम्रो बनाउन कस्तो प्रयास भएका छन् ?
    हाम्रो टिमवर्क र व्यवस्थापन पक्ष एकदमै राम्रो छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघबाट नियमित सहयोग र सहकार्य हुँदै आइरहेको छ । शिक्षकहरुले विद्यार्थीकेन्द्रित शिक्षण सिकाइ गर्दै आइरहेका छन् । हामीले विद्यार्थी सन्तुष्ट हुनेगरी सिकाउँदै आएका छौं ।


    यो विद्यालयमा अंग्रेजी माध्यममै पढाइ हुँदै आएको रहेछ । यसको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
    हामीले भएकै शिक्षकहरुलाई विभिन्न अंगे्रजी शिक्षण तालिम दियौं र नयाँ दरबन्दीमा नियुक्त गर्दा वा सरुवा गरेर ल्याउँदा पनि अंग्रेजी भाषालाई प्राथमिकता दियौं । अहिले विद्यालयमा १ देखी ५ कक्षासम्म पूरै अंगे्रजी माध्यममा पठनपाठन हुन्छ । बाहिरबाट आएका विद्यार्थीका लागि कक्षा ५ भन्दा माथि अंग्रेजी र नेपाली दुबै माध्यममा पढाउँदै आएका छौं । शिक्षकहरु आफैं पनि मिहिनेत गरिहनुभएको छ भने आवश्यक तालिम विद्यालयले व्यवस्थापन गर्दै आएको छ ।


    अंग्रेजी भाषाको माध्यममा पढाउँदा पाठ्यपुस्तक कसरी व्यवस्थापन गर्नुभएको छ ?
    हामीले कक्षा १ देखि ५ सम्म पाठ्यक्रम विकास केन्द्रले अंग्रेजीमा अनुवाद गरेका पाठ्यपुस्तक नै पढाउँदै आएका छौं । माथिल्ला कक्षाहरुमा भने शिक्षकहरुले छलफल गरेर छानेका निजी प्रकाशकहरुकै पुस्तक पढाउँदै आएका छौं । सरकारले अंग्रेजी माध्यमका पाठ्यपुस्तक उपलब्ध गराएको छैन । त्यसैले, नेपाली माध्यमका पुस्तकहरु निःशुल्क दिन्छौं तर अंग्रेजी माध्यमका पाठ्यपुस्तकहरु विद्यार्थीले आफैं किन्नु पर्छ । विद्यार्थीले अंग्रेजी माध्यममा नबुझेका कुरा नेपाली माध्यमको पुस्तक हेरेर सिक्ने गर्छन् । पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेको पुस्तकहरुमध्ये शिक्षकहरुले छानेका विभिन्न प्रकाशका पुस्तकहरु पढाइएको हो । हामीले विगतदेखि नै अंग्रेजी माध्यमको पुस्तकहरुको माग गर्दै आएका छौं ।


    सरकारको ठूलो लगानीका बाबजुद सामुदायिक विद्यालयको गुणस्तर कम हुनको कारण के होला ?
    यसका लागि एउटै पक्षको भन्दापनि सबैको दोष रहेको छ । शिक्षक पर्याप्त नहुनु, अवकाश वा सरुवा भएर शिक्षकहरु गएपछि नयाँ शिक्षक नियुक्ति गर्न ६ महिना बढी समय लाग्छ । निजीमा तुरुन्तै शिक्षक नियुक्त हुन्छन् । आर्थिक दृष्टिले निम्न वर्गका अभिभावकहरु धेरै छन् । उनीहरुको छोराछोरीको पढाइप्रति चासो कम छ । फेरि शहरी क्षेत्रका विद्यालयमा घरेलु कामदार विद्यार्थीहरुको संख्या बढी छ । उनीहरु घरेलुाकाममै व्यस्त हुन्छन् । घरमा पढ्न, समयमा विद्यालय आउनै समस्या छ । हाम्रा विद्यालयहरुमा विद्यार्थी नै व्यस्त, पीडित, मजदूरी गर्ने छन् । अनि कसरी आउँछ त राम्रो नतिजा ? अनि, सरकारको नीति तथा कार्यक्रममा पनि त कमजोरी छन् ।


    सुधारको शुरुवात कहाँबाट गर्नुपर्ला ?
    नीति निर्माणदेखि नै सुधार शुरु हुनु पर्छ । काम नगर्ने, अल्छि र दलका कार्यकर्ता शिक्षकहरुलाई हटाउने नीति आउनु पर्छ । त्यो सरकारले अनुगमन गर्नु पर्छ । सरकारले मात्र कार्यालय व्यवस्थापनमा ध्यान दिएको छ । शैक्षिक र गुणस्तर व्यवस्थापनमा सरकार उदासीन देखिन्छ । तलब दिने, फारम भराउने, तथ्याङ्क लिने काममा मात्र व्यस्त छ । तालिम त दिन्छ तर काम चलाऊ मात्रै छ । पुरातन खालको छ । शिक्षकहरु तालिम लिनै उत्साही देखिँदैनन् । विद्यालय क्षेत्र सुधार कार्यक्रमले हालसम्म के–के सुधार ग¥यो र विद्यालय क्षेत्र विकास कार्यक्रमले शिक्षामा के–के सुधार आउँछ भनेर सरकारले प्रष्ट पार्न सकेको छैन । विद्यालय तह ९–१२ बनाउने विषय सन् २००९ मै आयो । तर, परिवर्तन आएन । ग्रेडिङले झनै समस्यन ल्यायो । ‘सबै पास’भन्दा विद्यार्थी र अभिभावकले ‘एसएलसीमा नपढेपनि फेल भइँदैन’ भन्ने बुझे । सबै पास भन्ने अनि यति ग्रेड ल्याउनेलाई मात्रै भर्ना गर्ने भनेपछि धेरै विद्यार्थीहरु कक्षा ११ मा भर्ना हुन पाएनन् । यसको तयारी पहिल्यै हुनुपथ्र्यो । कक्षा ८ मा पनि नतिजा प्रकाशित हुने अघिल्लो दिन ग्रेडको कुरा आयो । ग्रेडले गञ्जागोल बनाएको छ । विद्यालय नियमित गर्न समस्या छ । देशमा भएको भाडभैलो शिक्षामा पनि सरेको छ । शिक्षामन्त्रीले एक हप्ता पछि आउँछ भनेको नियमावली वर्ष दिनसम्म आएन । विद्यालय खुलोस्, नखुलोस्, पढाओस्÷नपढाओस्, राजनीति गरोस्÷नगरोस्, सरकारलाई वास्ता छैन । निरीक्षणलाई चुस्तदुरुस्त बनाउनै पर्छ ।


    शिक्षक तालिम कक्षाकोठामा पुगेको लाग्छ त ?
    अरुमा म भन्न सक्दिनँ तर हाम्रो विद्यालयमा चाहिँ प्रयास गरिएको छ । आज के पढाउने भनेर हामी पूर्व तयारी नै गर्छौं । कुन सामग्री खोज्ने, कस्तो शैक्षिक सामग्री लिएर कक्षामा जाने भन्ने तयारी हामीकहाँ हुन्छ । शिक्षक डायरी बनाएर हामीले योजनाबद्ध सिकाइ क्रियाकलाप गर्दै आएका छौं । हामीले तालिम र अन्य राम्रा विद्यालयहरुको अवलोकनमा सिकेका सीपहरु लागू गर्ने प्रयास गर्दै आएका छौं ।


    विद्यालयका खास समस्याहरु के–के छन् ?
    गुणस्तर राम्रो भएपछि घरेलु कामदर विद्यार्थीका अभिभावकहरु विद्यालयमा भर्ना गर्न डराउँदा रहेछन् । धेरै मिहिनेत गराउने र घरमा काम गर्न समय नपाउने, राम्रो पढाइ भएपछि मागहरु बढ्ने साथै लगातर पास हुँदा उच्च शिक्षा पढ्न अन्त जान सक्ने भन्दै उनीहरु विद्यालयमा भर्ना गराउन चाहँदैनन् । विद्यार्थीलाई फेल गरिदिन दबाब समेत दिने गरेका छन् । निम्न वर्गका युवा विद्यार्थीहरु कुलतमा फस्न सक्ने, घरेलु हिंसाको शिकार बन्न सक्ने, अन्य गलत काममा आकर्षित हुन सक्ने सम्भावना समेत रहन्छ । हामीले त्यसमा विशेष ध्यान दिने गरेका छौं ।


    विद्यालय सुधार्न अबका योजना के–के छन् ?
    अडियो/भिजुवेल कक्षाको विस्तार गर्ने, शिक्षकहरुलाई विद्यार्थीको सिकाइप्रति अझ जिम्मेवार बनाउने, सिकाइमा विभिन्न आधुनिक प्रविधि भित्र्याउने, खोजमुलक सिकाइ, अवलोकनमा आधारित सिकाइलाई व्यवस्थित गर्ने हाम्रो लक्ष्य छ । हामी केही वर्षभित्रै मुलुककै उत्कृष्ट सामुदायिक विद्यालय बन्नेगरी अगाडि बढिरहेका छौं ।

    प्रस्तुति : रोशन क्षेत्री गाउँले

    साभार : आजको शिक्षा साप्ताहिक