एसईई नतिजा पछिको वितृष्णा र सहानुभूति

Avatar photo

Byएजुकेशन पाटी

१३ भाद्र २०७७, शनिबार ,

वि.सं २०७६ सालको माध्यमिक शिक्षा परीक्षा गत चैत्र ६ गते देखि सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा कोभिड–१९ महामारीको कारण देखाइ चैत्र ५ गते परीक्षा स्थगित गर्ने निर्णय सरकारले गर्यो । यो समयसम्म आइपुग्दा करिब ४ लाख ८५ हजार विद्यार्थी तथा परीक्षा सञ्चालनमा खटिएका कर्मचारीहरु आ–आफ्नो परीक्षा केन्द्रमा पुगिसकेको अवस्था थियो । ।

तर, तोकिएका परीक्षा केन्द्रमा कोभिड–१९ महामारीका कारण परीक्षा सञ्चालन गर्न सम्भव बनेन, सरकारलाई त्यो अनुभूति भयो र परीक्षा स्थगित हुनपुग्यो । जुन निर्णय अनुपयुक्त समयमा गरिएको भए पनि सान्दर्भिक थियो । दुःखको कुरा, करिब ३ महिनाको पर्ख र हेर को नीति मुताविक पनि विद्यार्थीहरु परीक्षा केन्द्रमै उपस्थित भएर परीक्षा लेख्ने सहज वातावरण बनेन ।

महामारी झन् जटिल बन्दै गयो । फलस्वरुप शैक्षिक सत्रको क्षति तथा विद्यार्थीहरुको मानसपटलमा आघात नपुगोस् भनेर नेपाल सरकार मन्त्री परिषद्को गएको जेठ २८ गतेको निर्णयबाट राष्ट्रिय परीक्षा बोर्डलाई माध्यमिक शिक्षा परीक्षा (एसईई.) कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ जारी गर्न आदेश दियो ।

सोही कार्यविधिले विद्यालयले सञ्चालन गरेको आन्तरिक परीक्षामा प्राप्त गरेको प्राप्ताङ्कलाई आधार मानी विद्यालयस्तरीय ३ सदस्यीय सिफारिस समितिले सिफारिस गरी पठाएको अङ्कका आधारमा शिक्षा विकास तथा समन्वय इकाइहरुबाट प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउने र बोर्डले त्यसरी आएको विद्यार्थीहरुको प्राप्ताङ्कलाई संकलन, रुजु र ग्रेडिङ गरी नतिजा प्रमाणीकरण गर्ने व्यवस्था गर्यो । अन्तत यी सबै प्रक्रिया पूरा गरी राष्ट्रिय परीक्षा बोर्डले २०७७/०५/०१ गते, २०७६ सालको माध्यमिक शिक्षा परीक्षाको नतिजा जस्ताको त्यस्तै प्रमाणीकरण गरी सार्वजनिक गर्यो ।

यी सब विधि र प्रक्रियाका कुरामा कहिँ खोट लगाउने ठाउँ देखिदैन । विद्यार्थी कुनै प्रक्रियामा समावेश पनि देखिएको छैन् । परीक्षा दिन जाने बेला भयो गयो, परीक्षा कैन्द्रमै पुगेर मात्र परीक्षा स्थगितको सूचना पायो घर फर्केर आयो । लामो समय परीक्षाको पर्खाइमा बितायो । जब परीक्षा नहुने सूचना पायो तब पनि चुप नै रह्यो । आन्तरिक परीक्षामा प्राप्त गरेको प्राप्ताङ्कलाई नै आधार मानेर नतिजा सार्वजनिक हुने हल्ला चल्यो त्यस बेला पनि कुनै प्रतिक्रिया जनाएन । नतिजाको प्रमाणिकरण पछि पनि विद्यार्थी स्वयम्को कुनै गुनासो आएको सामाजिक सञ्जालमा सुनेको छैन् ।  तर २०७६ सालको माध्यमिक शिक्षा परीक्षाको नतिजा प्रकाशन पश्चात थुप्रै राम्रा नराम्रा टिका टिप्पणीहरु आएका छन् ।

यसले फेरी एक पटक शिक्षक र विद्यालय प्रति भ्रम फैलाएको छ । अविश्वास खडा गराएको छ । धेरै शिक्षाविद् जन्माएको छ । भएको बचेको शिक्षाको शाख गिराउन खोजिएको छ । अवोध बालबालिकाको प्रचुर क्षमता माथि अनावश्यक शंकाको बहस
चलाउन खोजिंदै छ ।

भविष्यको सुनौलो सपना बोकेका बालबालिकाको खुसी अपहरण गर्न खोजिएकोछ । धेरै बालबालिकाहरु अवाचिक हिंसाले ब्यथित हुन लागेका छन् । उत्कृष्ठ सिकाइ तथा क्षमता प्रदर्शनामा रमाउन खोज्ने जोकोहि विद्यार्थीको मष्तिस्कमा गम्भिर चोट पुगेको छ ।

यति भनिरहँदा त्रुटि कहाँ भयो केलाउनु जरुरी छ । शिक्षकले विद्यार्थीको सहि मुल्याङ्कन कर्ताको मुख्य पात्रको भूमिकामा प्रश्न उठाउने ठाउँ अवश्य पनि दिनु हुने थिएन । अनेकन पत्रपत्रिका तथा आधिकारीक डकुमेन्टले विश्लेषणात्मक तथ्याङ्क नै सार्वजनिक गरिरहँदा म एउटा शिक्षकको नाताले नतमस्तक छु । यो क्रम सामुदायिक विद्यालयको तुलनामा अझ बढी संस्थागत विद्यालयमा पाइयो ।

हुन त ग्रेडिङ पद्धतिमा हामीलाई अंकन गर्दा उनान्नब्बेलाई नब्बे बनाउन त निर्देशन नै हुन्थ्यो तर अहिले हामीलाई स्वतन्त्र छोडिदिँदा केहि गडबडी भयो । हामी प्रण गरौं भविष्यमा यस्तो हुनेछैन, विश्वसनीय र वस्तुनिष्ठ हिसाबले मुल्याङ्कन हुन्छ । सिर्जनशिलता, मौलिकता, प्रतिष्पर्धामा अधिक विश्वास गर्ने जो कोहि विद्यार्थीले बेखुसी महशुस गर्नु नपर्ने स्थिति सिर्जना हुन्छ ।

अझ प्रश्न उठ्छ के यो सब शिक्षककोे कारणबाट उब्जेको परिणति हो ? वा समय र परिस्थितिले उब्जाएको हो । यसको सबै जिम्मेवारी शिक्षकले मात्र व्यहोर्नु पर्ने हो वा अरुले पनि । अन्य पद्धतिगत तथा संस्थागत त्रुटिहरु नभएका हुन् त ? संविधानको मर्म अनुसार पनि माध्यमिक तह सम्मको शिक्षाको जिम्बेवारी स्थानीय निकायको हो, उक्त तह सम्मको शिक्षाको व्यवस्थापन स्थानीय तहले गर्नु पर्ने तर संविधान कार्यान्वयनको थुप्रै वर्ष गुजारीरहँदा पनि संघीय शिक्षा ऐन जारी गर्न सकिएन ।

जसले गर्दा शिक्षा ऐन २०२८ को आठौं संशोधनको व्यवस्था अनुसार राष्ट्रिय परीक्षा बोर्डबाट नै कक्षा १० को परीक्षा सञ्चालन गर्नुपर्ने स्थिति आयो । संघीय संरचना अनुसार परीक्षाको सञ्चालन व्यवस्थापन गर्न सकेको भए केहि अन्य उपाय आउन सक्थे कि ?

विशेष गरी यस लेखको मूल आशय सङ्गीन पीडाबोधमा रहेका बालबालिकाको चिन्तनलाई बदल्न खोज्नु मात्र हो । विद्यार्थी भाइवहिनीहरु अब आफूले पाएको शैक्षिक प्रमाणपत्रको साख जोगाउने जिम्बा तिमीहरुको काँधमा पक्कै आएको छ । लामो इतिहास बोकेको लामो समय आफूले अध्ययन गरेको विद्यालयको प्रतिष्ठा गुम्न दिनुभएन । यहाँ म केहि ऐतिहासीक तथा भागवत गीता ग्रन्थका केहि असल सन्देश राख्न चाहन्छु, गीतामा भनिएको छ “गलत सोचाइ जीवनको समस्या हो”। “जीवनमा अगाडि बढ्नु छ भने आफ्नो कर्तव्य र बाटो कहिल्यै छाड्नु हुन्न”।

अमेरीकी पूर्व राष्ट्रपति अब्राहम लिङ्कनमा सत्य माथिको अटुट आस्था थियो । त्यसैले उनी प्रखर रुपमा वास्तविक र अवास्तविक छुट्याउन सक्थे । यहि विवेक प्रयोग गर्नसक्ने गुणले गर्दा उनले जीवनमा जस्तोसुकै उतारचढावको सामना गर्नुपरे पनि कहिल्यै निराश भएनन् । स्वच्छ तरीकाले अगाडि बढ्दै जाँदा अमेरीका जस्तो शक्तिशाली राष्ट्रको राष्ट्रपति बन्न सके ।

सिद्धार्थ गौतम सानै देखि जिज्ञासु थिए, उनमा सोधपुछ गर्ने उत्साह थियो, जुन बानीले उनलाई हरेक क्षेत्रमा ज्ञानको खोजी गर्ने सन्दर्भमा साथ पुग्यो र जीवनजगत्को सत्य पत्ता लगाई महामानव गौतम बुद्धको रुपमा जगतपुजनीय भई अमर बने ।

युधिष्ठिर कहिल्यै बकबक बोल्दैनथे किनकि बोली अन्तर हृदयको अवाज हो । बकबके पनाले झुट पैदा गर्छ, एक अर्कालाई हानी गर्छ, कम बोल्ने र धेरै सुन्ने बानीले सबैलाई सत्यको नजिक पुर्याउँछ भन्ने उनले बुझेका थिए ।

एसईई नतिजाका बारेमा धेरै भ्रम र थोरै वास्तविकता देखिने गरी टिप्पणीहरु आए । त्यस कुरालाई एस.ई.ई को नतिजा प्राप्त विद्यार्थीहरुले गलत अर्थमा नलिनु किनकि गलत सोचाइले समस्या ल्याउँछ, त्यसलाई सकारात्मक टिप्पणीका रुपमा बुझेर अगाडि बढ्नु । तिम्रो बाटो कसैले भनेजस्तो समस्याग्रस्त छैन् अनि बाटामा संगीन मोडहरु पनि छैनन् तिम्रा भित्री चाहना र आकांक्षाले जस्तोसुकै पहाड फोर्न सक्छ यदि तिमीहरुमा साहास अनि इच्छाशक्ति छ भने ।

सहि विवेकले विवेकहिन तर्कलाई परास्त गर्नसक्नुपर्छ बुझ । जीवन र जगत हामीले सोचे जस्तो सरल र सहज छैन् । असल ज्ञानको खोजि गर्दै रहनु जसले संसार बुझ्न अनि सुख दुःख को यथार्थ भ्रम चिर्न मद्दत गर्दछ । क्षणिक सुखको अनुभूतिले थोरै समय रमाउन सकिन्छ तर जिन्दगी भर आनन्द दिदैन ।

एस ई ई नतिजाको कटु आलोचकहरुलाई आलोचित व्याक्तिहरुले यस सवालमा उठेका कैयन प्रश्नको जवाफ भोलिका दिनमा दिनुपर्नेछ र त्यो जवाफ यस्तो हुनुपर्नेछ । एसईई नतिजाको नकारात्मक टिका टिप्पणी भ्रम तथा एउटा कुण्ठा मात्र थियो । शिक्षकहरुले गरेको मुल्याङ्कन विश्वसनीय र तथ्यपरक नै हुँदोरहेछ । संस्थागत रुपमा विद्यालयहरु माथि भए गरेको अविश्वास र शंका मिथ्या रहेछ । बालबालिकाहरु माथि पनि अथाह क्षमता,औकात र उर्जा हुँदोरहेछ ।

विद्यार्थी मूल्याङ्कन सिकाइमा नै आधारित हुने रहेछ । प्रगतिको बाधक कोहि पनि हुनै सक्दैन, त्यो त खाली नकारात्मक सोंच मात्र हो । समय परिस्थिति अनुसार विभिन्न समयमा विभिन्न मापदण्डमा आधारित मूल्याङ्कन पद्धति हुँदा को जनशक्ति पनि कामै नगरेर बसेको छैन् । शिक्षकहरुले जिम्मेवारी तथा जबाफदेहिता बहनमा कुनै कन्जुस्याँइ गरेका रहेनछन् । त्रुटि तथा कमजोरीलाई सबैले अपनत्व ग्रहण नगरी बस्न वा आफू पन्छिन नसकिने रहेछ । ऐन कानुन तथा नीति निर्माणमा भएको ढिलासुस्ती वा संरचनागत अन्योलता पनि यस कुराको जड रहेछ ।

“भवतु सर्व मंगलम्”

दाहाल बाल मन्दिर मावि गोकुण्डेश्वर धनकुटा –५ का शिक्षक हुन्

प्रतिकृया दिनुहोस्