त्यसैले म शिक्षण पेसामा आएँ

Avatar photo

Byएजुकेशन पाटी

२७ जेष्ठ २०७७, मंगलवार

धेरै व्यक्तिका लागि शिक्षण पेसा त्यत्ति आकर्षक होइन । पटकौंपटक लोकसेवामा असफल भएर वा अन्य काममा त्यत्ति सफल नभएपछि शिक्षण पेसामा प्रवेश गर्नेहरू धेरै छन् । विद्यालय वा विश्वविद्यालय जहाँ कहीँ यस्ता शिक्षक र प्राध्यापकहरू बग्रेल्ती भेटिन्छन् । स्वभाविकै हो, शिक्षण पेसामा तलबका अतिरिक्त अरू आम्दानीका खासै स्रोतादि हुन्नन् । त्यसैले विश्वविद्यालय प्राध्यापनमा प्रवेश गरेका अधिकांश अध्यापकहरूको पनि कसरी प्रशासनिक पदमा जाने भन्ने इरादा सदैव हुने गर्छ । विश्वविद्यालयका कक्षा कोठामा अध्यापन गर्नुलाई भन्दा प्रशासनिक काममा संलग्न हुनुलाई कतिपय प्राध्यापकहरू आफ्नो विशिष्ट रूचि देखाउँछन् ।

त्यसैले होला शिक्षण पेसा भन्ने वित्तिकै कतिपय मेरा साथीहरू अझै पनि नाक खुम्च्याउँछन् । कहीँ नबिकेर वा अन्यत्र बिक्ने वातावरण नबनेर पो विश्वविद्यालयको अध्यापनमा गएको हो कि भन्ठान्छन् । केही समय अघि मेरा एकजना पुराना मित्रसँग भेट भएको थियो । हामीले केही समय सँगै बसेर कफी पिउँदा उनले घुमाइफिराई झन्डै आधा दर्जनपटक एउटै प्रश्न सोधे –तिमी किन शिक्षण पेसामा लागेको ? म सन् २००३ मा ससाना सपना र तीहरूलाई पूरा गर्नका लागि संघर्ष गर्ने ठूल्ठुला योजना बोकेर राजधानी भित्रिँदाका साथी थिए –उनी । काठमाडौँका गल्लीका लम्बाइ हामीले पैदलै नापेका छांै । यो डेढ दशकको अवधिमा म विकासे काममा लागेर राम्रै आर्जन गरिरहेको थिएँ । आम्दानी र प्रभावका हिसाबले मैले आफ्नो एक विशिष्ट हैसियत बनाएको थिएँ, तुलनात्मक रूपमा सानो उमेरमा अनि छोटो समयमै । तर सबैलाई चटक्कै छाडिदिएर त्रिभुवन विश्वविद्यालयमा अध्यापनका लागि गएकोमा उनी अचम्मित देखिए । फेरि दोहो¥याएर सोधिरहे –साँच्चै तिमी किन शिक्षण पेसामा जान चाहन्छौ ?

उक्त समयमा मैले त्यस प्रश्नको कुनै ठोस उत्तर दिइनँ । म मात्र हाँसिरहेँ । म कम बोलेँ । उनको कुरा बढी सुनँे । त्यसैले पनि होला उनले मलाई धेरैपटक एउटै प्रश्न दोहो¥याइरहे । सायद् प्रष्ट जवाफको अपेक्षामा । म चुपचाप भएँ । म हाँसिरहेँ । केवल हाँसिरहेँ । अन्त्यमा जवाफ दिएँ –म साँच्चै रहरले शिक्षण पेसामा गएको हूँ, कारण के हो, त्यो समयले जवाफ देला ।

घर फर्केपछि मैले सोचेँ साँच्चै म किन शिक्षण पेसामा जाँदै छु ? के त्रिभुवन विश्वविद्यालयमा स्थायी नोकरी मात्र मेरो चाहना हो ? या त्यो भन्दा थप केही अरू कारणहरू पनि होलान् ? मैले जीवनमा कहिले पनि लोकसेवामा फर्म भरिनँ । मलाई प्रमुख जिल्ला अधिकारी वा मन्त्रालयको सचिव भएर प्रशासन चलाउने कुनै रहर भएन । अहिले पनि छैन । मैले कहिल्यै पनि आर्मीको अधिकृतमा फाराम भरिनँ, जर्नेल भएर हतियार चलाउने कुनै रहर भएन । आज पनि छैन । तर मैले धेरैलाई रहर नहुने, कतिले त सुन्दै नाक खुम्च्याउने शिक्षण पेसाले मात्र मलाई कसरी तान्यो होला ? कुरा निकै रहस्यमय छ ।

बास्तवमा मेरो स्कुले जीवन त्यत्ति सुखद् छैन । मेरो स्कुले जीवनमा आएका अधिकांश शिक्षकले मलाई कहिले राम्रो मानेनन् । मैले पनि अधिकांश शिक्षकलाई कहिल्यै राम्रो ठानिनँ । अधिकांश शिक्षकले मलाई उत्कृष्ट विद्यार्थीका रूपमा आज पनि सम्झिनु हुन्न । मैले पनि अधिकांश शिक्षकलाई उत्कृष्ट रूपमा सम्झिन्न । अधिकांश शिक्षकले मलाई कोइली वा सुगा बनाउन खोजे । मैले उनीहरूसँग पाँैठेजोरी खोलेर काग बन्ने प्रयास गरे । कोइली वा सुगामा मलाई कुनै आकर्षण हिजो पनि थिएन आज पनि छैन । मेरो विश्वास हो मलाई भोलि पनि हुने छैन । देख्दा वा हेर्दा नराम्रो लाग्ने कागले मलाई हिजो पनि तानिरहेको थियो आज पनि त्यो आकर्षण रत्तिभर घटेको छैन ।

मेरो स्कुले जीवनमा धेरै शिक्षकले कोर्सका किताब मै सिमित राख्न चाहे । कोर्सका किताब बाहिर नजान विभिन्न नाममा ठुलाठुला पर्खाल लगाई दिए । म आफ्नै बुताले ती पर्खाल चढेर बाहिरको संसार हेर्न दौडिएँ । शिक्षकले मलाई अनुशासित बनाउने धेरै प्रयास गरे । कैँयाँै सिर्कना लठ्ठी मेरो ढाडले पचाएको छ । कैँयाँै डट्पेनहरू मेरा दुई आँैलाका बीचमा रगडिएर भाँचिए हूनन् । ती विद्यालयका चौर साक्षी छन्, म कैँयाँै पटक कुखुरा बनेर ढाड कुप्य्राएर उभिएको छु । तर म आफ्नो हठबाट टसकामस भइनँ । म परिवर्तन हुन सकिनँ । वा भनौं मैले परिवर्तन चाहिनँ ।

मेरो जीवनमा आएका अधिकांश शिक्षकले म मार्फत् कुनै सपना देखेनन् । अधिकांश शिक्षकका सपना पूरा गर्ने चरित्र मैले कहिल्यै बनाइनँ । मैले आफ्नै सपना पूरा गर्ने चरित्र निर्माणमा लागँे । जानी नजानी ममा पलाएका केही सपना तथा चाहनाका बेर्नालाई बाहेक मैले अन्यत्र कतै पनि एक थोपो पानी हालिनँ । त्यसैले शिक्षकहरू रिसाए । त्यसैले अग्रजहरू रिसाए । त्यसैले अरूहरू धेरै रिसाए । तर म थाकिनँ । आज म जे छु त्यही जानी नजानी हिँडेको, जानी नजानी लम्केका पाइलाका प्रभाव हुन् । सबै रिसाउदा पनि नछाडेका हठका परिणाम हुन् ।

 हो, मेरा धेरै शिक्षकले म मार्फत् कुनै सपना नै देखेनन् । तर मलाई राम्रोसँग के थाहा छ भने मैले एक्लै हिँडेको यात्राको वैशाखी भनेको त्यस बाहेकका केही अपवाद शिक्षकहरूले सिकाइदिएका अक्षरहरू हुन् । तिनीहरूले बुझाइदिएका केही विशिष्ट सवालहरू हुन् । उनीहरूले बुझाइदिएका अप्ठ्यारालाई परास्त गर्ने केही सूत्रहरू हुन् । त्यसैका आधारमा मैले आफ्नो जीवनको यात्रा गरिरहेको छु । साना सपनालाई पूरा गर्नका लागि ठूला संघर्षहरू गरिरहेको छु । म असहजतामा आत्तिन्नँ, सहजतामा मात्तिन्नँ । यो त्यही शिक्षाको देन हो, जुन मलाई मेरो जीवनमा आएका शिक्षक र प्राध्यापकले सिकाइ दिनुभयो । त्यसैले होला मेरो मनलाई कतिपय शिक्षकले कहिल्यै तान्न नसके पनि शिक्षणले सँधैभरि तानिरहन्थ्यो । आफूलाई जीवन निर्वाहको बाटोमा हिँड्नका लागि सहज बनाउने सवालप्रति मेरो आकर्षण स्वभाविक हो कि जस्तो लाग्छ ।

मलाई बच्चा उमेरमा राम्रोसँग पढ्यो भने त्यस बारेमा बुझ्न सकिन्छ भन्ने चेतना नै थिएन । घरको मूल थाममा झुन्ड्याएको रेडियोले एस्एल्सीको बोर्ड फस्ट विद्यार्थीको नाम भन्दा कति धेरै चिट चोर्न सक्यो होला र बोर्ड फस्ट भयो होला भन्ने लाग्थ्यो । चोरेर पास त हुन सकिएला तर राम्रो अङ्कका साथ उत्तीर्ण हुन सकिँदैन भन्ने ज्ञान मेरो दिमागमा निकै पछि मात्र नै पसेको हो । त्यो चेतना मेरो दिमागमा समयमै नआउँदा मेरो जीवन आज जस्तो छ । नत्र म अर्कै केही हुने थिएँ होला । मलाई त एउटा विन्दुमा पुगेपछि त्यस्तो ज्ञान आयो र जीवन निर्वाह गर्न अलि सहज भएको छ । कैँयाँै बालबालिकालाई यस्तो ज्ञान वा चेतना कहिल्यै आउन पाउँदैन । मेरो जस्तो वातावरण हरेकले कहाँ पाउँछन् र ? त्यसैको शिकार बनिरहेका छन् –आजका ठूलो संख्याका युवाहरू । मलाई शिक्षण पेसाले यसकारण पनि तान्यो कि म थोरै विद्यार्थीलाई नै मात्र किन नहोस् यो चेतना भर्न चाहन्छु । संख्या थोरै मात्र किन नहोस् मेहनत ग¥यौ भने सहजै बुझ्न सक्छौ भन्ने कुरा उनीहरूलाई बुझाउन चाहन्छु ।

 म केही वर्ष अगाडिदेखि शिक्षण पेसा मै छु । मलाई कक्षा कोठाभित्र अत्यन्तै अनुशासित ढंगमा बस्ने र मैले जे भन्छु त्यसैमा मुन्टो हल्लाउने विद्यार्थीले कम तान्छ । बरू मैले भनेको कुरामा चित्त नबुझाउने र असहमति राखेर तत्काल प्रतिक्रिया दिने वा प्रश्न गर्ने विद्यार्थीले मलाई तान्छन् । चाहे त्यो प्रश्न अप्रासङ्गिक नै किन नहोस् । उसले मलाई गरेको प्रश्नले मलाई यति आनन्द र सन्तुष्टि दिन्छ कि म त्यसलाई शब्दमा वयान नै गर्न सक्दिनँ । म संसारका हरेक विद्यार्थीले आफ्नो शिक्षकलाई चुनौति देओस् भन्ने अपेक्षा राख्छु । त्यस्तो चुनौति जसले शिक्षकलाई पनि जिम्मेवार बनाओस् । जसले शिक्षकलाई पनि मिहेनती बनाओस् । जसले शिक्षकलाई थप संवेदनशील बनाओस् । त्यस्तो चुनौति दिने दिमागलाई सम्मान गर्न र उनीहरूका चुनौतिका प्रतिरक्षा गर्ने बन्नका लागि मलाई शिक्षण पेसाले तान्यो । अन्ततोगत्वा म यतै लहसिएँ ।

धेरैले भन्छन् –शैक्षिक क्षेत्र त्यसमा पनि त्रिभुवन विश्वविद्यालय चरम दलीय राजनीतिबाट ग्रस्त छ । यो भनाइ यस्तो देखिन्छ कि त्यहीँ काम गर्ने प्राध्यापक, प्रशासक, कर्मचारीदेखि लिएर हरेक व्यक्तिका मुखमा यही कुरा झुन्डिएको छ । तर त्यसलाई सुधार गर्ने पहल हुन सकेको छैन । यस्तो गफ गर्ने वा चिन्ता गर्नेहरूले नै आफ्ना जिम्मेवारी सरल र सहज ढङ्गले पूरा गर्दैनन् । यस्तै चिन्ता गर्नमा मात्र व्यस्त देखिन्छन् । मलाई थाहा छ कि शिक्षक वा प्राध्यापक पनि यही समाजका उपज हुन् । उनीहरूको सोचाइ, बुझाइ तथा व्यवहारलाई सामाजिक संरचना, व्यवहार तथा सम्बन्धले निर्धारण गर्छ । तर शिक्षकमा यदि तीव्र इच्छाशक्ति र लगाव हुने हो भने यो समाजमा देखिएका विकृति तथा बेथितीलाई हटाउन सक्ने सामथ्र्य शिक्षकसँग मात्र हुन्छ । म यस्ता सबै चरम् राजनीतिकरणलाई हटाएर त्रिभुवन विश्वविद्यालयलाई उत्कृष्ट बनाउने सपना बोकेर विश्वविद्यालयमा प्राध्यापनमा गएको पनि होइनँ । मसँग त्यो आँट, साहस र क्षमता पनि छैन । अनि रूचि पनि छैन । म एउटा जिम्मेवार र आफ्नो विद्यार्थीलाई सबैभन्दा महत्व दिने एउटा उपप्राध्यापक केही वर्षपछि सहप्राध्यपक र अरू केही वर्षपछि प्राध्यापक बन्ने ठूलो सपना बोकेर जाँदैछु । हो, त्यही एकजना इमान्दार प्राध्यापक बन्ने हुट्हुटीले म शिक्षण पेसामा आएँ ।

मलाई कुनै पनि प्रशासनिक पद तथा अधिकारले बुझ्ने भएदेखि कहिल्यै पनि आकर्षित गरेनन् । म उपकुलपति, रेक्टर, रजिष्टार वा डीनको आकांक्षाले तानिएको पनि छैन । ती पदहरू मेरो जीवनका लक्ष्यमा पर्दैनन् पनि । मलाई सबैभन्दा आनन्द किताब वरिपरि फिँजाएर बस्नुमा नै आउँछ । किन हो त्यो थाहा छैन । तर म पाँच मिनेट मात्र किन नहोस् हरेक दिन किताब पढ्छु । पढ्न सकिनँ भने पनि हेर्छु र मात्र सुत्छु । मलाई सबैभन्दा रहर लाग्ने यो कामले पनि शिक्षण पेसामा आउन उत्प्रेरित गरेको हुन सक्छ । मेरो जीवनमा तीनवटा रहर छन् –पढ्ने, पढाउने र लेख्ने । यी तीनवटा रहर पूरा गर्ने ठाउँ त्यही शिक्षण पेसामा छ । त्यही विश्वविद्यालयमा मात्र छ ।

एउटा विद्यार्थीलाई समालोचनात्मक रूपमा सोच्ने बनाउने सपना पूरा गर्न, आफूले देखेका सपना प्राप्तिका लागि आत्मविश्वासी भएर हिँड्न तथा अगाडि बढ्न सक्ने बनाउन, तिमीले राम्रोसँग मेहनत ग¥यौ भने सबै कुरा सिक्न र जान्न सक्छौ भन्ने बुझाउन, कालो बादलको वरिपरि पनि चाँदीको घेरा हुन्छ भन्ने बुझाउन म शिक्षण पेसामा आएँ । एउटा इमान्दार र विद्यार्थीलाई पहिलो प्राथमिकता दिने प्राध्यापक बन्ने अभिलाषाले मलाई विकासे काममा बस्न दिएन । म त्यहाँबाट हिँडे र विश्वविद्यालय पुगेँ । म मेरो साँच्चैको रहर भएको क्षेत्रमा आएँ । यो जीविकोपार्जनका लागि मात्र होइन, म समाजमा जन्मिनु तथा हुनुको अस्तित्व अर्कोले पाओस् भन्ने उत्कृष्ट अभिलाषाले म शिक्षण पेसामा आएँ । बाध्यताले होइन । म रहरले यस क्षेत्रमा आएँ ।

अन्त्यमा, धेरै शिक्षक वा प्राध्यापकलाई सोध्नुस् म अरू केही नै गर्न चाहन्थँे तर शिक्षण पेसामा नचाहँदा नचाहँदै आउनु प¥यो भन्छन् । तर मसँग सोध्नुभयो भने –‘अरू धेरै गरिरहेको थिएँ तर रहरले शिक्षण पेसामा आएँ, भन्ने जवाफ पाउनुहुन्छ । अहिले मात्र होइन अबको ३० वर्षपछि पनि जुन बेलामा म त्रिभुवन विश्वविद्यालयबाट सेवा निवृत्त हुने छु ।’

प्रतिकृया दिनुहोस्