ब्रेन ड्रेन भर्सेस ब्रेन गेन

Avatar photo

Byएजुकेशन पाटी

२४ जेष्ठ २०७७, शनिबार

एउटा कलेजको होस्टलमा बस्ने भाईसँग भेट भयो । उनलाई सोधेँ– ‘कस्तो चलीराछ पढाइ ?’ उनले भने– ‘म त कलेज नै जाँदिन । परीक्षा आउने बेला भयो केही जान्दिन ।’ घरबाट निकै टाढा भएकाले कलेजले समेत होस्टलमा बस्न अनुमती दिएको विद्यार्थीले के गर्दा रहेछन् मलाई कौतुहलता भयो ।

उनलाई सोध्दा थाहा भयो – उनी त बिहानै ५ बजे नै उठेर जापानी भाषा सिक्न जाँदा रहेँछन् । अनि कहाँ बाट कलेज जानु अनि पढ्नु ?

त्यही होस्टलमा बस्ने अर्को भाईले त झन् उ भन्दा म सिनियर हुँ भने । मैले कुरो बुझिन– के भन्न खोजेको ? उनले बिबिएस तेस्रो वर्ष अध्ययन गर्दथे । उनले भन्न खोजेका रहेछन् – उनी झन् पहिल्यैदेखि विदेशी भाषा सिक्न थालेका रहेछन् । उनले त झन पहिले कोरियन भाषा सिकिसके पछि अहिले फेरि जापानी भाषा सिक्दै रहेछन् ।

यी त सामान्य दृष्टान्त मात्रै हुन् । ग्रामीण इलाकाका किशोर–किशोरी त यसरी लागेका छन् भने शहरी क्षेत्रका युवाहरूको कुरै नगरे हुन्छ । प्लस टु बल्ल–बल्ल उत्तीर्ण गरेपछी ब्याचलर पढ्नै मान्दैनन् । ४ वर्षे स्नातक पढ्नुलाई उनीहरूलाई सुगालाई पिँजडामा थुनिए जस्तो लाग्छ। आखिर बाहिर जाने नै हो किन समय बर्बाद गर्ने भन्ने धारणा छ उनीहरुको ।

एउटा मेधावी छात्रा जो बि.एस्सी. तेस्रो वर्षमा अध्ययनरत थिइन, उनले बाँकी रहेको १ वर्ष मात्रैको अध्ययन छाडेर अस्ट्रेलिया तिर लागिन् । अभिभावकले बाँकी अध्ययन पूरा गरेर जानका लागि अनुरोध गर्दा पनि मानिनन् ।

विदेशी मोह यति बढ्यो कि कुरा गरि साध्य छैन । सकभर अमेरिका जाने । नभए क्रमशः बेलायत, युरोपियन देशहरु, अस्ट्रेलिया, जापान , कोरिया भए नि जान पर्छ भन्ने मानसिकता विकास भएको पाइन्छ ।

अधिकांश नर्सिङ पढेका छात्राहरूले नेपालमा सकभर जागिर नपाउने, पाए पनि अति न्यून तलब पाउने जसले आफ्नो व्यक्तिगत खर्च समेत धान्न नपुग्ने हुँदा विदेसीनुको विकल्प नै देख्दैनन् उनीहरू । नयाँ पत्रीकामा प्रकाशित एक समाचार अनुसार स्टाफ नर्स पढ्न धेरै रकम खर्च हुने तर जागिर गर्ने बेलामा सरकारी अस्पतालमा सिमित दरबन्दी भएको प्राइभेट हस्पिटलमा ६ महिनासम्म निशुल्क स्वयंसेवक भई काम गर्नु पर्ने र कतिपयमा उक्त अवधि पछि तलब माग्दा काम संतोषजनक नभएको भनी निकालिदिने गरेको समेत पाइएको उल्लेख छ।

न्यूतम ६ हजार सम्म स्यालरी दिने समेत गरिएको रहेछ। लेखकले नर्सिङ प्रति नकारात्मक धारणा राख्न खोजेको होइन । कतिपयको राम्रो समेत भएको पाइन्छ ।

विदेश पढ्न जाने ट्रेण्ड भनौं वा फेसन भनौ, निकै चलिरा’छ । रोजगारको लागि त जनशक्ति विदेसीएको नै थियो अब त शिक्षाका लागि समेत बाहिरिने गरेको पाइन्छ ।

राजदूतावासमा नो अब्जेक्सन लेटरका लागि देखिने भिडले कतै नेपालमा शैक्षिक संस्था तथा विश्वविद्यालय नै छैनन् कि जस्तो मानिन्छ । कतै नेपालका शैक्षिक संस्थाको गति काठमाडौको ट्रली बस जुन आजकल एकादेशको कथा भएको छ, त्यस्तै त हुने होइन ।

झन् एअरपोर्टमा देखिने नेपालीको लस्कर वा संख्याले त केही वर्ष भित्रै नेपाल रित्तिँदै त छैन भने जस्तो लाग्दछ । डाक्टर, इन्जिनियर, नर्स जस्ता दक्ष जनशक्ति देखि लिएर लेबर सम्म बिदेशीएको पाइन्छ । हुँदा हुँदै व्यङ्ग्यात्म रुपमा अष्ट्रेलियालाई नेपालको आठौं प्रदेश/प्रान्त समेत भन्दा रहेछन् ।

सीप र विवेक भएका जनशक्ति बाहिरिनु नै ब्रेन ड्रेन अर्थात प्रतिभा पलायन हो । नेपालमा रोजगारको सम्भावना पनि छैन भएकोमा पनि नातावाद कृपावाद लागू हुने भएपछि यहाँ नबस्ने तर्क गर्छन उनीहरू । रोजगार पाइहाले पनि सेवा सुबिधा अत्यन्तै न्यून ।

एकजना नेपालमा शाखा अधिकृतको जागिर गरिरहेका ब्यक्ति आफ्नो श्रीमतीलाई डि.भि. परेपछी नेपालको जागिर छाडेर अमेरिका लागे ।

उनलाई हुँदा खादाको यति राम्रो नोकरी छाडेर किन जान थाल्नुभो भनी सोध्दा आफ्नो जे जस्तो भए पनि सन्ततिको भविष्य बिग्रीन नदिनको लागि जान थालेको जवाफ दिए। अब समाजमा कस्को कति सम्पत्ति छ भन्दा पनि कसका धेरै बिदेस गएका र कुन मुलुक गएका छन् भन्नेले प्रतिष्ठा निर्धारण गर्ने जस्तो देखिन्छ ।

विदेसीनु त्यति नराम्रो पनि हुन सक्थ्यो यदि नेपालीहरू विदेशबाट ज्ञान, सीप तथा प्रविधी लिएर फर्केको खण्डमा । यसलाई ‘ब्रेन गेइन’ पनि भन्न सकिन्छ। यसले त झन नेपालजस्तो विकासोन्मुख देशलाई फाइदा पुग्न सक्छ । विकसित देशका ज्ञान, सीप र प्रबिधि आर्जन गरेर जनशक्ति नेपालमा फर्कने हो भने यसले देश बिकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्छ। त्यहाँको टेक्निक र तरिकालाई यहाँ अपनाउन सके देश छिट्टै उन्नतिको चुचुरोमा पुग्न सक्दछ। अधिंकाश बिदेसीनेहरु फर्कने गरेको पाइँदैन।

निष्कर्ष :
नेपालमा पछिल्लो समय बिदेसीनेको संख्या उल्लेखनीय रूपमा बढेको छ। सामान्य लेबर गर्न जाने देखि लिएर दक्ष जनशक्ति पनि रोजगारका लागि एका तर्फ बिदेशिएका छन् भने अर्को तर्फ अध्ययनका लागि भन्दै ठूलो संख्ख्यामा युवाहरु पलायन भएको पाइन्छ। ती मध्ये अधिकांश अध्ययन गर्ने भन्दा पनि उतै सेटल हुने उद्देश्य बोकेर गएका हुन्छन् । सरोकारवाला पक्षले बेलैमा उपयुक्त कदम चाल्नुपर्ने देखिन्छ। सरकारले यी मुद्दाहरुलाई गहन रूपमा लिइ समाधान गर्नुपर्छ। अन्यथा यसले विकराल रुप लिन सक्दछ । ब्रेन ड्रेनलाई निरुत्साहित तथा न्यूनीकरण गर्नुका साथै ब्रेन गेइन गर्नका लागि उनीहरूलाई प्रोत्साहित गर्नुका साथै उनीहरूका लागि नेपालमा उपयुक्त वातावरण सिर्जना गर्नु पर्दछ।

(एम.सी. बलभद्र मावि प्युठानका शिक्षक हुन।)

प्रतिकृया दिनुहोस्