काठमाडौँ ।खुला र दूरशिक्षाको माध्यमबाट पठनपाठन गराउँदै आएको नेपाल खुला विश्वविद्यालयले विद्यार्थीको परीक्षा पनि घरबाटै लिन थालेको छ । प्रश्नपत्र प्राप्त गरेपछि विद्यार्थीलाई निश्चित समयमा उत्तर लेखेर विश्वविद्यालयलाई उपलब्ध गराउनुपर्ने मोडल तयार पारिएको रजिस्ट्रार कमल ढकालले जानकारी दिए ।

‘तीनदेखि ७२ घण्टासम्म विद्यार्थीले उत्तर लेखेर पठाउनुपर्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘कोरोनापछिको सहज अवस्थामा पनि यही विधिबाट परीक्षा गर्ने निर्णय गरिसकेका छौं ।’

विद्यार्थीले घर वा आफू रहेकै स्थानमा बसेर परीक्षामा सहभागी हुन पाउनेछन् । संकाय र विषयको प्रकृतिअनुसार विद्यार्थीलाई उत्तर लेख्ने समय उपलब्ध गराइने विश्वविद्यालयले जनाएको छ । कोरोना महामारीले देशभरका शिक्षण संस्था ठप्प हुँदा पनि नेपाल खुला विश्वविद्यालयको पठनपाठन शैक्षिक गतिविधि जारी थियो । उपकुलपति लेखनाथ शर्माका अनुसार पठनपाठन, परीक्षा र कार्यालय सञ्चालनका लागि ‘ई–लर्निङ म्यानेजमेन्ट सिस्टम’ सञ्चालन गरिएको छ । ‘कक्षा त पहिले जस्तै शिक्षकहरूले घरघरबाटै अघि बढाउनुभएको छ,’ उनले भने, ‘कोरोनाले भर्चुअल विधिबाटै परीक्षा सञ्चालन गर्ने अवसर पनि दियो ।’ शिक्षक नै कोरोना संक्रमित हुँदा पनि दैनिक गतिविधिमा कुनै असर नपरेको विश्वविद्यालयले जनाएको छ । यसैको माध्यमबाट विश्वविद्यालयले भर्चुअल सिनेट बैठकसमेत सम्पन्न गरेको शर्माले सुनाए ।

सोही सिस्टमबाट प्रवेश, वार्षिक र अन्य परीक्षा सञ्चालन गर्न लागिएको हो । सिस्टममा प्रश्नपत्र उपलब्ध गराउने र परीक्षार्थीले सोही सिस्टममा तोकिएको समयमा उत्तर लेखेर बुझाउनुपर्ने ढकालले जनाए । ‘विषयअनुसार ३, २४, ३६ र ७२ घण्टा समय तोकेका छौं, सम्बन्धित परीक्षार्थीले उत्तर लेखेको हो कि होइन, ग्यारेन्टी गर्न अनलाइन निरीक्षकको समेत व्यवस्था गरिएको छ,’ उनले भने । ओपन बुक र पेपर राइटिङ विधिबाट पनि परीक्षा सञ्चालन गर्ने उनले जनाए ।

तीन वर्षअघि अनलाइन पठनपाठन र परम्परागत विधिबाट ‘फेस टु फेस’ परीक्षा सञ्चालन गर्ने गरी विश्वविद्यालय स्थापना भएको थियो । अहिले भर्चुअल परीक्षा सञ्चालन गर्न विश्वविद्यालयले कार्यविधि स्वीकृत गरिसकेको छ । ‘साउनमा अनलाइन प्रवेश परीक्षा राखेका थियौं, प्राविधिक समस्या आएर गर्न सकिएन,’ उपकुलपति शर्माले भने, ‘अहिले इन्टरनेटको माध्यमबाट सञ्चालन हुने परीक्षाको परीक्षणको काम भइरहेको छ ।’ अन्तिम परीक्षासमेत भर्चुअल माध्यमबाट सञ्चालन गरिने डिन कार्यालयहरूले जनाए ।

प्रवेश परीक्षामा एकै पटक धेरै विद्यार्थी सहभागी हुँदा सर्भर डाउन भएको प्राविधिकहरू बताउँछन् । वार्षिक परीक्षा पनि अनलाइनबाटै गर्ने भएपछि भर्चुअल प्रयोगात्मक ल्याब स्थापना गर्नुपर्ने चुनौती पनि विश्वविद्यालयलाई थपिएको छ । अनलाइनबाट परीक्षा सञ्चालन भएपछि विदेशमा रहेका नेपाली विद्यार्थीले विश्वविद्यालयका भर्ना हुन पाउने पदाधिकारीहरू बताउँछन् । अहिले पनि क्यानडा, अमेरिका, अस्ट्रेलियाबाट शिक्षकहरूले कक्षा लिइरहेका छन् । उपकुलपति शर्माले भने, ‘अनलाइन परीक्षा सञ्चालन भएपछि जुनसुकै स्थानका विद्यार्थीले पनि भर्ना भएर पढ्न पाउँछन् ।’ विश्वविद्यालय ऐनको व्यवस्थाअनुसार विदेशमा अध्ययन केन्द्र स्थापना गर्न पनि शिक्षा मन्त्रालयसँग अनुमति मागिसकेको छ । अध्ययन केन्द्र स्थापना भए रोजगारीका लागि विदेशमा रहेका नेपाली विद्यार्थीलाई पठनपाठन गराउन सहज हुने पदाधिकारीहरू बताउँछन् ।

विश्वविद्यालयको विज्ञान, स्वास्थ्य तथा प्रविधि, व्यवस्थापन तथा कानुन र सामाजिक शास्त्र तथा शिक्षा संकायमा २३ कार्यक्रम छन् । त्यसमा दुई हजार विद्यार्थी अध्ययनरत छन् । नयाँ कार्यक्रममा भर्ना खोलेर आगामी शैक्षिक सत्रसम्म ३ हजार विद्यार्थी पुर्‍याउने लक्ष्य लिइएको छ । कोरोनाका कारण अन्य विश्वविद्यालय बन्द रहेका कारण खुला विश्वविद्यालयमा भर्ना हुन चाहने विद्यार्थीको आकर्षण बढ्दै गएको प्राध्यापकहरूले बताए । तर परम्परागतभन्दा फरक विधिबाट अध्ययन/अध्यापन गराउने हुँदा यताकदा विश्वविद्यालयको गुणस्तर र मान्यतामा प्रश्न पनि उठ्ने गरेको छ । उपकुलपति शर्मा यसको भने सोझै खण्डन गर्छन् । ‘अरू विश्वविद्यालय जस्तै संसद्बाट ऐन स्वीकृत भएर खुला विश्वविद्यालय स्थापना भएको हो,’ उनले भने, ‘कोभिडले बरु वैकल्पिक र खुला शिक्षाको औचित्य पुष्टि गरिदिएको छ ।’

व्यवस्थापन तथा कानुन संकायकी डिन शीलु मानन्धर बज्राचार्यले पनि नेपालको शिक्षा पद्धति खुला विश्वविद्यालयको मोडालिटीमा आउनुपर्ने बाध्यता आएको बताइन् । ‘६ महिना भयो कोरोनाले प्रभाव पारेको, अहिलेसम्म हाम्रो शैक्षिक क्यालेन्डरमा केही असर पुगेको छैन,’ उनले थपिन्, ‘पढाइ रोकिएको छैन, परीक्षा पनि भर्चुअल विधिबाटै गर्न समय तालिका सार्वजनिक गरिसकेका छौं ।’ असोज ४ गते उक्त संकायले अनलाइनबाटै वार्षिक परीक्षाको तालिका सार्वजनिक गरिसकेको छ ।

सरकारकै डाटा सेन्टरमा समन्वय गरेर विश्वविद्यालयले भर्चुअल गतिविधि अघि बढाएको थियो । माइक्रोसफ्ट टिमबाट ई–लर्निङ म्यानेजमेन्ट सिस्टम सञ्चालित छ । परीक्षासमेत भर्चुअल गर्न विश्वविद्यालयले आफ्नै डाटा सेन्टर र सर्भर विकास गर्ने योजना अघि बढाएको जनाएको छ । डिन बज्राचार्यले प्रत्येक कार्यक्रममा ५ सयभन्दा बढी आवेदक विद्यार्थी रहेकाले खुला र दूरशिक्षामा विद्यार्थीको आकर्षण बढ्दै गएको दाबी गरिन् ।

कोरोनापछि वैकल्पिक शिक्षण पद्धतिको बहस बढ्दो छ । शिक्षाविद्हरूले वैकल्पिक शिक्षण पद्धतिको विकल्प नरहेको औंल्याएका छन् । केही सामुदायिक तथा निजी विद्यालय, काठमाडौं, मध्यपश्चिम, लुम्बिनी बौद्ध विश्वविद्यालयले पनि वैकिल्पक माध्यमबाट परीक्षा लिन थालेका छन् ।

सुदीप कैनीले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्