खुला सिकाइको विकास र आवश्यकता

एजुकेशन पाटी

Byएजुकेशन पाटी

३१ श्रावण २०७७, शनिबार
मोहनबहादुर कडेल

गेट्सले भनेका छन् कि अनुभव र तालिमद्वारा व्यवहारमा आउने परिवर्तन नै सिकाइ हो । कोहलरका अनुसार सिकाइमा ज्ञान, विचार, समझदारी, विश्वास एवं अन्तरदृष्टि समावेश हुन्छन् । वास्तवमा सिकाइ सिकारुले प्राप्त गर्ने शिक्षामा निर्भर रहन्छ । शिक्षाको मूल थलो समाज र परिवेश नै हो । शिक्षा प्राप्त गर्ने विविध स्वरुपहरु छन् । औपचारिक, अनियमित र अनौपचारिक शिक्षाको बन्धन भन्दा माथि उठेर विकसित शैक्षिक अवधारणा नै खुला सिकाइ हो ।

जब विश्वमा प्रथम र दोस्रो विश्वयुद्ध भयो, त्यसपश्चात् धेरै समाज र मुलुकहरु स्वतन्त्र भए । परिणाम स्वरुप औपचारिक शिक्षाको लागि विभिन्न विद्यालयहरु स्थापित हुन पुगे । शिक्षाको अवसर त शृजना भयो । तर बालबालिकाको ठूलो समूह औपचारिक शिक्षाबाट बाहिर रह्यो । यसको कारण शिक्षाले हुने खाने वर्गको हितमा मात्र काम गर्यो । यसले साम्राज्य खडा गर्यो ।

हुँदा खाने वर्गको लागि शिक्षा सहयोगी बन्न सकेन । त्यसपछि शिक्षामा मानवतावादी दृष्टिकोणको विकास भयो । यसले औपचारिक शिक्षाको विकास गर्यो तापनि यसको विकासले व्यक्ति, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय समुदायका आवश्यकता पूरा गर्न सकेन जसको कारण सन् १९६० को दशकबाट विश्वमा देखापरेको औपचारिक शिक्षा संकट समाधानको विकल्पको रुपमा शिक्षाको नयाँ अवधारणा खुला सिकाइको जन्म भएको हो ।

शिक्षा शब्दकोषका अनुसार खुला सिकाइ त्यस्तो पद्धति जसलाई फुर्सद समयमा अध्ययन गर्नका लागि, शिक्षण संस्थाबाट टाढा रहेका व्यक्तिलाई सिकाउनका लागि र पाठ्यक्रममा नयाँ खोजहरु गर्नका लागि निर्माण गरिएको हुन्छ । यसले युवा जनसंख्याको व्यापक क्षेत्र ओगट्ने, विद्यार्थीको विगतमा गुमेको सुअवसर परिपूर्ति गर्ने वा भविष्यका लागि नयाँ सीपहरु वा योग्यताहरु प्राप्तिको बाटो प्रदान गर्ने लक्ष्य बोकेको हुन्छ ।

यो समाजका कमजोर र सुविधाविहिन वर्गलाई शिक्षाको सुअवसर विस्तार गर्न लचकता र खुलापन ल्याउने गरी निर्माण गरिएको संस्था खुला विद्यालय हो । यो औपचारिक शिक्षा लिन नसक्ने वा औपचारिक शिक्षा लिनबाट वञ्चित भएका सुविधाविहिन बालबालिकाहरुका लागि विद्यालय तहको शिक्षाको व्यवस्थापन गर्न आएको अवधारणा हो ।

विशेष गरेर भौगोलिक रुपमा विकट स्थानमा रहेकाहरु, सामाजिक कारण विद्यालय नगएकाहरु, शिक्षकको अभावले पढ्न नपाएकाहरु, पढाईको समयमा फुर्सद निकाल्न नसक्नेहरु, आफुलाई मन पर्ने विषय पढ्ने व्यवस्था नभएर नपढेकाहरु, गरिबीको रेखामुनि रहेका र आर्थिक स्थिति कमजोर भएका कारणले औपचारिक शिक्षाको अवसर नपाएका र बिचैमा विद्यालय छाड्ेका र प्राकृतिक विपद् एवं संक्रमणले औपिचारिक शिक्षा छुटेकाहरुलाई खुला सिकाइमार्फत् शैक्षिक उपाधि हासिल गराउन र शिक्षाका थप अवसर/पहुँचहरु सिर्जना गर्न खुला विद्यालय स्थापना भएकोे हो ।

विश्वमा सर्वप्रथम ई.सं. १८४० मा बेलायतमा एक निजी संस्थाद्वारा पत्राचार शिक्षाको थालनीलाई पहिलो खुला शिक्षाको रुपमा लिने गरिन्छ । सन् १८७३ मा अमेरिकामा घरघरमा अध्ययन गर्ने समाजको स्थापना भयो । खुला विद्यालयको सुरुवात् सन् १९१४ मा अष्ट्रेलियाको जङ्गलमा काम गर्ने कामदारहरुका छोराछोरीलाई पढाउने व्यवस्थाबाट भयो । छरिएर रहेका वस्तीका बालबालिकालाई समेट्ने उद्धेश्यले सन् १९१९ मा क्यानडाले खुला विद्यालय सञ्चालन गर्यो ।

सन् १९२६ मा तत्कालीन सोभियत सड्घमा चिठीपत्रबाट अध्ययन गर्ने समाजको स्थापना गरियो । जिम्बाबेले सन् १९३० मा आपनो देशमा छरिएर बसेका गोरा जातिका बालबालिकाका लागि खुला विद्यालय सञ्चालन गर्यो । सन् १९६३ मा बेलायती सत्ताका विपक्षी दलका नेता हेराल्ड विल्सनले खुला तथा गृह अध्ययन विश्वविद्यालयको अवधारणा चुनावी अभियानका सन्दर्भमा जनताहरु माझ ल्याएपछि सन् १९६४ मा चुनाव जितेर प्रधानमन्त्री बनेपछि सन् १९६९ मा बेलायतमा खुला विश्वविद्यालयको स्थापना भएको हो ।

बेलायतमा सन् १९७० मा खुला विश्वविद्यालयमा स्थापना गर्ने ऐन तर्जुमा भयो । सोही ऐनको आधारमा सन् १९७१ देखि पाठयक्रम निर्धारण खुला विद्यालय सञ्चालन गरियो । सन् १९७९ मा भारतमा नेसनल ओपेन स्कुल र सन् १९८५ मा भारतमा इन्दिरा गान्धी खुला विश्वविद्यालयको स्थापना गरियो ।

नेपालमा वि.सं. २०१४ मा कलेज अफ एजुकेसनको प्रौढ शिक्षा शाखाबाट युवाहरुका लागि प्रसारित कार्यक्रमलाई पहिलो दुर शिक्षा पद्धतिको रुपमा लिने गरिन्छ । वि.सं. २०३५ मा रेडियो शिक्षा शिक्षक तालिम सञ्चालन गरियो । वि.सं. २०४९ को राष्ट्रिय शिक्षा आयोगले नेपालमा खुला विश्व विद्यालयको स्थापनाका लागि दिएको सुझावमा लेखिएको थियो कि निकट भविश्यमा श्री ५ को सरकारले एउटा खुला विश्वविद्यालयको स्थापना गर्नुपर्छ ।

यस विश्वविद्यालयले प्राइभेट परीक्षार्थीहरुका निम्ति परीक्षा सञ्चालन गर्नुका साथै अनौपचारिक माध्यममा उच्च शिक्षाको विस्तारको निम्ति नेपालको आवश्यकतालाई ध्यानमा राखेर दूर शिक्षाको कार्यक्रम पनि सञ्चालन गर्नुपर्छ । यस खुला विश्वविद्यालयलाई श्री ५ को सरकारले ५–७ वर्षसम्म एकमुष्ठ अनुदान दिनुपर्छ र उक्त चरण पार भएपछि पञ्जिका शुल्क, परीक्षा शुल्क र डिग्री शुल्कले नै त्यसलाई आत्मनिर्भर गराउनुपर्छ ।

त्यस्तै वि.सं. २०५० मा दूर शिक्षा केन्द्रको स्थापना भए पश्चात् कार्यक्रमको विकास र विस्तार भयो । वि.सं. २०५५ मा खुला विश्वविद्यालय तयारी समिति गठन भयो । वि.सं. २०५८ मा त्रिभुवन विश्व विद्यालयले एक वर्षे बि.एड. कार्यक्रम अन्तर्गत पूर्वबाल्यावस्था, शिक्षा प्रशासन र सुपरीवेक्षण विषयमा खुला शिक्षा कार्यक्रमको थालनी गरेको थियो भने वि.सं. २०५८ मा पूर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन लिएर इन्ष्टिच्युट अफ ओपनलनिङ नेपालले काठमाडौंमा एकवर्षे वि.एड. कार्यक्रम मार्फत उच्च शिक्षामा दूर शिक्षा मार्फत खुला शिक्षा सुरुवात गर्यो । सो संस्थाले पोखरा, भरतपुर र वुटवलमा पनि सो कार्यक्रमलाई विस्तार गर्यो ।

त्यस्तै नवांै पञ्चवर्षिय योजना २०५४–२०५९ ले समेत दूर शिक्षा मार्फत् विद्यालय र विश्वविद्यालय तहको शिक्षा प्रदान गर्नुको अतिरिक्त विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने नीति अवलम्बन गरेको थियो । साथै सो योजनामा खुला विश्वविद्यालयको स्थापना गर्ने नीति लिइयो ।

खुला विश्वविद्यालय सम्बन्धी कार्यदल (शिक्षा मन्त्रालय १९९९ र २०००) ले शैक्षिक जनशक्ति विकास केन्द्र अन्तर्गत रहेको दुर शिक्षा तथा खुला सिकाइ महाशाखाको क्षमता र स्तर वृद्धि गरी खुला शिक्षाको आधार स्थापना गर्न सकिने सुझाव दिएको थियो । शिक्षा नियमावली २०५९ ले खुला शिक्षा सञ्चालनको निमित्त कानुन निर्माण गरीे नि.मा.वि. तहको अनौपचारिक शिक्षा केन्द्रलाई र मा.वि. तहको शैक्षिक जनशक्ति विकास केन्द्रको दूर शिक्षा तथा खुला सिकाइ महाशाखालाई खुला विद्यालयको सम्बन्धन दिने अख्तियारी प्रदान गरेको थियो ।

साथै, त्यस नियमावलीको आधारमा दूर शिक्षा तथा खुला सिकाइ पद्धति, शिक्षक तालिम, प्राविधिक तथा व्यवसायिक तालिम र विद्यालय स्तरीय शैक्षिक कार्यक्रम समेत सञ्चालन निर्देशिका २०६३ जारी गर्यो । जसअनुसार विद्यालय तहको शिक्षाबाट बञ्चित सिकारु वा समूहलाई कक्षा ६ देखि १२ सम्मको विद्यालयीय शिक्षा खुला विद्यालय मार्फत् प्रदान गर्न, विद्यालयीय शिक्षाको गुणस्तरका लागि संचालित सहयोग कार्यक्रम, जीवनपर्यन्त शिक्षा, पेशागत दक्षता अभिवृद्धि तथा ज्ञान सीपका प्रमाणिकरणका साथै व्यवसायिक शिक्षाको कार्यक्रमको लागि दूरशिक्षा तथा खुलाको माध्यमबाट शिक्षा एवं तालिमका थप अवसरहरु उपलब्ध गराउन शैक्षिक जनशक्ति विकास केन्द्रले एक दूर शिक्षा समिति गठन गरी खुला विद्यालय संचालन र रेखदेख गर्ने व्यवस्था गर्यो ।

वि.सं. २०६३ माघ २५ गतेबाट मन्त्रिपरिषदबाट पारित राष्ट्रिय अनौपचारिक नीतिले विभिन्न उमेर र बाँकी व्यक्तिहरुलाई आवश्यकता अनुसार प्राज्ञिक तथा व्यवहारिक ज्ञान, सिप र सूचना प्रदान गरी अनौपचारिक शिक्षा क्षेत्रको विस्तार गर्ने उल्लेख गर्यो । वि.सं. २०६४ सालदेखि एस.एल.सी परीक्षा पनि खुल्ला सिकाइबाट दिन पाउने प्रावधानको सुरुवात गरियो ।

त्यस्तै खुला शिक्षा बारेमा त्रिवर्षीय योजना (२०६७/०६८–२०६९/०७०) को कार्यनीतिमा उल्लेख गरिएको छ कि सबैलाई शिक्षामा पहुँच सुनिश्चित गर्न खुला विद्यालय, निरक्षर र विद्यालय छोडेको गृहिणी, किसान, मजदुरका साथै विपन्न समुदायका लागि लक्षित र्शक्षिक कार्यक्रमहरु सञ्चालन गरिनेछ । यसका लागि स्थानीय निकायको तहमा शैक्षिक विकास कोष खडा गरिनेछ ।

त्यसैगरी त्रिभुवन विश्वविद्यालयले वि.संं. २०७१ साल माघ ३ गते त्रि.वि. परिषदको निर्णयानुसार उच्च शिक्षाका लागि नियमित ब्याम्पस जानपर्ने परम्पराको अन्त्य गरी घरमा बसी इन्टरनेटको माध्यमबाट पढ्न पाउने परम्परागत, दूर र खुला सिकाइको लागि वि.संं.२०७ २ सालदेखि खुला तथा दूर शिक्षा केन्द्र स्थापना गरी कार्यान्वयनमा ल्याएको छ । यस कार्यक्रम काठमाण्डौं विश्वविद्यालयमा पनि सञ्चालन भैरहेको छ ।

नेपालको संविधान २०७२ ले भाग ३ मौलिक हक र कर्तव्य अन्र्तगतको धारा ३१ शिक्षा सम्बन्धी हक को उपनियम (१) मा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ र उपनियम (२) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भन्ने उल्लेख गरिएको छ ।

जुन संवैधानिक व्यवस्था र प्रयासहरु व्यक्तिको शिक्षाको हक र खुला सिकाइसँग पनि सम्बन्धित छन् । फलस्वरुप वि.सं. २०७३ साल असार ३० गते नेपालमा खुला विश्वविद्यालयको विधिवत् रुपले स्थापना भई खुला सिकाइ सम्बन्धी कार्यक्रमहरु सञ्चालनमा आउन थालेका छन् ।

प्लेटोले भनेका छन् कि आवश्यकता आविष्कारको जननी हो, त्यसैले आवश्यकता नै हरेक चिजको उत्पतिको मुख्य कारण हो । अझ खुला सिकाइको आवश्यकता र महत्व वर्तमान अवस्थामा फैलिएको विश्वव्यापी कोराना संक्रमण र यस्तै अन्य महामारी साथै प्राकृतिक प्रकोपको समयमा त मुख्य रुपमा रहेको देखिन्छ । यसले औपचारिक शिक्षामा आउन नसकेका सबै खालका सिकारु तथा बालबालिकालाई शिक्षाको पहँुचमा पुर्याउन सहयोग गर्दछ ।

तर विद्यालय जाने उमेर भएर पनि जान नसकेका, विद्यालय उमेर पार गरि सकेका र कुनै पनि कारणले विद्यालयीय शिक्षाबाट बञ्चित बालबालिकाको सिकाइप्रतिको अधिकारको सुनिश्चितता गर्नु कम चुनौती छैन । थोमस ग्रिनका अनुसार अधिकार त्यो शक्ति हो, जसलाई लोककल्याणका लागि माग गरिन्छ र मान्यता पनि प्रदान गरिन्छ ।

यसका लागि औपचारिक शिक्षामा देखिएका चुनौतीहरुलाई समयसापेक्ष, प्रभावशाली र विश्वासयोग्य वनाई शिक्षामा पछि परेका बालबालिकाहरुलाई अवसर प्रदान गर्न वैकल्पिक शिक्षाको रुपमा खुला सिकाइको विकास र यस अवधारणालाई सरोकारवालाहरुबीच व्यापक रुपमा प्रचारप्रसार गर्न सके व्यक्तिको शिक्षा प्राप्त गर्ने अधिकारलाई सुरक्षित गर्न सकिन्छ ।

साथै, विद्यार्थी वा सिकारुहरु भौतिक रुपमा विद्यालय उपस्थित भई पठनपाठन गर्न नसकेको बन्दाबन्दी स्थितिमा खुला सिकाइलाई बढावा दिनु नै उत्तम विकल्प हो । खास गरेर शिक्षामा आएका पछिल्ला परिवर्तन, दृष्टिकोण र अवधारणाले सबैका लागि शिक्षाको नारा कत्तिको सार्थकता सिद्ध भयो भन्ने सन्दर्भमा खुला सिकाइले पनि अलग अस्तित्व राख्दछ ।

तर, व्यवहारमा खुला सिकाइ सम्बन्धी शैक्षिक कार्यक्रमहरु र त्यसका लागि कोष स्थापना गर्ने काम प्रभावकारी र व्यापक रुपमा हुन भने सकेको छैन् । यस्तो किन, कसरी, कहाँ र कसले गर्दा कार्यनीति कार्यान्वयन गर्न सकिएन सो कुरा शोधको विषय बन्न सक्छ तथापि खुला सिकाइलाई व्यवस्थित गर्न सकेमा घरमा नै बसी फुर्सदको समयलाई उपयोग गर्दै स्वःअध्ययनको माध्यमबाट व्यवसायिक र प्राविधिक शिक्षा प्राप्त गरी सफल जीवनयापन गर्न चाहने सिकारु एवंं विद्यार्थीहरुलाई उनीहरुकै रुची बमोजिम सहयोग गर्न सकिन्छ ।

सिकारुले यसका लागि आफ्नो रुची र क्षमता अनुसारको विषयहरु दक्ष शिक्षकसँगको सम्पर्कमा रही सिकाइ हासिल गर्न सक्दछन् । तसर्थ विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाका नीति निर्माता, अनुसन्धानकर्ता र अन्य सम्बन्धित शैक्षिक संस्थाहरुलाई निर्धारित शिक्षाको लक्ष्य प्राप्त गर्न खुला सिकाइको आवश्यकता र सान्दर्भिकता रहेको देखिन्छ ।

निचोडमा शिक्षा क्षेत्रमा थुप्रै आधुनिक चिन्तन, प्रचलन र अवधारणा विकसित भएका छन् । खुला सिकाइ पनि एक नवीनतम् चिन्तन हो । व्यक्ति आफू बसेको परिवेशबाट जति धेरै दीक्षित हुन्छ त्यति ज्ञान अन्य कुनै कक्षाकोठाबाट लिन सक्दैन । त्यसबारण खुला सिकाइ त्यस्तो शैक्षिक अवसर हो, जसले स्वतन्त्रपूर्वक सिकाइ गर्ने वातावरण तयार गराइदिन्छ ।

यो आजका बदलिँदो विश्व परिवेशमा विभिन्न कारणबाट शिक्षा प्राप्त गर्न नसकेका व्यक्तिहरुलाई सहयोगी बनेको छ । कोरोना (कोभिड १९) को संक्रमण र प्राकृतिक प्रकोपको कारण विद्यालयमा भौतिक उपस्थिति हुन नसक्ने अवस्थामा त अझ खुला सिकाइ प्रभावकारी सिद्ध छ ।

कोरानाका कारण रोकिएको शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरताको लागि विद्यार्थी, शिक्षक र अभिभावकले सामना गर्दै आएको शैक्षिक, मनो–सामाजिक र आर्थिक पक्षमा सकारात्मक चिन्तनका लागि मनोबल र आत्मविश्वास बढाउन आ–आफ्नो ध्यान केन्द्रित गराउन जरुरी छ । विद्यार्थीहरुले संक्रमणको अवधिमा घरमा बसेर स्वःअध्ययन गरी शृजनशील सिकाइतर्फ जोड दिनु पर्दछ । खुला सिकाइ विपद् व्यवस्थापनमा समुदायको लागि अवसर हो, यस्तो शिक्षा प्रदान गर्ने विद्यालय तथा शैक्षिक संस्थाको उचित रेखदेख, सञ्चालन र व्यवस्थापन गर्न सम्बन्धित सरोकारवालाहरुले आ–आफ्नो दायित्वलाई बोध गर्न सक्नुपर्छ ।

शिक्षा प्रणालीको समग्र विकासमा अभिभावकको सक्रिय सहभागिता र सकारात्मक संलग्नता गराई खुला विद्यालयको आर्थिक दायित्व नेपाल सरकारले लिनुपर्छ । साथै वर्तमान सन्दर्भलाई ख्याल गरी नेपाल सरकारले पनि खुला सिकाइ सम्बन्धी अझ स्पष्ट नीति निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन र यसको संस्थागत विकासमा नेतृत्व प्रदान गर्न सक्नुपर्दछ ।

यसले शिक्षण सिकाइ कार्य प्रभावकारी हुन गई पढ्ने र सिक्ने अवसरबाट वञ्चित विद्यार्थीहरु खुला सिकाइ मार्फत् गुणस्तरीय र क्षमतावान् नागरिकको रुपमा आफूलाई स्थापित गर्न सक्षम हुने कुरामा विश्वास लिन सकिन्छ । यसबाट नै शिक्षण सिकाइमा रहेका र भविश्यमा रहन सक्ने अवरोधहरु निश्चित रुपमा घटाउन सकिन्छ ।

प्रतिकृया दिनुहोस्