अस्थायी शिक्षकलाई किन अपमान ?

Avatar photo

Byएजुकेशन पाटी

२४ जेष्ठ २०७७, शनिबार

बाहुनका थर गनेर सकिन्न भन्ने भनाइ नेपाली समाजमा प्रचलित छ। यो भनाइ कता–कता शिक्षकको प्रकारको कुरा गर्दा लागू हुन खोज्छ। स्थायी, अस्थायी, राहत, अनुदान, पिसिएफ, निजी स्रोत आदि शिक्षकका प्रकारहरु हुन् । यसरी राज्यले शिक्षकलाई विभिन्न वर्ग वा प्रकारमा विभाजित गरेको छ । यिनीहरू बीचमा राज्यले विभेद गर्दछ अनि यिनीहरू आपसमा पनि विभेद गर्दछन् । यिनीहरूको आपसको खिचातानीले आफ्नै अधिकार हासिल गर्न सकेका छैनन् । निजामती र शिक्षकमा सेवा सुविधाको हिसाबले धेरै भिन्नता छ । निजामती भित्र शिक्षा समूहलाई त विभेद गर्दछन् भने कहाँबाट शिक्षकलाई न होस् । यस आलेखमा अस्थायी शिक्षकको कुरा गर्दैछु । अहिले पछिल्लो समयमा अस्थायी शिक्षकहरुलाई केही गर्न नसक्ने र शिक्षाको गुणस्तर वृद्धि गर्न नसक्ने समूहको रुपमा चित्रित गर्न खोजिएको पाइन्छ । संस्कृतमा शिक्षकको सम्मान गर्दै रचिएको श्लोक छ :

“गुरु ब्रह्मा, गुरु बिष्णु, गुरु देवो महेश्वर!
गुरु साक्षात् परम ब्रह्मा, तस्मै श्री गुरवे नमः !“

हालै शिक्षक सेवा आयोगबाट कार्यरत अस्थायी शिक्षकहरु मात्रै सहभागी भएको परीक्षाको नतिजा सार्वजनिक भइरहेको छ। उक्त नतिजा हेर्दा करीब ५० प्रतिशत शिक्षक असफल भएको देखिन्छ । यसै नतिजाको आधारमा शिक्षा क्षेत्र बिगार्ने यिनीहरू हुन भन्न मिल्छ त ? कतिपयले यस्तै विश्लेषण गरेको पाइन्छ । यस नतिजामा असफल हुनेहरुले शिक्षण गर्न सक्दैनन् पनि भनेको सुन्न पाइन्छ । कतिपय सञ्चार माध्यमले अस्थायी शिक्षकको नतिजालाई लिएर ’कन्तबिजोग’ भन्ने शव्द नै शीर्षकमा राखेर समाचार सम्प्रेषण गरे । के उनीहरूले लेखे जस्तै अवस्था हो त अस्थायी शिक्षकहरुको ? बेरोजगार शैक्षिक जनशक्ति उत्पादन गर्ने उनीहरू नै हुन त ? के उक्त परीक्षाले उनीहरूको योगदानको मूल्यांकन गर्न सक्छ ? उनीहरूको अनुभव जाच्न सक्छ ?

हालै प्रकाशित नतिजाका आधारमा उनीहरूलाई अयोग्य भन्ने हो भने त्यही समय वा पछि स्थायी भएका शिक्षकहरुलाई पुनः परीक्षामा सहभागी गराउने हो भने नतिजा कस्तो आउला ? अवश्य पनि पनि करिब–करिब यस्तै प्रकारको नतिजा नै आउनेछ । (स्थायी शिक्षकलाई बेलाबखतमा दिइने तालिम लगायतका कारणले केही राम्रो नतिजा आउन सक्ला) यहाँ सबै स्थायी र अस्थायी शिक्षकहरु एकैनास हुन्छन् भनेर सामान्यीकरण गर्न खोजिएको होइन । नेपालकै शिक्षक तथा दरबन्दी विवरण हेर्ने हो भने स्थायीभन्दा अस्थायी र अन्य प्रकारका शिक्षककै संख्या धेरै छ । यसर्थ अस्थायी र अन्य प्रकारका शिक्षकले नै विद्यालय धानेका छन् भन्दा अतिशयुक्ति हुँदैन होला ।

कतिपय स्थायी शिक्षकहरु ठेमाने अर्थात्  ठेकेदार, माष्टर र नेता नभएका पनि होइनन् । यो तथ्य कतिपय अस्थायी शिक्षकमा पनि लागू हुन्छ । कतिपय स्थायी शिक्षकमा स्थायित्वको दम्भका कारण अरुलाई नटेर्ने गरेको समेत पाइन्छ । यसरी अस्थायी शिक्षकले विद्यालय धान्नमा ठूलो योगदान गरेका छन् ।

नेपालमा शिक्षकलाई अस्थायी बनाउन विभिन्न पक्षहरु जिम्मेवार छन् । सरकार, कर्मचारीतन्त्र, शिक्षक सेवा आयोग, राजनीतिक दल, शिक्षकका नेता र स्वयम् शिक्षकहरु पनि । सरकारको शिक्षकप्रति स्पष्ट धारणा छैन । विगतमा शिक्षक बनेका र शिक्षकको पिर मर्का बुझेका कैयन व्यक्तिहरु शिक्षामन्त्री बन्दा समेत यस विषयलाई वेवास्ता गरेको पाइन्छ । नीति निर्माणको स्थानमा पुगेका नेताहरूमा स्पष्ट दृष्टिकोण नहुनु र कर्मचारीतन्त्रकै इशारामा नाच्नु अर्को कारण हो । अर्को तर्फ शिक्षक सेवा आयोग स्वायत्त हुन नसक्दा लोक सेवा आयोग जसरी संवैैधानिक अङ्ग बनेर स्वतन्त्र रूपमा कार्य गरेको छ, त्यसरी कार्य गर्न सकेको अवस्था छैन । राजनीतिक दलले आफ्नो झण्डा बोकाउनका लागि पनि शिक्षकलाई स्थायी गर्नुहुदैन भन्ने मानसिकताले पनि ठूलो भुमिका खेलेको छ । यस्तै, शिक्षकहरु पनि राजनीतिक रूपमा विभिन्न दलका भातृसंगठनमा विभाजित हुने र पेशागत संगठन भन्दा पनि राजनीतिक संगठन जस्तो क्रियाकलाप तथा कार्यक्रममा सहभागी हुने गरेको पाइन्छ ।

यस्तै शिक्षकका नेताहरू शिक्षकका पेशागत हकहित भन्दा पनि संगठनलाई भर्याङ बनाएर राजनीतिमा होमिने गरेको देखिन्छ । यसरी अस्थायी शिक्षकको समस्या लामो समय देखि झन पछि झन बल्झिदै गएको छ ।

यदि शिक्षकको परीक्षा समयमै सञ्चालन गर्न सकेको भए अस्थायी शिक्षकको समस्या यसरी विकराल भएर झाङ्गीने थिएन । के निरन्तर रूपमा आयोगले परीक्षा सञ्चालन गरेको भए यस्तो अवस्था आउदथ्यो त ? शिक्षकहरु समयमै स्थायी हुने थिए । यदि हुन नसकेको भए अन्य विकल्प रोज्ने थिए। वास्तवमा उनीहरू भविष्य नै अनिश्चित बनेको छ । आज उनीहरू घरको न घाटको बनेका छन। यसका निमित्त जिम्मेवार पक्षहरुले क्षतिपूर्ति दिनु पर्दैन त ?

अबको बाटो
के एउटा जवान सन्तानले आफ्ना वृद्ध मातापितालाई अपमान गर्न मिल्छ ? यस्तै अवस्था हो अस्थायी शिक्षकहरुको । वर्तमानमा जवान सन्तानले जति भुमिका निर्वाह गर्न नसके पनि उनीहरूले विगतमा गरेको योगदानलाई नजर अन्दाज गर्न मिल्दैन ।  उनीहरू मध्ये वर्तमानमा योगदान दिन सक्नेलाई शिक्षणमा संलग्न गराउन सकिन्छ । उनीहरूको अनुभवलाई सदुपयोग गर्नका लागि फरक भुमिका प्रदान गर्न सकिन्छ । तर उनीहरूलाई अपमान गर्नु हुँदैन । बरु ससम्मान बिदाइ गर्नुपर्छ । अनि स्थायी शिक्षकहरुको पनि अवस्था त्यस्तै नहोस् भन्नका निमित्त शिक्षामा आउने नवीनतम चिन्तन र आधुनिक प्रविधिमैत्री बनाउनुपर्छ । तालिम, गोष्ठी, सेमीनार जस्ता कार्यक्रम निरन्तर चलाइनुपर्छ। उनीहरूको योग्यता र अनुभव अनुसार फरक फरक भुमिका क्रमशः दिइनुपर्छ । अहिलेको बेरोजगार युवा पुस्तालाई शिक्षणतर्फ आकर्षित गर्नै पर्छ। शिक्षकका सेवा सुबिधा समयानुकूल सुधार गर्नुपर्छ । विदेश पलायन भइरहेको पुस्तालाई रोक्न सक्नुपर्छ । देश विकास र समृद्धिको नारा घन्काइरहँदा शिक्षा विकासमा प्राथमिकता दिन भुल्नुहुँदैन । अर्कोतर्फ शिक्षकहरु स्वयम् जिम्मेवार र जवाफदेही हुनु अपरिहार्य छ ।

(एम.सी. गौमुखी मा.वी. प्युठानका  मा.वि. तहका स्थायी अङ्ग्रेजी शिक्षक हुन् ।)

प्रतिकृया दिनुहोस्