सामुदायिक विद्यालयका कुरा

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२७ जेष्ठ २०७७, मंगलवार

नेपालमा सञ्चालित सामुदायिक विद्यालयहरुमा पछिल्ला दिनहरुमा सरोकारवालाहरुको आकर्षण बढ्दै गएको सहजै अनुमान गर्न सकिन्छ । अभिभावकहरु सामुदायिक विद्यालयप्रति विश्वसनीय बनेका छन् जसले  विभिन्न सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाको चाप वृद्धि हुँदैगएको पाउन सकिन्छ ।

आज सामुदायिक विद्यालयहरु समसामयिक परिस्थितिका हरेक सवालमा  आफूलाई सक्षम प्रतिष्पर्धीको रुपमा खरो तवरले उत्रेका थुप्रै उदाहरणहरु पाउन सकिन्छ । तसर्थ हरेक अभिभावकले सामुदायिक विद्यालयलाई आज निजी विद्यालयको विकल्पको रुपमा चित्रण गर्न थालेको पाइन्छ । जुन कुरालाई २१ औं शताब्दीको पूर्वाद्धमा सामुदायिक विद्यालयको असल पहिचान गराउने सुन्दर पक्षको रुपमा स्वीकार गर्नु पर्दछ । साथै नेपालका अति विपन्न तथा मध्यमबर्गीय परिवारका अभिभावकहरुलाई बेलैमा हाम्रा अन्तर कथाहरु सुनाएर, बुझाएर हामी  नजिक ल्याई सुमधुर सम्बन्ध विकास गर्ने वातावरण तयार गर्नु आजको आवश्यकता हो । यसै सेरोफेरोमा सामुदायिक विद्यालयका राम्रा पक्ष के छन्, अपुग के छ, थप आकर्षक केन्द्रको रुपमा विकास गर्न के गर्नु पर्ला भन्ने सवालका केहि पक्ष खोतल्ने प्रयास यहाँ गरिएको छ ।

विषय प्रवेश :
शिक्षा बालबालिकाको नैसर्गिक अधिकार भित्र पर्दछ । शिक्षा पाउने अधिकार बालबालिकाहरुको संवैधानिक अधिकार पनि हो । राज्यले आधारभूत तह सम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तह सम्म निःशुल्क तथा तोकिएको समूहलाई उच्च शिक्षा समेत निशुल्क पाउने हकको सुनिश्चितता संविधानमा नै उल्लेख गरेको छ । यसर्थ शैक्षिक अबसरको पहुँचभन्दा बाहिर अब कुनै पनि बालबालिका  नरहुन् भन्ने नीति राज्यले लिएको स्पष्ट बुझ्न सकिन्छ ।

गुणस्तरीय शिक्षा प्रदान गर्ने महत्त्वपूर्ण आधार असल र भावनात्मक सम्बन्ध विकास गर्ने विद्यालयहरु हुन् । विद्यालयको सवल भौतिक पक्ष तथा मनोवैैज्ञानिक वातावरणले शैक्षिक क्रियाकलाप सञ्चालनमा सहयोग पुर्याउँछ । हामी कहाँ शिक्षा प्रदायक संस्थाहरुमा सामुदायिक विद्यालय, निजी विद्यालय, धार्मिक प्रवृत्तिका परम्परागत विद्यालय, कम्पनि तथा गुठीका नाममा खोलिएका विद्यालयहरु क्रियाशिल रहेका छन् । सबै शैक्षिक संस्था राज्यको प्रचलित ऐन कानुन तथा नियम अनुसार नै स्थापित भई शैक्षिक गतिविधि सञ्चालन गरिरहेका छन् ।

सामुदायिक विद्यालय जहाँ राज्य संयन्त्रको ठूलो लगानी छ, हरेक वर्ष वार्षिक बजेटको १० देखि १५ प्रतिशत अंश शैक्षिक क्षेत्रले पाएको छ । राज्यले देशका सबै क्षेत्रमा प्राविधिक शिक्षाको विकासका लागि सामुदायिक विद्यालयहरुलाई प्राविधिक विद्यालयको रुपमा विकास गरी सस्तो शुल्कमा गरीब र निमुखा जनताका छोराछोरीलाई स्तरीय प्राविधिक शिक्षा उपलब्ध गराउने लक्ष्य लिएको छ ।

त्यसैगरी विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत योजना अवधि भित्र १००० सामुदायिक विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गरी आकर्षक र सबैको रोजाइको विद्यालय बनाउने महान लक्ष्य लिएर कार्यक्रम सञ्चालन गरिरहेको छ । यसरी सामुदायिक विद्यालयहरु सवल सुदृढ र आकर्षण केन्द्र बन्दै जाने क्रममा छन् । विशेष गरी भौतिक संरचनाहरु बालमैत्री तथा प्रकोप प्रतिरोधि बनेका छन् ।

शैक्षिक सुधारका गतिबिधि पनि तीब्र रुपमा अगाडि बढेका छन् । हामीले अभिभावकलाई आकर्षित गर्ने र सुनाउनै पर्ने सामुदायिक विद्यालयका राम्रा पक्षहरु के के छन् त ? जसलाई बुँदागत रुपमा निम्नानुसार उल्लेख गरेर हेरौं ।

*   प्रभावकारी नेतृत्व र कुशल व्यवस्थापन गर्ने क्षमताका प्रधानाध्यापकहरुको छनौट,
*    योग्य, क्षमतावान,प्रतिष्ठित, लगनशील र समर्पित शिक्षकको उपयोग,
*   बालमैत्रीपूर्ण विद्यालय वातावरण निर्माण,
*    विद्यालयको भौतिक संरचना र आधारभूत सेवा सुविधामा सुधार,
*    उत्कृष्ठ, सान्दर्भिक, समसामयिक तथा क्रियाकलापमा आधारित पाठ्यक्रमको उपयोग,
*   सरल सहज शैक्षिक सामाग्रीको निर्माण तथा प्रयोग,
*    निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धतिको प्रयोग,
*     स्तरीय परीक्षा प्रणाली,
*     योजनाबद्ध शैक्षिक नीति तथा कार्यक्रमहरुको तयारी र उपयोग,
*    अभिभावकहरुको न्यून लगानिमा गुणस्तरीय शिक्षाको प्राप्ति,
*    अभिभावकहरुको रचनात्मक सहयोग,
*    शिक्षण सिकाइमा सूचना प्रविधिको उपयोगको शुरुवात,
*    आधुनिक पुस्तकालय तथा साना कक्षाहरुको लागि बुक कर्नरको व्यवस्था,
*    सक्षमतामा आधारित शिक्षक तालिमको उपयोग,
*    आधुनिक अंग्रेजी, विज्ञान तथा गणित ल्याबको व्यवस्था,
*    सहयोगी विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ,
*    विश्लेषणात्मक , अन्तरक्रियात्मक शिक्षण सिकाइ तथा उत्कृष्ठ नतिजा,
*    विद्यार्थीको सकारात्मक सोंच र सहभागितामूलक संस्कृति आदि ।

शैक्षिक सबालमा हाम्रो भुमिका तथा  हाम्रो अभ्यास यति धेरै राम्रो छ । हाम्रो शारीरिक तथा मानसिक लगानि धेरै छ । जसले गर्दा सामुदायिक विद्यालय अब्बल सावित भएका छन् । यसको मतलब सबै सामुदायिक विद्यालयको अवस्था उस्तै छ भन्न त सकिन्न तर अब सूधारोन्मूख अवश्य पनि छन् । हामीले अभिभावकको चाहाना अनुसारको अंग्रेजी माध्यमको पठनपाठनलाई पछ्याईसक्यौं ।

विद्यार्थीको नियमित सिकाइ परीक्षण तथा उपचारात्मक शिक्षण पद्धतिको अनुसरण गरिरहेकै छौं । विद्यार्थीको सिकाइ उपलब्धि प्रति जिम्वेवार शिक्षकको भूमिका हामीले निर्वाह गरेकै छौं । विद्यालय सुशासन तथा पारदर्शिताका विषयमा हामी गम्भीर भएका छौं । समयबद्ध अद्यावधिक हुने कुरालाई नकारेका छैनौं । नियमितता र अनुशासन हाम्रो मार्गदर्शन हो, भुलेका छैनौं ।

 हामीमा के कमी भयो ?
हामीमा आत्मविश्वासको कमी छ, आफू आफूमा र आफूभित्र अविश्वासको संकट छ । हामी परिवर्तन त भन्छौं तर अरुबाट, संसार बदल्न त पहिला आफू बदलिनुपर्छ भन्ने मान्यताबाट हामी बिमुख छौं । हामी राम्रा र आकर्षक विद्यार्थीको खोजि गर्छौं तर आफैंलाई चाहिँ हेर्दैनौं । समस्या यही छ । प्रभावकारी विद्यालयका लागि प्रभावकारी व्यवस्थापन आवश्यक हुन्छ, योजना, संगठन, निर्देशन, नियन्त्रण, मानव संसाधन व्यवस्थापन,अभिप्रेरणा, अनुगमन नियमनका कुरामा हामीमा कमजोरी छ ।

योजनाको प्रभावकारी कार्यान्वयनमा हामी चुक्छौं । विद्यालयका समस्यालाई गौण राखी  आफ्ना समस्यालाई प्राथमिकतामा राख्छौं । हामी सीप सिक्छौं तर त्यसलाई प्रयोग कम गर्छौं । हामीसँग अथाह ज्ञान छ तर प्रयोग राम्रोसँग गर्ने कला भएन । “यहाँ एउटा प्रसंग जोडौं ( पराजुली उत्तरकुमारको–२०७४ शिक्षक शिक्षा लेखबाट) एकपटक नारदले गुरु सनतकुमारलाई भने, गुरु मैंले सबै क्षेत्रका विषयहरु अध्ययन गरिसकें तर पनि मेरो मनमा शान्ती कायम हुन सकेन त्यो कुरा के भनें म अहिले सम्म कर्मवेत्ता त भएँ तर आत्मवेत्ता हुन सकिन ।

मैंले के गरुँ ? गुरुले जवाफ दिनुभयो, तिमीले पढेको सही छ ,तिमीले जे पढ्यौं त्यसको राम्रो अभ्यास गर, आफूले सिकेको ज्ञानसँग सम्बन्धित बृहत ज्ञानको खोजी गर, ज्ञानलाई बाँड्न सक्ने क्षमता वा सोंच बढाऊ, स्पष्ट, शुद्ध र स्वच्छ वोलाइ क्षमताले मात्र उचित ज्ञान प्रकट हुन्छ । हामीमा ज्ञानको भोक/तिर्सना जाग्नु पर्छ, ज्ञानको स्तर बढाउँदै लानु पर्दछ तबमात्र आत्मबेत्ता बन्न सकिन्छ” । यस अर्थमा हामीमा ज्ञानको भोक कम जागेको हो कि ? हामीसँग तीन तहका सरकार छन् । विभिन्न नियमन निकाय छन् । आफ्ना आफ्ना क्षेत्राधिकार भित्र रहेर सबैले आफ्ना जिम्बेवारी पूरा गरिरहेकै अवस्था रहेपनि प्रभावकारी भएको देखिदैंन । विद्यालयस्तरको शिक्षाको अधिकार संविधानले नै स्थानीय तहलाई सुम्पेको छ ।

स्थानीय तह विद्यालय सञ्चालन व्यवस्थापनमा पोख्त भईसकेका छैनन् । स्थानीय तह शैक्षिक योजना निर्माण तथा  कार्यान्वयन भन्दा पनि अन्य क्षेत्रमा चासो दिएर अगाडि बढ्दैछन् । जिल्लामा रहेको शिक्षा विकास तथा समन्वय इकाईका धेरै अधिकार कटौती भएका छन् । शिक्षक नियुक्ति, सरुवा, बढुवा, अभिलेखीकरणको काम उसले गर्ने भए पनि स्वतन्त्र ढंगले गर्ने अवस्था छैन् । स्थानीय निकाय आफ्ना छुट्टा छुट्टै ऐन नियम बनाएर अगाडि बढिरहेका छन् । संघीय शिक्षा ऐन निर्माण भएको छैन्, अझ प्रदेश कानुन त कता हो ? यी र यस्ता विषयले पनि सामुदायिक विद्यालयको प्रभावकारीतालाई ओझेलमा अवश्य पार्ला ।

 हामीले के गर्ने ?
विद्यार्थीले आफु अध्ययन गरेको विद्यालय प्रति गर्व गर्ने, शिक्षकले आफु कार्यरत विद्यालय प्रति गर्व गर्ने आफ्नो समुदायले आफ्ना सन्तान अध्ययन गरेको विद्यालय प्रति गर्व गर्ने र स्थानीय समुदायले वा अभिभावकले आफ्नो विद्यालय प्रति गर्व गर्न सक्ने विद्यालय बनाउन हामीले गहन अभियान चाल्न धेरै ढिला गर्नुहुन्न । आगन्तुकले पनि विद्यालयको वातावरण हेर्दा आफ्नो बच्चालाई ल्याएर भर्ना गरौँ गरौँ लाग्ने बनाउने कुरामा ध्यान जानु पर्दछ । राम्रो विद्यालयको लागि प्रभावकारी शिक्षण अनिवार्य सर्त हो ।

यसका लागि शिक्षक पेशागत रुपमा सक्षम र दक्ष हुनुपर्दछ । गुणवान विद्यार्थी उत्पादनमा शिक्षक सक्षमता आवश्यक छ । विद्यालय विकास प्रयासमा शिक्षकको भूमिका महत्त्वपूर्ण हुन्छ नै । शैक्षिक योजना निर्माण तथा कार्यान्वयन, शैक्षिक सामाग्री निर्माण र प्रयोग, विद्यार्थी मूल्याङ्कन नीतिको सफल कार्यान्वयन, पाठ्यक्रमले निर्दिष्ट गरेका थप सन्दर्भ सामाग्री निर्माण र प्रयोग गर्ने कुरामा शिक्षक सक्रिय तथा योजनाबद्ध ढंगले लाग्नु पर्दछ । कक्षाकोठा तथा कक्षाको विविधता व्यवस्थापन उचित ढंगले गर्नुपर्दछ । सिकेको सीपलाई कक्षाकोठामा भरपूर उपयोग गर्नुपर्दछ ।

विद्यालय सञ्चालन, रेखदेख, व्यवस्थापन तथा नियन्त्रणको जिम्बेवारी बोकेका विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक अभिभावक संघको भूमिका अभिवृद्धि गर्नु जरुरी छ । विद्यालयका शैक्षिक तथा अन्य योजना तथा कार्यक्रम तय गर्ने कुरामा थप जिम्बेवार ढंगले लाग्नु पर्दछ । शिक्षाका तत्कालिन तथा दीर्घकालिन सन्दर्भमा छलफल, अन्तरक्रियालाई जोड दिई सबैका भावना समेटेर अगाडि बढ्नु पर्दछ । शिक्षक विद्यार्थी पुरस्कार तथा दण्डको यथोचित व्यवस्था मिलाउनु पर्दछ । शिक्षक कर्मचारीको वृत्ति विकासमा सहयोग पुग्ने थुप्रै रचनात्मक कार्य सञ्चालनमा जोड दिनु पर्दछ ।

शिक्षा सञ्चालनको नेतृत्व गर्ने निकायहरु बिच समन्वयात्मक सम्बन्ध विकास गरी जिम्बेवारी बाँडफाँड गर्नुपर्दछ । नीति निर्माण गर्दा तथा कानून बनाउँदा कोहि कसैको अधिकारमा द्विविधा सिर्जना गर्छ गर्दैन हेर्नु पर्दछ । अहिले सामुदायिक विद्यालयको मुख्य पिडा भनेको गणित विज्ञान जस्ता शिक्षकको व्यवस्थापन गर्न नसक्नु हो । यो विषय अध्ययन अध्यापन गर्ने जनशक्ति  अन्य क्षेत्रमा आकर्षित भइरहेका छन् । यसप्रकारको जनशक्ति सहज उपलब्ध गराउने वा यस प्रकारका जनशक्तिलाई विद्यालयमा टिकाउने खालको नीति तत्काल ल्याउनु पर्दछ । नत्र विकराल समस्या आउने निश्चित छ । उत्कृष्ट तथा प्रतिबद्ध व्याक्तिलाई विद्यालयमा प्रवेश गराउन सक्ने खालका कार्यक्रम अगाडि ल्याउन ढिला गर्नु हुन्न ।

शैक्षिक संरचनाको संगठनात्मक स्वरुप तय गर्दा नै अधिकार, उत्तरदायित्व र जवाफदेहिता कस्ले कति लिने स्पष्ट बनाउनु पर्ने देखिन्छ । प्रदेश सरकारको भूमिका के रहने, कस्तो शैक्षिक कार्यक्रम सञ्चालन गर्ने , सामुदायिक विद्यालय विकास सम्बन्धि योजना के छ ? चाँडो स्पष्ट हुनु पर्दछ । स्थानीय सरकारले संविधान प्रदत्त अधिकारको कार्यान्वयनमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्नु पर्दछ ।

समुदायले निजी रुपमा सञ्चालन गरेका र सरकारबाट दरबन्दीको व्यवस्था नगरेका विद्यालयहरुलाई आन्तरिक रुपमा केहि दरबन्दी सिर्जना गरी वितरण गर्ने व्यवस्था मिलाउनु पर्दछ । स्थानीय सरकार, विद्यालय र सरोकारवालाहरु बिचको सम्बन्ध गाढा बनाउन ध्यान दिनु पर्दछ । सामुदायिक विद्यालयमा नविनतम् प्रविधि प्रयोगमा जोड दिन स्थानीय निकाय ,अन्य विभिन्न संघ संस्थाहरु बिच सहकार्य गरी स्रोत पहिचानमा सहयोग गर्नु पर्दछ ।

हामी सामु अहिले ठूलो अवसर आएको छ । क्रमश अभिभावकहरु सामुदायिक विद्यालयसम्म सहज रुपमा आउने वातावरण बनेको छ । विद्यालयले अभिभावकसँगको सामिप्यतालाई तुरुन्तै बढाउनु पर्छ । विद्यालयमा आमन्त्रण गरेर विद्यालयका राम्रा विषयका बारेमा सूसुचित गराउने, सूधार गर्ने विषयमा बहस चलाउने विद्यालयका भावी कार्यक्रमका बारेमा जानकारी गराउने काममा ढिला गर्नु हुन्न । अभिभावकका माग तथा गुनासा रहेछन् भने पनि तत्काल सम्बोधन गर्ने वातावरण निर्माण गर्नुपर्छ ।

विद्यालयमा चुस्त दुरुस्त प्रशासन, मितव्ययिता, आर्थिक पारदर्शिता, सहभागितामूलक निर्णय प्रक्रिया,अपनत्वको भावना, सबैको भावनाको कदर गर्ने संस्कृतिको विकास गर्नु पर्दछ । प्र. अं ले कुशल नेत्तृत्व गरे पुग्छ, शिक्षकले आफ्नो जिम्बेवारी इमान्दारीपूर्वक निर्वाह गरे पुग्छ । विद्यार्थी नियमित तथा अनुशासित भए पुग्छ । अभिभावक चनाखो भए पुग्छ ।

निष्कर्ष : सामुदायिक विद्यालयप्रतिको गिरेको शाख र झुकेको लगाव उकास्ने उपयुक्त अवसर आएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा उठाइएको नकारात्मक टिप्पणीको जवाफ दिने बेला भएको छ । शिक्षक, विद्यार्थी र अभिभावक बिच रहेको त्रिकोणात्मक सम्बन्ध विस्तार गर्न आ–आफ्नो क्षेत्रबाट लागौं । जसका कारण सामुदायिक विद्यालयहरु आफैं सवल र सक्षम हुनेछन्, विश्व परिबेशको शैक्षिक प्रक्रियासँग प्रतिष्पर्धी बन्न सक्नेछन् । सबैले आफ्नो क्षेत्रबाट सुझबुझपूर्ण ढंगले मिलेर काम गरौं ,हाम्रा सामुदायिक विद्यालयहरु सबैको नजरमा राम्रो र पहिलो रोजाइमा पर्नेछन् ।

दाहाल गोकुण्डेश्वर बालमन्दिर मावि धनकुटा – ५का शिक्षक हुन् ।

प्रतिकृया दिनुहोस्