सिकाइका वैकल्पिक माध्यम : चुनौति र अवसर

एजुकेशन पाटी

Byएजुकेशन पाटी

११ असार २०७७, बिहीबार

कोभिड – १९ ले आज विश्वमा व्यापक परिवर्तन ल्याइदिएको छ ।  सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक लगायतका सम्पूर्ण क्षेत्रमा कोभिड – १९ को असर व्यापक देखा परेको छ । सबै क्षेत्रहरू थिलथिलो प्रायः भएका छन् । जुन तबरले मानवीय दैनिकी चलिरहेको थियो, त्यसमा अवरोध सिर्जना भएको छ । यसको नियन्त्रणमाथि केही हदसम्म सफल भएका राष्ट्रहरूमा पनि अझै पूर्ण ढुक्क भएको अवस्था छैन । यसले सबैको मनमा सन्त्रासको वातावरण सिर्जना गरिदिएको छ । तथा ढुक्कसँग पूर्ववत् फर्कने अवस्था अनिश्चित बनिदिएको छ ।

हाम्रोजस्तो विकासको मार्गतर्फ लम्किरहेको मुलुकलाई यसले झन् कठिन अवस्था सिर्जना गरिदिएको छ । विद्यालयहरू सबै ठप्प छन् । लाखौँ बालबालिकाहरू घरमा नै बस्न बाध्य भएको अवस्था छ । यतिबेला अधिकांश बालबालिकाहरूको सिकाइ क्रियाकलाप र गतिविधिमा पूर्णबिराम लागेको छ । साना कक्षाका बालबालिकाले सिकेका साँवा अक्षरसमेत बिर्सदै गएको अवस्था छ भने माथिल्ला कक्षाहरूका विद्यार्थीमा सिकाइप्रति वितृष्णा पैदा हुँदै गइरहेको छ । सिक्ने सिकाउने प्रक्रिया पूर्ववत् सञ्चालन हुने अझै अनिश्चित नै छ । यसले भोलिका दिनहरूमा सिकाइप्रति कस्तो रूप लिने हो यसै भन्न सकिने अवस्था छैन ।

घरपरिवारको सीमित वातावरणभित्र लामो समयसम्म यसरी निरन्तर दिन बिताइरहँदा बालबालिकाहरूमा न्याश्रोपना देखा पर्नु स्वभाविक नै हो । फरकफरक स्थान तथा फरकफरक वातावरणभित्र रमाउन चाहने चञ्चल स्वभावकै कारण बालबालिकामा पारिवारिक सीमित वातावरण एउटा जेलजस्तो हुनु खासै नौलो कुरा होइन । पढ्ने, खेल्ने, साथीभाइसँग रमाइलो गर्ने, विद्यालयीय वातावरणमा घुलमिल भएर दिन व्यतित गर्ने, घरपरिवार इष्टमित्रसँग समय बिताउने जस्ता आदिइत्यादि क्रियाकलापसँग अभ्यस्त हुँदै दिन कटाइरहेका बालबालिकामा यस्ता अधिकांश गतिबिधिबाट बञ्चित हुनुपर्दा नैरास्यता उत्पन्न हुनु पनि स्वभाविकै हो । यस्तो अवस्थामा भोलिका दिनहरूमा बालबालिकामा थप मानसिक जटिलता उत्पन्न नहोला भन्न सकिन्न ।

तसर्थ विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई निराशाबाट जोगाउन तथा सामान्य अवस्थातर्फ उन्मुख गराउन विभिन्न विद्यालयहरूद्वारा सिकाइका केही नयाँ वैकल्पिक उपायहरूको अवलम्बन गर्ने प्रयास पनि भइरहेको छ । खासगरी बालबालिकाहरूलाई विद्यालय सञ्चालन नहुँदासम्म घरमा नै कसरी व्यस्त राख्न सकिन्छ र उनीहरूलाई केही मात्रामा भए पनि सिकाइप्रति प्रोत्साहन कसरी गर्न सकिन्छ भनी विभिन्न उपायहरू अवलम्बन गर्ने प्रयास हुँदै आएको छ, चाहे त्यो सरकारी स्तरबाट होस् वा निजी स्तरबाट नै किन नहोस् ।

विशेषतः बन्दाबन्दीको सुरुवातका दिनहरूमा पूर्णतः निष्क्रिय रहेका शिक्षक तथा सिकारूहरूमा बन्दाबन्दीको लामो समयपश्चात अहिले आएर यसै अवधिमा केही सक्रियता देखाएको पाइन्छ । प्रत्येक विषय शिक्षकहरूले आआफ्नो विषयका विभिन्न प्रश्नहरू तयार पारी गृहकार्यका रूपमा घरघरमा नै उपलब्ध गराउने र सम्वन्धित शिक्षकलाई सम्पर्क गर्न निर्देशन दिई आफ्ना विद्यार्थीहरूलाई केही व्यस्त राखेको पनि पाइन्छ । यसले सिकारूहरूमा सिकाइप्रति केही जागरण फैलाएको तथ्यलाई नकार्न सकिन्न ।

िदनभर मोबाइल र टीभीमा मात्रै समय बिताउने तथा खेलेर, झगडा गरेर बाबाआमालाई सताएर मात्रै दिन कटाउने बालबालिकामा यसले केही मात्रामा भए पनि सकारात्मक प्रभाव पारेको अवस्य नै छ । हिजो सम्म कलम, कपि, पाठ्यपुस्तक लगायत समग्र अध्ययनबाट टाढा रहेका बालबालिकामा यस्ता किसिमका गृहकार्यहरूले सिकाइमा केही टेवा भने अवस्य नै दिएको छ । तर यसमा पनि सचेत तथा शिक्षित अभिभावक र अनुशासित एवम् कर्तव्यबोध भएको विद्यार्थी हुनु नितान्त आवश्यक छ ।

औपचारिक कक्षा शिक्षणको विकल्पमा अवलम्बन गर्ने प्रयास गरिएको तथा गृहकार्य घरघरमा उपलब्ध गराएर सिकारूलाई सिकाइप्रति अग्रसर गराउन प्रयोग गरिएको सिकाइको यो माध्यम हाम्रो मुलुकमा नितान्त नौलो र पहिलो प्रयोग हो । यसले आजको यस्तो विषम परिस्थितिमा सिकारूमा सिकाइप्रति अभिरुचि पैदा गर्न महत्वपूर्ण टेवा पु¥याउँन सक्तछ । सिकारूलाई व्यस्त बनाउनका लागि यो माध्यम प्रभावकारी बन्न सक्तछ । तर यसरी घरघरमा गृहकार्य वितरण गर्न जाँदा यसमा प्रत्यक्ष संलग्न रहने शिक्षक विद्यार्थीमा कोरोना संक्रमण हुने उच्च जोखिम पनि उत्तिकै रहन्छ । सबै विद्यार्थीको घरघरमा पुग्न सक्ने अवस्था पनि चुनौतिपूर्ण नै हुने देखिन्छ ।

त्यस्तै विद्यार्थीमा कर्तव्यबोध भएन भने यो प्रयोग बालुवामा पानी हाले सरह मात्रै हुने देखिन्छ । प्रत्यक्ष अन्तक्र्रियाबाट सिक्ने सिकाउने प्रक्रियालाई अवलम्बन गर्दा त समस्या देखिने सिकारूमा भने यो केही जटिल बन्न सक्तछ । यद्यपि यो विधिलाई आत्मसात गरेर प्रभावकारीपूर्ण तबरले कार्यान्वयनमा ल्याउने हो भने यसले सिकाइ सहजीकरणका लागि एउटा इटा थप्ने काम भने अवश्य नै गर्दछ ।

यसबीचमा आआफ्नो विद्यालयका विद्यार्थीहरूलाई भौगोलिक क्षेत्रका आधारमा वर्गीकरण गरी उनीहरूकै क्षेत्रमा त्यस्ता विद्यार्थीहरूलाई उपस्थित गराई घर, टोल वा उनीहरूको समाजमा नै गएर अध्यापन गराउनुपर्दछ भन्ने अवधारणाको पनि विकास भएको अवस्था छ । विद्यार्थीहरूलाई पायक पर्ने निश्चित स्थानमा उनीहरूलाई उपस्थित गराएर विषयगत तालिका बनाई निश्चित समयमा शिक्षकहरूले सावधानीपूर्वक सिकाइ क्रियाकलाप गराउनुपर्छ भन्ने कुराहरू पनि बाहिर आएका छन् । यसले सिकाइ क्रियाकलापलाई निरन्तरता दिनका लागि केही हदसम्म अवश्य नै सहयोग त पु¥याउने नै छ भने शिक्षक र विद्यार्थीको प्रत्यक्ष अन्तक्र्रियाले सिकारूमा पनि विद्यालयीय वातावरणकै अनुभूति दिलाउन सक्छ । तर यसमा शिक्षक र विद्यार्थीको उपस्थिति नै महत्वपूर्ण बन्ने हुन्छ ।

शिक्षक उपस्थित हुँदा विद्यार्थी नहुने र विद्यार्थीको उपस्थितिमा शिक्षक नआइदिने हो भने यसको प्रभावकारिता शुन्य हुन्छ । यस्तो माध्यम अन्यभन्दा बढि प्रभावकारी त होला तथापि संक्रमणको जोखिमका दृष्टिले हेर्दा समस्यारहित भने छैन । त्यस्तै भौतिक संरचनाका दृष्टिले पनि यसमा समस्याहरू अवस्य नै देखा पर्ने हुन्छ । जसमा कक्षाकोठा, टेबल कुर्सी, डेस्कबेन्च आदिको उचित व्यवस्थापन नहुने हुँदा विकल्पका रूपमा प्रयोग भएको यो माध्यमले पनि प्रभावकारिता वहन गर्न सक्ने अवस्था छैन ।

अहिले नेपालभरि विभिन्न टेलिभिजन च्यानलहरू सञ्चालनमा आइरहेका छन् । ती च्यानलहरूले पनि तालिका नै बनाएर कक्षा सञ्चालन गर्ने गरिरहेका छन् । त्यसले धेरै हदसम्म सिकारूलाई सिकाइप्रति जागरुक पनि बनाएको छ । माध्यमिक तहसम्म विशेष गरी कक्षा १० सम्म अध्यापन हुने पाठ्यसामग्रीहरूलाई आफूले तयार पारेको तालिका अनुसार कक्षागत र विषयगत रूपमा सम्बन्धित शिक्षकहरूद्वारा प्रसारण गराइरहेका छन् । यस्तो महामारीको समयमा यो एउटा भरपर्दो वैकल्पिक माध्यम बन्दै गइरहेको छ । जसमा सिकारू र शिक्षकबीचमा दोहोरो संवाद हुन नसकेतापनि शिक्षकहरूले प्रयाप्त सामग्रीको प्रयोग गरी कक्षा प्रस्तुति दिएको खण्डमा तथा सिकारूमा रमाइरमाई सिक्ने वातावरण सिर्जना गरेको खण्डमा यसले सिकाइ सहजीकरणमा महत्वपूर्ण टेवा पु¥याउन सक्तछ । तर यसमा पनि समस्या र चुनौति भने अवस्य छन् ।

बेलाबेला झ्यापझ्याप बत्ती गइरहने समस्या एकातिर छ भने अर्कोतर्फ सबै बालबालिकाको पारिवारिक आर्थिक अवस्था टीभी र केबल च्यानल जोड्न सक्ने नरहेको हुन सक्छ । जो पहुँचभित्र छन्, तिनीहरूले सहज तबरले कक्षा लिन पाउने भए तर पहुँच नभएकाहरूमा यो झन ठूलो समस्या बन्न सक्तछ । त्यस्तै परिवारका अन्य सदस्यहरूको उत्तरदायित्व र जिम्मेवारीबोधका कारण पनि सिक्ने सिकाउने प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । आफ्ना केटाकेटीमा टेलिभिजन च्यानलबाट प्रसारित कक्षाहरू लिने उत्साह केकस्तो छ, त्यसलाई बुझेर प्रोत्साहन दिने अभिभावक भएको खण्डमा टेलिभिजनको पहुँचभित्र रहेका बालबालिकाको सिकाइमा सकारात्मक प्रभाव पार्दछ । यद्यपि यो हुन सकेन भने यो माध्यम पनि प्रभावकारिताका दृष्टिाकोणले कमजोर प्रायः नै हुन्छ । अभिभावकसँग आवस्यकीय सहकार्य गरेर बालबालिकाहरूलाई टेलिभिजनका कक्षाहरूको पहुँचभित्र पु¥याउन सकिएको खण्डमा यसले थोरै हदसम्म भएपनि सिकाइप्रति क्रियाशील गराउन महत्वपूर्ण भूमिका खेल्दछ ।

बन्दाबन्दीकै बीचमा नेपाल मात्रै नभएर विश्वका अधिकांश देशहरूले अत्याधिक रूपमा प्रयोग गरिएको एपका रूपमा जुम मिटिङ एप रहेको छ । जसको माध्यमबाट विभिन्न बैठक, सम्मेलन, तथा प्रशिक्षणहरू भए र भइरहेका छन् । ल्यापटप तथा वाइफाइ सुबिधायुक्त मोबाइल फोनको माध्यमबाट प्रयोगमा आउने यो एप कक्षा सञ्चालनार्थ पनि उत्तिकै प्रभावकारी देखिएको छ तर इन्टरनेटको सुविधा भएको स्थान हुनुपर्दछ । इन्टरनेटको पहुँच तथा ल्यापटप वा सुबिधायुक्त मोबाइल फोन छ भने यो बिधि अन्य वैकल्पिक उपायभन्दा अलि बढि नै प्रभावकारी देखिन्छ । किनकि यसमा शिक्षक विद्यार्थीको प्रत्यक्ष अन्तक्र्रिया सम्भव हुन्छ । खासगरी यसमा प्रविधिको अधिकतम प्रयोग भएको हुन्छ ।

तसर्थ यो प्रविधिमा अद्यावधिक भइरहने शिक्षकका लागि एउटा सुनौलो अवसर पनि बनिदिन्छ भने विद्यार्थीमा पनि सिकाइप्रति उत्साह र जागरुकता पैदा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यो माध्यम जति प्रभावकारी छ त्यति नै चुनौतिपूर्ण पनि छ । यसमा एक त तीव्र गतिको इन्टरनेट सेवाको उपलब्धता हुनु प¥यो भने अर्कोतर्फ प्रयोग गर्ने उपकरण पनि केही बढि मूल्यको नै हुनुपर्ने देखिन्छ । अधिकांश शिक्षकहरू यस्ता नयाँ प्रविधिसँग परिचित नभएको अवस्था छ । यस्तो अवस्थामा कतिपय शिक्षकहरूमा यसको प्रयोग सम्बन्धि तालिमको पनि उत्तिकै आवश्यकता रहेको देखिन्छ । तरपनि प्रविधिमा अद्यावधिक भइरहने र आवश्यकीय श्रोत र साधनको पहुँचभित्र रहेका शिक्षकका लागि भने यो एउटा सिकाइको वैकल्पिक उपाय अवलम्बनका लागि सुनौलो अवसर भने पक्कै हुन्छ ।

राष्ट्रिय प्रसारण अन्तर्गतका रेडियो तथा एफएमहरू लगायत स्थानीय स्तरमा सञ्चालित एफएम्हरूले पनि यो बन्दाबन्दीको बीचमा सिकाइलाई निरन्तरता दिनका लागि विभिन्न कक्षाका विभिन्न विषयका सामग्रीहरू प्रसारण गर्ने कार्य गरिरहेका छन् । यसले भने अधिकांश बालबालिकाको पहुँचलाई समेट्ने प्रयास गरेको छ । विगतमा पनि रेडियोबाट दूर शिक्षा लगायतका सिकाइका सिकाइ सामग्रीहरू प्रसारण नभएका भने होइनन् तर त्यो अवस्था आजको जस्तो विषम परिस्थिति थिएन । विद्यालयको पहुँचभन्दा बाहिर रहेका सिकारूहरूको लागि भनेर सञ्चालित त्यस्ता प्रकृतिका कार्यक्रमहरूले आजको यो सन्दर्भसँग मेल खान नसकेता पनि त्यस्ता अभ्यासलाई आजका दिनमा कार्यान्वयनमा ल्याउन भने सहज भएको प्रतीत हुन्छ । रेडियो तथा एफएम्हरूबाट प्रसारित यस्ता सिकाइका वैकल्पिक उपायहरू अन्यको तुलनामा केही हदसम्म सहज भएतापनि यसले सबै समस्याको समाधान भने गर्न सक्ने अवस्था देखिन्न ।

कोभिड – १९ का कारण नेपाल सरकारले २०७६ चैत्र ११ देखि बन्दाबन्दीको घोषणा गरेको थियो । शैक्षिक सत्रको अन्त्यको महिना भएकै कारण यस समयमा अन्य बेला विद्यालय स्तरको अन्तिम परीक्षा सञ्चालन गर्ने, नतिजा निर्माण, प्रकाशन तथा वितरण गर्ने जस्ता गतिविधिहरू हुन्थे । वैशाख महिना नतिजा विश्लेषण, भर्ना तथा आगामी शैक्षिक सत्रको कार्ययोजना निर्माण र सामान्य रूपमा पढाइ सुचारू गर्दैमा व्यतित हुन्थ्यो ।

यो बन्दाबन्दीले यी दुई महिनामा पारेको असरले एसईई लगायत त्यो भन्दा माथिल्लो तहबाहेकको शैक्षिक सत्रमा खासै प्रभाव नपार्ने हुनाले शैक्षिक गतिविधिसँग सरोकार राख्ने पक्षहरू पर्ख र हेरको अवस्थामा हुनु स्वभाविकै थियो । त्यसपछि कोरोनाको सङ्क्रमण तीव्र रूपमा बढ्न थालेपश्चात सरकारले वैकल्पिक प्रणलीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरी सिकाइलाई सहज बनाउने प्रयास ग¥यो ।

उपर्युक्त निर्देशिका अनुसार विद्यार्थीहरूलाई श्रोतसाधनको पहुँचका आधारमा पाँच समूहमा वर्गीकरण गर्ने व्यवस्था रहेको छ । जसमा सबै किसिमको प्रविधिको पहुँबाट टाढा रहेका, रेडियो तथा एफएम् रेडियोमा पहुँच भएका, टेलिभिजनमा पहुँच भएका, कम्प्युटर तथा अनलाइन प्रविधिसँग नजोडिएका र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी समूह रहेका छन् । यी सबै समूहहरूलाई उनीहरूको पहुँचको आधारमा सिकाइका वैकल्पिक उपायहरू अवलम्बन गर्ने प्रक्रियाको सम्पूर्ण जानकारी समेत उक्त निर्देशिकाले स्पष्ट पारेको छ । यस्ता किसिमका सिकाइका वैकल्पिक माध्यमको प्रयोग तथा अभ्यास नितान्त नौलो भएको हुनाले शैक्षिक क्षेत्रसँग सरोकार राख्ने सम्पूर्ण निकाय यस विषयमा कतै अल्मलिएको पो हो कि ?

जेजस्तो भएतापनि सिकाइका यस्ता वैकल्पिक माध्यमको प्रयोगले अवसरहरू पनि सिर्जना गरिदिएको छ भने चुनौतिहरू पनि उत्तिकै थपिदिएको छ । प्रविधिलाई अद्यावधिक राख्न, यस बारेमा थप ज्ञान हासिल गर्न, तथा यसको उचित प्रयोग उपयोगमा अभ्यस्त बनिरहनका लागि यो एउटा अवसर बनिदिएको छ । जसले विश्वको शैक्षिक गतिविधि तथा सिकाइ विधि र प्रक्रियासँग साक्षात्कार हुनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । हाम्रोजस्तो मुलुकमा पनि त्यस्ता नवीन विधि, पद्धति तथा प्रक्रियाहरू कार्यान्वयनमा ल्याउन सकेमा हामी पनि विश्व शैक्षिक परिवेशसँग परिचित हुन पाउने अवसर प्राप्त हुन सक्छ । यसरी नै प्रविधिसँग परिचित हुँदै र यसलाई अद्यावधिक गर्दै लाने प्रवृत्तिको विकास गर्न सकेको खण्डमा यो विपदको अन्त्यपश्चात पूर्ववत रूपमा सञ्चालन हुने कक्षाकोठाको शिक्षणलाई समेत प्रविधिमैत्री बनाउँदै फरक तवरले शिक्षण गर्न सक्ने बानीको विकास हुने निश्चित नै छ । यसले सिकाइमा नयाँ आयामको सुरुवात गर्न सक्ने सम्भावना पनि उत्तिकै रहेको छ ।

यससँगै विकासमा पछि परेको हाम्रोजस्तो मुलुकमा यसले प्रशस्तै चुनौतिहरू पनि थपिदिएको छ । अधिकांश बालबालिकाहरू इन्टरनेटको पहुँचबाट टाढा रहनु, नेट चल्न सक्ने महङ्गा उपकरणहरू खरिद गर्न सक्ने अवस्था न्यून हुनु, सिक्ने र सिकाउने दुबैमा तीव्र इच्छाशक्ति नहुनु, अधिकांश शिक्षकहरू समेत इमेल इन्टरनेट चलाउन अभ्यस्त हुन नसक्नु तथा प्रविधिप्रति उदासीन हुनु, इन्टरनेट निःशुल्क वा कम दरमा उपलब्ध नहुनु, प्राप्त स्रोत र सामग्रीहरूको पनि सदुपयोग भन्दा दुरूपयोग बढि हुनु आदिले ठूलो चुनौति थपिदिएको छ ।

यस्ता किसिमका चुनौतिहरूलाई पन्छाउँदै तथा सरकारी स्तरबाट चालिएका सकारात्मक कदमहरूलाई कडाइका साथ कार्यान्वयनमा लाने र शैक्षिक क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएका शिक्षाविद, विज्ञ तथा मनोवैज्ञानिकहरूले रचनात्मक रूपमा सरकारलाई सहयोग गरी अगाडि बढ्ने हो भने यो एउटा शैक्षिक क्षेत्र कायापलट गरिदिने सुनौलो अवसर बनिदिन सक्छ ।

प्रतिकृया दिनुहोस्