सामुदायिक विद्यालय हाम्रो विद्यालय

एजुकेशन पाटी

Byएजुकेशन पाटी

९ भाद्र २०७७, मंगलवार , ,
जीत बहादुर बस्नेत

विद्याको आर्जन गर्ने थलो विद्यालय हो । विद्यालयमा विद्यार्थी आउँछन् । शिक्षकअर्थात् गुरुवर्गले यसको अगुवाई गर्दछन् या त ज्ञान प्रदान गराउँदछन् । कुनैपनि व्यक्तिलाई ज्ञानार्जन गराउने कुरो आफैमा सजिलो भने छैन न कि पेशापनि त्यतिको सजिलो रहेको होस् । विद्यालय चलाउने कुरा जति सजिलो छ, अध्यापन गराउने कुरा त्यो भन्दा कैयौं गुना जटिल पनि छ । त्यसैले शिक्षण कार्यलाई प्राविधिक पेशा मानिन्छ । तर यहाँ सेवा सुविधा र मान प्रतिष्ठाको हिसावले यो पेशालाई निच दर्जामा प्रतिस्थापन गरिएको छ । संसारमा शिक्षक यस्ता महान व्यक्ति हुन, जसले वुद्धुहरुलाई विद्वान र वुद्धिमान बनाउँछ । अन्य पेशामा जस्तो झुटको खेती नचल्ने पेशा हो ।

यहाँ कुनै पनि शिक्षकले कुनैपनि विद्यार्थीहरुलाई गल्तिका बाटाहरु सिकाइएको हुँदैन । कुलाईनका बाटाहरुमा लगाईएको हुँदैन र विद्यार्थीहरुबाट एक दाना पनि लिईदैन । तोकिएको सरकारी तलबमान भन्दाबढि एक औँस पनि कुनै शिक्षकले दायाँ वायाँ गर्दैनन् । विगतका दिनहरुमा शिक्षकलाई गुरुको संज्ञाले चिनिन्थ्यो र सत्कार पनि त्यतिकै हुने गर्दथ्यो । पठन रुची राख्ने र पढाइको महत्व बोकेकाहरुले मात्र सहभागिता देखाउने हुँदा शिक्षकले एउटा कुरा सिकाउँदा शिष्यले दुईवटा कुराहरु सिकिसक्थ्यो । त्यसको विपरीत आजकल शिक्षकले पढाइ सक्दा बल्ल उसले पाना पल्टाउन खोज्छ । शिक्षकले लेखिसक्दा उ लेख्न खोजे जस्तो गर्छ, अर्थात शिक्षक दौंडदा उ हिंड्न शुरु गर्छ त परीणाम कस्तो आउला हामी आफै अन्दाज गर्न सक्छौं ।

विगतका वर्षहरुमा शिक्षा सशुल्क थियो र अभिभावकहरु मेरो सन्तानलाई पिटीपिटी पढाइ दिनुहोला भनी विद्यालयमा जिम्मा लगाउँथे र पो गुणस्तरको शिक्षा फेला पथ्र्यो । तर आज समय परीवर्तन भएको छ अर्थात शिक्षा निशुल्क भयो र अझ बढि जबर्जस्त ढंगले ल्याइएका र पठाइएका कारणले विद्यार्थीहरुलाई कुनै कारणवश शिक्षकले हप्काउन, तर्साउन र सामान्य कार्बाही भईहाल्दा समेत शिक्षकहरुले मुख खानु पर्ने, हेलाहोचो भईनु पर्ने, विद्यार्थी र अभिभावकबाट समेत माग्नेले जस्तो व्यवहार देखाउने मात्र होइन कि त्यस्तै परे लखेटिनु परेको तितो यथार्थपरक घटनाहरु पनि हाम्रा सामु नभएको होइन । यस्ताखाले व्यवहारले पेशालाई नै नराम्रो सोच्नुपर्ने यथार्थता कार्यरत शिक्षकहरुको नमिठो अनुभव छ ।

विद्यालय एउटा साझा थलो भएको हुँदा एउटाले यसको नेतृत्व गर्छ, जसलाई हामी प्रधानाध्यापक भन्दछौं । समुदायमा भएका जनसंख्या र विद्यार्थी संख्या र त्यसको चापको अनुपातमा विद्यालयलाई सरकारले आवश्यक दरबन्दीहरु व्यवस्था गर्दछ र शिक्षक संख्या निर्धारण हुन्छ । शिक्षा नियमावली अनुसार समुदायले विधिवत विव्यस, शिअसं नोट गर्छ र विद्यालय सञ्चालनको एउटा संरचना बन्दछ । जहाँ प्रशासन, संचालक समिति, शिक्षक र विद्यार्थीहरुमा परस्पर सम्वन्ध, सहकार्य, समस्या समाधान, आगामी योजना निर्माण, बजेटिङ, साथै कार्यान्वयन तर्फ अग्रसर हुने र सकारात्मक परीणाम तर्फ उन्मुख भई नै रहन्छ । विद्यालयलाई नियाल्नेहरु र विद्यालय सञ्चालन गर्नेहरु बिच टकराव, मनमुटाव, द्वन्द्व, झै झगडा त सामान्य कुराहरु हुन् भई नै रहन्छन् तर यसको प्रत्यक्ष असर वा प्रभाव भने कार्यरत समिति, शिक्षकहरु, विद्यार्थीहरु माझ पर्ने गर्दछ । विद्यालयका प्र. अ. अरु शिक्षकहरु भन्दा उच्च सोचका रहनु पर्दछ । शैक्षिक गुण, सामाजिक गुण, पेशागत गुणले युक्त रहेर नै प्रधानाध्यापक बन्ने हो ।

त्यसैले भनिन्छ, “ Head master is the master of the master”। वर्तमान परीवेशको बिग्रँदो राजनीतिक अवस्था अनि हस्तक्षेपको कारण शिक्षा क्षेत्रमा ठूलै भूकम्प नगएको भने होइन । शिक्षा समितिमा वास्तविक अभिभावकहरुबाट छानिनुपर्ने विव्यस अध्यक्ष खुल्लाबाट आउनुपर्ने जुन प्रावधान यहाँ घुसाइयो त्यो नै वास्तवमा हस्तक्षेपको एक रुप मान्न सकिन्छ ।

शिक्षकहरुले आफ्ना बालबालिकाहरुलाई आफु अध्यापन गराउने सामुदायिक विद्यालयमा भर्ना नगराउने र त्यहि कारणले उसले गुणस्तरीय ढंगले नपढाउने हो भन्ने हल्ला पिटाएर नथाक्ने समुदाय केहि पृथक व्यक्तिहरु राजनैतिक क्षेत्रमा आफ्नो पक्षमा झोला बोकाएर, चन्दा संकलन गर्न लगाएर स्वार्थ लुट्ने अनि सत्तामा पुगेपछि शिक्षकहरुको मान मर्यादा, सेवा सुविधा र शैक्षिक गतिविधिमा खासै चासो देखाउन नसक्नेहरुको खाडलको बिचबाट वर्तमान शैक्षिक क्षेत्रहरु घेरिएको पाइन्छ ।

उदाहरणको लागि यसै वर्ष अर्थात् २०७७ को आर्थिक बजेट विनियोजन यसको ज्वलन्त उदाहरण रहेको छ । शिक्षक महासंघले पटक–पटक पेश गरेको शिक्षक दरबन्दी मिलान, उच्च र सम्मान जनक सेवा सुविधाहरु, इसिडि शिक्षक र विद्यालयमा कार्यरत पियनको वेतन सेवा, शिक्षक अस्पताल लगायतका विषय मात्र नभई भौतिक सुविधा र छात्रवृत्तिका कुराहरुमा समेत कुनै वास्ता नगरी विज्ञहरुको राय सुझावलाई कुल्चेर कोभिड १९ को वहानामा वजेट रकमान्तरण गर्देै स्वास्थ्य क्षेत्रमा मात्र खन्याउनुले पनि र शिक्षा क्षेत्रको जम्मा वजेट मात्र ११ प्रतिशत हुनुले मात्र नभई सामुदायिक विद्यालयको जिम्मा प्राईभेट विद्यालयले सुधार गर्ने भन्ने अभिव्यक्तिवाट पनि सरकारी विद्यालयका उपेक्षा सरकारी तवरवाटनै भएको भान भएको छ । तिनै राजनीतिक ओहदाका जनप्रतिनिधिहरुपनि प्रत्यक्ष वा परोक्ष रुपबाट भन्न पछि पर्दैनन कि शिक्षकहरुले पढाइ गरेनन् भनेर ।

अब भन्नु कि कुन चाँहि राजनितिक व्यक्तित्व र जनप्रतिनिधि जसले हालसम्म सरकारी विद्यालयमा आफ्नो बालबालिका भर्ना गराए वा भर्ना गराउने नीति नै अवलम्वन गरे उत्तर पाउन कठिन छ ।

आफ्ना गाउँपालिका, नगरपालिका र देशभर रहेका लाखौं लाख कर्मचारीहरुलाई ३० देखि ४० प्रतिशत सम्म तलवभत्ता वृद्धि गराएर समेत काम काजमा लगाउन नसकिरहेको जनप्रतिनिधिहरुले लाजै नमानी पढाउने कुरामा कमजोरी भयो भन्न पछि पर्दैनन् । घरमा आफ्नो परीवारका सदस्यहरु बिरामी पर्दा आफ्नो शुद्ध तलबमानले घर धान्न नसकिरहेको अवस्थामा ऋण काढेर उपचार गराईरहनुपर्ने शिक्षकहरु काम छाडेर आफुले पाउने विदामा वस्दा निगरानी गर्नेहरु हाफ्नो मातहतका कर्मचारी प्रमुखहरु र अन्य कर्मचारीहरु जनसेवालाई बेवास्था गर्दै लामो समय सम्म उपस्थित नहुँदा सम्म कानमा तेल हालेर वसेको देख्न पाईन्छ भने कर्मचारी सरह जनताका करबाट तलव भत्ता खाने र पोशाक भत्ता समेत लिन पछि नपर्ने जनप्रतिनिधिहरुले अरु कसैलाई यसो गर र उसो गर भन्ने हैसियत कति सान्दर्भिक होला, मनन योग्य नै छ ।

शिक्षा हेर्नको लागि गाउँपालिका वा नगरपालिकामा गाउँ शिक्षा र नगरशिक्षा समितिमा मेयर वा पालिका अध्यक्षहरुको अध्यक्षतामा शिक्षा समिति बनाउने र उनिहरुकै मातहतमा माटो सुहाउँदो आफ्नो सेवाक्षेत्रमा शिक्षा कार्यक्रम लागुगर्ने नियमहरु हुनुपर्दछ । मुस्किल छ हामीले ति कार्यक्रमहरु देख्न र सुन्न ।

जनप्रतिनिधि ज्यूहरुसँग यसको जवाफ को अपेक्षा गरिन्छ । हरेक वडामा रहेका विद्यालयहरु र त्यसको परीचालन एवं नयाँ कार्यक्रमहरु तय गर्ने र बजेट बाँडफाँड र कार्यान्ययनका सम्वन्धमा वडाध्यक्षको नेतृत्वमा वडा शिक्षा समिति बनेर नयाँ ढँगले कार्यक्रम सञ्चालन गर्नुपर्ने बारे शिक्षा नियमावलीमा उल्लेख भएतापनि नगर शिक्षा, गाउँ शिक्षा र वडा शिक्षा समितिमा रहने व्यक्तित्व र उसले के के भुमिका निर्वाह गर्दै छ र कस्ता कस्ता योजनाहरु तत्कालीन र दीर्घकालीन रुपले कसरी अगाडी बढ्दैछ, यसवारेमा सम्वन्धित पक्षहरु जानकारी चाहन्छन् । यदि यस्तै हो भने आखिर जसोतसो हिजो जसरी चल्दै आयो चलिरहेको छ र भोली सम्म यथास्थितीमा चलिरहने हो भने विभिन्न वहानामा नयाँ संरचना, नयाँ नेतृत्व र नयाँपनको के अर्थ होला र सोचनीय विषय छ ।

अन्य पेशामा सट्टा कर्मचारी व्यवस्थापन गरेर काम खप्टिएर पनि काम चलाउन सकिन्छ, तर शिक्षण पेशा त्यस्तो पेशा हो जहाँ उ स्वयं नै उपस्थित हुन सकेन भने विद्यालयमा उसले लिने सवै कक्षाका पिरियडहरु ठप्प हुने मात्र होइन कि सवै कक्षाका विद्यार्थीहरुको एउटै भनाइ रहन्छ फलानो सर वा मिस आउनु भएन ताकि कक्षा खाली भयो ।

अब यो कुरो वाटो घाटो तगारो, चोक तथा गल्लीमा प्रचार हुने मात्र होईन कि चुल्हो चौका र भान्साकोठामा बढी गुन्जन पुग्दछ । अनि शिक्षकले पढाएनन् । कुनै दुनियामा यस्तो ठाउँ छ जहाँ शिक्षकले नपढाएर डक्टर, पाइलट, नेता, अभिनेता, वा अन्य पेशाकाहरुले आएर काम सतमार्गमा हिँड्न सिकाउँछ, सभ्य नम्र अनि सालिन बानी व्यवहार सिकाउने मात्र होइन चलाएका ? असम्भव शिक्षकहरु उसैपनि आफ्ना वालवालिकाहरुसँग हाँस्ने रमाउने सिक्ने सिकाउने क्रममा लामो समय उसैसँग उठवस गर्ने अभिभावकहरुसँग हातेमालो गर्ने, दुखसुख साटासाट गर्नै मिठो मसीनो खाने खुवाउने मात्र नभई स्थानीयस्तरमा रमेका स्थानीय शिक्षक र बाहिरी परीवेशबाट यस पेशामा संलग्न रहेका सवैको सामाजिक उत्तरदायित्व वहन गर्ने स्वभाव रहेको पाइन्छ ।

शिक्षक पनि एउटा मानव हो, अनि सामाजिक प्राणि पनि । त्यसैले उसलाई सम्वन्धित व्यक्तिहरुले मान मर्यादा गर्नु पर्दैन ? समाजका हरेक अभिभावकहरुलाई उसले सम्मान गरेको हुन्छ, उनकै बालबालिकाहरुलाई आजको बदलिंदो यूग सुहाँउदो र समय सापेक्ष माटो सुहाउँदो ढंगले समायोजन र समाज परीवर्तनको संवाहक वनाएको हुन्छ । उसले मात्र होइन दुनियाका सामु चिनाउने र ठूला ठूला मर्यादित पदमा पुर्याउने काममा उसको महत्वपूर्ण योगदान रहेको हुन्छ ।

तर भन्ने गरिन्छ, ठग शिक्षकहरुः सरकारी काम कहिले जाला घाम । घाम ताप्यो तलव थाप्यो, आदि आदि । यि यस्ता क्रियाकलापहरुको के कुरा गर्नु र कुनैपनि सार्वजनिक कार्यक्रममा सहभागी गराउने र आशनग्रहणका कार्यक्रमहरुमा कुनै नाम निशाना रहन्न, जबकि उसले पढाएको विद्यार्थी नै प्रमुख अतिथि भइरहेको हुन्छ ।

बरु ४ भोटेहरुको नेतृत्व गरीरहेको दलको प्रतिनिधि पात्रलाई ठूलो अनि धेरै पटक सम्बोधन गरीरहन्छन् कार्यक्रम सञ्चालकहरु । दैनिक १००० जना भन्दा बढि भविष्यका कर्णधारहरुसँग नेतृत्व गरीरहेका शिक्षकहरु चाँही पुच्छर लुकाएर बसिरहनुपर्दो रहेछ । गाडी चालकहरु तिनै शिक्षकहरुले क, ख गराएर काम चलाउने बनाएर पठाएका हुन्छन् त उसैको गाडीमा त्यो शिक्षक चड्छ भने उसको के मान भाउ ड्राईभरलाई पो गुरुजि जाम जाम ढिला भयो रे । अझ खतरा ता यो छ कि गुरुको भविष्य ता आफ्नो चेलोसँग पो रहेछ । भलै शिक्षकहरु विद्यालयमा आउँदैनन् होला, यदि आइहाले भने समयमा आएनन् होला, कक्षा प्रवेशमा ढिला गरे होलान्, पढाउने जति पढाएनन् होला, पुरै समय कक्षामा विताएनन् होला, यस्ता प्रतिनिधि पात्रका शिक्षकहरु यदाकदा नभएकका पनि होइनन्, यिनै पात्रहरुनै बढी नेताका विश्वासपात्र, ठेकेदार, पार्टी संगठनका परीचालक भएका तितो यथार्थहरु हाम्रा सामु घाम जतिकै छलङ्ग छ । यस्तै शिक्षकहरुको कुरालाई जोडेर राम्रा, कुशल, योग्य र दक्ष एवं समय र कर्तव्य पालक शिक्षकहरुको मन दुख्ने दुखाउने व्यवहार कसैले गरीरहँदा कतै भईरहेको उत्साह पनि घट्दै जाने पो हो कि ?

शिक्षकहरुलाई मिठो वोली र व्यवहार प्रशंशा र सदभाव विद्यार्थी र अभिभावकहरुले दिन सक्नुपर्दछ । राज्यले नै विभेदपुर्ण व्यवहार शिक्षकहरुमा देखाएका कारणले समुदायमा यसको प्रत्यक्ष प्रभाव पर्नु स्वभाविक पनि हो । शिक्षकलाई विद्यार्थीहरुले र उसका बुझकि अभिभावकहरुले जहिले पनि उसको पढाउने क्षमता राखेको आधारमा सम्मान गर्न जान्नु पर्दछ । कस्ता कस्ता पृष्ठभूमिबाट आएका वालवालिकाहरुलाई शिक्षकले उसको मनोविज्ञान बुझेर व्यवहार गर्नुपर्दछ र उत्पादन देखाउनु पर्दछ भन्ने कुरा समुदायले बुझ्ने कोशिश गर्नुपर्दछ । तव मात्र अपेक्षित उपलव्धि हाँसिल हुन सक्छ ।

हाम्रा विद्यालयमा आउँने विद्यालय र समुदाय तथा जातजातीहरु पनि मनन गर्न लायक छ ः जस्तैः घले, दनुवार, माझी, दलित, तामाङ, मधेसी समुदाय, घरवार विहिन , आमाबावु गुमाएका आदि आदि । यस्ता पीडित बालबालिकाहरुको अध्ययन स्थल पुरै एउटा विद्यालय र एउटै परीवार नहुने भएकाले पनि गुणस्तर वास्तवमा सोचे जस्तो नहुने रहेछ ।
यस विद्यालयको फिडर विद्यालयहरु :
 भैरवी आ. वि. मेलम्ची
 डडुवा आ. वि. मेलम्ची
 पञ्चकन्या आ. वि. मेलम्ची
 मेलम्ची कम्यूनिटि मा. वि.. मेलम्ची
 प्रगति अंग्रेजी मा. वि. मेलम्ची
 समता मा. वि. मेलम्ची
 जागेश्वरी आ. वि. मेलम्ची
 अन्य, काठ्माडौ, तराई, भारत आदि ।

उल्लेखित समुदाय र फिडर विद्यालयबाट यस विद्यालयमा प्रवेश गर्ने विद्यार्थीहरुको अवस्था शुक्ष्म ढंगले अवलोकन गर्ने हो भने भूकम्पमा बाँकि वसेका घर टहरा जस्तै जिर्ण अवस्थामा देख्न सकिन्छ ।

शिक्षा मन्त्रालयले वडा तामझामका साथ करोडौं रकम खर्चेर गोष्ठि, सेमिनार र सुचना सम्प्रेषण र निर्देशन बमोजिम विद्यालयले भर्ना गर्ने र अभियान सफल पार्ने परम्परा धर्म पुरा गर्ने मात्र भएको छ । यस विषयमा शिक्षाप्रेमी भन्नेहरुको सल्लाहसुझाव, वि. व्य. स. को भुमिका, चल्दादाताहरुको निगरानी प्राय सून्य पाइएको छ । जे जसो गरीन्छ प्र. अ. र शिक्षकहरुको औकातअनुसार । अभिभावक ज्यूहरु भर्ना समेत गराउन अरुलाईनै पठाउन रुचाउँछन भने यस्तो समुदायमा उनीहरुलाई हामीले कसरी विद्यालयमा टिकाउने र सिकाउने अनि समुदायमा बिकाउने र प्रतिफलको आशा गर्ने ? शिक्षकहरुलाई नै चिन्ताको विषय र चुनौती छ ।

पेशाको हिसावले पनि ज्यलामजदुरी गर्ने, आज कमायो आजै रमायो गर्ने र मध्यपानको नियमित सेवन गर्ने अनि झैझगडा गर्ने मात्र नभई श्रीमती कस्ले संख्यात्मक रुपमा बढी ल्याउने र ५ देखि ७ जना बच्चाको प्रतिश्पर्धामा रहने अनि नाबालक बच्चाहरु छाड्दै पोइला जाने समुदाय, परीवारबाट विचलित भएर हो वा घर धान्न नसकेर हो आत्म हत्या गर्नेहरुको संख्या पनि कमि छैन यहाँ ।

यि र यस्ता अभिभावकहरुको बालबालिकाहरु जो अधिकाँश टुहुरा र सहारा विहिनहरुको आशाको केन्द्र हाम्रो जस्तो सामुदायिक विद्यालय नै हो । सरसफाई विहिन, न खाजा न खाना, न पोशाक न झोला, खाली खुट्टामा लाज ढाक्ने चाक मा प्वाल परेको कट्टुको भरमा बेवारीसे बालबालिकाले विद्यालयमा कति नियमितता गर्ला सहजै अनुमान गर्न सकिन्छ । यस बारेमा चासो र चिन्ता उनीहरुको अभिभावकले भन्दा शिक्षकहरुले लिनुपर्दो रहेछ । यहि कारुणिक चित्रणबाट प्रशिक्षित हुँदै गर्दा विद्यालयले पठन सामग्री, लुगाकपडा र खाजा समेत व्यवस्था गरी सरकारी कार्यान्वयन भन्दा अगाडि बढिरहेको कुरा सर्वविदितै छ ।

सवै निजी विद्यालयहरुबाट पढाइ पुरा गर्न नसकि, बानीमा सुधार गर्न नसकेर, खर्च धान्न नसकि वाक्क दिक्क भएकाहरुको पनि भिड हो यस्ता विद्यालयहरु । जब अन्य विद्यालयहरुबाट सामुदायिक विद्यालयमा प्रवेश गर्छन् त उनीहरुको ईच्छाअनुसारका कक्षामा विद्यार्थी भर्ना गरीन्छ । गुणस्तर कायम गर्न प्रवेश परीक्षा गरीन्न यहाँ, जसको असर नतिजा प्रकाशनमा मात्र थाहा हुन्छ ।

एसईई को नतिजामा अभिभावकहरुको चासो देखिन्छ अनि भन्ने गरीन्छ कि, राम्रो भएत हामिले गरेर होइन भने ता मास्टरले बर्वाद पारे नी । भाषिक समस्या भएका विद्यार्थीहरु पनि कक्षामा प्रशस्तै सहभागी हुन्छन् । यस विषयमा कस्को चासो र चिन्ता ? सधँै कोभिड १९ को चिट्ठा त नपर्ला । यानकि परीक्षा विनै सवै उत्तीर्ण । मातृभाषामा पढ्न पाउने उसको अधिकारलाई कसले वास्तागर्ने ? शिक्षकले भनेको विद्यार्थी नबुझ्ने र विद्यार्थीले भनेको शिक्षक नबुझ्ने सञ्चारको खाडल कस्तो विडम्वनामा शिक्षा हाँसिल गर्नु परेको छ यहाँ ति अवोध बालबालिकाहरुले ।

त्यतिमात्र होइन, विशेष विशेष क्षमताका छात्रछात्राहरु कक्षानै पिच्छे सहभागी भइरहँदा झनै पठनपाठनमा समस्या बढिरहने कुरा ता झनै शिक्षण अभ्यासमा कहालिलाग्दो विषय छ । सरकारी विद्यालय जहाँ १२ महिना भर्ना खुल्ला रहन्छ, कसैको भर्ना लिन्न भन्न पाईने अवस्था छैन । समाज र समुदाय यहि हो, जहाँ माटो चिनेका छौं र माटो सुहाउँदो व्यवहार गर्नु पर्दछ र मानविय व्यवहार देखाउनु पर्दछ ।

कसैको घर भाँडिने कारण, कसैको मुद्धामामिलाको कारण, कसैको अवैध गर्भका कारण, कसैको कामगर्ने शिलशिलामा, त कसैको बसाई–सराईका कारण बेला न कुवेला प्रत्येक कक्षामा विद्यार्थीहरु आउने जाने, घर बस्ने जस्ता उतारचढावहरु विद्यालयमा आउने र यसको प्रत्यक्ष निगरानी शिक्षकहरुले गर्नुपर्दछ । उदाहरणको लागि कक्षा एकमा पढ्दै गरेकि रुपा दनुवार वर्ष ७ कि जसको बाबाले अर्की श्रीमती लिएर हिंडेपछि मुद्दा खेप्ने क्रममा रुपाकी ममी छ महिना रुपालाई लिएर अड्डा अदालत धाएर बल्ल शैक्षिक सत्रको अन्तमा विद्यालय पठाउने गरेकि छन् त कक्षा ४ मा अध्ययन गर्ने मनिष मगर र अनिष मगर दाजूभाई जो फुपु पर्नेको घरमा मेलम्ची बजारमा बस्छन् भने जसोतसो भाद्र महिना सम्म विद्यालय आए भने हाल बेवारिसे अवस्थामा विद्यालय बाहिर देखिन्छ ।

त्यसैगरी कक्षा ४ मा अध्ययनरत विशेष क्षमताका नवराज दनुवार तिपेनी निवासी लामो समय देखि अनुस्थित छन्, यस्ता यस्ता प्रतिनिधि पात्रहरुको अवस्थासँग मेल खानेहरुको अध्ययन थलो हो सामुदायिक विद्यालय ।

बस्नेत श्री इन्द्रेश्वरी मावि मेलम्ची, सिन्धुपाल्चोकका शिक्षक हुन् ।

प्रतिकृया दिनुहोस्