मोहनबहादुर कडेल

पृष्ठभूमि
विकासको आधार शिक्षा हो । यसले व्यक्तिको व्यक्तित्व विकास एवम् जीवनस्तरमा सुधार, श्रम शक्तिको उत्पादकत्व बढाउने, सशक्तिकरण गर्ने र गरिबी कम गर्ने सूचकहरुमा सकारात्मक प्रभाव पार्दछ । साथै यसले मानिसको आर्थिक, सामाजिक र साँस्कृतिक विकासको काम पनि गर्दछ । यसकारण विश्वका अधिकांश देशहरुले आफ्नो नागरिककोे शिक्षामा पहुँच वृद्धि तथा गुणस्तरीय शिक्षाको विकास गर्न योजनावद्ध ढङ्गबाट आ–आफ्नो तवरले प्रयासहरु गरिरहेका हुन्छन् । ‘सबैका लागि शिक्षा’, ‘सहस्राब्दी विकासका लक्ष्य’ र ‘अनिवार्य तथा निःशुल्क शिक्षा’ जस्ता विविध प्रतिबद्धता र त्यसको प्रभावकारी कार्यान्वयन नै यस्ता किसिमका प्रयासहरुको नमूना हुन् । त्यसका लागि नेपालमा पनि आफ्नो स्तर र क्षमता अनुरुप विविध शिक्षा सम्बन्धी कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।

बालबालिकाको सर्वाङ्गीण विकासका लागि विना कुनै भेदभाव गुणस्तरीय शिक्षा पाउनु पर्ने आवश्यकतालाई बाल अधिकार सम्बन्धी महासन्धीले समेत आत्मसाथ गरेको छ । बालबालिकाको शिक्षा पाउने यस्तो अधिकारलाई सुनिश्चित गरेको छ । नेपालको संविधान, २०७२ तथा शिक्षा सम्बन्धी विविध दस्तावेजहरुले समेत शिक्षा प्राप्त गर्न पाउने बालबालिकाको अधिकारलाई स्थापित र मार्गनिर्देश गरेका छन् । शिक्षालाई मौलिक हकको रुपमा स्वीकार गरी मानव अधिकारको रुपमा लिइएको छ । तसर्थ आजकल बालबालिकाको हक, अधिकार र गुणस्तरीय शिक्षाको प्रत्याभूतिको उचित व्यवस्थापनका लागि बालमैत्री विद्यालयको परिकल्पनाले प्रमुख स्थान पाएको छ । त्यसका लागि बालबालिकालाई लेख्दा पढ्दा बाल मनोविज्ञानलाई ख्याल गरेर आर्थिक, मनोसामाजिक र मानसिक तनाव नहुने गरी सिकाइ क्रियाकलापमा सरिक हुन र सिक्न अभिप्रेरित गर्ने जस्ता विविध क्रियाकलापहरु बालमैत्री वातावरण भएको विद्यालय आवश्यक हुन्छ ।

नेपालको शिक्षालाई गुणस्तर बनाउन र सर्वसाधारणको शिक्षामा पहुँच बढाउन शिक्षा सम्बन्धी ऐन, कानून र विभिन्न खालका अल्पकालीन र दिर्घकालीन शैक्षिक योजनाहरु निर्माण हुँदै कार्यान्वयनमा रहेका छन् । तर सबै सरोकारवालाहरुको समान सक्रियता र संलग्नता नभएको कारण शिक्षामा समानुपातिक विकास र परिवर्तन भने अपेक्षित रुपमा हुन सकेको छैन् । पठनपाठन र व्यवस्थापकीय ढङ्गले विश्लेषण गर्दा अझै पनि हाम्रो देशका अधिकांश विद्यालयहरु परम्परागत पद्धतिबाट नै सञ्चालित अवस्थामा छन ।बालबालिकाहरुलाई पाठ्यक्रममा निर्धारित मुख्य विषयवस्तु गरेर सिक्ने सिकाउने भन्दा पनि कण्ठ गर्न लगाउने र घोकाउने लगायतका सिकाइ सिद्धान्त तथा शैली तर्फ बढी शिक्षण क्रियाकलाप केन्द्रित रहेको पाइन्छ ।

त्यतिमात्र होइन केन्द्रीय तहबाट विद्यालयमा प्राप्त हुने पाठ्यक्रम तथा शैक्षिक सामग्रीहरु मात्र कक्षाकोठाको सिकाइ क्रियाकलापमा प्रयोग भएका छन् । स्थानीय तहमा उपलब्ध हुन सक्ने अर्थात् स्थानीय आवश्यकतामा आधारित शिक्षाको कार्यान्वयन अवस्था अत्यन्तै कमजोर रहेको स्थिति देखिन्छ । यसबाट बालबालिकाको क्षमता, रुचि, अनुभव, गति र स्तर अनुसारको शिक्षणसिकाइ क्रियाकलापलाई समुचित ढङ्गबाट सम्बोधन गर्न कठिनाई रहेको छ । उल्लेखित समस्याहरुलाई समाधान गर्दै व्यवस्थित गर्न नै वास्तवमा बालमैत्री विद्यालयको अवधारणा विकसित भएको हो ।

के हो बालमैत्री शिक्षा ?
विवेकानन्दका अनुसार मानिसमा भएका सम्पूर्णताहरुको पहिचान नै शिक्षा हो । आजको परिवर्तित विश्व परिवेशमा शिक्षा मानव अधिकार हो, जसलाई व्यक्ति, समाज र राष्ट̭को विकासको पूर्वाधारको रुपमा ग्रहण गरिन्छ । शिक्षाको शाब्दिक अर्थलाई केलाउँदा शिक्षा शब्द संस्कृत भाषाको शिक्ष् धातुबाट आएको हो, जसको अर्थ सिक्नु, सिकाउनु भन्ने हुन्छ । अर्को शब्दमा व्यक्त गर्दा व्यक्तिमा ज्ञान र सीपको व्यावहारिक विकास गराउनुलाई शिक्षा दिनु वा सिकाउनु भन्ने हुन्छ ।

यसलाई विभिन्न विद्धान, दार्शनिक, आधुनिक विचारक तथा शिक्षाविद्हरुले आफ्ना आफ्ना चिन्तन, दृष्टिकोण, विचार र सिकाइ अनुसार शिक्षाको शाब्दिक, सामान्य, सङ्कुचित र व्यापक अर्थ गरी परिभाषित गर्ने गरेको पाइन्छ । समाज, सामाजिक आवश्यकता र वातावरण आदिका आधारहरुमा शिक्षालाई आ–आफ्नो ढङ्गबाट विभिन्न शिक्षाविद्हरुले बुझ्ने, विश्लेषण र व्याख्या गर्ने गरेको पनि पाइन्छ । उक्त अभिव्यक्तिले शिक्षाको बारेमा उनीहरुको बुझाइको अवस्थालाई प्रतिनिधित्व गर्दछ । शिक्षाको अर्थलाई पूर्वीय, पाश्चात्य र उत्तरी दर्शनले समेत प्रष्ट्याएको पाइन्छ ।

कुनै निश्चित स्थान वा भू–भागमा विकास भएका शिक्षाप्रतिको विचार, चिन्तन, बुझाइ र दृष्टिकोणहरु नै शिक्षाको दर्शन हो । दर्शनको सिकाइ थलो विद्यालय हो । बालबालिकाहरुले आफ्नो गति र क्षमता अनुसार रमाइलोसँग सिक्ने वातावरण भएको शिक्षालाई बालमैत्री शिक्षा भनिन्छ । यस्तो शिक्षाले मात्र बालबालिकाको रुची बमोजिम सिकाइ अनुकूलको वातावरण तयार गर्न सहयोग पु–याउँछ, जसले बालबालिकाहरुको सर्वाङ्गीण क्षमताको विकासमा योगदान गर्दछ ।

बालमैत्री विद्यालय नै किन ?
शिक्षालाई सबै बालबालिकाको पहुँचमा पु–याउन शैक्षिक संस्थाको भूमिका आवश्यक रहेको हुन्छ । युनेस्को बुलेटिनमा उल्लेख गरिएको छ कि विद्यालयहरुले सामाजिक संस्थाको रुपमा कार्य गर्नुपर्छ । त्यसका लागि विकसित बालमैत्री विद्यालय एक महत्वपूर्ण अवधारणा हो । यस अवधारणाले बालमैत्री विद्यालय विकासमा क–कस्ले कस्तो भूमिका खेल्ने र बालमैत्री विद्यालयको लागि अपनाइने न्यूनतम् र अपेक्षित मापदण्डहरु के के हुन् भन्ने कुरालाई प्रस्ट पारेकोे छ ।

बालबालिकाको शिक्षाप्रति अभिभावकको भूमिका, समुदायले विद्यालय विकासमा खेल्ने महत्वपूर्ण भूमिका र विद्यालयले आफ्नो शैक्षिक स्तर बढाउन अपनाउनेविभिन्न उपायहरुमध्ये बालमैत्री विद्यालय निर्माण र त्यहाँ सञ्चालित सिकारुमैत्री शिक्षा नै एक अपरिहार्य र अनिवार्य शर्त हो । बालमैत्री विद्यालय बालबालिकाहरुले शिक्षा आर्जन गर्ने औपचारिक स्थल मात्र होइन, यहाँ बालबालिकाहरुले आफ्नो विचारलाई स्वतन्त्रपूर्वक व्यक्त गर्न पाउने, स्वस्थ रहने, माया पाउने, हिंसा र दुव्यर्सनबाट सुरक्षित रहने, सम्मानजनक व्यवहार मार्फत् आफ्नो सिकाइ आवश्यकताको आधारमा निर्वाध रुपले शिक्षा लिन पाउने अधिकार सुनिश्चित गरिएको थलो हो ।हरेक विद्यालयलाई बालसुलभ विद्यालयको रुपमा विकास गर्न शिक्षक विद्यार्थी र अभिभावकबीच त्रिपक्षीय सम्बन्ध आवश्यक हुन्छ ।

त्यसैले बालमैत्री शिक्षा व्यवस्थापनमा सहयोग पुर्याउन बालमैत्री विद्यालय आवश्यक हुन्छ । आज गुणस्तरीय शिक्षाको आवश्यकता सबैको सरोकारको विषय बनेको छ किनकि कुनै पनि समाज वा देशको सर्वाङ्गीण विकास शिक्षा विना संभव छैन । त्यसका लागि विद्यार्थीको मनोभावनामा आधारित सक्रिय शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नबालमैत्री विद्यालयको विकास आवश्यक देखिन्छ ।

बालमैत्री विद्यालय कस्तो हुनुपर्छ ?
वास्तवमा बालबालिकाहरुले सिक्ने कुराहरु विद्यालयको वातावरण र व्यवस्थापनमा निर्भर गर्दछ । यसका लागि बालमैत्री सिकाइ वातावरण विद्यालयमा निर्माण गर्नुपर्छ । बालमैत्री विद्यालयमा सबै बालबालिकाहरुलाई समान व्यवहार हुन्छ । जहाँ बालबालिकाहरुको भावना र लोकतान्त्रिक अभ्यासलाई प्रोत्साहन प्रदान गरिन्छ, त्यहाँ विद्यार्थीहरुले बालमैत्री शिक्षा प्राप्त गर्न सक्छन् साथै बालबालिकाको अधिकार, दायित्व र जिम्मेवारीको पालना र सम्मानजनक व्यवहार पाइन्छ । बालमैत्री विद्यालयमा भौतिक तथा मनोवैज्ञानिक रुपमा सुरक्षित वातावरण रहेको हुन्छ । यस्ता विद्यालयमा रमाइला र व्यावहारिक सिकाइ विधि र बालकेन्द्रित पाठ्यक्रम तयार गरिएको हुन्छ ।

बालबालिकाको परिवार र स्थानीय समुदायसँग निरन्तर सहकार्यलाई जोड दिइएको हुन्छ । बालबालिकालाई कुनै पनि किसिमको भेदभाव नगरी विद्यालयमा स्वागत गर्ने परम्पराको विकास गरिएको हुन्छ ।विद्यालयहरु लैङ्गिक र जातीय रुपबाट विभेदमुक्त र भौतिक रुपमा सुरक्षित रहेको हुन्छ । सबै बालबालिकाको आत्मविश्वास बढाउन र जिज्ञासा तथा उत्साहलाई उभिप्रेरित गर्न प्रयास गरिन्छ ।

सिकाइमा दूव्र्यवहार, यातना र शारीरिक तथा मानसिक सजाय नगरी वैकल्पिक उपायहरु अपनाइन्छ । सबै बालबालिकाको सुधारको लागि समय, संयमता, समझदारी र सहभागितालाई ध्यान दिइन्छ । उपलब्ध स्रोत र साधनको रचनात्मक तथा सिर्जनात्मक ढङ्गले अधिकतम् सदुयपोग गर्ने प्रयास गरिन्छ । बालबालिकाको जीवनोपयोगी, यर्थाथपरक र मानव अधिकार सम्बन्धी शिक्षालाई प्रोत्साहित गरिन्छ । शिक्षक, विद्यार्थी र अभिभावकबीचको सम्बन्धलाई चुस्त र प्रभावकारी र दिगो बनाउन प्रेरित गर्दछ । विद्यालयलाई शान्तिक्षेत्रको रुपमा स्थापित गरिन्छ ।

साथै, यस्ता विद्यालयहरुमा बालबालिकाहरुको रुचि, क्षमता र स्तरको कदर हुन्छ र सोहीअनुसार उनीहरुको सिकाइका लागि आवश्यक वातावरण एवम् पाठ्यक्रमको उचित व्यवस्था हुन्छ । विद्यालयको नीति निर्माण, योजना तर्जुमा, कार्यान्वयन र मूल्याङ्कनमा बालबालिका, अभिभावक र समुदायलाई प्रत्यक्ष सहभागी गराइन्छ । बालबालिकाहरुले शारीरिक, मानसिक एवम् संवेगात्मक रुपले सुरक्षित तथा स्वस्थ्य वातावरण पाउँदछन् । विद्यार्थीहरुको पढाइ लेखाइका अतिरिक्त उनीहरुको सुरक्षा र स्वास्थ्यमा विशेष ध्यान दिइन्छ । कुनै पनि प्रकारका भौतिक, शारीरिक एवम् मानसिक दण्ड, सजाय वर्जित हुन्छ ।

तर, त्यसरी व्यवस्थित गर्न खोजिएको विद्यालय संख्या प्रर्याप्त भए पनि सफलता प्राप्त गर्न भने सबै विद्यालय सक्षम बन्न सकेका छैनन् । त्यसका पछाडि थुप्रै कारणहरु छन् । बालमैत्री विद्यालय वास्तवमा सबै किसिमका सिकारुहरुको लागि पथपद्रर्शन गर्ने साधन हो ।त्यसैले आधारभूत शिक्षा प्राप्तिमा सबैका लागि सुनिश्चितता, विद्यालयमा निरन्तर बालबालिका टिकाइ राख्न र विद्यालयको शैक्षिक वातावरणमा गुणस्तरीय सुधार ल्याउन विद्यालयलाई बालमैत्री बनाउन जरुरी हुन्छ । के हाम्रा विद्यालयमा हामीले यस्तो सिकाइ वातावरण तयार गर्न सकेका छौं रु यसलाई शिक्षा विकासका लागि नेत्तृत्व लिने र शिक्षासँग सम्बन्धित व्यक्ति तथा संस्थाहरुले नियमित रुपमा गम्भिर भएर सोच्नुपर्ने देखिन्छ ।

बालमैत्री विद्यालयका उद्देश्यहरु
बालमैत्री विद्यालय बालबालिकाको रुचि, चाहना, क्षमता, स्तर र उमेर अनुरुप ज्ञान र सीप आर्जन गर्ने स्थान हो । बालबालिकालाई सिकाइको लागि अनुकूल वातावरण आवश्यक हुन्छ । त्यसका लागि बालमैत्री शिक्षण सिकाइको वातावरण निर्माण गर्नु नै बालमैत्री विद्यालयको प्रमुख उद्देश्य हो । विशेष गरेर बालबालिकाको सर्वाङ्गीण विकास र प्रतिभा उजागर गर्न विद्यालयमा आवश्यकीय वातावरण निर्माण गर्नु जरुरी देखिन्छ, जसले गर्दा बालबालिकाको शैक्षिक पहूँच र गुणस्तरमा बढोत्तरी गर्नको लागि सहयोग पुग्दछ ।

बाल अधिकार, सहस्राब्दी विकासका लक्ष्य, सबैका लागि शिक्षा जस्ता नेपालको तर्फबाट भएका अन्तर्राष्टि̭य प्रतिबद्धताहरुलाई सम्बोधन र कार्यान्वयन गर्न पहल गर्नु बालमैत्री विद्यालयको उद्देश्य हो । विना विभेद बालबालिकाहरुलाई शिक्षाको मूलधारमा समाहित गर्नको लागि बालमैत्री विद्यालय नमूना विद्यालयको रुपमा स्थापित गर्न सहयोगी हुन्छ । शिक्षा विकासका लागि आवश्यकीय स्थानीय स्रोत साधनहरुको पहिचान, सङ्कलन, र परिचालनका लागि मार्गनिर्देश र प्रोत्साहित गर्न सहयोग पुर्याउनु पनि बालमैत्री विद्यालयको लक्ष्य हो । बालअधिकारमा आधारित गुणस्तरीय शिक्षाको प्रर्वधन गर्नु बालमैत्री विद्यालयको कार्य हो ।

बालमैत्री विद्यालयको प्रभावक्षेत्र
बालमैत्री वातावरणका लागि आधारभूत पक्षसँग सम्बन्धित र निर्धारित विषयवस्तले नै बालमैत्री विद्यालयको प्रभाव क्षेत्र जनाउँछ । बालबालिकाहरुले प्राप्त गर्ने वा गर्नसक्ने कक्षागत, विषयगत, तहगत सिकाइको औसत उपलब्धिलाई नै बालमैत्री विद्यालयको प्रभावक्षेत्र मानिन्छ । बालबालिकाहरु विद्यालयमा भर्ना गरिसकेपछि शैक्षिक सत्रको अन्त्यसम्म उनीहरुमध्ये कतिले कक्षा छाडे, कतिले कक्षा दोहोर्याउने भए, तह पार गर्ने विद्यार्थी कति प्रतिशत छन्, कक्षागत रुपमा कुन कुन उमेर समूहका बालबालिका छन् आदि पक्षहरु समेत प्रभावक्षेत्रमा पर्दछन् । त्यतिमात्र होइन् विद्यालय खुलेको दिन मध्ये कति प्रतिशत शिक्षक उपस्थिति रह्यो, शिक्षकहरुले शिक्षण सिकाइ क्रियाकलाप गर्दा कस्ता कस्ता शिक्षण विधिहरु अपनाइए र नवीनतम् शिक्षण विधि सम्बन्धी तालिम, प्रयोग र अनुगमनसँग सम्बन्धित विषयवस्तुलाई समेत उच्च प्राथमिकताका साथ प्रभावक्षेत्रमा समावेश गरिन्छ ।

विद्यालयमा सम्बन्धित निरीक्षकबाट भए गरेको कक्षा अवलोकन, नमूना पाठ प्रदर्शन, स्थलगत अवलोकन र निरीक्षण अवस्था तथा स्रोतव्यक्ति तथा प्रधानाध्यापकले शिक्षक तथा विद्यार्थीको कक्षा अवलोकन, नमूना पाठ प्रदर्शन, अवलोकन र आवश्यकतानुसार पृष्ठपोषणले प्रभावक्षेत्रलाई व्यापक पारेको हुन्छ । कक्षाकोठामा शिक्षक तोकिएको कूल समयको कति समय कक्षाकार्यमा बिताउँछन्, विद्यार्थीको सिकाइ उपलब्धिप्रति शिक्षकहरु उत्तरदायी भए नभएको, विद्यार्थीहरुको व्यक्तिगत सिकाइ उपलब्धिको आधारमा अभिभावकहरुसँग अन्तक्र्रिया, छलफल र सहकार्य गरी योजना बनाएको र त्यसको आधारमा कार्यान्वयन भए नभएको पक्षहरु प्रभावक्षेत्र अन्तर्गत पर्दछन् । कक्षाकोठामा विद्यार्थीहरुको उपस्थितिमा नियमितता, विद्यार्थी मूल्याङ्कन र विद्यालय निरीक्षण यसका प्रमुख क्षेत्रमा पर्दछन् ।

विद्यालयसँग सरोकार राख्ने सबै सरोकारवालाहरुमा सूचना, जानकारी, शैक्षिक परामर्श र सल्लाह तथा जानकारीहरु नियमित आदानप्रदान गर्ने गरेको र अपेक्षित सुधारका लागि पृष्ठपोषण आवश्यकता अनुसार दिने गरेको, हरेक शिक्षकले तालिमबाट प्राप्त गरेको ज्ञान र सीपलाई कक्षाकोठामा बालबालिकाहरुको रुचि, चाहना, क्षमता योग्यता र उमेर बमोजिम प्रयोगमा ल्याए नल्याएको समीक्षा जस्ता पक्ष पनि बालमैत्री विद्यालयका प्रभावक्षेत्रहरु हुन् ।

शिक्षा र यसको विकासको सन्दर्भमा समग्र शैक्षिक लगानी, प्रक्रिया र उत्पादनले बालबालिकाको सिकाइमा के कस्तो प्रभाव पा–यो भन्ने कुरा बुझ्नु अनिवार्य हुन्छ । बालबालिकाहरुको रुचि, चाहना, क्षमता र आवश्यकता बमोजिम शैक्षिक गतिविधिहरु छन् कि छैनन् भन्ने कुरा नै बालमैत्री विद्यालयका आदर्श हुन् । प्रभावकारी शिक्षण सिकाइका लागि सिकारु र शिक्षकहरुमा प्रर्याप्त उत्प्रेरणा हुनु आवश्यक छ, जसले सिकाइलाई उद्देश्य केन्द्रित बनाइदिन्छ र सम्पूर्ण शिक्षण सिकाइ प्रक्रिया बालमैत्रीपूर्ण र सिकाइका नतिजाहरु ग्ुाणस्तरीय हुन्छन् ।

शिक्षकहरुलाई पेशाप्रति प्रतिबद्ध, उच्चस्तरीय क्षमता, दक्षता र नैतिकवान् बनाउन सहयोग गर्दछ । यसले विद्यालयको दीर्घकालीन सोच तथा तत्कालीन कार्यक्रमहरुको प्रवर्तनात्मक, सिर्जनशीलता र परिवर्तनलाई आत्मसात् गर्दै बालमैत्री वातावरणलाई प्रवद्र्धन गर्न योगदान पुग्दछ । साथै समयमै पाठ्यक्रम तथा पाठ्यसामग्रीको प्रर्याप्त मात्रामा उपलब्ध गराउन बालमैत्री विद्यालय सहयोगी हुन्छ । यसले शैक्षिक सामग्री र खेल सामग्रीको प्रर्याप्ततालाई समेत ध्यान दिन्छ ।

नेपालको शिक्षा क्षेत्रमा शैक्षिक लगानीलाई उल्लेख्य रुपले वृद्धि गरिए पनि विद्यालय शिक्षा जुन रुपमा प्रभावकारी र गुणस्तरीय हुनुपर्ने हो त्यो रुपमा हुन सकेको छैन । बढ्दो शैक्षिक बेरोजगारी, शिक्षालाई व्यापारीकरण तर्फ उन्मुख गराउनु, सार्वजनिक शिक्षाप्रति सेवाग्राहीको पूर्ण भरोसा नहुनु, सरोकारवालाहरुमा उत्तरदायित्व बोध र शैक्षिक संस्थाहरुमा पारदर्शिताको कमी हुनु, विद्यालय उमेरका सबै बालबालिका विद्यालयमा भर्ना नहुनु, विद्यालय छाड्ने विद्यार्थी दर नघट्नु, अनुगमन र निरीक्षण पद्धति प्रभावहिन हुनु, विद्यार्थी उपलब्धि स्तर सन्तोषजनक नहुनु, विद्यार्थीको माथिल्लो तहको शिक्षामा दक्षता कमजोर देखिनु, बाह्य प्रतिस्पर्धामा पूर्ण रुपमा सफलता हासिल गर्न नसक्नु आदि कुराहरुले शिक्षाको गुणस्तर र व्यवस्थापनको प्रभावकारितामा चुनौति विद्यमान छ भन्ने कुरा देखाउँछ ।

निचोड
आजको युग लोकतान्त्रिक र प्रविधिको युग हो । परिवर्तित युगलाई पछ््याउन नसकेको अवस्थामा हामी र हाम्रो यात्रा गन्तव्यहिन हुन्छ । लक्ष्य विनाको मान्छेको कुनै प्रगति र उन्नति प्रविधियुक्त विश्व परिवेशमा भेट्टाउन सकिदैन् । त्यसैले अधिकार र कर्तव्य एक सिक्काको दुई पाटा हुन् भन्ने भनाई यहाँ बुझ्नु जरुरी देखिन्छ । निर्वाध रुपमा शिक्षा हासिल गर्न पाउनु आम बालबालिकाको प्राकृतिक अधिकार हो । बालमैत्री विद्यालयको स्थापना, सञ्चालन, रेखदेख र व्यवस्थापन गर्नु विद्यालय, समाज वा राज्यको दायित्व हो ।

तर, शिक्षालाई मौलिक हकको रुपमा राखिए पनि सर्वसाधारणको पहुँचमा शिक्षा अझै पुग्न सकेको छैन । हामी र हाम्रा विद्यालय बालमैत्री बन्न सकेका छैनन् । विद्यालयका हामी सबै सरोकारालाहरुका व्यवहार र प्रवृत्ति अधिकांश रुपमा परम्परागत नै छन् । शिक्षण विधि र यसको प्रयोग गर्ने रणनीतिहरु व्यावहारिक, शैक्षणिक र विशिष्ट बन्न सकेका छैनन् । साँच्चै भन्दा बालमैत्री विद्यालयको धारणालाई व्यवहारमा कार्यान्वयन भएको वास्तविकता भेट्टाउन कठिन छ । त्यसकारण बाल मनोविज्ञानका अवधारणा अनुसार कक्षाकोठा व्यवस्थापन र सिकाइ वातावरण निर्माण तयार गर्नु पर्ने देखिन्छ । हामीले हाम्रो क्रियाकलाप र व्यवहारलाई परिस्कृत, परिमार्जित र सङ्गठित गर्न जरुरी छ । बालमैत्री विद्यालयद्धारा समाजलाई रुपान्तरण गर्न र शिक्षा मनोविज्ञान अनुसार शिक्षण गर्न लागि विशेष गरी शिक्षकको भूमिका सहयोगी, अध्ययनशील र सहजकर्ताको रुपमा साथै व्यवस्थापकको भूमिका नेतृत्वदायी हुनुपर्छ किनकि गुणस्तरीय शिक्षाको लागि बालमैत्री विद्यालय र बालमैत्री विद्यालयद्धारा व्यवस्थित बालमैत्री शिक्षा नै आजको मूल आदर्श हो ।

तर अहिले कोरोना भाइरस (कोभिड–१९) को कारण सिर्जित विश्वव्यापी स्वास्थ्य संकटले अन्य क्षेत्र झै बालमैत्री विद्यालय र विश्वविद्यालय सञ्चालनमा प्रत्यक्ष प्रभाव रहेको छ । यो अवस्थामा बालमैत्री शिक्षाको आदर्शलाई व्यवहारमा रुपान्तरण गर्न अहिलेको हाम्रो समाज र राज्यले दायित्व बोध गर्नुपर्छ । वास्तवमा बालमैत्री विद्यालयले नै बालबालिकालाई उनीहरुले खोजे र रोजेजस्तो ज्ञान र सीप प्रदान गर्न सक्छ । यस्तो विद्यालयबाट बालबालिकाहरु सिकाइप्रति पूर्ण रुपमा सन्तुष्ठ हुन्छन् जसको परिणामस्वरुप बालविकास र सिकाइलार्ई परिपक्व, व्यावहारिक र दिगो बनाइदिन्छ । तसर्थ बालमैत्री र प्रविधिमैत्री विद्यालय निर्माणमा हामी सबै एक जुट भई सहभागी बनौं ।

सन्दर्भ सामग्री
१. कानुन किताब व्यवस्था समिति (२०७२), नेपालको संविधान २०७२, काठमाडौं : लेखक ।
२. पौडेल, लेखनाथ (२०६९), ‘नेपालमा उच्च माध्यमिक शिक्षा विकासको वर्तमान सन्दर्भ र भावी कार्यदिशा,’ ‘शिक्षा’
अर्धवार्षिक शैक्षिक पत्रिका,सानो ठिमी, भक्तपुर : पाठ्यक्रम विकास केन्द्र ।
३. शिक्षा विभाग/सेभ द चिल्ड्रेन एलायन्स (२०६२), बालमैत्री विद्यालय शिक्षक–प्रशिक्षण पुस्तिका,
सानोठिमी, भक्तपुर : लेखक ।
४. शिक्षा विभाग (२०६७),बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप, सानोठिमी, भक्तपुर : लेखक ।
५. शैक्षिक जनशक्ति विकास केन्द्र (२०६८), बालमैत्री विद्यालयको सेरोफेरो स्रोत सामग्री, सानोठिमी, भक्तपुर : लेखक ।

प्रतिकृया दिनुहोस्