सिकाइलाई कसरी निरन्तरता दिने ?

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२७ जेष्ठ २०७७, मंगलवार

यतिबेला कोरोना व्याधिका कारण  विगत चैत ११ देखि  लागू गरिएको लकडाउन जारी नै छ । जेठ ५ सम्म जारी लकडाउन जेठ ६ गते नै खुुल्छ भन्ने कुनै निश्चित आधार छैन । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले लकडाउनमा अरु सबै खुल्ला भए पनि विद्यालय भने अन्त्यमा मात्र खुल्छ भनिसकेका छन् ।

यसबीच  सामुदायिक विद्यालयका १ देखि ९ कक्षासम्मको परीक्षा र त्यसको नतिजा  क्रमशः प्रकाशित हुँदै गरेकोे छ भने कतिपय ठाउँमा संस्थागत विद्यालयहरुले परीक्षा समेत लिन भ्याएका छैनन् । उक्त कक्षाका लगभग ७० हजारभन्दा बढी विद्यार्थीहरु यतिबेला  पठनपाठनको अवसरबाट वञ्चित छन् । गत चैत ६ गतेबाट हुने भनिएको कक्षा १० को अन्तिम  (एसईई) परीक्षा शुरु हुनुुभन्दा १२ घण्टा अगाडि मात्र स्थगित गरिएको थियो ।

यसबीचमा उक्त परीक्षा सञ्चालन गर्ने वा नगर्ने, गरे कसरी गर्ने भन्ने बारेमा यतिबेला व्यापक बहस चलेको छ । तर सरकारका शिक्षामन्त्री भने लकडाउन खुलेको केही दिनपछि एसईई सञ्चालन गर्न सकिने अभिव्यक्ति दिइराखेका छन् । यसबाट कोरोना मनोविज्ञानबाट त्रसित बालबालिकामा परीक्षारुपी अर्को भूतले तर्साएको छ ।

चर्चामा अनलाइन
शिक्षा मन्त्रालयले अघिल्लो साता एक सूचना जारी गर्दै पठनपाठन सञ्चालन नगर्न तथा नयाँ भर्ना समेत नलिन भनेको छ । अहिले विद्यार्थीहरु अभिभावकसँग त छन् तर उनीहरुको शैक्षिक पक्ष ओझेलमा परेको छ । यसैले होला कतिपय ठाउँमा  अनलाइन शिक्षाको चर्चा चलेको छ । जुम मिटिङको प्रभावकारीता बढ्दो छ । व्यवस्थापकीय पक्षबीच पनि जुम बैठक चलेको देखिन्छ ।

सरकारले कक्षा १० लाई लक्षित गरी सरकारी टेलिभिजनमार्फत्  केही विषयहरुका पाठहरु प्रसारण  गरेको भएपनि धेरैले हेर्न सकेका छैनन् ।  कतिपय विद्यालयहरुले पठनपाठनका कारण विद्यार्थीहरु बरालिने सम्भावना भएको भन्दै स्वव्यवस्थापनमा अनलाइन कक्षाहरु सञ्चालनमा ल्याएर राम्रै काम गरेका छन् । तर, यसरी पढाउनेहरुले अनावश्यक रकम असुलेको, सबैलाई शिक्षा दिन नसकेकोजस्ता कारणले केही स्थानीय तहले अनलाइन कक्षा बन्द गर्न परिपत्र गरेका छन्  ।

यसलाई पनि सान्दर्भिक मान्न सकिदैन । किनभने जहाँ जे सम्भव छ, त्यो उपयोग गर्ने बेला आइसक्यो । तर बढी रकम असुुल्ने कुन हो ? त्यसको पहिचान गरेर कार्बाही उसैलाई गर्नुुपर्यो । एउटाले गरेको गल्तीको सजाय स्वव्यवस्थापनमा स्रोत, साधन सहित समानताका आधारमा कक्षा सञ्चालन गरेका अन्य विद्यालयहरुले पाउन भएन । ती स्थानीय तहले पनि पुनर्विचार गर्नुपर्ने देखिन्छ । अनलाइनका नाममा मनपरी गर्न नदिनु ठिकै हो, तर व्यवस्थित गरी सञ्चालन गरेकोलाई तर्साउन पनि भएन ।

तर्क आ–आफ्नै
झट्ट हेर्दा अनलाइन शिक्षा प्रायः हुँदा खानेको पक्षमा भन्दा हुनेखानेको पक्षमा बढी देखिन्छ । प्रायः विद्यार्थीहरूमा डिजिटल सामग्रीको पहुँच छैन, भएकाले पनि सही सदुपयोग गर्न सकेका छैनन् । तर साधन, स्रोत, इच्छाशक्ति, जनशक्ति र उचित प्रयोग भएमा प्रभावकारी हुने देखिन्छ । आम्ने–साम्ने उपस्थितिमा  भौतिक कक्षा तत्काल सञ्चालन गर्न अहिलेको अवस्थामा सहज नभएकोले अनलाइनबाट थोरै भएपनि सिकाइ हुने हुँदा यसलाई कसरी उपयोगी र धेरैको पहुँचयोग्य बनाउने भनी खोजी गर्ने बेला आएको छ ।

यसका लागि अनलाइन शिक्षा बढीभन्दा बढी सिकारुको माझ कसरी लैजान सकिन्छ भनी सोही अनुसारको पूर्वाधार, जनशक्ति विकास तथा सबैमा इण्टरनेटको पहुँच पुर्याउनु पर्ने हुन्छ ।  यसो गर्नका लागि वैैकल्पिक माध्यमहरूको खोजी जरुरी हुन्छ ।  यो विधिको सिकाइमा मूल पाठ्यक्रमको विषयभन्दा बाहेक अन्य अतिरिक्त गतिविधिमा लाग्न प्रोत्साहन गर्न सकिन्छ ।

खोज विधिको प्रयोग गरी विद्यार्थीहरूमा चेतना दिने, सिर्जनात्मक र जीवनोपयोगी शिक्षामा जोड दिने, पाठ सम्बन्धी विषयवस्तुलाई साना–साना भाग गरी पठाउने (किन कि एकै पटक धेरै विषयवस्तु पठाउँदा उनीहरु बोझ मान्न सक्छन्) गर्नुपर्दछ । पढ्नका लागि गृहकार्य दिने, पढ्नु पर्ने पाठको बारेमा जानकारी दिने गरी सूचनामूलक रुपमा पनि यसलाई प्रयोग गर्न सकिन्छ ।

सिकाइका अनेक माध्यम
हाम्रो लक्ष्य सिकाइ निरन्तर होस भन्ने हो । अनलाइन भन्नेबित्तिकै स्मार्टफोन, ल्यापटप, नेट, जुम वा म्यासेञ्जर, यूट्यूब आदि मात्रै बुुझ्न हुँदैन । जहाँ जे सम्भव छ, त्यही प्रविधि प्रयोगमा ल्याएर दूर शिक्षा सञ्चालन गर्न सकिन्छ ।

माध्यमकै अभावमा थप सिकाइ गराउन सकिदैन भने पुरानो सिकाइमा स्थायित्व प्रदान गर्न र नयाँ सिकाइका लागि दिशानिर्देश गर्न गराउन त अवश्य नै सकिन्छ । यसका लागि शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला स्थानीय तथा प्रदेश सरकारले पहलकदमी लिनुपर्ने बताउँछन् ।

रेडियो, मोवाइल फोन, स्थानीय एफ.एम, स्थानीय सिकाइ केन्द्र, समुदाय आदिको माध्यमबाट पनि सिकाइलाई निरन्तरता दिन सकिन्छ । शिक्षाविद् कोइराला त शिक्षकलाई समुदायमा पठाएर भएपनि सिकाइलाई जारी राख्नुपर्ने तर्क दिन्छन्  । हालै शिक्षा मन्त्रालयले फुर्सदमा रहेका कक्षा १ देखि १० सम्मका विद्यार्थीलाइ लक्षित गरी लर्निङ पोर्टल सञ्चालनमा ल्याएको छ ।

यसमा उक्त कक्षाका विद्यार्थीले पढ्ने  सबै विषयका सामग्रीहरु राखिएको छ र विद्यार्थीहरुले नेटको पहुँचमा रहेको बेलामा यी सामग्रीहरु डाउनलोड गरी फुर्सदमा पढन पाउने र पछि विद्यालयमा गएपछि पठन–पाठन सहज हुने  मन्त्रालयको दाबी छ । सिकाइका लागि यो कोशेढुङ्गो सिद्द हुन सक्छ ।

अनलाइनमा के गर्ने ?
अनलाइनमा पावर प्वाइन्टका स्लाइडहरू राखिदिने, व्यक्तिगत यू–ट्यूब निर्माण गरी विषयवस्तुसँग सम्बन्धित भिडियोहरू शेयर गर्ने तथा अनलाइनमा पोष्ट गरिदिने, पठाइएका भिडियोको विश्लेषण गर्न लगाउने तथा वेब कन्फ्रेन्समा जोडिने तरीकाको बारेमा पूर्व जानकारी दिएर जुम, मीट जस्ता भिडियो माध्यमको प्रयोग गरी कन्फ्रेन्समा प्रत्यक्ष अन्तरक्रिया गर्ने, कक्षाकोठाभन्दा बाहिरको परियोजना निर्माण गर्ने, दोहोरो संवाद गर्ने, परियोजना कार्य दिने, अर्को भेटमा सो को समिक्षा गर्नेजस्ता बग्रेल्ती कार्यक्रमहरु सञ्चालन गर्न सकिन्छ ।

कम्तीमा पनि विद्यार्थीहरु पढाइकै कुरा गरुन, पठन–पाठनकै सन्दर्भबाट अलग छैनन् भन्नका लागि पनि यी प्रक्रिया अपनाएर सिकाइलाई जारी राख्न सकिन्छ ।

विशेष गरी अनलाइन शिक्षण गर्दा तलका यी मुख्य तीन प्रश्नहरूको सम्बोधन हुनुपर्दछ :

१. विद्यार्थीहरूलाई विषय बस्तुसँग बढी भन्दा बढी अन्तरक्रिया कसरी गराउने ?
यसका लागि विषय वस्तुसँग सम्बन्धित उद्देश्यमूलक टास्कको निर्माण गर्ने र पढ्न लगाउने, गृहकाय बनाउन लगाउने, पावर प्वाइन्टमा मल्टीमिडिया प्रस्तुित बनाएर पठाउने, उक्त प्रक्रियाको चित्र बनाउन लगाउने, उपयुक्त शीर्षक लेख्न लगाउने तथा अन्तरक्रियाको लागि वेब कन्फरेन्समा सोच, जोडी बन र भन (Think, pair, share) को विधिमा  क्रियाकलाप दिने, प्रश्नोतर गर्ने, नोट बनाउन लगाउने, समूहमा  छलफल गरी पोल निर्माण गर्न लगाउने, वेब कन्फरेन्स ह्वाइट बोर्डमा प्रस्तुत गर्न लगाउने, भान्सा ल्याब, ल्याब रिपोर्ट, मल्टीमिडिया प्रस्तुति निर्माण गर्ने जसमा उनीहरूका प्रश्न तथा उत्तर समेत राख्न सकियोस ।  त्यस्तै विषयबस्तुसँग सम्बन्धित वेब पेज, ब्लग, डिजिटल चित्र समेत राख्न सकिन्छ ।

२.विद्यार्थीहरूले एक आपसमा कसरी अन्तरक्रिया गर्न सक्छन ?
अनलाइन फोरम या वेब कन्फरेन्सको माध्यमबाट भूमिका अभिनय विधि, वादविवाद समूह, परियोजना प्रस्तुति, अध्ययन समुह निर्माण गरी एक आपसमा छलफल गर्न लगाउने, जसका लागि उनीहरू शिक्षकको उपस्थिति बिना नै वेब कनफरेन्समा जोडिन पनि सक्छन् ।

विद्यार्थीलाई सानो सानो समूहमा बाँडेर उनीहरूमार्फत् नै फोनद्वारा अन्य  जानकारीहरु शेयर गर्न लगाउने जस्ता कार्य गर्न सके प्रभावकारी हुन्छ ।

३. विद्यार्थी र शिक्षकको बीचमा कसरी अन्तरक्रिया हुन सक्छ ?
सिकाइ व्यबस्थापन प्रणालीका साधनहरू (Geogle class,E class,Proprops,Padlet )  आदिको माध्यमबाट छलफल गर्ने, मुख्य विषय वस्तुसँग सम्बन्धित छोटो भिडियो पोष्ट गर्ने, प्रश्नोतर गर्ने, लिखित या आवाज रेकर्ड गरेर पृष्ठपोषण दिने, फोन टेक्स्ट म्यासेज, वेब कन्फरेन्स म्यासेन्जर तथा अन्य सामाजिक सञ्जालको प्रयोग गरी प्रतिक्रिया दिने, आफ्नो परिवारका सदस्यसँग घरमा रहेका घरपालुवा जनावरको भिडियोहरूको निर्माण गरी सामाजिकीकरणको उदाहरण पठाउने ।

यसका अतिरिक्त कक्षागत अभिभावक लक्षित शैक्षिक म्यानुअल तयार गर्ने जस्तै आफ्नै घर वातावरण, भान्साकोठालाई सजावट गर्ने, जीवनोपयोगी सीपहरू हासिल गर्ने खालका क्रियाकलापहरु निर्माण गर्ने, घरमा रहेका विभिन्न भाँडाकुडाहरू कुन कुन धातूले बनेका छन् ? अवलोकन गर्न लगाउने, भान्सा कोठाका बिभिन्न सामाग्रीहरूको नाम लेख्न लगाउने जस्ता सिकाइ क्रियाकलापहरु  निर्माण गरी बिभिन्न माध्यमबाट उनीहरू समक्ष पुर्याउने गर्दा पढाइको बोझ महसुस नगरी बिभिन्न बिषयको सिकाइ हुनजान्छ । यसका साथै अभिभावक समेत सिकाइमा संलग्न भइरहेका हुन्छन् ।

यसरी विभिन्न साधनको प्रयोग गरेर सिकाइलाई व्यवस्थापन गर्नु अहिलेको चुनौती हो । यसका लागि जहाँ नेटको संभव छैन त्यहाँ स्थानीय सरकारले सिकाइ केन्द्र स्थापना गरी नेट जडान गरिदिनुपर्छ । शिक्षक निर्मित सामग्रीहरु किनिदिने, छापिदिने र वितरण गरिदिने काममा स्थानीय शिक्षा शाखाहरुले सहजीकरण गर्नुपर्छ ।

त्यस्तै मोबाइल डाटालाई निश्चित साइट र एप मात्र चलाउनका लागि निशुल्क वा मासिक प्याकेजको लागि शिक्षा मन्त्रालयले दूर सञ्चार प्राधिकरणसँग सम्झौता गरी इण्टरनेटको व्यवस्था गर्न तथा पहुँच नपुगेका स्थानमा नेटवर्क पुर्याउन पहल गर्ने व्यवस्था हुन पनि उत्तिकै जरुरी छ ।

विगतमा हामीले दूर शिक्षा (रेडियो शिक्षा) को माध्यमबाट १३२० घण्टे शिक्षक तालिम सम्पन्न गरेर तालिम प्राप्त जनशक्ति तयार गरिसकेका छौं । अब अनलाइन भनेर एउटै मात्र साधन समातेर पार लाग्दैन । पूर्वाञ्चल विश्वविद्यालयले पनि दूर शिक्षाबाट एकवर्षे बी.एड. सञ्चालन गरेर हजारौ जनशक्ति तयार गरिसकेको छ । यसैकारण  सिकाइका लागि अनलाइनका विभिन्न मोडेललाई स्वीकार्नुुपर्छ ।

(लेखक पौडेल नेपाल सरकारका अवकाशप्राप्त अधिकृतस्तर दशौं तहका उपसचिव हुन भने दवाडी धनगढीस्थित सरस्वती मा.वि. कैलालीका विज्ञान शिक्षक हुन् )

प्रतिकृया दिनुहोस्