काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा कक्षा ९ का छात्र प्रलोक राईले १० महिनापछि आइतबार विद्यालय प्रांगण टेक्न पाए । अभिभावकका साथ उनी फाराम भर्न मात्र ओखलढुंगाबाट आइपुगेका थिए । शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शिक्षा विभाग) ले जारी गरेको सूचनाअनुसार विद्यार्थीले कक्षा ९ मा पूर्ण विवरणसहित फाराम भर्ने म्याद बुधबार (माघ २१ गते) सकिँदै छ ।

प्रलोक फाराम भरेलगत्तै घर फर्किसकेका छन् किनभने घर नपुगे अनलाइन कक्षा छुट्छ । अनलाइन कक्षामा अनिवार्य उपस्थिति नजनाए गयल सूचीमा परिन्छ । उनीजस्तै बूढानीलकण्ठमा पढ्दै आएका कक्षा ५ देखि १० सम्मका आठ सय जना विद्यार्थी अनलाइन पढ्दै छन् । उक्त विद्यालयमा विभिन्न जिल्लाबाट सरकारी छात्रवृत्तिमार्फत आएका र शुल्क तिर्ने गरी भर्ना भएका विद्यार्थी छन् । त्यहाँ जति विद्यार्थी पढ्छन्, सबै जना छात्रावासमा अनिवार्य बस्नुपर्छ ।

कोभिड–१९ महामारी सुरु भएयता सबै विद्यार्थी छात्रावासबाट आ–आफ्नो घर फर्काइएका छन् । शैक्षिक सत्र सुरु भएलगत्तै गत वैशाखबाट विद्यार्थीलाई अनलाइन कक्षाका माध्यमबाट पठनपाठन सुचारु राखेको प्रिन्सिपल होमनाथ आचार्यले बताए । विद्यालयले प्रत्येक विद्यार्थीलाई अनलाइन कक्षाका निम्ति युजर आईडी दिएको छ । हरेक दिन पाँच विषय पढाइन्छ । ‘विद्यार्थी घरमै बसेर अनलाइन पढ्छन्, शिक्षकचाहिँ कक्षाकोठामै उपस्थिति भएर समय तालिकाअनुसार पढाउँछन्,’ प्रिन्सिपल आचार्यले भने, ‘अनलाइन पढाउन कक्षाकोठामा डिजिटल ह्वाइटबोर्ड र ल्यापटपको व्यवस्था छ । विगतको वर्षझैं यो पटक पनि चैतमै कोर्स पूरा गराउँछौं ।’ कक्षा १० का विद्यार्थीलाई भने फागुनदेखि कक्षामा बोलाउने उनले बताए ।

काठमाडौंको अनामनगरकी शुभम पराजुली कक्षा ७ की छात्रा हुन् । ‘घरमा ड्याडी, ममीसँगै बसेर मजाले पढ्न पाउँदा खुसी लागेको छ,’ उनी भन्छिन्, ‘होस्टलभन्दा घरमा मजा भए पनि साथीहरूसँग भेटेर बोल्न, खेल्न नपाउँदाचाहिँ खल्लो भइराछ ।’ विद्यालयले यो वर्ष कुनै विद्यार्थीलाई कक्षामा बोलाएको छैन । त्यसैले विद्यार्थीले स्कुल पोसाक लगाउनु र किताब बोक्नुपरेको छैन ।

‘महामारीका बेला हाम्रा छोराछोरीलाई साथमै राखेर अनलाइन कक्षामा सहभागी गराउन पाउँदा राहत मिलेको छ,’ प्रलोकका पिता शुभराज राईले फोनमा भने, ‘यो वर्ष स्कुल ड्रेस, होस्टल ड्रेस, किताबको खर्चका झन्झट बेहोर्नुपरेन । तर छोराले धेरैबेर मोबाइलमा झुम्मिरहनुपर्ने देख्दाचाहिँ खराब असर गर्ला भन्ने चिन्ता लाग्छ ।’ विद्यालयले हरेक विषयको आन्तरिक परीक्षासमेत लिएको जनाएको छ । त्यसैअनुसार नतिजा सन्तोषजनक रहेको अभिभावक राई बताउँछन् ।

यसैगरी जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलले वैशाखबाट अनलाइन कक्षा चलाइरहेको छ । प्रिन्सिपल फादर जर्जका अनुसार लकडाउनको दुई महिनासम्म औपचारिकताका निम्तिमात्र अनलाइन कक्षा चलाइएको थियो । ‘लकडाउन लम्बिएपछि अभिभावकको सुझावअनुसार सिनियर कक्षामा चार र जुनियर कक्षामा दुई र तीन पिरियड पढाउँदै आएका छौं,’ लकडाउन लम्बिएसँगै कक्षाको संख्या बढाएको उल्लेख गर्दै उनले भने, ‘अनलाइनमा जाँच लिँदा चिटिङ हुने भएकाले मौखिक परीक्षालाई प्राथमिकता दियौं । विद्यार्थीले होमवर्क गरेर फोटो खिचेर पठाउँछन् ।’

विद्यार्थीलाई अनलाइनबाटै नृत्य, संगीत, कथावाचन प्रतिस्पर्धा गराउने गरेको प्रिन्सिपल जर्जले सुनाए । ‘भौतिक रूपमा खेलकुद गराउन सकेनौं, तैपनि बच्चाले चासो राख्छन्,’ उनले भने, ‘हामीले नियमित शैक्षिक सत्रमै पठनपाठन सकाउने लक्ष्य राखेका छौं । तर महामारीले गर्दा केही समय प्रत्यक्ष उपस्थितिमा कक्षा चलाएर जाँच लिन पाए बेस हुने ठानेका छौं ।’

सानो हात्तीवनस्थित लिटिल एन्जेल्स स्कुलका प्रिन्सिपल मुकुन्दराज शर्मा शैक्षिक सत्रकै सुरुदेखि अनलाइन कक्षा चलाइरहेको बताउँछन् । ‘भर्खरै कक्षा ९ र १० का विद्यार्थीलाई जोरबिजोर गरी कक्षामा बोलाएरै पढाउँदै छौं,’ भौतिक कक्षा जत्तिको अनलाइन कक्षा प्रभावकारी नहुने उल्लेख गर्दै शर्माले भने, ‘स्पष्ट भन्नुपर्दा यो वर्ष हाम्रा विद्यार्थी संख्या कति भनेर किटान गर्न सक्ने अवस्था छैन । त्यसैले विद्यार्थी संख्या यकिन गर्न केही महिना भौतिक कक्षा हुनुपर्छ र मात्र जाँच लिएर अर्को कक्षोन्नति गर्न उपयुक्त हुनेछ ।’

कोभिड–१९ का कारण यो वर्ष देशका अधिकांश विद्यालयहरू अझैसम्म पूर्ववत् चल्न सकेका छैनन् । स्थानीय तहको तजबिजमा विद्यालयहरू सञ्चालनमा ल्याउन थालिए पनि काठमाडौं उपत्यकाका ठूला विद्यालयहरूले अझैसम्म विद्यार्थीलाई कक्षामा बोलाएका छैनन् । कोरोनाविरुद्धको खोप सहज भएर अवस्था त्रासमुक्त हुने दिनको प्रतीक्षामा विद्यालय सञ्चालकहरू छन् ।

शिक्षा मन्त्रालयले चैतमा सकिने शैक्षिक सत्रलाई लम्ब्याएर आगामी जेठसम्म पठनपाठन गर्ने प्रस्ताव गरेको छ । तर मन्त्रिपरिषद्ले अहिलेसम्म उक्त प्रस्तावलाई स्वीकृत गरेको छैन । त्यसैगरी चैतमा हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) समेत अन्योलमा छ । मन्त्रालयका प्रवक्ता तथा सहसचिव दीपक शर्मा मन्त्रिपरिषद्मा छलफलकै क्रममा रहेको बताए ।

नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा सरकारले अविलम्ब निकास दिनुपर्ने बताउँछन् । ‘अनलाइन कक्षालाई सिकाइमा जोडेर न्यूनतम सिकाइ उपलब्धिका आधारमा कक्षा चढाउनुपर्छ,’ उनले भने । त्यसैगरी प्याब्सनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानियाँ आगामी चैतमा पठनपाठन नसकिने उल्लेख गर्दै सरकारले चाँडो उचित निर्णय गर्नुपर्ने बताउँछन् । ‘सरकारले ८१ लाख बालबालिकाको भविष्यलाई केन्द्रमा राखेर चाँडो निर्णय लिन जरुरी छ,’ उनले भने ।

शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले तल्लो कक्षाबाट माथिल्लो कक्षासँग सम्बन्ध राख्ने पाठलाई बढी ध्यान दिन उर्दी जारी गरेको बताए । ‘यो वर्ष जेठसम्म शैक्षिक सत्र लम्ब्याउन सके केही हदसम्म पाठ्यक्रमअनुसारको पठनपाठन गर्न सकिन्छ,’ अध्यक्ष थापाले भने, ‘कक्षा ९ का विद्यार्थीलाई १० कक्षासँग सम्बन्धित पाठ अनिवार्य पढाउन उर्दी जारी गरेका छौं ।’ शिक्षामन्त्रीले पर्याप्त समय दिनुपर्ने र मन्त्रिपरिषद्बाट चाँडो निर्णय गर्न आवश्यक रहेको उनले बताए ।

चालु शैक्षिक सत्रमा सबैभन्दा धेरै सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको अनलाइन कक्षामा पहुँच पुग्न सकेको छ । तिनै विद्यार्थी लक्षित गरी पाठ्यक्रम विकास केन्द्रले ‘पाठ्यवस्तु, समायोजना ढाँचा, २०७७’ सार्वजनिक गरेको छ । त्यसैअनुसार निश्चित पाठ मात्र पढाउनुपर्ने व्यवस्था गरेको छ ।

गणेश राईले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्