भाषा परीक्षा सञ्चालन हुने

Avatar photo

Byएजुकेशन पाटी

८ श्रावण २०७७, बिहीबार

काठमाडौं ।  कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण रोकिएका भाषा परीक्षा तथा अनलाइन प्रणालीमार्फत हुने परीक्षा सञ्चालन हुने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ का कारण स्थगित भाषा तथा अनलाइन परीक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७७ जारी गरी भाषा परीक्षा सञ्चालन गर्न बाटो खोलिदिएको हो।

शिक्षा मन्त्रालय उच्च शिक्षा माहाशाखा प्रमुख एवं सहसचिव रामशरण सापकोटाले सिसिएमसीको असार १५ गतेको बैठकले भाषा परीक्षा सञ्चालन गर्न दिएको निर्देशनअनुसारै मन्त्रालयले कार्यविधि जारी गरेको बताए। जसअनुसार अब रोकिएका भाषा परीक्षा आइइएलटिएस, टोफेल, पिटिई, जेएलपिटी, जिआरआई, स्याट, जिम्याटलगायत भाषासम्बन्धी परीक्षा सञ्चालन गर्न सकिनेछ।

विदेश अध्ययन गर्न जाने विद्यार्थीले भाषा परीक्षा अनिवार्य पास गर्नुपर्छ। कोभिड संक्रमणको कारण विगत तीन महिनादेखि यी सबै परीक्षा रोकिएका थिए। अब कार्यविधि जारी भएपछि परीक्षा सञ्चालन तथा व्यवस्थापनको बाटो खुलेको शैक्षिक परामर्श दातृ निकायहरूले बताएका छन्।

कार्यविधिले परीक्षा सञ्चालन गर्दा सरोकारवालाले जनस्वास्थ्यको सुरक्षाका मापदण्ड प्रयोग गरेर प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने छ। ‘परीक्षा सञ्चालन गरिने कोठा दोहोरो भेन्टिलेटर तथा प्रकाशयुक्त हुनुपर्छ। परीक्षार्थीबीच दुई मिटरको दुरी कायम गरी कम्तीमा २० जनाको सहभागिता हुनु पर्छ,’ प्रमुख सापकोटाले भने, ‘शुद्ध खानेपानी तथा शौचालयको राम्रो व्यवस्था भएको र परीक्षामा सहभागिता जनाउने सबैको अनिवार्य ज्वरो नाप्नु पर्ने छ।’

उनले थपे, ‘मन्त्रालयमा दर्ता भएका संस्थाले मात्र भाषा परीक्षा सञ्चालन गर्न पाउनेछन्।’ परीक्षा हलमा हात धुन साबुनपानी र सेनिटाइजरको अनिवार्य व्यवस्था हुनुपर्ने उल्लेख छ। हाल नेपालमा ब्रिटिस काउन्सिल र आइडिपी अस्ट्रेलियाले आइइएलटिएस परीक्षा सञ्चालन गर्दै आएका छन्। विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीका लागि भाषा परीक्षा अनिवार्य भएको एसोसिएसन अफ ब्रिटिस अलुमुनाई नेपालका अध्यक्ष एवं युनिभर्सल ल्याङ्वेज एन्ड कम्प्युटर एसोसिएसनका संस्थापक उत्तम पन्तले बताए।

अध्यक्ष पन्त लामो समयदेखि आइइएलटिएस परीक्षा सञ्चालन तथा व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएका छन्। उनका अनुसार बर्सेनि ६० हजार विद्यार्थीले आइइएलटिएस परीक्षा दिने गरेका छन्। आइइएलटिएसको नयाँ व्यवस्थाअनुसार प्रतिविद्यार्थी परीक्षा शुल्क २१ हजार ५ सय तोकिएको छ।

एक महिनामा चारवटा परीक्षा समय तालिका हुन्छन्। प्रतिमहिना पाँच हजार विद्यार्थीले आइइएलटिएस परीक्षामा सहभागिता जनाउने गरेको अध्यक्ष पन्तले बताए। उनका अनुसार थुप्रै विद्यार्थीले कलेजहरूबाट अफर लेटर प्राप्त गरी भर्नासमेत गराइसकेका छन्। प्लेन कुरेर बसेका छन्।

शिक्षा मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमणकै अवस्थामा पनि नोअब्जेक्सन लेटर लिन नयाँ विद्यार्थीले दिनहुँ सम्पर्क गर्ने गरेका छन्। तर, सिसिएमसीले नयाँ विद्यार्थीका लागि एनओसी दिनेबारे कुनै निर्णय नगरेकाले नयाँ एनओसी जारी नभएको एनओसी शाखाप्रमुख दिनानाथ पुरीले बताए। उनका अनुसार गत आवमा ३३ हजार २२ जनाले एनओसी लिएका थिएनन्। ‘पुराना विद्यार्थी जो विदेशमा अध्ययनरत छन् उनीहरूलाई रकम पठाउन एनओसी जारी गरिएको छ,’ प्रमुख पुरीले  भने, ‘नयाँ विद्यार्थीका लागि एनओसी फाराम भर्न अनलाइन व्यवस्था गरियो तर प्रक्रिया सबै स्थगित गरिएको छ। सिसिएमसीको निर्देशन कुरिरहेका छौं।’

मन्त्रालयका सहसचिव सापकोटाले आइडिपी अस्ट्रेलिया कम्पनीमा दर्ता भएर करको दायरामा आए पनि ब्रिटिस काउन्सिल प्रक्रियामा रहेको बताए। ‘नेपालमा सञ्चालित हरेक भाषा परीक्षासँग सम्बन्धित निकाय दर्ताका लागि शिक्षा मन्त्रालयले निर्देशन दिएको छ,’ प्रमुख सापकोटाले भने। नेपालमा सञ्चालित परीक्षासम्बन्धी जुनसुकै निकाय पनि नेपाली कानुनअनुसार करको दायराभित्र आउनुपर्ने उनको ठहर छ।

रूबी रौनियारले नागरिकमा खबर लेखेकी छन् ।

 

प्रतिकृया दिनुहोस्