कोरोना भाईरस र यसले उठाएका केहि पक्षहरु

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२७ जेष्ठ २०७७, मंगलवार

मानव समाजको इतिहास विभिन्न चरणहरु पार गर्दै यहाँसम्म आइपुगेको छ । पृथ्वीमा मात्र नभई अन्तरिक्ष अन्वेषण, आणविक हतियारको उत्पादन, विकास र  प्रयोग, रोबोटको निर्माण र यसको माध्यमबाट जनशक्ति विस्थापन गर्ने चरण यसले पार गरेको छ ।  मानव समाजले आफ्नो चेतना, ज्ञान र बौद्धिक स्तरलाई यसरी प्रयोग गदै आयो कि उसले बिगत र वर्तमान मात्र नभई भविष्यको बारेमा समेत हुन सक्ने विभिन्न प्रकारका चमत्कारिक तथ्यलाई वैैज्ञानिकरुपमा पुष्टि गर्न सफल मानिएको छ ।

मानवसमाजको यो विकास आदिमकाल, मध्ययुगिन समाज, आधुनिक देखि लिएर उत्तर आधुनिक समाज हुँदै पछिल्लो समय प्रविधिको चरम विकास र प्रयोगले विश्वब्यापिकरणसम्म आइपुगेको छ । पूँजीको प्रतिस्पर्धात्मक विकासले समग्र समाज नै झन् पछि झन् नयाँ चरणमा प्रवेश गर्दै आएको छ ।  जुन किसिमबाट एक पछी अर्को अग्रगामी  विकासको द्रुतगतिमा अघि बढिरहेको विश्व मानवसमाज आजको समयमा एउटा सानो भाईरसले अकस्मात ब्रेक लगाई  यसरी  ठप्प पार्न  पनि सक्छ भन्ने कुरा मिथ्या काल्पनिक सत्य सावित हुन पुगेको छ ।

सभ्यताको विकासमा अगाडि बढिरहेको यो विश्व कसरी यो अवस्थामा आयो ? यो  कुरा आजको प्रमुख खोजको विषय हो  । मानवसमाज जसरी आफुलाई हरेक कुरामा सर्वश्रेष्ठ प्राणीको रुपमा प्रस्तुत गरिरहेको थियो तथापी उसको प्रकृतिप्रति अनावश्यक र निर्मम हस्तक्षेप पनि हुँदै गयो । विकासको नाममा हुँदै   गरेको प्रकृति दोहन र यसले निम्त्याएको  प्राकृतिक असन्तुलन नै आज देखिएको प्रमुख समस्या हो ।

अहिले विश्वमा देखिएको मानव स्वास्थ्य सम्वन्धित कोरोना भाईरस (कोभिड–१९) एउटा सामान्य कुरा हो तर जुन प्रकारबाट मानव सोचमा नयाँ परिवर्तन आउदैन तत्कालकालागि यो समस्या समाधान भएपनि फेरी कुनैपनि बेला अर्को समस्या देखिन सक्छ । तसर्थ अहिले कोरोना भाइरस प्रमुख मानव चुनौतिको रुपमा देखिए सँग–सँगै केहि संवेदनशील पक्षहरुका नयाँ मार्ग पनि देखाएको छ ।

कोरोना भाईरसको विकास तथा उत्पत्तिको वारेमा विभिन्न प्रकारका कुराहरु आएतापनि मुलतः मानवसमाजमा संक्रमण देखिएको मात्र ३–४ महिना मात्र भएको छ । जसको शुरुवात भने चीनको वुहान प्रान्तवटा भएको हो । यस बिषयमा  विभिन्न विज्ञहरुको विभिन्न माध्यमबाट दिएको भनाई तथा विचार  अनुसार कोरोना भाईरस अन्य प्राणीहरुमा पहिलेदेखि नै हुने गरेको थियो । जब यसले मानवमा संक्रमण भयो यस पछि अहिले आएर भयावह ‘विश्व महामारी’  रुप लिदै गरेको छ ।

एक मानिसबाट अर्को मानिसमा संक्रमित हुने भए पछि पक्कै पनि मानिसहरुको दुरी सिमित गर्नु नै पहिलो कदम मानिएको छ र यसैलाई मध्यनजर गर्दै लकडाउन विश्वभरि नै गरिएको छ । लकडाउन जसरि आज एउटा अचुक अस्त्रको रुपमा प्रयोग गरिएको छ यसले पक्कै पनि मानिसहरुको सम्वन्ध तथा सम्पर्कलाई धेरै हदसम्म नियन्त्रण पक्कै गरेको छ ।

अहिलेको यो हाम्रो पुस्ताको कुरा गर्दा विश्वमा विभिन्न समयमा भिन्न किसिमका महामारी देखा परेको इतिहासमा पढ्न पाइन्छ ।  अहिलेको विश्वमा जसरी पछिल्लो समयको बिकासको गतिले विभिन्न कारण तथा उद्देश्यले गर्दा बसाईसराई तथा सहर केन्द्रित मनोविज्ञान र विलासिताको कारणले आफ्नो मूल थलो छाड्नु पर्ने केहि वाध्यता र रहरले गर्दा विश्व जनसंख्या वितरणमा असन्तुलन तथा  प्राकृतिक श्रोत र  साधनको संरक्षण, प्रयोग र सम्बद्र्धन प्रति लापरवाही आदिका कारण आजको यो समस्या देखिएको छ । तत्कालका लागि जुन भाईरस देखिएको छ र यसले उजागर गरेका केहि सामाजिक, आर्थिक, शैक्षिक, मनोबैज्ञानिक र प्राकृतिक पक्षहरुमा छलफल गर्ने प्रयास गरिएको  छ ।

सामाजिक पक्ष
समाजको परिभाषा व्यक्तिहरुको समुह मात्रै भन्दापनि मानिसहरु विभिन्न रुपबाट एक अर्कामा सम्बन्धित हुन्छन् ।  सामुहिक अन्तरसम्बन्ध, अन्तरक्रिया, रीति, रिवाज, संस्कृति ,चालचलन जसले एक संरचना निर्माण गर्दछ त्यो नै समाज हो । समाज  निर्माणको वारेमा विभिन्न समाज शास्त्रीयहरुको आ–आफ्नो मत रहेको छ । कुनै पनि समाजमा जव कुनै राजनीतिक परिवर्तन हुन्छ त्यो समाजको सामाजिक संरचना पनि परिवर्तन हुन्छ ।
मानिसहरुमा चेतनाको स्तर फरक हुन्छ । त्यसैगरी जब प्राकृतिक रुपमा केहि फेरवदल हुन्छ, त्यसको असर पनि समाजमा देखा पर्दछ । वरिस्ठ समाजशास्त्री कार्ल माक्र्सका अनुसार ‘समाज विभिन्न वर्ग संगर्षको अन्तरद्वन्दवाट जन्मन्छ’ ।

उनका अनुसार आदिम साम्यवाद –सामन्तवाद हुदै पूँजीवाद र समाजवादवाट साम्यवादको वाटोमा निर्देशित हुन्छ । नभन्दै अहिलेको मुख्य लडाई भनेको पूँजीवादको उपरिसंरचना तथा उत्पादनको साधन माथि सिमित वर्गहरुको नियन्त्रण हुनु र अधिकांश जनसंख्या यसको पहुँचवाट टाढा रहनु हो  ।

यो पूँजीको विकासले आम जनतामा नेपालको सन्दर्भमा कृषिको विकास भन्दा औधोगिक कलकारखानामा सहज मान्न थालियो जसले गर्दा अन्तत्वगत्वा  प्रकृतिको विनास भन्दा अरु केहि भएन जुन सारा विश्वमा यहि अवस्था देखियो । हाम्रो समाज जुन अझै पनि अल्पविकसित तथा विकासोन्मुख देश हो जहाँ अझै पनि साक्षरता प्रतिशत ६८ छ र यहाको कुल ग्राहस्थ उत्पादनपनि सन्तोषजनक छैन ।

मुख्य आर्थिक स्रोत भनेको कृषि, पर्यटन र जलश्रोतको समुचित विकास र प्रयोग हो । जुन अझै पनि राजनीतिक चुनावी नारामा मात्र सिमित भएको छ ।   तर पछिल्लो पटक विश्व पुँजी वजारको कारणले बैदेसिक रोजगार सहज रुपमा लियो जसले नेपाली उर्जाशील जनशक्ति न्युनतम मुल्यमा आफ्नो श्रम बेच्न बाध्य भए यसबाट राज्यको अर्थतन्त्रमा रेमिटेन्सवाट आएको केहि सिमितमात्र योगदान बाहेक धेरै नकारात्मक प्रभाव पारेको छ ।

हाम्रो देशको सामाजिक संरचना विभिन्न जातजाति धर्म सम्प्रदायका मानिसहरुको बसोबास रहेको छ तर पछिल्लो समय बढ्दो बसाईसराईको कारण सही किसिमको प्राकृतिक स्रोत र साधनको उचित प्रयोगमा कमि देखिएको छ । जसले गर्दा हिमाली र पहाडी क्षेत्रका मानिसहरु तराई र राजधानी क्षेत्रमा बढी केन्द्रित हुदै गयो । यसले गर्दा समग्ररुपमा प्राकृतिक सम्पदाको पूँजीसँग सौदावाजी गरेर सुविधा सम्पन्न र विलासिताको जीवनमा रमिरहेको अवस्थाले गर्दा विश्व समाज खतराको सूचीमा उभिएको छ । अब  यो कोरोना भाईरसको त्रास पछि जब  समाज सामान्य रुपमा फर्कन्छ अनि आफ्नो हैसियात र यथार्थ धरातलको सहि मुल्यांकन गर्नु अपरिहार्य छ ।

आर्थिक पक्ष
आर्थिक पक्ष भन्नाले कुनै पनि समाजमा रहने मानिसहरुको आवश्यकतालाई पूर्ति गर्ने साधन हो ।  कुनै पनि देशको आर्थिक सूचक त्यस देशको मेरुदण्ड हो । त्यसै अनुरुप हाम्रो देशको आर्थिक स्रोत भनेको मूलतः कृषि, पर्यटन र जलश्रोत हो, यद्धपि वर्तमान समयमा देशको आर्थिक स्रोत वैदेशिक रोजगारीवाट आएको रेमिटेन्स हुन पुगेको छ, जुन अन्तत आत्मघाती कदम हो ।

जब देशमा कुनै समस्या पर्दा पक्कै पनि आर्थिक पक्ष सधै अगाडि नै आउछ तर हाम्रो देशको आर्थिक स्रोत मूलतः आफ्नो जनशक्ति बाहिर पठाएर उनीहरुको उर्जाशील समय, सिप सबै बेचेर भित्रिएको रेमिटेन्सले कहिले सम्म देशले थेग्न सक्छ ?

अहिले जसरी  कोरोना भाइरसको कारण शृजना भएको विशेष अवस्था जुन समयको बहावसँगै अवसरको वातावरण पनि देखिएको छ ।  लकडाउनको कारण सरकारलाई देश भित्र रहेका श्रमिकको ब्यबस्थापन एउटा पक्ष भयो, उद्योग कलकारखानाको सुरक्षामा मात्र नभएर देश बाहिर रहेका श्रमिकहरुको सुरक्षाको चिन्ता पनि थप पेचिलो वन्दै गएको छ ।

पक्कै पनि वर्तमान समस्याले केहि फरक ढंगको बहस पनि उठान गरेको छ । विश्वमै आर्थिक सूचक नकारात्मक विन्दुमा जाने लगभग निश्चित छ । यो समयमा खास गरेर हाम्रो जस्तो देश जहाँ भर्खरे मात्र ठुलो राजनीतिक परिवर्तन, विनाशकारी महाभूकम्प र त्यस पश्चात राजनीतिक स्थाईत्व हुदै गर्दा देश भित्र रहेको कृषिको अथाह सम्भावनालाइ यसको  सहि कार्य योजना निर्माण गरि उचित प्रयोग गर्न सकियो भने विश्वमा एक उदाहरणको रुपमा स्थापित हुन सकिन्छ । यसको लागि सरकारले किसानहरुको समस्या तथा उनीहरुको आवस्यकतालाई ध्यान दिनु जरुरि छ । साच्चै नीति निर्माता र राज्यमा रहेका नेतृत्वबाट एउटा विशेष कार्यक्रम घोषणा गरि गाउँ फर्क अभियान अथवा कृषिको समयानुकुल परिवर्तन गर्ने हो भने यो कोरोना नेपालको लागि साच्चै वरदान बन्न सक्छ ।

शैक्षिक पक्ष
शिक्षा भनेको केहि नयाँ खोज अन्वेषण सिकाइ तथा ज्ञान सम्वन्धित क्रियाकलाप हो । हाम्रो देशको शैक्षिक विकास अझै पनि सिमित सहर केन्द्रित हुनु तथा केहि मुट्ठीभर व्यक्तिको नियन्त्रणमा हुनु ठुलो दुर्भाग्य हो । जसले गर्दा आज मध्यम तथा निम्न वर्गका लागि गुणस्तरीय शिक्षा सपना हुन गयो र सक्षम् जनशक्ति पलाएन हुनु भन्दा अरु विकल्प रहेन ।

यसको प्रमुख उदाहरण हाम्रो विश्वबिध्यालयमा देखिने न्यून उपस्थितिले जनाउछ । आज जसरी एक भाइरसको कारण लकडाउनको सामना गर्नु परिरहेको छ, यो मानव र प्रकृति विचको युद्ध नै हो जसलाई बुझ्न मानवको क्षमताले सक्दैन । यसै क्रममा आधुनिक भारतीय विचारक रविन्द्र टैगोरले लेखेका छन् ‘कि आधी तुफान महासागर सुर्य चन्द्रमा पर्वत तथा मैदान ईश्वरीय साथै दिव्य आनन्दको अभिव्यक्ति हो ।

प्रकृति केवल भौतिक शक्तिहरुको समूह मात्रै होइन यसले त एक   शृजनशील चेतनामा सामन्जस्यको मुर्त रुप प्रदान गर्दछ । विज्ञान जसले मात्रै भौतिक जगतको अध्यन गर्छ यो सृष्टिको भित्रि रहस्य  पत्ता लगाउन असमर्थक छ ।

तसर्थ, यो विषम परिस्थितिमा शैक्षिकरुपमा कसरी रचनात्मक ढंगले प्रयोग गर्ने तथा आफ्नो नानिबाबुहरुको समय कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि अहिलेको बहसको विषय हो । यो लकडाउनको समयमा अनावश्यक मोबाइलको मात्र प्रयोग गर्न दिनु भन्दा सबै परिवारका सदस्य ब्यस्त हुने गरि केहि काम  गर्ने हो भने प्रभावकारी हुन्छ ।

यसै कुरामा बिगत केहि दिन देखि सामाजिक मिडियामा विभिन्न रुपमा अनेक प्रकारका अनुभव तथा क्रियाकलाप पोस्ट भइरहेका छन् । पक्कै पनि आफ्ना नानीबाबुहरुलाई यो विषम परिस्थितिमा कसरी सहज बनाउने भन्ने कुरा टड्कारो रुपमा देखिएको छ । सामान्य परिस्थितिमा कुनै दिन स्कूल तथा कलेज बिदा हुदाँ अभिभावकहरुमा कसरि व्यवस्थापन  गर्ने भन्ने कुरा हुनेमा लगातार  बिदाले कतै नकारात्मकता तिर धकेल्ने त होइन भन्ने कुरा पनि छ ।

कुनै विद्यालयले अनलाइन कक्षा पनि संचालन गरेको कुरा छ । जे होस् यो बेला आफ्ना नानीहरुलाई आफ्नो परिवार, समाज, संस्कृति, प्रकृति, वाताबरण, धर्म, राष्ट्र तथा अन्तराष्ट्रियका बारेमा अभिभावक नै गुरु बनेर सिकाउने समय हो । हाम्रो घर नि पाठशाला हो र हामीले गर्ने क्रियाकलाप शिक्षाको रुपमा लिनु पर्दछ । यो लकडाउनबाट  अब शिक्षामा पनि नया बहस प्रारम्भ भएको छ ।

हाम्रो जस्तो जुन  परम्परामा आधारित गुरुकुल शिक्षाबाट  केहि रुपमा मात्र  अगाडी बढेको छ । यद्धपि हामी धेरै नै पछाडी रहेको कुरा उजागर भएको छ । शिक्षामा आमुल परिवर्तन नआएसम्म समाज तथा राष्ट्र अगाडि बढ्न सक्दैन । यस कुरामा सम्वन्धित सरोकारवालाको ध्यान जानु जरुरि छ । यो विश्व महामारीको समयमा शिक्षा जस्तो सचेत पक्ष सहि रुपमा मार्ग निर्देशन गर्न सक्दछ यसको प्रयोग मात्र गर्न सक्नु पर्दछ । चंगुलबाट वाहिर आएपछि  समग्र शिक्षावारे पुनर्मूल्याङ्कन  गर्नु आवश्यक छ र अबको शिक्षा जीवन उपयोगी हुने गरि प्रष्ट योजना आउन सक्नु पर्छ ।

मनोवैज्ञानिक पक्ष
मनोविज्ञान भन्नाले व्यक्तिको भावना, मन, चिन्तन, तथा सोच विचारको अध्यन हो । मानिसहरुमा बाहिरी वातावरण अनुसार उनीहरुको चिन्तन तथा चेतनामा प्रभाव पार्दछ । जव समाजमा  कुनै समस्या देखा पर्दछ त्यसको प्रत्यक्ष रुपमा त्यो समाजमा बस्ने मानिसहरुमा असर देखिन्छ । आज विश्वब्यापीरुपमा देखा परेको महामारी कोरोनाले धेरै मानिसहरुमा मानसिक समस्या पनि हुन सक्दछ । यस्ता खाले समस्या जब समाजमा देखा पर्दछन भने कसरि मानसिक रुपमा फ्रेश हुन सकिन्छ यस बारेमा पनि बहसको बिषय  भएको छ । सर्वप्रथम मानिस हरुलाई उसको आत्मबल विकासको लागि जीवनमा उत्तरचढाब धेरै आउछ र जस्तो वेला पनि धैर्य गर्न सक्नु पर्दछ भन्ने कुरा सिकाउनु पर्दछ ।

अहिले संचारको माध्यमबाट विभिन्न प्रकारका मानसिक तनाब हुने खालका फोटोहरु तथा पोस्टहरु देख्न पाइन्छ जसले गर्दा आम रुपमा गलत किसिमको सन्देस गएको छ । महामारीको रोगको त्रासबारे गलत बुझाई र विभिन्न देशमा निरन्तर बढिरहेको संक्रमण तथा मृत्युदर बारे गलत सुची जसले मानिसहरुमा महामारीको भन्दा गलत सुचनाको संक्रमणले प्रभावित बन्ने सम्भावना बढेर  गएको छ ।

यसबाट के कुरा सिक्न सकिन्छ भने  गलत सूचना को असर कति सम्म हुन्छ र यसको प्रयोग र अनुगमन तथा नियमन उत्तिकै महत्वको विषय हो । अवको आवश्यकता भनेको मानिसहरुमा अनावश्यक नकारात्मक प्रतिस्पर्धा भन्दा पनि दीर्घकालीन रुपमा विकास र यसको प्रयोग आजको आबस्यकता हो भन्ने खाले मनस्थिति तयार गर्न सकियो भने जस्तै परिस्थितिमा पनि सहज रुपमा लिन सकिन्छ ।

माथि उल्लेख गरिएका विभिन्न पक्षहरु एक प्रारूप जस्तै हुन्, आजको यस विषम परिस्थितिमा अनेक सम्बन्धित क्षेत्रहरुको बारेमा पनि अध्ययन गर्न सकिन्छ । प्राकृतिक पक्ष जुन पृथ्वीमा रहेका समस्त जीवहरुको आश्रयस्थल हो, त्यो आज भिन्न खालको रुपमा प्रस्तुत भएको छ । कोरोना भाइरस तत्कालकालागि प्रमुख समस्या बनेको यो परिस्थितिमा प्रकृति आफ्नो स्वच्छन्द र सफा संसारमा रम्न थालेको छ ।

शहरमा पनि सधै जसो सवारीसाधन र कलकारखाना, भिडभाड देखिने ठाँउमा लटरम्म रंगिन फुलहरु फुलेका छन्, समस्त बोटबिरुवाहरु आफ्नै तालमा झुलेका छन्, हो प्रकृति साच्चै मनमोहक र लोभलाग्दो छ । ग्रीक मिथको ‘प्यान्डोरा बक्स’ खोल्दा जसरि नकारात्मक पक्षहरु एकाएक बाहिर देखिन्छन र सबै तिर हाहाकार फैलिन्छ, निराशा मात्र देखिन्छ, अन्तिममा ‘आशा’ जब बाहिर निस्कन्छ, अनि सबै तिर खुशी छाउछ । त्यसैगरी अहिले जसरि कोरोना भाइरस महामारीले सबैतिर निराशा र हाँहाकार बनाएको समयमा केहि सकारात्मक पक्षहरु पनि देखिएको छ । प्रकृति आफ्नै ठाउँमा फर्कदै छ ।

यसै सन्दर्भमा हिन्दु दर्शनमा उल्लेख गरिए अनुसार सत्य, त्रेता र द्धवापार  युग तिर जब जब  अशुरलोकमा तथा मानवलोकमा दैत्य, राक्षसहरुको अत्याचार फैलिँदा भगवान बिष्णुले विभिन्न शक्तिको अवतार लिएर ति राक्षस र भक्षकहरुलाई पराजित गरि सत्यको जित भएको देखाइएको छ। त्यसैगरी अहिले यो कोरोनाको त्रास पनि सायद तत्कालिन समयका हिरण्यकश्यपू ,वली,रावण र कंश जस्तै भएर बसेका मानवहरु प्रकृतिको निरन्तर दोहन गरि बसेका र कतै पनि यसको महत्वका बारेमा विशेष पहल  र चिन्तन नभएको यो समयमा कोरोनाले प्रकृति   र मानवहरुको सम्बन्धमा थप उर्जा थपेको प्रष्ट पारेको छ ।

समाजमा जब कुनै चुनौती तथा समस्याहरु देखा पर्दछन त्यो चुनौती संग सँगै अबसर पनि आएको हुन्छ । अहिले यो महामारीले विश्व नै त्राहिमाम भएको परिस्थितिमा राज्यको अग्नि परिक्षाको रुपमा पनि लिएको छ । हजारौं मानिसहरु सयौं किलोमिटरको दुरी पैदलै हिड्न बाध्य भएका छन् । दैनिक ज्यालादारीमा गुजारा चलाई जीवन बाँचेका निम्न वर्ग र मध्यम बर्गीय मानिसहरु  कुनै श्रम गर्ने वातावरण छैन त्यस कारण उनीहरु आफ्नो र परिवारको पेट भर्न धौ धौ भएको अवस्था छ ।

यस्तो बेलामा  राज्यको उच्च पदमा बसेका मानिस रोम जली रहँदा निरोले बाँसुरी बजाए जस्तै राज्यबाट  मानिसहरुको  समस्यालाई समाधान गर्ने खालको जिम्मेवारि पूर्ण कुनै ठोस कार्यक्रम आएको देखिदैन, जुन कुरा दीर्घकालीन रुपमा यसले कदाचित जनताको राज्य प्रति हेर्ने दृष्टिकोण सकारात्मक हुन सक्दैन ।  तत्कालका लागि केहि समाधानको उपाए नगरिए यसले झन् भयाबहको रुप लिन सक्दछ । तसर्थ हरेक समस्या सँगै नया सकारात्मक पक्षहरुको पहिचान गर्न सक्ने हो भने आम रुपमा राज्य तथा नागरिकको भबिस्य उज्ज्वल हुनेमा कुनै शंका छैन ।
भूसाल माध्यामिक विद्यालय शिक्षक यूनियनका केन्द्रिय  उपमहासचिव हुन् ।

प्रतिकृया दिनुहोस्