गोरखा ।  ४ वर्ष देखि त्रिपालले बारेको अस्थायी टहरामा पढ्दै आएका धारापानी मावि आरुबोट गोरखाका विद्यार्थीहरुले अब नयाँ भवनमा पढ्न पाउने भएका छन् ।

बुधवार जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) गोरखाले विद्यालयलाई नवनिर्मित नयाँ भवन हस्तान्तरण गरेको छ । इकाईले करिब ६ करोड लागतको तीनतले १२ कोठे र दुई तले ४ कोठे गरी १६ कोठेनयाँ भवन विद्यालयलाई हस्तान्तरण गरेको हो ।

२०७२ सालको विनासकारी भूकम्पले विद्यालयका भवन भत्काएपछि विद्यार्थीहरु टिनले छाएको र त्रिपालले बारेको अस्थायी टहरामा पढ्दै आएका थिए ।

अस्थायी छाप्रामा पढ्दै आएका विद्यार्थीहरु बुधवार नयाँ भवनमा पढ्न पाउने भएपछि फुरुंग बनेका छन् । विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्र विनम्र खनालले नयाँ भवनमा पढ्न पाइने भएकोमा खुसीको कुनै सीमा नै नरहेको बताए । छाप्रामा पढ्दा भूकम्पको सम्झना आइरहने भएपनि नयाँ भवन देखेर भूकम्प नै बिर्सिएको उनको भनाइ थियो ।

यस्तै विद्यालयकी छात्रा सपना गुरुङले छाप्रामा पढ्दा घामपानीले सताउने गरेको गुनासो गर्दै अब पक्की भवनमा त्यो समस्या नआउने बताइन् । ‘पानी पर्दा बाछिटाले पुरै रुझिन्थ्यो, हिलोमा कति साथीहरु लड्थे’–गुरुङले भनिन्, ‘अब नयाँ भवन पाएपछि हिलोमा चिप्लिएर लड्नु पर्दैन ।’ कक्षा ५ की छात्रा अमृता विकले त्रिपालको छाप्रोमा पढ्दा एउटा कक्षाको हल्ला सबै कक्षामा पुगेर पढाइलाई अवरोध हुने गरेको स्मरण गर्दै अब छुट्टा छुट्टै कक्षामा पढ्न पाउने भएकामा खुसी लागेको बताइन् ।


१८ महिनामा निर्माण हुने गरी गतर्ष असोज ५ गते जग खन्न शुरु भएको भवन १३ महिनामा नै पूर्ण भएको हो । एक भव्य कार्यक्रमका बीज असोज १५ गते बुधवार विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको हो ।

शुरुमा लुम्विनी खानीदेविका प्रतिनिधि एवं शोभित निर्माण सेवाका प्रोपाइटर बुद्धिप्रसाद श्रेष्ठले निर्माण गरिएको भवनको साँचो जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)का प्रमुख बिष्णुप्रसाद मिश्र र इञ्जिनियर बाबुराम देवकोटालाई हस्तान्तरण गरेका थिए ।

लगत्तै मिश्रले सो भवन आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहाललाई हस्तान्तरण गरेका थिए । दाहालले ८ नम्बरका वडाध्यक्ष मुरारी खनाललाई, खनालले विव्यस अध्यक्ष देवीदत्त खनाललाई र देविदत्त खनालले विद्यालयकी प्रधानाध्यापक शान्ता सापकोटा खनाललाई हस्तान्तरण गरेका थिए ।

भवन हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि एवं आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहालले इकाईले बनाइदिएको नयाँ भवनमा विद्यार्थी भर्ने र उनीहरुलाई गुणस्तरीय शिक्षा दिने जिम्मा गाउँपालिकाले लिने बताए । भौतिक पूर्वाधारको समस्या समाधान पछि अब विद्यालयलाई नमूना बनाउने दिशामा आफूहरुको ध्यान केन्द्रित रहेको उनको भनाइ थियो । गाउँपालिकाबाट विद्यालयलाई सबैखाले सहयोग गर्न आफू तयार रहेको दाहालले बताए । स्थानीय अभिभावकहरुलाई सामुदायिक विद्यालयमै छोराछोरी पढ्न पाउन उनको आग्रह थियो ।

यस्तै, विद्यालयलाई नयाँ भन हस्तान्तरण गर्दै आयोजना इकाई प्रमुख विष्णुप्रसाद मिश्रले भूकम्पले भवनसँगै भत्काएका विद्यार्थी, शिक्षक र अभिभावकका मनहरु भवनको पुनर्निर्माणसँगै पुनर्निर्माण हुने आशा व्यक्त गरे । अब नयाँ बनेको भवनमा विद्यार्थी भर्ने र गुणस्तरीय शिक्षा दिने काम स्थानीय सरकार र विद्यालय परिवारको भएको उनको भनाइ थियो । गोरखामा विद्यालय पुनर्निर्माण पछिल्लो दिनमा दु्रत गतिमा अगाडि बढीरहेको भन्दै मिश्रले सार्वजनिक शिक्षाको सवलीकरणमा सबैपक्ष एक भएर लाग्नुपर्ने औंल्याए ।


विद्यालयकी प्रधानाध्यापक शान्ता सापकोटा खनालले नयाँ भवनले आफूहरुको भूकम्पको पीडा भुलाएको बताइन् । भौतिक सुधारसँगै अब विद्यालयको पुरा ध्यान शैक्षिक सुधारमा केन्द्रित हुने भन्दै प्रअ खनालले नयाँ भन जति सुन्दर छ अब त्यसमा शिक्षण सिकाइ पनि त्यति नै सुन्दर हुने प्रतिबद्धता जनाइन् ।

भूकम्प अगाडि साढे दुईसय बढी विद्यार्थी रहेको विद्यालयमा भूकम्पपछि बसाइसराई र अस्थायी टहराका कारण विद्यार्थी घटेर १७० मा पुगेका भन्दै प्रअ खनालले नयाँ भवनसँगै विद्यार्थीको संख्या बढ्ने अपेक्षा व्यक्त गरिन् ।

भूकम्पले भवन ध्वस्त बनाएपछि विद्यालयले अर्कैको जग भाडामा लिएर अस्थायी टहरामा पठनपाठन गराउँदै आएको थियो । भवन हस्तान्तरण कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरुसमेत प्रस्तुत गरेका थिए ।

२०७६ असोज १६ गते २१:०८मा प्रकाशित

प्रतिकृया दिनुहोस्