अनन्त राज पन्त

कोरोना महामारी बिच वैकल्पिक शिक्षण सिकाइमा विश्वभरी नै शिक्षा क्षेत्रमा चुनौती र अवसरका रुपमा लिइरहँदा नेपाल सरकार तथा नेपालका शिक्षाविद्हरुले ५ विकल्पका साथ २०७७ असार १ गते देखि लागु गर्नेगरि कार्यविधि निर्माण गर्दै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई गर्न र गराउन स्थानीय तहलाई निर्देशन गरेको थियो । तर, स्थानीय तहका प्रमुख, उपप्रमुख र शिक्षा शाखा प्रमुखहरु र विद्यालयका अधिकांश प्रअहरु शिक्षकहरुलाई विद्यालयमा हाजिरी गराएमा मात्र आफू शक्तिशाली र अब्बल हुने कुचेष्टा राखी तत्काल हाजिर हुन उर्दी जारी भइरहेको अवस्था छ ।

शिक्षा मन्त्रालय र शिक्षामन्त्री दैनिक वैकल्पिक शिक्षण विधि तथा विद्यालय खुलाएर पठन–पाठन सुचारु गराउने कुचेष्टा गर्दै दैनिक कार्यविधि सार्वजनिक गर्ने र कार्यविधि बन्दै छ भन्ने आश्वाशन दिइरहेकै छन् । यसबाट के देखिन्छ भने शिक्षासँग सरोकार राख्ने स्थानीय तहदेखि केन्द्रीय स्तरसम्मका शिक्षासँग सरोकार राख्ने अधिकारिहरु सबै निरीह प्राणी जस्तै देखिन्छन् । उनीहरुमा कुनै नयाँ युक्ति छैन केवल आफुलाई अब्बल सावित गर्न अन्यत्रको शिक्षा, ऐन नीति र नियमावली नक्कल गरि स्थानिय तह देखि केन्द्रीय स्तरको शिक्षा ऐन बनाउने असक्षमता प्रदर्शन गरिरहेका छन् ।

सरकारले निर्देशन गरेको र विभिन्न स्थानीय तह र विद्यालयका प्रअले लागु गर्न खोजेका सबै वैकल्पिक शिक्षण सिकाइका विधिहरुको उपलब्धी मापनका सुचक हेर्दा प्रायः सबै विधिहरु निम्न कारणले असफल भएको देखिन्छ ।

–भौगोलिक विकटताको कारण नेपालका अधिकांश बस्तीहरुमा विद्युत सेवाको अप्रयाप्तता ।

– विद्युत सेवा उपलब्धता भए पनि विद्युत नियमित हुन नसक्नु २४ घन्टा मा ४०–५० पटक विद्युत अवरुद्ध हुनु ।

– नेट सुविधाको अपर्याप्तता, मोबाईल सेवाको पहुचमा कमी, नेट्वर्कका लागि वरपर भौतारिनु पर्ने ।

– रेडियो सेवा भरपर्दो नहुनु ५–५ मिनेटमा ट्युनिङ गर्नु पर्ने ।

–विद्युत सेवाको अभावका कारण टेलिभिजनको कल्पना गर्नै गाह्रो ।

–शहर केन्द्रित बसाईं हुने अभिभावक तथा विद्यार्थीहरुमा माथिका सबै कुरा उपलब्ध भए पनि उनीहरुमा उक्त सुविधाबाट अध्ययन गर्न आर्थिक कारणले गाह्रो ।

–मोबाईल तथा ल्यापटप विद्यार्थीहरुलाई दिँदा विद्युत सेवाको नियमितता तथा net speed का कारण सुरुका दिनमा सफल भएका विद्यालयहरु विस्तारै असफल बन्दै गइरहेको देखिन्छन् ।

–यसरी हेर्दा सरकारको कार्यविधिबाट प्रविधिको पहुँचमा भएका शिक्षकहरुका नेतृत्वहरुले स्थानीय तहसँग मिलेमतो गरि रेडियो, टेलिभिजनमा कार्यक्रम गरि आर्थिक लाभ गरे पनि विद्यार्थीहरुमा चाहे जति उपलब्धी हासिल हुन सकेन ।

– शिक्षाविद्को सल्लाहमा नेपाल सरकारले ल्याएको शिक्षण सिकाइको अन्तिम विकल्प भनेकै छापा विधिको माध्यमबाट घरमा रहेका विद्यार्थीहरुमा विभिन्न शैक्षिक क्रियाकलाप गराउन सकिन्छ ।

छापाको माध्यमबाट विद्यार्थीहरुमा शिक्षण सिकाइलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन तपसिलका कार्य गर्नु उपयुक्त हुने छ।

– ७५३ स्थानीय निकायमै स्थानिय निकाएका प्रमुख, उपप्रमुख, शिक्षा शाखा प्रमुख लगायत शिक्षकहरुको बिचमा अन्तरक्रिया कार्यक्रम राखी आ–आफ्नो स्थानिय तहमा शिक्षा शाखा प्रमुखको संयोजकत्वमा प्रअहरु, बालविकास देखि साविक उमावि तहसम्मको सवै विषयका शिक्षक कम्तिमा रहने गरि समिति निर्माण गर्ने ।

–निर्मित समितिमा स्थानीय तहका सबै विद्यालयमा एकै किसिमको एउटै क्रियाकलाप हुने गरि कक्षागत गृहकार्यको प्याकेज तयार गर्ने ।

–नेपालका हरेक स्थानीय तहमा जे जसरी भए पनि कम्तिमा कार्यालय प्रयोजनका लागि net जडान गरिएको छ, पहाडी क्षेत्रमा रहेका अत्याधिक विद्यालयका शिक्षकहरू स्थानीय नभएको अवस्थामा बाहिर भएका शिक्षकहरुले विद्यार्थीहरुका लागि दिइने शिक्षण सिकाइ क्रियाकलापको १५ दिने प्याकेज निर्माण गरि email मार्फत स्थानीय तहको शिक्षा शाखामा पठाउने, आएका शिक्षण सिकाइका प्याकेजहरुको अभिलेखिकरण गरि उक्त प्याकेजको soft copy निर्माण गरि सम्बन्धित विद्यालयका प्रअहरुलाई आफ्ना विद्यालयमा भएका विद्यार्थीको संख्याको आधारमा file खडा गरि वितरणका लागि तयार गर्न शिक्षा शाखा प्रमुखले तयारी गर्ने ।

– विद्यालयमा कम्तिमा पनि एक जना शिक्षक र विद्यालय कर्मचारी स्थानीय भएकोले उनीहरुको सहयोगमा सामाजिक दुरि कायम गर्दै पाठ्यपुस्तक वितरण गरे जस्तै गरि छापाको माध्यममा तयार गरि तयार पारिएको file वितरण गर्ने ।

–छापा माध्यमबाट तयार गरिएको शैक्षिक क्रियाकलाप घरघरमा पुगे पछि बिद्यार्थीहरुमा निश्चित समयमा गर्नु पर्ने काम भएको हुँदा उनीहरुको अध्ययनको क्रियाकलापमा कक्षा ५ सम्मका विद्यार्थीहरुलाई अभिभावक स्वयंले र कक्षा ६ माथिका विद्यार्थीहरुका लागि गर्नुपर्ने क्रियाकलापमा लगनशिल भइलाग्ने छन् ।

– क्रियाकलापमा असहजता आएमा अभिभावक तथा विद्यार्थीहरु कै file मा क्रियाकलापको प्याकेज निर्माण गर्ने क्रममा शिक्षकहरुको नाम सहितको विषय तथा मोबाईल न. उल्लेख गरेमा विद्यार्थीहरुले आफुलाइ परेको समस्याको बारेमा सम्पर्क गर्दा सहजिकरणमा सहजता आउने नै छ।

– सम्पुर्ण कुराहरुमा शिक्षकले टेलिफोन मार्फत सहजीकरण गर्नु भन्दा विद्यार्थीको अनुकुल समय र स्थानमा आएर सम्पर्क गर्दा पक्कै पनि घर घरमा विद्यालयको नारा जो विश्वका ४२ राष्ट्रमा अपनाई रहेका छन् नेपालमा पनि अहिलेको महामारीमा वैकल्पिक शिक्षण सिकाइमा कोसे ढुङ्गा सावित हुने थियो ।

– प्रश्न उठ्न सक्छ दिएको क्रियाकलाप कसरी चेक गर्ने स्थानीय शिक्षक भए file फिर्ता भएको ३ दिन पछि सुरु गर्ने जिल्ला बाहिरको भए विद्यालय सुचारु भए पछि सुरु गर्ने ।

– दिएको शैक्षिक क्रियाकलाप निश्चित समयमा सक्नु पर्ने र विद्यालयमा फिर्ता गर्नु पर्ने हुँदा पहिलो प्याकेज को क्रियाकलाप सकिन साथ अभिभावकहरुले आफ्ना नानीबाबुहरुको फाइल फिर्ता गरि अर्को १५ दिनको शैक्षिक क्रियाकलापको फाइल लिनुहुने छ । छन् ।

– जबसम्म कोरोनाको महामारी नियन्त्रण हुँदैन नियमित रुपमा यही प्रक्रिया नियमित राख्दा विद्युतीय विधिको शिक्षण सिकाइ भन्दा छापा विधिको सिकाइ अत्यन्त प्रभावकारी नेपाल जस्तो भौगोलिक विकटता र प्रविधिको पहुँचको अभाव भएको हाम्रो जस्तो देशमा हुने नै छ ।

माथिका क्रियाकलापमा स्थानीय निकाएका प्रमुख उपप्रमुख, वडाका अध्यक्ष र अन्य प्रतिनिधिहरु, विद्यालयका प्रअहरु र विव्यस र अभिभावक संघ र स्थानीय शिक्षकहरुको अहिलेको कोरोना महामारीको अवस्थामा अहम् भुमिका हुन जान्छ । कुरो उठ्न सक्छ आर्थिकको कुराको स्थानीय तहले अन्य सुविधा तथा कन्टेन्जेन्सी आउने क्षेत्रमा बजेट फालाफाल गर्न हुन्छ भने देशका भबिश्यका जनशक्ति निर्माणका श्रोतमा हरतरहबाट जोहो गर्न सक्नु पर्छ, पुग्दैन भने केहि पाउन केहि गुमाउनु पर्छ भने जस्तै विद्यार्थीहरुको अभिभावकहरुबाट सहयोग शुल्क उठाउन पनि पछि पर्नु हुँदैन ।

माथिका क्रियाकलाप सञ्चालन गरेको खण्डमा सरकारबाट वारम्वार कार्यविधि निर्माण गरिरहन नपर्ने, नेपालका सबै स्थानका बालबालिकाहरुमा शैक्षिक सत्र खेर जाने डर नहुने, विद्यार्थीहरुले गरेको शैक्षिक क्रियाकलाप जो फाइलमा अभिलेखिकरण छ त्यसैको आधारबाट कक्षोन्नति गर्न सकिने, विद्यालय छोड्ने दर घटाउन सकिने, टाढाका शिक्षकहरुलाइ मानसिक तनाव नहुने, सबै भन्दा कोरोना महामारीमा हामी सबै सुरक्षित हुने ।

यी यावत कुरामा ध्यान दिँदै शिक्षासँग सरोकार राख्ने सबैले हालको कोरोना महामारी बिच वैकल्पिक शिक्षण सिकाइको छापा विधि प्राथमिकता दिइएको खण्डमा देशभरका विद्यार्थी एवम् अभिभावकहरुले समानताको अनुभूति गर्ने छन् । बल्ल सरकारले शिक्षामा सवैलाई समान व्यवहार गरेको अनुभूति आम नेपाली जनताले गर्ने छन् ।

(पन्त सामुदायिक विद्यालय शिक्षा सुधार समाज कर्णाली प्रदेशका अध्यक्ष हुन् ।)

प्रतिकृया दिनुहोस्