हेटौंडा/धादिङ  । टाढाटाढाबाट पढ्न आउने चेपाङ विद्यार्थीको सहजताका लागि मकवानपुर र धादिङका विभिन्न विद्यालयमा छात्रावास निर्माण भइरहेको छ । कतै सञ्चालनमा समेत आइसकेका छन् । आवासीय सुविधा नहुँदा धेरै चेपाङ विद्यार्थीले पढाइ बीचमै छाड्ने गरेका छन् । उक्त समस्या हटाउन चेपाङ समुदायको बाहुल्य रहेका बस्तीका विभिन्न विद्यालयनजिक छात्रावास बनाउन सरकारी तथा गैरसरकारी संस्थाहरूले सहयोग गरिरहेका हुन् ।

मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतस्थित सूर्योदय माविनजिक कोरियाली नागरिकको सहयोगमा रोटरी क्लब हेटौंडाले छात्रावास निर्माण गरेर हालै सञ्चालनमा ल्याइसकेको छ । ६० जना अट्ने सुविधायुक्त छात्रावासमा दिनहुँ विद्यालयसम्म पुग्न कठिन हुने चेपाङ विद्यार्थीहरू बस्दै आएका छन् । यसैगरी, राक्सिराङ–६ सिलिङेस्थित श्री माविमा वाग्मती प्रदेश सरकारले साढे एक करोडको लागतमा छात्रावास निर्माण गरेको छ । तर कोरोना संक्रमणको जोखिम रहेको भन्दै निर्माण कम्पनीले भवन हस्तान्तरण नगर्दा छात्रावास सञ्चालनमा आइसकेको भने छैन । यो छात्रावासमा ६० जना बस्न मिल्छ ।

हाल विद्यालय बन्द छ । यहाँ २ सय जनाभन्दा बढी छात्रछात्राहरू दैनिक ३ घन्टा हिँडेर आउँछन् । केही विद्यार्थी सिलिङेस्थित स्थानीयका घरको पिढीमा बस्ने गरेका प्रधानाध्यापक तारानाथ दुवाडीले बताए । ‘अहिले तयार भएको छात्रावास पनि अपुग छ,’ दुवाडीले भने, ‘सबै विद्यार्थीले पढ्न पाऊन् भन्न थप भवनको आवश्यक पर्छ ।’ उनका अनुसार विद्यालयमा ६ सय विद्यार्थी पढ्छन् । जसमध्ये ९८ प्रतिशत विद्यार्थी चेपाङ समुदायका छन् ।

धादिङका चेपाङ किशोरीहरूको शिक्षामा सहयोग पुर्‍याउन गजुरीमा सुविधा सम्पन्न छात्रावास निर्माण गरिएको छ । गजुरी–१ को हाँगेटारमा निर्मित यो छात्राबासमा बस्न भर्ना पनि थालिएको छ । ३६ जना क्षमताको उक्त छात्रावास बनाउन जिल्ला समन्वय समिति र गजुरी गाउँपालिकाले ४२ रोपनी जग्गा उपलब्ध गराएका थिए । नेपाल चेपाङ संघ धादिङको समन्वयमा प्रयास नेपाल धादिङले प्लानेट इन्फान्ड एन्ड डेभलपमेन्ट, फ्रान्ससँगको आर्थिक साझेदारीमा छात्रावास निर्माण भएको हो ।

कक्षा १० मा पढ्न गजुरी–२ ताल्तीबाट आएकी अन्जु चेपाङले छात्राबासमा बस्न पाएकोमा खुसी लागेको सुनाइन् । ‘गाउँमा हुँदा न स्कुलमा पढाइ राम्रोसँग हुने न हाम्रो ध्यान नै जाने । घरको कामकाजले गर्दा पनि पढ्न फुर्सद नहुने भएपछि छात्रावासमै बसेर पढ्ने निधो गरेरै आएकी हुँ,’ उनले भनिन्, ‘हामीजस्ता किशोरीहरूका लागि छात्रावास एउटा घर भएको छ ।’

शिक्षाबाट वञ्चित र आर्थिक अवस्था कमजोर भएका किशोरीहरूका लागि छात्रावास निर्माण गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए । ‘छात्रावास भवन निर्माण अन्तिम चरणमा छ, यसका लागि १ करोड २० लाख रुपैयाँ लाग्ने अनुमान गरेका छौं,’ अर्यालले भने, ‘छात्रावासले चेपाङ किशोरीको शैक्षिक विकासमा उल्लेख्य सुधार ल्याउने विश्वास गरेका छौं ।’
कान्तिपुरमा खबर छ।

प्रतिकृया दिनुहोस्